हरेक वर्ष दसैँ-तिहार लाग्दा मनमा बेग्लै हर्ष, उल्लास र उमंगले बास गर्छ। आफ्नो भविष्य उज्जवल बनाउन ठूलो सपना बोकेर गाउँदेखि सहर हानिएका विद्यार्थी, जागीरको सिलसिलामा घर छोडी बाहिरिएका कर्मचारी, बिहान-बेलुका दुई हात जोड्नका लागि रोजगार पाइन्छ कि भन्ने आशामा सहर छिरेका रामे काका, श्यामे काका लगायतका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू चाडपर्व मनाउन आफ्नै जन्मघर, जन्मथलो भित्रने गर्छन्।
सहरबाट गाउँ फर्कने मानिसको भिड हेर्दा लाग्दछ कुनै ठूलै महोत्सव नै चल्दैछ। वर्षौंपछि घर फर्कँदा खुसी बनेका ती मनले, अनुहार पनि चम्काउने गर्दछन्। दसैँ तिहारमा बुबा-ममी आफन्तलाई उपहार स्वरुप दिन साथै चाडबाडलाई भनि किनिएका सामानका पोकापोकी पनि ती घर फर्कने मानिसहरूसँगै टाँसिएका देखिन्छन्।
ओहो! चम्किरहेका ती अनुहार कतै मलिन पो भएका हुन् कि जस्तो देखिन थाल्यो। यसो कुरा बुझ्दा त उत्साहित हुँदै घर हिँडेका ती यात्रुले आफ्नो गाउँघर फर्कने गाडी नै भेटेनछन्, भेटिहालेकाले पनि गाडीभित्र सिट पाएनछन्।
हो, अब यहाँबाट सुरु हुने गर्दछ दसैँ-तिहारमा घट्ने नमिठा, तिता घटनाहरू। चाडबाडका बेला गाडीका चालक, सहचालकलाई भने अझ ठूलो चाडबाड लाग्ने गर्दछ। गाडीको क्षमताभन्दा दोब्बरसम्म यात्रुहरु हाल्ने हुँदा गाडी र यात्रु गन्तव्यसम्म पुग्नु अगावै नमिठो घटनाको समाचार सुन्नुपर्दछ।
उता घरमा घडी हेरी पर्खी बसेका बुबा-आमाको पीडा देखिसक्नु हुँदैन। खुसी, हर्ष, उल्लास, उमंग भित्र्याउन आएको दसैँ ठूलो दशा बनी फर्कन्छ।
विश्व हल्लाउने ठूलो सपना देखेका ती यात्रुहरु गाडीसँगै केही मिटर तल खस्दा सपना पनि चकनाचुर हुन्छ। यो नमिठो घटनाले उब्जाएको चित्कार सारा नेपालीले सुन्छन्। हरेकको मन अमिलो हुन्छ, सबै भावुक बन्छन्। तर अह! सुन्नु पर्नेले सुनिदिँदैन अथवा भनौ नसुने जस्तै नाटक गरिदिन्छ।
सम्पूर्ण काम कर्तव्य पूरा गर्छु भनी सपथ खाएका, आफ्नो नाममा नेता शब्द जोडेर ठूलाबढा हुँ भन्दै हिँडेका ती अजिम्मेवार व्यक्तित्वहरुको दिन सधैं आउने भयो। न तिनलाई कानुन लाग्ने भयो न तिनको बुद्धि नै पलाउने भयो। पद पाउनुभन्दा अगाडि जनतासँग हार-गुहार गर्ने, रुने, कराउने, लोभ देखाउने अनि पद पाइसकेपछि तिमीहरूलाई म चिन्दिनँ भन्दै हिँड्ने प्रवृत्ति जुनै नेता आएपनि नफेरिने भयो।
नेता आउँछन्, चुनावको तयारीमा लुटतन्त्र, झुटतन्त्र सबै अपनाएर आफ्नो हैकम जमाउँछन्। आफू बन्छन्, परिवार बनाउँछन्, आफ्ना आसेपासे बनाउँछन् अनि बिन्दासको जीवन जिउँछन्।
देशमा गर्नुपर्ने विकासका कामको तिनलाई केही मतलब छैन। गरिबका छोराछोरीले के खाएका छन्, कसरी बाँचिरहेका छन् यो पनि तिनलाई केही मतलब छैन। गाउँ-गाउँसम्म पुग्ने बाटो घाटो के-कस्ता छन्, चलाउने चालकहरु पूर्ण तालिम प्राप्त छन् कि छैनन्, अहँ! यी कुनै पनि कुराको केही मतलब छैन ती नेता भनिएकाहरुलाई।
सुन्नुहोस न! अभिभावकले आफ्ना छोराछोरीको ख्याल गरे जसरी, सुरक्षा गरे जसरी सरकारले पनि आफ्ना जनताहरुको सुरक्षा गर्नु पर्ने होइन? अनि किन हदभन्दा पनि बढी लापरबाही छ यहाँ? आफ्ना जनताहरूले बिग्रेको बाटो-घाटोको कारण छिनभरमै अकालमा नै यो संसारबाट देह त्याग गर्नुपर्दा किन यिनको मुटु पोल्दैन? किन यिनका आँखा रसाउदैनन्? किन यी सुनेर पनि नसुने झैं नाटक गर्दछन? यी सम्पूर्ण प्रश्नहरूको जिम्मेवार आखिर को?
बाल्यवस्थामा म जिस्किँदै आमा-बाबालाई भन्ने गर्थेँ- अरु विकसित राष्ट्रमा जन्मिएको भए त हाम्रो मृत्यु रोगले च्यापेपछि, बुढेसकाल लागेपछि हुन्थ्यो होला है? तर हामी त नेपालमा जन्मिएका छौँ, हाम्रो मृत्यु त बाटोको राम्रो व्यवस्था नहुँदा अकालमा नै हुन्छ होला।
अहिले जब मेरो उमेर बढ्दै गयो, परिवेश बुझ्दै जाँदा बाल्यकालमा भनेका ती कुरा त वास्तवमै हो पो रैछ क्या भन्ने लाग्यो। कति सस्तो है मानव जीवन? राम्रो व्यवस्था, राम्रो अनुसन्धान, राम्रो कानुन लगायतका कुरा नहुँदा वर्षौं बाँच्छु, संसार हाक्छु भनेर ल्याएको जीवनको अन्त्य हुन केही सेकेण्ड पनि नलाग्ने भयो।
सँच्चा राष्ट्रप्रेमी आएर नेपालले मुहार कहिले फेर्छ होला? नेपालीको ज्यानको सुरक्षा कसले गर्छ?