जीवनको सुरुआत जसरी भए पनि अन्त्य दुःखद् नै हुन्छ। गन्तव्य आखिर मृत्यु नै हुन्छ!
सधै झैँ तिहारको झिलिमिली, चारैतिर छुट्टै रौनक थियो। टीकाको अघिल्लो दिन दिदीको घरमा आगमन भएको थियो। कृष्णा, तर घरमा कृष्णी भनेर बोलाउनु हुन्थ्यो। माइलो बुबाको दुई बहिनी छोरी मध्ये उहाँ कान्छी हुनुहुन्थ्यो। जेठी दिदीले आफ्नै भाइहरूलाई र कान्छी दिदीले हामी दुई भाइलाई टीका लगाइदिनु हुन्थ्यो।
हामी दुई भाइलाई जन्मेदेखि नै टीका लगाइदिनु भएको रे। सायद घरमा दिदीबहिनीको अभाव उहाँले कहिल्यै कमि हुन दिनुभएको थिएन। परिवारमा कति जना छौ भनेर कसैले सोध्दा म पाँच जना भन्थेँ- बुवा,आमा, दाइ, दिदी अनि म।
तिहारमा होस या तीजमा कहिल्यै दिदीबहिनीको अभाव हुन दिनुभएन। हामी दुई भाइ भनेपछि औधि खुसी मान्नुहुन्थ्यो। हामी पनि दिदी भनेपछि मरिहत्ते गर्ने।
मिति २०७६, कार्तिक १३ गते भाइटीका थियो। उहाँ एकदिन अघि आउनु भएको थियो। भाइटीका लगाइयो, रमाइलो भयो।
१५ गतेको दिन बिहान 'आज मलाई घर कत्ति जानै मन छैन' भन्दै घर त जसरी जानैपर्छ भन्ने निर्यणमा पुग्नु भयो। त्यो सुनेपछि दाइले मलाई एउटा फोन र २/४ हजार दिएर 'ल यो राख्, दिदी घर जाने भन्नुहुन्थ्यो जानेबेला दे, म बाहिर निस्किन लागेको' भन्दै बजारतिर निस्केको थियो।
मेरो पनि सानो काम परेर बजार जानुपर्ने भयो। दाइले दिएको फोन र पैसा दिदीलाई दिएँ, ढोग गरेँ, अनि 'ल राम्रोसँग जानुहोला, म काम परेर चोकतिर निस्किन लागेको' भन्दै निस्केँ।
म साँझ घर फर्केँ। आमालाई सोधेँ, 'दिदी जानु भो?'
'पुगिसकेर फोन गरेको थिई' भन्नुभयो।
साँझको खाना खाएर सुत्न गैसकेको थियौँ, राति करिब ११:४० तिर एक्कासी बुवाको फोनमा आत्तिँदै फोन गर्नुभयो 'काइला बा, मलाई सर्पले टोक्यो सुतेको बेला, सर्प यताउता हेर्यौं कतै देखिएन, कुन सर्प हो थाहा छैन, हामी नारायणपुरबाट घोराही हस्पिटल आउँदै छौँ।'
हस्पिटलमा डाक्टर कोही छैन। फेरि फोन आयो, 'हामी त्यता सर्पको विष झार्ने ठाउँमा आउँदै छौँ, नरेश र रबिनलाई बीच बाटोमा पठाइदिनुस्।'
यति खबर आएपछि, दुई भाइ आत्तिँदै बाइकमा राति ठिक १२ बजे घरबाट निस्कियौँ। १० मिनेटमा भेट भयो। सोल्टी, दिदी र एकजना दाइ आउनु भएको रहेछ। हामी त्यहाँबाट हतार-हतार निस्कियौँ विष झार्रे ठाउँ तिर।
बाटोमा दिदी भन्दै हुनुहुन्थ्यो, 'म बाच्दिनँ जस्तो लागिराछ, भान्जाको राम्ररी ख्याल गर्नू।' यति सुनेपछि 'हावा कुरा नगर्नुस्, सब ठिक हुन्छ' भन्दै मैले सम्झाएँ। मनभित्र अनेकौँ कुरा खेलिरहेका थिए, मुटु फुट्लाजस्तै भाथ्यो।
करिब ८/९ मिनेटपछि विष झार्ने ठाउँ पुग्यौँ। मान्छे जम्मा भए, विष पनि झारियो। आराम गर्न भनेर सबैजना बसिरहेका थियौँ, एक्कासी दिदीको जिब्रो लडबडिए। कुरो बुझ्न गाह्रो भयो। तर उहाँले इसारामा 'पारसलाई नभन्नू, उसको ख्याल गर्नू' भन्दै हुनुहुन्थ्यो। मैले हेर्न सकिनँ, बाहिर निस्केँ। आँसुका मूल रसाइसकेका थिए। पछि 'विष झार्नेहरूलाई पैसा नबिर्सेर दिनू' भन्दै इसारा गर्दै हुनुहुथ्यो रे।
हतारिँदै गाडीमा राप्ति स्वास्थ्य प्रतिष्ठान पुर्यायौँ। करिब तीन बजिसेकेको थियो। बेडमा दिदी छटपटाइरहनु भएको थियो। इसारामा फोन माग्दै 'भेनालाई कल गर्' भन्दै हुनुहुन्थ्यो। फोन गर्यौं तर लागेन। लागोस् पनि कसरी, भेना वैदेशिक रोजगारको क्रममा बाहिर हुनुहुन्थ्यो, सायद सुतिसक्नु भएको थियो।
त्यहाँबाट हामीलाई नेपालगन्ज भेरी अस्पताल रिफर गरियो। दुःख लाग्छ, जिल्लामा एउटा गतिलो अस्पताल नहुँदा र भएका अस्पतालमा पनि डक्टरहरूको उपस्थिति नहुँदा!
एम्बुलेन्सबाट नेपालगन्ज म, सोल्टी र एकजना दिदी भएर निस्कियौँ। त्यो सुनसान रात, सुनसान जंगल, त्यो सुनसान महेन्द्र राजमार्ग अझै याद छ। करिब बिहान ६ बजेतिर कोहोलपुर चोक नेर पुग्दा उहाँले हामीलाई छोडेर जानु भयो। एउटा सहयात्री एक्लो हुनुपुग्यो, एउटा हुर्कँदै गरेको छोरो टुहुरो हुनपुग्यो अनि भाइहरूका निधार सधैँका लागि खाली हुन पुगे।
भेरी अस्पतालमा पुर्याएर डेथ सर्टिफिकेट ल्याएर त्यहाँबाट हिँड्यौँ। हिँड्दै गर्दा मन सम्हालिन गाह्रो भयो सायद। घरतिर फोन गर्दिएँ, रुवाबासी सुरु भो आमाको, झन् सम्हालिन सकिनँ। मेरो आत्मीय साथीहरूलाई मेसेज गर्न पुगेछु, मेसेजमै भए पनि सम्झाए र अलि सम्हालिएँ। बाटोमा आउँदा अनौठो अनुभूति लिँदै फर्किएँ, एम्बुलेन्सको आवाज सुन्दा बाटोमा हिँड्नेहरूले प्रार्थना गरेको दृश्यले झन् आँखाबाट मूल फुट्यो।
मृत शरीर लिएर दिदीको घरमा पुग्यौँ। मानिसको जमात थियो, भान्जाको रुवाबासी सुरु भैसकेको थियो। मेरो बुवा पनि राता र आँसुले रसाएका आँखा पुछ्दै आफूलाई सम्हाल्दै हुनुहुन्थ्यो। त्यो देखेर म झन् रोएँ। जिन्दगीमा सबै कुरा देख्न सकिन्छ होला, तर बा-आमाको आँखामा आँसु देख्न साह्रै कठिन।
बाटोमा आउँदा सम्हालिँदै आए पनि त्यहाँ मैले आफूलाई सम्हिल्न सकिनँ, खुब रोएँ। रोएर दिदी फर्किने भए म सधैँ रोएर बस्न तयार छु। तर त्यस्तो कहाँ हुन्छ र! छोडेर जानेहरू चुपचाप गैदिन्छन, अनि बाच्नेलाई पीडा।
म अरूको दिदीहरूबीच तिमीलाई नै पर्खिबस्छु। हरेक वर्ष तिहार आउँछ, झिलिमिली उज्यालो आउँछ, रंगिविरंगी रङ आउँछ तर तिमी किन आउँदैनौ दिदी?