'सर! यो पाठ त नपढ्ने।'
'किन?'
'छ्या! यस्तो पनि पढ्छन्! बुकमा किन राखेको होला? नाइँ म त भोलि आउदिनँ क्यारे! छुट्टी लिन्छु।'
कक्षा ६ मा हेल्थ एन्ड फिजिकल एडुकेशन (स्वास्थ्य तथा शारीरिक शिक्षा) को यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी पाठ पढाउनु अघि हरेक वर्ष कक्षाकोठामा सुनिने प्रतिनिधि स्वरहरु हुन्, यी। यसले त्यो पाठ पढाउनु कति चुनौती छ भन्ने देखाउँछ।
विद्यार्थी भाइबहिनीहरुको आवाजलाई सम्मान गर्ने हो भने यो पाठ पढाउनु नपर्ने। यी पाठहरुमा पुरुष तथा स्त्री प्रजनन प्रणालीका अंगहरु, परिवार नियोजनका विभिन्न साधनहरु र केही यौन रोगहरुको बारेमा उल्लेख गरिएको छ।
केटाकेटीहरु लाज मान्छन पढ्नलाई। टाउको निहुँरेको हुन्छ। कहिलेकाहीँ एकदम हल्ला हुन्छ। कक्षा कोठामा पढ्ने र पढाउने वातावरण नै हुँदैन। उनीहरुलाई हप्काउनु हुँदैन। नत्र भोलिपल्ट स्कुल आउनेवाला छैनन्। सम्झाउनुको विकल्प छँदै छैन। पढेपछि हुने फाइदाहरुको बारेमा भनेपछि उनीहरु बल्ल सहमत हुन्छन्, पढ्नलाई। तैपनि एउटो फ्याट्ट बोल्छ 'घरमा कसरी पढ्ने होला हँ?' उसले घरमा बा, आमा, दाइभाइ, दिदीबहिनी वा अरु कोहीको मुखिन्जेल पढ्दा हुने लाज र सरमलाई प्रकट गर्यो।
उपरोक्त दृश्य त सुरुआती मात्रै हो। यो समस्या कक्षा ७ र ८ मा अझ चर्किन्छ। ९ र १० तिर लागेपछि विस्तारै कम हुँदै जान्छ। कक्षा ६, ७ र ८ मा पढाउन पर्ने किशोरावस्था, विकासक्रम र परिवर्तन, महिनावारी (रजस्वला), परिवार नियोजनका साधनहरु र प्रयोगजस्ता विषयहरु अति चुनौतीपूर्ण हुन्छन्। कठोर सामाजिक, धार्मिक, सांस्कृतिक र पारिवारिक वातावरणमा हुर्के-बढेका हामी र हुर्काइएका हाम्रा बाबुनानीहरुका निम्ति यो स्वाभाविक पनि हो।
पहिले-पहिले त अभिभावकहरु पनि आफ्नै खाले गुनासा र रायसुझाबहरु बोकेर स्कुल आउँथे। नआउन् पनि किन? रेडियो र टेलिभिजनमा कन्डम र सेनिटरी प्याडका विज्ञापनहरु सुन्दा र हेर्दा लाजले पोको पर्ने हाम्रा अभिभावकहरु आफ्ना केटाकेटीका किताबमा आफ्नै शरीरमा छोपेर राखिएका लिंग, योनी र स्तन तथा कन्डमका रंगिन तथा सादा चित्र सहितका पाठ्य सामग्रीहरु देखेपछि त झसंग भए।
उल्लेखित यी र यस्ता धेरै विषयवस्तुहरु अझै पनि धेरै कक्षा कोठामा नपढाई त्यसै छाडिन्छ। लाजले शिक्षकहरु पढाउने प्रयास गर्दैनन्। पढाउन परे कि त रिस उठ्छ कि त मुहार रातोपिरो भैइहाल्छ। मेरो पनि आफ्नै अनुभव छ।
विसं २०४९ सालमा म कक्षा ९ को विद्यार्थी थिएँ। त्यो बेलाको इच्छाधीन स्वास्थ्य शिक्षा (अप्सनल हेल्थ एडुकेशन) मा राखिएको प्रजनन स्वास्थ्य, प्रणाली र परिवार नियोजन सम्बन्धी साधनहरुको क्लास नै भएन। सरले ती विषयवस्तुहरु स्किप (छोडदिनु) गर्नु भयो। पढौँ भन्दा झर्किनु भो। गाली खाइयो। अनि आफै पढियो। यो यथार्थ अझै पनि धेरै विद्यालयहरुमा छ। धेरै भाइबहिनीहरु आफ्नो यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही सूचना, जानकारी र ज्ञान प्राप्त गर्नबाट छुटिरहेका छन् वा छुटाइएका छन्।
कक्षाकोठामा प्रवेश गरेपछि सबैभन्दा पहिला आफूलाई सम्हाल्नु पर्ने। किताब पल्टाएसँगै हाँस्न र सरम मान्न थालियो भने त्यो दिन क्लास हुनेवाला छैन। लाज मानियो भने त केटाकेटीहरुले नगन्ने। किशोर शिक्षकहरुलाई बेग्लै समस्या- उमेरजन्य। कतै वयस्क शब्दहरु फुत्किने हुन् कि भन्ने डरत्रास। अनुहारको रंग बदलेपछि त क्या फसाद!
उसो भए गर्ने के त? विषयवस्तुलाई गम्भीर रुपमा लिँदै पठनपाठन सुरु गरे शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बन्दो रहेछ। कक्षाको व्यवस्थापनमा धेरै नै सहज हुने रहेछ। शिक्षकहरुले कक्षाकोठामा परिपक्वपन र व्यवहारिकता प्रदर्शन गर्न नसके धेरै हैरानी खेप्नु पर्छ। चुनौतीमाथि चुनौती थप्दै शिक्षकहरुले हैरानी खेपेका धेरै उदाहरणहरु समाजमा भेटिन्छन्। अनि नैतिकताको कठघरामा उभिएका पनि छन्।
प्रजनन प्रक्रिया र यौन स्वास्थ्य एवं विभिन्न लत-कुलतका बारेमा विद्यार्थीहरुमा धेरै जिज्ञासाहरु हुन्छन्। उनीहरु सही समाधान खोजिरहेका हुन्छन्। कक्षा ४ मा पढ्ने एक छात्राले प्रश्न गरिन्- 'सर! महिलाले मात्र बच्चा किन पाउने?' अर्कीले धक नमानी सोधिन्- 'उनको (महिला) पेटमा बच्चा कसरी आउँछ?' अर्को कक्षाकोले प्रश्न गर्छ- 'केटाहरुको छाती किन ठूलो हुन्न?' अनि अर्को जिज्ञासा 'छोई हुने भनेको के हो सर?'
कक्षा ७/८ मा महिनावारीबारे पढेपछि केटाकेटीहरु प्रश्न गर्छन्- 'यो विशुद्ध जैविक प्रक्रिया महिनावारी/नछुने हुँदा बार्नु पर्ने कारण के हो?' छात्राहरु निसंकोच समस्या राख्छन्- 'पालो आउँदा असाध्यै पीडा (पिएमएस) हुन्छ? कहिलेकाहीँ त धेरै लामो समयसम्म रक्तश्राव हुन्छ, के गरौँ?' उनीहरुका समस्या समाधान गर्ने प्रयास गरियो। यस्ता धेरै अनपेक्षित निजी समस्याहरु लिएर बाबुनानीहरु आइपुग्छन्, जसको समाधान जरुरी हुन्छ।
बाबुहरुभन्दा नानीहरु समस्या लिएर धेरै आउँछन्। उनीहरुका समस्या मासिक धर्म/रजस्वला र जिज्ञासा गर्वपतनसँग सरोकार राख्दछन्। बाबुहरु भने प्राय: गर्भनिरोधका साधनहरु र यौन रोग तथा संक्रमणका बारे जान्न बढी उत्सुक भेटिन्छन्। उनीहरुले सोध्ने उट्पट्याङ प्रश्नहरुले हैरान पार्छन्। यस्ता प्रश्नहरु नौ/दश कक्षा तिर बढी ओइरिन्छन्।
तर यौन व्यवस्थापन र यौन हिंसा नियन्त्रणको लागि सहायक सिद्ध हस्तमैथुनको बारे भने उनीहरु मौन रहन्छन्। कोखको बच्चा (भ्रुण) को लिंग निर्धारण प्रक्रिया एव बाँझोपनको सवालमा समान चासो भेटिन्छन्। महिनावारीको बेला हुनसक्ने संक्रमण, सरसफाइको आवश्यकता र तरिका तथा स्वप्नदोषको बारे पनि उनीहरुलाई बताइदिनु जरुरी हुन्छ। सेनिटरी प्याडको सही प्रयोग र उचित बिसर्जन बारे पनि छलफल जरुरी छ।
विसं २०७४ साल साउन/भदौको महिनामा कक्षा ८ का भाइबहिनीहरुलाई चितवनको एक स्वास्थ्य संस्थाको स्थलगत अवलोकनमा लाने योजना तयार भयो। स्थलगत अवलोकनको लागि भरतपुर महानगरपालिका स्थित मंगलपुर स्वास्थ्य चौकी छनौट गरियो। स्वास्थ्य चौकी अवलोकनको क्रममा दुइटा नवीन र रोचक तथ्यहरु भेटिए।
त्यो स्वास्थ्य चौकीमा कार्यरत सम्पूर्ण जनशक्ति महिलाहरु मात्र थिए। महिला मन्त्री समेत पुरुष हुने देशमा यो दुर्लभ घटना थियो। हामीसँग भेटघाटको क्रममा स्वास्थ्य चौकीकी प्रमुखले हाम्रा समाजशास्त्री र खोज पत्रकारहरुको नजरमा समेत नपरेको एउटा आश्चर्यपूर्ण अनुभव सुनाउनु भयो। स्वास्थ्य चौकीको कार्यक्षेत्रमा पर्ने स्कुलहरुमा ७, ८, ९ र १० कक्षाहरुमा पढ्ने कलिला केटीहरुले गर्भनिरोधको साधन पिल्स (निलोकन ह्वाइट/सुनौलो गूलाब) नियमित प्रयोग गर्न थालेपछि उहाहरुले स्कुलमै गएर सचेतना कक्षाहरु संचालन गरिरहनु भएको रहेछ।
प्रत्येक शुक्रबार स्वास्थ्य चौकीको पिडीँमा राखिएको कन्डम बाकसबाट स्कुलको ड्रेसमा आएर केटाकेटीहरुले बाकस रित्याउनु त सामान्य भइसकेको रहेछ। बेलाबखत गर्वपतन र गर्वनिरोधको आकस्मिक साधन (ई-कन) को लागि सम्पर्क गर्ने स्कुलेहरुको पनि लर्को नै लाग्ने। सहरबजार तिर ११/१२ पढ्ने र विश्वविद्यालयमा क्याम्पसका नवप्रवेशीहरुको लागि गर्वनिरोधको आकस्मिक साधन (ई-कन) र गर्व परीक्षण स्टिक (प्रेग्नेन्सी टेस्ट स्टिक) को प्रयोग सामान्य भैसक्यो।
बाबुनानीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र सरसफाई, किशोरावस्था, परिवर्तन र विकासक्रम तथा अन्य स्वास्थ्य सम्बन्धी समस्याहरुको सवालहरुमा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाहरु र विशेषज्ञहरुलाई स्कुलमा आमन्त्रण गरेर अन्तरक्रिया गर्ने प्रयासले भने मूर्त रुप पाउन सकेको छैन। यसमा मेरो खेद छ।
कहिलेकाहीँ विद्यालयले आफ्नै पहलमा शिक्षिकाहरुमार्फत यस्तो प्रयास गर्थ्यो। तर रोचक कुरो यो छ कि यस्तो रचनात्मक अन्तरक्रियामा पनि केटाहरु (किशोरहरु) कक्षा कोठा बाहिरै बस्न पर्थ्यो। यसमा मेरो सधैँ बिमति छ। किन भने ज्ञान भन्ने चिज सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ। यस्तो अभ्यास धेरै स्कुलहरुमा हुन्छ।
ग्रीष्मकालीन छुट्टीमा एकदिन फेसबुकमा रम्दै थिएँ। पत्रकार एव समाजिक अभियन्ता एकल सिलवालले एउटा श्रव्यदृश्य सामग्री बाँड्नु भयो। क्लिक गरेको युट्युबले काठमाडौंका स्कुले छात्राहरुले आफ्नो स्कुलमा महिनावारी हुँदा भोगेका समस्याहरुलाई समेटेर तयार पारिएको एउटा छोटो भिडिओ देखायो। त्यसलाई डाउनलोड गरेँ। स्कुल खुलेपछि कक्षा ९ मा किशोरावस्था, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा भन्ने पाठको लागि सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरियो।
भोलिपल्ट प्राचार्यज्यूको कक्षमा जानु पर्यो। उहाँको सुझाब केटीहरुलाई मात्र देखाएको भए राम्रो हुने भन्ने। होइन ज्ञान केटाकेटी दुवैलाई उत्तिकै आवश्यक, मेरो तर्क। यस्ता सामग्रीहरुमा सचेत रहनुहोला, उहाँको थप सुझाब। यौन तथा प्रजनन स्वास्थ्यका सन्दर्भ सामग्रीहरुको छनौट, सम्पादन र प्रयोगमा सधै सम्वेदनशील छु र रहनेछु, मेरो प्रस्टीकरण।
मलाई अलिकति अफ्ठ्यारो महशुस भयो। अभिभावकहरुको प्रतिक्रियाको अपेक्षा गरेँ। तर सुन्नु परेन। त्यही भिडिओ अन्य स्कुलका स्वास्थ्य विषयका शिक्षक साथीहरुलाई पनि उपलब्ध गराइयो, धन्यवादका साथमा।
पेशाले स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षाको एक शिक्षक। कहिलेकाहीँ त दिक्दार पनि लाग्छ, दैनिकी देखेर। बेलाबखत पूर्व तयारी पनि चाहियो। प्रातःकालमा चिया वा कफीको चुस्कीसँगै पुरुष तथा स्त्री जनेन्द्रीयहरु, महिनावारी र सरसफाई, किशोर- किशोरीहरुका समस्या र समाधान, परिवार नियोजनका विभिन्न साधनहरु र यौन रोगहरुको मात्रै पानाहरु पल्टिन्छ।
कुनै कुनै दिन त प्रथमदेखि अन्तिम घन्टीसम्म र सन्ध्याकालीन कक्षाहरुमा समेत यिनै विषयहरुमा घनचक्कर लाइन्छ। अनि फ्रायडेली मनोविज्ञान सम्मत किशोर-किशोरीहरुका सवालहरु माथिको क्रिया प्रतिक्रिया। हैट! नियमित जिन्दगीको अनियमित उडान।
वर्तमानमा कक्षाकोठामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी पाठहरु अध्यापन गर्न पहिलेभन्दा धेरै सहज हुन् थालेको आभास हुन्छ। सञ्चार माध्यमहरुको तीव्र विकास, ईन्टरनेट र सामाजिक संजालहरुमा हुने सहज पहुँच, शिक्षा र जनचेतनाको अभिवृद्धि र समाज अनि समुदायको खुलापन प्रतिको आकर्षणले भूमिका खेलेका हुन् सक्छ।