मानिसका बानी नै उसका शत्रु र मित्र हुन्। इन्द्रियहरुलाई शत्रु र मित्र मानिए पनि यदि यी नै इन्द्रियहरुलाई वशमा राख्न सक्ने ताकत कसैमा छ भने तिनी हाम्रा बानीमा छ। मान्छेका सही बानीले उसको जिन्दगी कायापलट हुन सक्छ।
उदाहरणका लागि एउटा कुनै व्यक्तिले रोदीमा जाने बानी बनायो र एउटाले नियमित बिहानै उठेर मन्दिर जाने बानी बसाल्यो भने के यिनी दुवैजना एउटै जसरी सोच्लान्? अहँ! हुनै सक्दैन। हुन त हरेक व्यक्ति स्वभावैले फरक-फरक हुन्छन्। तर, सही बानीले व्यक्तिलाई आनन्ददायी जीवनयापन गर्न मद्दत गर्दछ।
एकपटक घोडा दौड प्रतियोगिता आयोजना भयो। प्रतियोगिता समथर मैदानमा आयोजना गरियो। मैदानका केही भागहरुमा खाडलहरु बनाइएका थिए। जब-जब खाडलहरु अगाडि आउँथे घोडामा सवार भएको प्रतिस्पर्धीले लगामलाई बेस्सरी तान्नु पर्थ्यो। यदि त्यसो नगरेको खण्डमा घोडाका खुट्टाहरु उक्त बनाइएका खाडल भित्र पसेर घोडा लड्ने सम्भावना धेरै हुन्थ्यो।
त्यसैले प्रत्येक घोडा सवारले खाडलहरु राम्ररी हेरेर सावधानीपूर्वक घोडाको लगाम तान्थे। प्रतिस्पर्धा लामो समयसम्म चल्यो। घोडामा सवार प्रतिस्पर्धीहरु थाके तर घोडाहरु दौडी नै रहे। अचम्म के भयो भने प्रतिस्पर्धीहरु खाडललाई हेरेर लगाम तान्ने अवस्थामा थिएनन्। धेरै थकित भइसकेका थिए। यो अवस्थामा जब खाडलहरु अगाडि आउँछन्। घोडा आफैंले गोडा माथि गर्छ। हेर्ने दर्शकहरु चकित थिए।
यो कथाको सन्देश के हो भने पहिले-पहिले राम्रा बानी बसाल्न गाह्रो हुनसक्छ। धेरै मेहनत लाग्न सक्छ। अल्छी लाग्न सक्छ। जब यिनी राम्रा बानीहरु लाग्छन् तब तपाईंका लागि यिनै बानीहरुले काम गरिदिन्छन्।
कसैको चुरोट तान्ने लत हुन्छ, कसैको चिया पिउने, कसैको पढ्ने, कसैको नपढ्ने, कोही बोल्ने, कोही नबोल्ने, कोही काम गर्ने, कोही कुरा गर्ने। यिनी सबै आदतका उपज हुन। हाम्रा आदत निर्माण हुनुअघि हाम्रो मनोविज्ञान बदलिन्छ। मनोविज्ञानले विश्वासको ब्लुप्रिन्ट तयार गर्छ। अनि हामी हाम्रा राम्रा हुन् या नराम्रा आदतका नोकर बन्न पुग्छौं।
तपाईं राम्रा आदत बनाउनुस्। तिनै राम्रा आदतले तपाईंको जिन्दगी सुन्दर बनाउने छन्। तपाईं नराम्रा आदत नबनाउनुस्। खराब आदत बनाउनै पर्दैन। आफै उपहार स्वरुप आउँछन्। धान, गहुँ या अन्य तपाईंलाई चाहिए अनुसारको बाली उमार्न तपाईंले उक्त बालीकै बिज उपयुक्त माटो हेरेर लगाउनु पर्ने हुन्छ। तर, घाँस उमार्न तपाईंले न त बिज नै लगाउनु पर्छ न त माटो नै परीक्षण गर्नुपर्छ। जे लगायो त्यही फल्ने, फुल्ने हो। धानको बीउ छरेर सुन्दर फूलहरुको अपेक्षा गर्नु मूर्खता मात्र हो।
अव्यवस्थित र अस्तव्यस्त दैनिकीले मावन जीवनमा कस्तो महासंकट आउन सक्छ भन्ने उदाहरण पहिलो लकडाउन हो। कोरोना महामारीको जस्तो समय मानिसहरुले कहिल्यै देखेका र भोगेका थिएनन्। सबै नयाँ दैनिकीमा प्रवेश गर्दै थिए। एकातिर मनभरि संक्रमण भएर मरिने डर अर्कोतिर नयाँ दैनिकी मोबाइलको लतमा फस्दै थियो। सुरु-सुरुमा नयाँ दैनिकीसँग कोरोना संक्रमणरहित भएर कसरी मिलेर बस्ने भन्ने ज्ञानगुनका कुरा विशेषज्ञका अनुसार पालना पनि गरे। तर, केही समयछि सवाल सबैको एउटै भयो। कहिलेसम्म?
यही नयाँ बानीसँग घुलमिल हुन नसकेर हजारौंले आत्महत्या गरे भने लाखौंको संख्यामा मानसिक रोगी भए। मात्र एउटा नयाँ दैनिकीसँग एडजस्ट हुन नसकेर। यही समयमा कयौँले नयाँ-नयाँ कुराहरु सिकेर आफूलाई उत्पादनशील र सीपयुक्त बनाए। जसले गर्दा लकडाउन खुलिसकेपछि उनीहरुले रोजगार सहजै प्राप्त गरे।
मान्छे जब दिमागभन्दा बढी मन चलाएर थाक्छन् तब जिन्दगीका यस्ता परिभाषा बन्न पुग्छन्। दुखी भयो, हे भगवान मलाई मात्र दुःख किन? खुसी भयो, जिन्दगी एक उपहार हो। चुनौतीहरु आए, जिन्दगी अवरोध हो। चुनौतीहरुदेखि पार भयो, चुनौतीहरु पार गरेर नै एक सामान्य व्यक्ति महान् बन्छ। यसरी मान्छे फस्दै जान्छ। र, जिन्दगीको वास्तविक आनन्द लिनै पाउँदैन।
एक व्यक्तिले जिन्दगीलाई अनेक तरिकाबाट हेर्नुपर्छ। परिभाषित गरिहाल्नु हुँदैन। किनभने परिभाषा सिद्धान्त हो। हेर्ने दृष्टिकोण बदलिन पनि सक्छ। परिभाषा त्यही बन्ने हो जुन हरेक दृष्टिकोणबाट हेरिसकेपछि बाँकी रहन्छ। घटना, विचार, सुख, दुःख यिनी सबै एउटा पात्रको जिन्दगीमा आउँछन्। यसकै कारणले कथा प्रेरणादायी र रोमाञ्चक बन्छ। तर, पात्र कथाबाट हराउनु हुँदैन। उसले कथामा आफ्नो भूमिका निडर, साहसी, मेहनती भएर निभाउनु पर्छ।
हो, तपाईंले हिरोको रोल निभाउनुपर्छ। अझ तपाईंलाई थाहा होला, जटिल रोल जो-कोहीलाई दिइँदैन। यदि तपाईं आफ्नो कथामा जटिल भूमिका निभाइरहनु भएको छ भने सम्झनुस् तपाईंको जिन्दगीको कथा ब्लकबस्टर हुनेवाला छ। मेहनतको फल प्रकृतिले नै तपाईंलाई दिने हो। कर्म गरेकोले फल कसरी नपाउन सक्छ?
यदि तपाईंले बानीद्धारा खेलाडीको जस्तो अनुशासन र कोचको जस्तो माइन्डसेट बनाउन सक्नु भयो भने उक्त क्षणबाट तपाईंका लागि संसारका हरेक कामहरु कडा मेहनत, अनुशासन र धैर्यताबाट सम्भव छन् भन्ने विश्वास लाग्नेछ। र, मैले कतै पढेको थिए। तपाईं जे विश्वास गर्नुहुन्छ त्यही बन्नुहुन्छ।
तपाईंले गरेका हरेक दिनका स-साना कार्यले एकदिन यो दुनियाँमा ठूलो परिवर्तन ल्याउन सक्छ। कार्य बानीमा बदलिएको हुनुपर्छ अर्थात् निरन्तर हुनुपर्छ। हिजो हामीसँग के थियो, के छुट्योले हाम्रो भविष्यमा केही फरक पर्दैन। हामी जुन-जस्तो हालतबाट पनि भविष्य फेरि निर्माण गर्न सक्छौं। त्यसको सुरुआत हाम्रा बानीहरुबाट हुन्छ। एक-एक मानिसको संख्याले समूह बनेजस्तै एक-एक प्रतिशत बानीमा ल्याएको सकारात्मक परिवर्तनले हाम्रो भविष्य हामीले चाहेभन्दा राम्रो र सोचेभन्दा माथिको उचाइमा पुग्नसक्छ।
सफल जिन्दगीका लागि केही बानीहरुः
१) बिहानको केही समय शान्त रहनुस्। सफल मान्छेहरुले प्रायःजसो बिहान उठेर ध्यान गरेको पाइन्छ। यदि तपाईं पनि आफ्नो गर्न लागेको कार्यमा स्पष्टता चाहनु हुन्छ भने बिहानको केही समय शान्त रहनुस् अथवा ध्यान गर्नुस्।
२) उठ्ने बित्तिकै केही सकारात्मक कुराहरु भनेर आफ्नो दिनको सुरुआत गर्नुस्। जसले गर्दा तपाईंमा आत्मविश्वास पैदा हुन्छ। आजको दिन मेरा हरेक दिनहरुभन्दा सबैभन्दा राम्रो हुनेछ यो भनेर सुरु गर्नु भयो भने र आज के गर्ने होला यार, केही काम नै छैन भन्नुभयो भने यसले हाम्रो मस्तिष्कलाई त्यहीअनुसार निर्देशन दिन्छ। र, कर्ममा देखिन थाल्छ। छनौट तपाईंको हो। तपाईं के भनेर आफ्नो दिनको सुरुआत गर्ने? विश्वास गर्नुस्। तपाईंले तपाईंको दैनिक बानीमा ल्याएको सामान्य सकारात्मक परिवर्तनले केही समयपछि तपाईंले सोचेभन्दा राम्रो प्रतिफल दिन्छ।
३) तपाईं जे प्राप्त गर्न चाहनुहुन्छ, जे बन्न चाहनुहुन्छ त्यसको स्पष्ट चित्र देख्ने कोसिस गर्नूस्। मस्तिष्कको भाषा भनेकै चित्र हो। यदि तपाईंसँग तपाईंको सपनाको स्पष्ट चित्र भयो भने मस्तिष्क आफूले प्राप्त गर्नुपर्ने कुरामा अन्यौंल नभइकन काम गर्न सुरु गर्छ।
४) हामी यति व्यस्त हुन थालिसक्यौँ कि हाम्रो कामबाट हामीलाई फुर्सद नै हुँदैन। तर, एउटा सिर्जनशील मस्तिष्कका लागि स्वस्थ शरीर अति आवश्यक विषय हो। त्यसैले आफ्नो व्यस्त दैनिकीको रुटिनमा शारीरिक अभ्यासलाई पनि स्थान दिनूस्।
५) तपाईं जुन फिल्डमा नेतृत्व गर्न चाहनुहुन्छ उक्त फिल्डको मास्टर बन्नुपर्ने हुन्छ। त्यो तबमात्र सम्भव छ, जब तपाईं अध्ययन गर्नुहुन्छ। अध्ययनलाई बानी बनाउनुस्।
६) कुनै पनि विचारमा स्पष्टता ल्याउन तपाईंले लेख्नुपर्छ। अनुसन्धानहरुले के पनि देखाएका छन् भने दुनियाँमा सफल भएका मान्छेहरुले आफ्ना गोलहरु लेखेका थिए। आफ्नो हरेक दिनको दैनिकीलाई डायरीमा उतार्थे र आज कुनै गल्ती भए त्यसलाई आउने दिनहरुमा दोहोरिन दिँदैन थिए।
(लेखक उत्प्रेरक वक्ता हुन्।)