छोरीलाई घरको लक्ष्मी मान्ने हाम्रो समाज न त छोरीलाई कहिल्यै आत्मनिर्भर बनाउनतर्फ जोड दिन्छ न त उसले जानेका हरेक कामको मूल्यांकन नै गर्छ।
कस्तो अचम्मको संसार जुन घरमा छोरी हुन्छिन् त्यो घरमा लक्ष्मीको बास हुन्छ भन्ने हाम्रो समाज छोरीलाई नै किन 'दास' बनाउँछ बुझ्नै गाह्रो!
न त एउटै घरमा भएकी छोरीले त्यो घर मेरो हो भन्ने अधिकार नै पाउँछिन्, न त पराई घरमा गएर नै उनलाई सधैं निर्जीव बन्न हौसला दिइन्छ। अर्काको घरमा सुम्पिने अनि त्यही घरलाई आफ्नो घर बनाउन बाध्य हुन्छिन् तर पनि उनी त्यहाँ 'दास' बनेर बस्नुपर्छ।
यो २१ औं शताब्दीमा पनि हाम्रो समाजमा भएका यस्ता विकृति विसंगतिहरू पन्छाएर अघि बढ्न सकेको छैन।
छोरीले घरमा धेरै परिश्रम गर्छिन्। सरसफाइदेखि लिएर घरको चुल्हो चौकोदेखि अन्यत्र सम्मको काम सक्नुपर्ने बाध्यता अझै पनि हाम्रो समाजमा चलिरहेकै छ।
तिनै छोरीले आफू जन्मिएको घरलाई सानैदेखि सजाउन थाल्छिन् अनि घरका सदस्यहरूमाथि मायाको वर्षा गरिरहन्छिन्। आमाबुवा, हजुरबुवा, हजुरआमा, अंकल–आन्टी , ठूलाबुवा, ठूलीआमा, दाजुभाइ, दिदीबहिनी, फुपू मामा हरेकको दिलमा बसेर सधैं मायाको मुस्कान छर्छिन्।
त्यो घर उनीबिना अधूरो हुन्छ। उनले त्यो घरलाई हरप्रकारले सजाउँछिन्। मेहनत गरेर उनी हरेक कामका लागि तयार हुन्छिन्। यद्यपि तिनै छोरीलाई मारे पाप पाले पुण्य भनी अर्काको हातमा सुम्पिएपछि पराइ घरमा जान बाध्य हुन्छिन्।
जुन घरलाई उनले आजसम्म मेरो भनेकी हुन्छिन्, भोलिपल्टैदेखि माइती भन्नुपर्ने अवस्था सृजना हुन्छ। त्यहाँका कुनै पनि चल–अचल सम्पत्ति उनको नहुने जसका लागि उनले आफ्नो आधा जीवन सुम्पिसकेकी हुन्छिन्। त्यो सबै भुलेर पराइ मान्दै अर्काको हातमा अर्कैको घरमा सदस्य भएर जानुपर्ने तीतो यथार्थले हाम्रो समाजमा निरन्तरता पाउँदै आएको छ।
त्यसैले पनि छोरीलाई जन्मँदै भेदभावपूर्ण वातावरणमा हुर्काइन्छ होला।
छोरालाई केही काममा पनि त्यति जोड गरिँदैन। उसले परिवार पाल्नुपर्छ भनेर तर्काइन्छ तर त्यही छोरीले घरको काम सिक्नुपर्छ अनि अर्काको घरमा जानुपर्छ, जहाँ गए पनि घरको काम गर्नु नै पर्छ–यो नियम समाजले नै बनाएको हो।
छोरीलाई कहिल्यै सिकाउन खोजिएन तिमी आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा उनलाई कहिल्यै भनिएन। यो घर तिम्रो हो यसमा तिमीले आफ्ना दाजुभाइसरह अधिकार पाउनेछौ भनेर। उनलाई सधैं निर्जीव बन्न हौसला दिइन्छ।
नारीले आफ्नो अस्तित्व मेटाएर सन्तानलाई जन्म दिन्छिन् अनि त्यो सन्तानको नाम बाबुको हुन्छ। उनलाई फलानाका छोराछोरी भनाएर चिनाइन्छ। आत्मनिर्भरता हुँदैन त्यहाँ पनि अर्काकै कमाइमा बाँच्नुपर्छ।
आफूले चाहेको काम गर्न पाउँदिनन्, पराइ घरमा जे भन्यो त्यही नै मान्नुपर्छ भन्ने हाम्रो समाज। कति सपना साच्यो यो गर्छु, त्यो गर्छु भन्यो साँच्चिकै एउटा गीतको नै याद आउँछ जुन गीत हालैमात्र बिष्णु माझीको आवाजमा सजिएको थियो 'जेलैमा हो, जेलैमा चरी जेलैमा। मै छोरी रुँदै रुँदै बेशी मेलैमा' शब्द थोरै तर भाव भने यो गीतमा धेरै भेट्दै छु मैले।
न त जन्मघरमा छोरीको बारेमा अगाडि बढ्ने हौसला मिल्छ, न त पराई घरमा गएर नै। कहीँ न कहीँ दबाब अनि अभाव भोग्नुपर्ने हामी छोरीको जिन्दगी!
घरमा सासू ससुराको साथ भएको ठाउँमा श्रीमानको साथ पाइँदैन। जहाँ श्रीमानको साथ हुन्छ त्यहाँ घर परिवारको साथ हुँदैन बडो अचम्मको संसार !
तर सबै उस्तै पनि हुँदैन कुनै घर परिवारले आफ्नी बुहारी श्रीमतीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर साथ दिएका पनि हुन सक्छन्। जति नै जे भए पनि छोरी मान्छेलाई पराइ घरमा श्रीमानको साथ भने अपरिहार्य नै रहन्छ।
केही गर्छु भन्दा भन्दै पनि सपनामै कैद गर्नुपर्ने रैछ हामी नारीहरूले। मेरो पनि धेरै सपना थिएँ। सबै परपर हुन थाले। घर परिवारमा बुहारीले, मेरी श्रीमतीले घरमा सबै काम गरिदिओस् अनि जागिर नै गरे पनि उसले धेरै पैसा कमाओस् भन्ने सोच राख्दा रहेछन्। जुन कुरा सोच्नै नसकिने छन्।
यसो भैरहँदा त लाग्छ यो संसारमा छोरीको जन्म नै नहोस्!
हिजो उनी फलानाकी छोरी थिइन्। तिनैलाई घरबाट निकालेर दान गरी अर्काको हातमा सुम्पिएपछि अब उनको नाम फलानाकी बुहारी, श्रीमती, अनि भन्ने त यहाँ पनि यही हो यी हुन् घरकी लक्ष्मी, यस्तो दासतामा जकडदै समाजले नारीलाई आफ्नै हिसाबले उपयोग गर्दै आएको छ ।
समाज उनको अस्तित्व मेटाइदिन कम्मर कसेर लागेको हुन्छ।
जब कुनै पनि महिला आफ्नै बाबुको घरमा आफ्नै अभिभावकसँग अधिकारविहीन हुन सिकेर आउँछिन्, ती नारीले कसरी अगाडि बढेर आफ्नो अधिकारको रक्षा गर्न सक्छिन्।
जब उनको मानसिकतालाई नै मोडेर म र मेरो भन्ने सबै कुरा खोसिन्छ, न उनको हातमा सम्पत्ति हुन्छ, न त उनलाई मानसिक रूपमा बलियो बनाइन्छ ।
उनलाई त तिमीलाई अरूले पाल्छ, तिमीले अर्काको घर जानुपर्छ भनेर सिकाइन्छ ।
सधैं आफ्नो अस्तित्व समाप्त गरी, कसैकी छोरी, श्रीमती अनि आमा यिनै हुन्छन्। नारीको बौद्धिकता कमजोर हुँदैन तर उनलाई कमजोर बनाइन्छ ।
आफ्नै अभिभावकबाट नारीलाई कमजोर हुन सिकाइन्छ ।
यही नै हिजो र आजको तीतो यथार्थ हो।
जन्मनासाथ सुरू गरिने गलत शिक्षाका कारण पनि नेपाली नारीहरू अघि बढ्न सकिरहेका छैनन्।
अहिलेको २१ औं शताब्दीमा आएर छोरीहरू आत्मनिर्भर हुने मौका पाए पनि उनको मस्तिष्कमा भरिएको अरूले पाल्ने, अरूको हुनुपर्ने, यो सम्पत्ति मेरो होइन, मैले पराइघर जानुपर्छ भन्ने सामाजिक विभेदले चेतना नै कमजोर बनाइदिन्छ।
अनि उनी आफ्नो कर्तव्य यही हो भन्ने धारणा बनाउनतिर लाग्छिन् । उनले अधिकारको उपभोग होइन कर्तव्यमात्र पालना गर्छिन्।
बिहेअघि राम्रो कामको लागि लड्ने छोरी, जब पराइ घरमा जान्छिन् तब सबै सपनाबाट बन्चित हुन पुग्छिन्। पराई घरमा आफूखुसी अगाडि बढ्न खोजियो भने पनि मेरो घरवार नै बिग्रेने हो कि हाम्रो सम्बन्ध नै पो तोडिने हो कि उनले यही कारण आफ्ना इच्छा चाहनालाई बन्देज बनाउन बाध्य हुन्छिन्।
उनीहरू आफ्नो अधिकारलाई सुनिश्चित गर्न पाउँदैनन्, सक्दैनन् । उनीहरूको मनस्थिति नै कमजोर हुन्छ।
यो स्वभाविक पनि हो किनभने समाजले नारीलाई अधिकार होइन, कर्तव्य र बाध्यतामा मात्र बाँच्न सिकाएको छ । जब उनीहरूलाई अधिकारका लागि लड्न सिकाइन्छ तब उनीहरू समाज विरोधी कहलिन्छन्।
अधिकारविहीन बनेकी नारीले दासताको बन्धन तोड्न खोज्दा घर भँडुवाको संज्ञा पाउँछिन् । यद्यपि जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि महिलाहरूले यी तमाम बाधा–अड्चन पन्छाउँदै आफ्नो स्वतन्त्रताका साथ अघि बढ्नु नै आजको एकमात्र विकल्प हो।
छोराले कमाएर पाल्छ भन्ने हाम्रो समाज भोलिका दिनमा छोरीले पनि कमाएर पाल्न सक्छन् भन्ने विचारमा लागोस्।
केही गर्न खोज्ने, अघि बढ्न खोज्ने नारीलाई धेरै दबाब अनि अपहेलना नदिनुस् जसरी उनी राम्रो कामको लागि लड्न चाहन्छिन्। त्यसरी नै अघि बढाउने प्रयास गर्नुस्।