स्कुले जीवनमा विद्यार्थीहरूलाई सम्भवतः सबैले सोध्ने र बढी सोधिने प्रश्न हो- 'भविष्यमा तिमी के बन्न चाहन्छौ?' तीन/चार कक्षामा पढ्दा सबैजसोको उत्तर केवल डाक्टर, पाइलट र ईन्जिनियर नै हुन्छ।
नौ/दश कक्षामा पुग्दा उनीहरू आफ्नो रुचि र आवश्यकताप्रति केही सचेत भइसकेका हुन्छन् जसले गर्दा उत्तरमा केही विविधता आउँछ र सूचीमा सरकारी जागिरे, शिक्षक, खेलाडी, गायक आदि थपिन्छन्। तर जब ती विद्यार्थीहरू कुनै बेला शैक्षिक जीवनकै फलामे ढोका मानिने एसएलसी (हाल एसइई) उत्तीर्ण गर्छन्, तब उनीहरूको अन्योलग्रस्त भविष्य प्रारम्भ हुन्छ।
हाम्रो देशको शैक्षिक प्रणालीअनुसार कक्षा ११ बाट आफ्नो रुचिअनुसार कुनै एक विशिष्टिकृत सङ्काय रोजेर पढ्नुपर्ने हुन्छ। त्यही रोजाइ अनुसारको सङ्काय र त्यसभित्र रोजिने विषयले नै धेरै हदसम्म उसको भविष्यको मार्गचित्र तय गर्छ। यहाँनिर उचित र पर्याप्त मार्गदर्शनको अभावमा धेरैजसो विद्यार्थीहरूले गलत निर्णय रोज्न विवश हुन्छन्। उनीहरुको भविष्यको गन्तव्य गलत दिशामा मोडिन पुग्दछ।
एकातिर बाबुआमाले सन्तानको इच्छा र चाहना नबुझी उनीहरूको निम्ति स्वयम निर्णय गरिदिने तथा अर्कोतिर जेसुकै गर भनेर सन्तानलाई पूर्ण छुट दिने परिपाटी हामी अझ पनि प्रशस्त देख्न सक्छौँ। यसले गर्दा विद्यार्थीहरूले न त आफ्नो वास्तविक रुचि, चाहना र आवश्यकता नै पहिचान गर्न सक्दछन् न त कुन सङ्कायमा कुन विषय लिएर पढ्दा के हुन्छ भनेर स्पष्ट नै हुन सक्दछन्।
यसरी आवश्यक ज्ञान, जानकारी र उचित मार्गदर्शन नपाउँदा उनीहरूले आफूलाई जुन ठिक लाग्छ त्यसैलाई नै रोज्दछन् भने अर्कोतिर आफ्नो रुचि, चाहना र आवश्यकतालाई तिलाञ्जली दिएर आफ्नो बाबुआमा अथवा साथीसंगीले भनेअनुसार गर्दछन्।
मैले धेरै यस्ता साथीहरू देखेको/भेटेको छु जसले समयमा सही मार्गनिर्देश नपाएर सही निर्णय गर्न नसक्दा हाल पश्चाताप मानिरहेका छन्। स्कुल/कलेजमा सँगै पढेका धेरै साथीहरू जसले स्कुले जीवनमा विभिन्न सपनाहरू देखेका थिए, उनीहरूमध्ये धेरैको गन्तव्य आज अन्तै मोडिएको छ। हुन त पारिवारिक, सामाजिक, आर्थिक लगायतका कारणहरू पनि होलान् तर पनि समयमा नै उचित मार्गनिर्देश नपाएर सही निर्णय लिन नसक्दाको परिणति नै म प्रमुख रूपमा देख्दछु।
सायद उनीहरूका पनि आ-आफ्नै सपनाहरू थिए होला। ती सपनाहरू साकार पार्ने दृढ सङ्कल्प पनि थियो होला। तर विडम्बना! जुन समयमा जुन किसिमको साथ, सहयोग र मार्गदर्शन पाउनुपर्ने हो त्यसो हुन नसक्दा उनीहरू विभिन्न परिस्थितिलाई देखाउँदै रुचि बेगरको कुरामा सम्झौता गर्न विवश भएर। आज पनि अन्योलग्रस्त भविष्यसँग सङ्घर्षरत् छन्। मलाई लाग्छ कि कलेजमा हुने ड्रप आउट र विदेश जाने नवजवान युवाहरूको सङ्ख्या धेरै हुनुमा यो पनि एक प्रमुख कारण हो।
म स्वयमले पनि यस्ता अप्ठ्यारा परिस्थितिहरू निकै सामना गरेको छु। उमेर, अध्ययन, अनुभव र नजिकका आत्मीय व्यक्तित्वको साथ सहयोगको कारण हाल यस्ता जटिल परिस्थितिको सामना गर्नु नपरे पनि विगतका स्मृतिहरू मस्तिष्कमा ताजै छन्। एसएलसीपछि प्लस-टु पढ्ने समयमा सङ्काय र विषय छनोट गर्ने अवस्थामा होस् अथवा स्नातक तहमा विषय छनोट गर्ने अवस्था होस्, त्यसबेला निकै द्विविधाग्रस्त मानसिक अवस्थामा गुज्रिएको र सही निर्णय गर्न नसकेको हो कि भनेर बेलाबेलामा आउने मानसिक तर्कनाहरू आज पनि मस्तिष्कमा ताजै छन्।
त्यसबेला खासगरी के विषय पढ्ने, कुन विषय पढ्दा आफ्नो रुचि र आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ, जीवनका लक्ष्यहरूलाई कसरी प्राथमिकिकरण गर्ने, जीवनको लक्ष्यमा पूग्न के कसरी काम गर्ने आदिजस्ता कुराहरूले निकै अन्योलग्रस्त बनाउँथ्यो र निकै मानसिक तनाव हुने गर्दथ्यो।
मार्गदर्शन भनेको यो गर या नगर भनेर निर्देशन या सल्लाह दिनु होइन। मार्गदर्शन भनेको सही या गलत हो भनेर छुट्याउनु पनि होइन। मेरो बुझाइमा मार्गदर्शन भनेको प्रश्न सोधेर अथवा जिज्ञासा राखेर उसको भावना र चाहना बुझ्ने र उसको वास्तविक रुचि, चाहना र आवश्यकता पहिचान गर्नको लागी सहयोग गरेर स्वनिर्णय गर्न र त्यसप्रति दृढ रहन सक्षम बनाउने प्रकृया हो। सही मार्गदर्शक बन्नको लागी शिक्षित, अनुभवी र अग्रज नै हुनुपर्छ भन्ने छैन। आफूलाई तटस्त राखेर उसको चाहना र भावनालाई बुझेर उसलाई सही निर्णय लिन सक्षम बनाउन सक्यौँ भने त्यसले कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ।
हामीमध्ये धेरैको बानी सुन्ने र बुझ्नेभन्दा पनि तत्काल प्रतिकृया जनाइहाल्ने अथवा सल्लाह दिइहाल्ने खालको छ। हाम्रा भाइबहिनीहरूले हामीसँग आवश्यक सल्लाह सुझाव माग्न आउँदा पनि हामी जजमेन्टल भएर यो गर या नगर भनिहाल्छौँ। हामीमध्ये निकै कमले मात्र यो सोध्ने गरेका छौँ कि किन उसले यो सब भनिरहेको छ, ऊ आखिर के चाहन्छ र हामीबाट कस्तो अपेक्षा राखेको छ? हामीमध्ये धेरैलाई आलोचना, सल्लाह र निर्देशन दिएको मन पर्दैन र यही कुरा हाम्रो साथी तथा भाइबहिनीहरूको हकमा पनि लागु हुन्छ।
अझ किशोरावश्तामा त झन् एकोहोरोपना हुने भएकोले हामीले गर्ने यस्ता हल्का टिप्पणीले उनीहरूलाई अझ निरुत्साहित गर्न सक्छ। तसर्थ, हामी चाहे कसैको दाजु दिदी होस्, चाहे कसैको साथी होस्, कसैको मामा-माइजू होस् अथवा कसैको बाबुआमा/काका/काकी होस्, जीवनका हरेक सङ्क्रमण कालीन क्षणमा हाम्रा जुनिएर तथा नयाँ पुस्तालाई उचित मार्गनिर्देश गर्नतर्फ लाग्नु पर्दछ।
हाम्रै मार्गनिर्देशनले नै हाम्रा भाइबहिनी तथा नयाँ पुस्ताको भविष्यको मार्गचित्र कोरिने हो। तसर्थ, आज हामीले जुन पश्चाताप भोगिरहेका छौँ, जुन परिस्थितिलाई हामीले आत्मसमर्पण गर्न विवश भएका छौँ, यो कुरा हाम्रा भाइबहिनी र आगामी पुस्तालाई हुन नदिऔँ।