हर कोहीले पनि अहिलेको जमानामा एउटा छोरा होस् अनि एउटी छोरी होस् भन्ने चाहन्छन्। सोचेजस्तो त जीवनमा सायदै होला, यो प्रकृतिको अगाडि हाम्रो त के नै चल्थ्यो र!
जब कुनै बच्चाको जन्म हुन्छ, तब सुरू हुन्छ, आमाबुवा, परिवार आफन्तहरूले उसको उज्ज्वल भविष्यप्रति सपना सजाउन अनि समाजले अनेक कुरामा तुलना गर्दै मूल्यांकन गर्न।
जन्माउनेलाई त सन्तान छोरा होस् या छोरी एउटै लाग्छ, बस डर छ त त्यही समाजको जसले छोरा र छोरीको नाममा अनेकौं कुरीति कुसंस्कृति बसालेको छ। यहाँ कुनै एक आमा जसको स्वास्थ्यको कुनै प्रवाह नगरी छोराको चाहनाले (त्यै पनि समाजको लागि ) प्रत्येक वर्ष अवोध छोरीलाई संसारमा आउन बन्देज लगाई हत्या गरिन्छ, जबसम्म गर्भमा छोरा हुँदैन। दुई छोरीमात्र जन्मायो भने पनि समाजका हरेक अपमान सहन बाध्य हुन्छिन्।
के छोरी पाउनु उनको गल्ती हो त ? किन यो समाज जति शिक्षित हुँदै गए पनि बुझ्रुकहरूमै गडेको छ यो समस्या ? यो भगवानले दिएको प्रसाद हो, भगवानले केही गर्नकै लागि दिनुभयो भनेर सहजै ग्रहण गर्न सक्नुपर्ने होइन र ?
म अहिले सोच्छु, त्योबेला मेरो बाबा मम्मीले पनि अरूले जस्तै गरी मलाई छोरी रहेछ भनेर भ्रुणहत्या गरिदिएको भए, के यो सुनौलो संसार देख्न, भोग्न पाउँथे होला र ? कति भाग्यमानी रहेछु म।
छोरी हुनुमा गल्ती कसको आमाबाबुको ? समाजको ? या त प्रकृतिको ? छोरी हुनु गल्ती कदापि होइन किनकि नारीबिना यो मानव अस्तित्व नै असम्भव छ। गल्ती त यहाँ कतानिर हुँदै छ भने यो समाजको सोचाइ अनि विचारमा।
जन्माउने, हुर्काउने, पालनपोषण, शिक्षादीक्षा यावत् कुराको जिम्मेवारी लिने आफ्नो आमाबाबुलाई केही पीर छैन, टाउको दुख्छ त केवल समाजको।
के उनीहरूले अरूको सन्तानको जिम्मेवारी लिइदिनुपर्ने हो र ? अनि जब कोही छोरा जन्माउन असमर्थ हुन्छन्, उनीहरूलाई जसरी भए पनि छोराका लागि बाध्य परिन्छ, कि छोराबिना उनीहरू समाजमा बस्न योग्य नै हुँदैनन् ?
छोरा कै चाहनाले गर्दा वर्षौंवर्षदेखि कयौं नारीले आफ्नो ज्यान फाल्नु परेको छ, सौता बेहोर्नु परेको छ।
हरेक समाजमा देखिने यो कुरा त सामान्यजस्तो लाग्छ हामीलाई। तर एकचोटि गहिरिएर सोच्नुस् त, के छोरीले पनि छोराले जस्तै जिम्मेवारी निभाउन सक्दैनन् र ? सधैं छोरीलाई 'तल्लो' दर्जामा घरमा मात्र सीमित राखेर जिम्मेवारी नै नदिएपछि, कसरी सकून् त विचरा चुनौती सामना गर्न ? कुनै काम गरेर देखाउन त अवसर दिनुपर्यो नि, होइन र ?
यहाँ छोरा हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकी आमाबाबुको लागि छोरीले नै सबै भूमिका खेलेका उदाहरण पनि त प्रशस्त भेटिन्छन्।
समाजका हरेक काममा, यो छोराले गर्ने काम छोरीले गर्नुहुन्न अथवा यो छोरीले गर्ने काम छोराले गर्नुहुँदैन भन्ने जस्ता नियम जबसम्म तोडिँदैनन् नि।
लैंगिक समानता, समता जे जे भने पनि ती कुरा कागजमा मात्र सीमित हुन्छन्।
मलाई यो कुराले सधैं मनभित्र प्रश्न गरिरहन्छ। जब कुनै एउटी नारीले पहिले छोरी जन्माएको हुन्छिन् र अर्को सन्तान हुने बेला चाहिँ लिंग पहिचान गर्न लगाइन्छ, तर पहिलो सन्तान छोरा भएको रहेछ भने चाहिँ लिंग पहिचान गरिँदैन किन ?
छोरा चाहिँ जति जन्मिएपछि धेरै नहुने रे छोरी चाहिँ दुइटा मात्र भए पनि धेरै देखिनुपर्ने, किन ? छोरा होस् या छोरी जसमा पनि आमाबाबुले त सुनौलो सपना रचेका हुन्छन् नि।
किन बीचमा आइदिन्छन् ती भड्काउनेहरू अनि भन्छन्, 'यति धेरै छोरी छन् अब त पालो लगाउँदै बिहे गरिदिएर उम्किनु पर्छ आफ्नो जिम्मेवारी त छिट्टै सकाए आनन्द हुन्छ'।
जब एउटा छोरी स्नातक गरेर अब चाहिँ केही गर्छु है भन्ने बेला हुन्छ, त्योबेला नानी तिमीले अब यस्तो काम सुरू गर्नुपर्छ भनेर सुझाव दिनेहरू भन्दा पनि उसले अब पढेर सकी, अब गतिलो कूलको धनी केटा खोजेर उम्काई हाल्नुपर्छ भनेर आमाबाबुसँग कुरा ल्याउने धेरै हुन्छन्।
तर कुनै पनि अभिभावकले औपचारिक पढाइलाई मात्र ठूलो मान्नुहुन्न, सकारात्मक विचारको विकास गर्नु, दक्ष हुनु र आफ्नो लागि कसैमाथि निर्भर रहनु नपरोस् भन्ने तर्फ सोच्नुपर्छ।
हामीले दैनिकजसो कति धेरै घटना सुन्छौं, जहाँ सम्पत्ति र डिग्रीको सर्टिफिकेट मात्र हेरेर छोरीको बिहे गरिदिँदा घरपरिवारबाटै मारिनुपरेको छ।
जति शिक्षित परिवार भने पनि यदि सोच नीच छ भने यो सोच्नुस् कि त्यो घरमा छोरीले सुख पाउँदिन, धेरै छोरी जन्माई भने सजाय भोग्नुपर्छ, अबोध बच्ची मारिनुपर्छ। उस्तै परे छोरीको जीवन नै धरापमा पर्न सक्छ।
अहिलेको परिपाटी छ नि, विदेश गएको पिआर भएको ज्वाइँ पाए भने परिवार मख्ख पर्दै उमेर, शिक्षा, विचार, व्यवहार, घरपरिवार केही ख्याल नगरी बिहे गरिदिने अनि ढुक्क हुने!, यो नै प्रमुख समस्या बनेको छ।
अब समाधानको लागि के गर्नुपर्ने त ? यो समस्यालाई जरैदेखि उखेल्नु त कम सानो चुनौती होइन, यसलाई न्यूनीकरण गर्नको लागि हरेक तहबाट अभियान नै चलाउनुपर्छ।
छोरीलाई पढायो भने राम्रो केटा पाइन्छ भनेर शिक्षा दिएरमात्र नहुने रहेछ, बिहेजस्तो महत्वपूर्ण कुरालाई अलि समय लिएर छोरीको इच्छा चाहनाबमोजिम घरपरिवार, वातावरण, संस्कार, अनि विचार बुझेर मात्र कदम अगाडि सार्नुपर्छ।
हामी नारीहरू आफैं पनि कुनै कुरामा निर्णय लिँदा अति नै संयम बन्नुपर्छ। म त यो काम गर्न हुँदैन रे, सक्दिनँ रे भनेर कहिले पनि पछि नहट्ने प्रतिबद्धता गरौं र डटेर आफ्नो न्यायको लागि लडिरहौं।
यो स्वार्थी समाजको कुराको पछि नलागी आफ्नो विचारले अघि बढ्दै, यदि परिवारले कुनै दबाब दिन्छ भने तुरून्तै सम्बन्धित स्थानमा न्यायको लागि धाउने बानी गरौं।
यो समाजले बोझ मानेका हामी छोरीहरू अब वरदान नै हौं भन्ने सावित गरौं। नारीको जात त सहनशील हुनुपर्छ नि भन्ने यो समाजको तीतो यथार्थलाई जरैदेखि मेटाउन लागिपरौं।
आफूलाई असहज लागेको कुरामा सहने होइन कि खुलेरै आवाज उठाउने बानी बसालौं। कुनै पनि छोरीले छोरी भएकै कारण नजन्मिँदैदेखि नै हुने हत्या, हिंसा, अपमान सहनु नपरोस् र कुनै पनि अवसरबाट नारी भएकै कारण बञ्चित हुन नपरोस्।
महिला अधिकार कागजमा मात्र सीमित हुन नपरोस्। भ्रुण हत्याजस्तो जघन्य अपराध गर्नेलाई र गर्न बाध्य पार्नेलाई कठोर सजाय दिने कानुन बनोस्।