यसै त कामबाट घर फर्कंदा उज्यालो हराइसकेको हुन्छ। बाहिरको उज्यालो हराएर घरमा जाँदा घरको पनि अलिअलि उज्यालो हराएको हुन्छ। यो मेरो मात्रै नभएर म जस्ताहरूको स्वीकार्नै पर्ने यथार्थ हो। सधैं उज्यालोमात्रै पनि के मज्जा कहिलेकाहीँ अँध्यारोले पनि आनन्द दिने।
घरमा पुग्दा सधैं ढोका खोल्न आइपुग्ने छोराले मोबाईलतर्फ हात बढाउँछ। करिब १२ घण्टाजस्तो छुटेको सन्तानले चाहेको कुरा जे सुकैहोस् कुन पो बाबुले पूरा नगरिदेला र!
मोबाइलमा बालबालिकालाई धेरै लत नलागोस् भन्ने मनको चाहना हुँदाहुँदै पनि मोबाइल दिनैपर्ने बाध्यता छ मसँग। उसले के हेर्छ ? के गर्छ ? मैले खासै चासो दिएको छैन। तर पनि मोबाइल दिन छाडेको छैन।
मोबाइल पाएको छोराको बाबुको (?) अनुपस्थितिमा अँध्यारो बनाएको अनुहार उज्यालोमा रूपान्तरण गरेर मीठो चुम्बनसम्म अगाडि बढिहाल्छ।
एउटा बाबुलाई यति भए संसारमा अरू कुरा के पो चाहियो र ? दिनभरिको तनाव र थकान मेट्नका लागि ह्विस्की र वियरको बोतल नै किन पो फोड्नु पर्यो र! गीत पनि कहाँ त्यसै बनेको हुन्छ त ? ‘एक चुम्मा तो मुझको उधार दे दे ’
कार्यालय बन्द नभएमा हरेक दिनको दैनिकी यही हो मेरो।
सायद मजस्ताको धेरैको मेल खाने होला। बिहान निदाएको छोरोका अनुहार हेरेर हिँडेपछि साँझ निदाउने बेलामात्रै फर्कने कामको प्रकृति नै त्यस्तै छ मेरो। तर सधैं नदी एउटै दिशामा एउटै गतिले अगाडि बढेन।
आकाशमा चराहरूले उस्तै गरी कावा खाएनन्। अनि जुधाएन सूर्यमुखीले पनि सूर्यको अनुहारसँग आफ्नो अनुहार।
बाहिर अँध्यारो थियो। भित्र पनि हल्का अँध्यारो। अनि ढोका खोल्न छोराको उपस्थिति। एक हातले ढोका खोल्दै अर्काे हातले छोरालाई मोबाइल दिन मात्रै के आँटेको थिएँ। छोराले मुस्काउँदै भन्यो ‘बाबा आज मोबाइल चलाउने होइन गफ गर्ने हो ’।
सायद हजार भोल्टको करेन्टले कहाँ त्यति झट्का दिन्थ्यो होला र ? छोराको कुराले दिमागका आधा रेक्टर र मनमा सयौं रेक्टरको झड्का दियो।
आफ्नो सन्तानको सानो सानो कुराले पनि मनमा बेग्लै आनन्द सञ्चार गर्दो पो रहेछ। आँखाबाट त्यसैत्यसै आँसु पो बगे। मेरो बानी पनि कहाँ त्यति गतिलो छ र ? सानो कुरामा धेरै उत्तेजित हुने अनि सानै कुरामा धेरै आक्रोशित हुने पनि।
पछिल्लो समय कलेज प्रमुख भएर व्यवस्थापकीय कार्य सम्हाल्न पुगेपछि यस कुरामा केही चेन्ज गर्ने प्रयास गरेको छु। तर बिडम्बना त्यो सबै दुष्प्रयासमा मात्र सीमित भएको छ।
नेपाली उखान कहाँ त्यसै बनेको छ र ? ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राखे पनि जस्ताको तस्तै’
छोराको गफ गर्ने कुराले मलाई कपडा फेर्ने समय समेत निकै लामो लागेको थियो। दुई मिनेट पनि घण्टौ जस्तो पो लाग्ने। कस्तो कस्तो । छोराले आफैं सोफामा तान्दै लगेर गफ सुरू गर्यो।
‘बाबा एउटा कुरा माग्छु पूरा गरिदिनु पर्छ है’ मैले जे मागे पनि कहिले पो नाइँ भनेको थिएँ र ? छोरालाई यो कुरा थाहा थियो।
तर पनि किन प्रश्न गरेको होला, म अलमल्ल परें। त्यसमा केही बनावटी अलमल्ल थपेर भनें, ‘मोबाइल त होला नि हुन्छ लैजाऊ न।’
केही क्षण अगाडिको सगरमाथा पुगेको उत्साह एकाएक नाम्चे बजारमा ओर्लियो।
तर म पूर्णरूपमा गलत रहेछु।
छोराको आजको सोचाइ भने नितान्त फरक थियो।
‘म युट्युब च्यानल खोल्छु है बाबा’ उसले निकै मायालु भावमा भन्यो।
सायद मोबाइल माग्दा पनि यसरी भनेको थिएन होला!
सात वर्षको केटालाई युट्युब च्यानल खोल्ने कुरा कसरी आयो ? मलाई अचम्म लाग्यो।
छोराले के हेर्छ भन्ने बारेमा समेत मलाई धेरै चासो थिएन। उसको मोबाइल हेर्ने बानीले आजित भएर एउटा अनलाइनमा मैले लेख समेत लेखेको थिएँ।
‘युट्युब च्यानल खोलेपछि के हुन्छ ?’
छोरासँग जानेको कुरा पनि सिक्न आनन्द आउँछ।
‘भ्युअर्सहरू हुन्छन् अनि सस्क्राइब पनि बढ्छ ’
‘त्यो भएपछि के हुन्छ ?’
उसले सविस्तार लगायो।
‘जसरी टिसिरिजले विभिन्न भिडिओ हालेर सस्क्राइब बढाएको छ त्यसको भिडिओ मिलियनभन्दा बढीले हेर्छन् अनि पैसा पनि आउँछ ’ अन्ततः विभिन्न शास्त्रहरूको जोडफल अर्थशास्त्र नै निस्कियो।
‘पैसा त तिमी पाइलट बन्ने भन्छौ, त्यसबाट पनि आउँछ नि’
‘होइन युट्युबबाट फेम पनि आउँछ नि त! ’
ल्यापटप खोल्न जाँगर नगर्ने उसले अर्को कोठाबाट ल्यापटप ल्यायो। युट्युबमा विभिन्न भिडिओका बारेमा जानकारी लियो।
‘मोस्ट पपुलर भिडिओ’ सर्च गरेर विश्वमा सबभन्दा धेरै करिब ८ अर्बले हेरेको गीतको भिडिओ पनि देखायो।
मोबाइलमा गेममात्रै खेलेर बस्छ भनेको केटोले एलन मस्कदेखि वायुमण्डलीय ताराहरूको बारेमा पनि सर्च गरेर देखायो।
‘बाबा के अब मैले युट्युब च्यानल खोलौं ? ’ सामान्यतयाः कुनै पनि काम गर्दा मेरो खासै अनुमति नलिने छोराले फेरि पनि अनुमतिका लागि अनुरोध गरिरहेको थियो।
‘तिमी सानो छौ, फेरि पढ्नु पनि पर्छ , कसरी युट्युबमा भिडिओ राख्छौ त ? ’
सायद मलाई अनुरोध गर्ने बित्तिकै यस्तो प्रश्न आउँछ भन्ने उसले पूर्वतयारी गरेको थियो क्यार। परीक्षामा सबै कुरा लेख्न जानेको प्रश्नजस्तै उसले सविस्तार बतायो।
‘जस्तो हामी विभिन्न ठाउँमा घुम्न जान्छौं त्यसमा मोबाइलले खिचेर भ्लग हाल्ने, जस्तो स्कुलमा सर म्यामले विभिन्न कुरा भन्नुहुन्छ त्यो कुरा आफूले भनेर भिडिओ बनाउने, जस्तो गेमिङ हाल्ने ( यो चाहिँ मैले बुझिनँ र बुझ्न पनि चाहिनँ ), साथीहरूले सुनाएका जोक्सहरू हाल्ने।’
उसको जवाफमा केहीबेर ब्रेक लागेर फेरि स्टार्ट भयो।
‘युट्युबमा हामीले हेर्न राम्रो लाग्ने जे पनि राख्न सक्छौं नि ’ सात वर्षको दिमागले सर्तिस वर्षको दिमागलाई चुनौती दिँदै थियो।
घरमा मलाई खासै वास्ता नगर्ने छोरा उसका कुरा सुनिदिन थालेपछि, नजिक हुन थालेको छ। घरमा पुग्दा मोबाइल हेर्ने होइन कुरा सुनिदिने मान्छे आएको महसुस गरेर खुसी हुने गरेको छ। साँझ बाबासँग के कुरा सर्च गरेर हेर्ने भन्ने योजना बनाउन थालेको छ।
छोरालाई युट्युबमा नराम्रा कुरा पनि छन् भन्ने सिकाउन मन छ। तर उसले थाहा पाएका राम्रा कुरा मात्रै वर्षैभरि सुन्न मन छ।
उसले युट्युब च्यानल खोल्ला नखोल्ला। भ्युअर्स पाउला नपाउला। अझ त्योभन्दा अगाडि च्यानल खोल्नका लागि मेरो अनुमति कुरेको छोरालाई मैले ‘हस्’ भनूँला नभनूँला। ती सबै अलग कुरा हुन्। तर कम्तीमा नयाँ दुनियाका कुरा थाहा पाउन र त्यसमा अभ्यस्त हुने प्रयत्न गरेको छ।
हामीले सन्तानले मोबाइल मात्रै हेर्यो भनेर धेरै पीर चिन्ता पनि नगरौं। किन हेरे ? के हेरे ? भनेर पनि ख्याल गर्नुपर्दो रहेछ।
हामीले डण्डीबियो खेल्यौं भनेर अहिलेको पुस्तालाई पनि डण्डीबियो नै खेलून् भन्ने सोच राख्नु पुरातन कुरा हुँदो रहेछ।
हाम्रा बाजेबज्यैले पूजा गर्ने चन्द्रमामा बस्ती बसाल्ने सपना देख्ने एलन मस्कमा फ्यान बनेका हाम्रा सन्ततीको ‘युग’ लाई हामीले पनि बोध गर्न सक्यौं भने पक्कै पनि मोबाइल फ्याँकेर उनीहरूले भन्नेछन् ‘बाबा आज गफ गरौं न। ’