मैले किताब लेख्न लागेको तेह्र वर्ष भयो। पाठ्यपुस्तकहरु तथा रोचक जानकारी र सामान्यज्ञानका पुस्तक गरी अठार थान लेखिएछ।
विसं २०६५ सालमा रोचक जानकारीहरुको संग्रह नेपाल दर्पण पहिलो पुस्तकको रूपमा प्रकाशित भएसँगै किताब लेखनको यात्रा प्रारम्भ भयो। लेखन यात्रा त्यसयता अविरल छ। काठमाडौँको भोटाहिटी स्थित हाइल्याण्ड पब्लिकेसन प्रालिले यो किताब छापेको थियो। जिम्मेवारी बहन र सहयोगको लागि प्रकाशक दाजु पुष्पनिधि गौतमप्रति कृतज्ञ छु।
नेपाल दर्पण मैले लेखेका किताबहरु मध्य सर्वाधिक रुचाइएको किताब हो। यो मेरा लागि अति प्रिय पनि छ। कहिलेकाहीँ मित्रहरूसँग लेखकका रूपमा आफूलाई चिनाउँछु।
'तपाईं के? कवि, गजलकार वा आख्यानकार?'
'होइन, म लेखक। किताब लेख्छु। मेरा किताबहरु स्कुल र कलेजकाले पढ्ने हुन्।'
अनि उहाँहरुको जिज्ञासा मरेर आउँछ।
नेपालमा धेरै लेखकहरु हुनुहुन्छ। तर पहिचान लेखकको रूपमा हुँदैन। लेखक हुने भएपछि साहित्यमा कलम चलाउनु पर्छ। कविता, मुक्तक, गजल, कथा, उपन्यास वा अरु केही त लेख्नै पर्ने। अनि बल्ल समाजले लेखक मान्छ। स्कुल र विश्वविद्यालयका पाठ्यक्रममा आधारित रहेर व्यवसायिक रूपमा पाठ्यपुस्तक लेख्नेहरु धेरै हुनुहुन्छ, समाजमा। तिनै पाठ्यपुस्तकहरु पढेर लेखक वा साहित्यकार, समीक्षक र पत्रकारको रूपमा समाज र राष्ट्रमा स्थापित व्यक्तित्वहरु भने पाठ्यपुस्तक लेख्नेहरुलाई चिन्नु हुन्न। चिन्ने आवश्यकता पनि महसुस हुँदैन।
पाठ्यपुस्तक लेख्नु लेखकीय स्वतन्त्र विचार र मतअभिमतको अभिव्यक्ति होइन तर पाठ्यक्रमको कसिमा रहेर भिन्न-भिन्न दिमागी संरचना भएका शिक्षार्थीहरुको लागि किताब लेख्नु एउटा कला हो। यही मौलिकतामा जन्मेको असल किताबले नै एउटा बालकको सुदूर भविष्यलाई रेखांकन गर्दछ, न कि भाविले। आमाको कोखबाट सुरु भएको जिन्दगी निमार्णको विजयी गाथा कक्षाकोठामा प्रवेश गरेपछि किताबको सहाराले पूर्णाकारतर्फ लम्कन्छ। यसलाई शैक्षिक ईन्जिनियरिङभन्दा हुन्छ।
पाठ्यपुस्तकका लेखकहरु प्रायः गुमनाम नै छन्। प्रकाशन गृहहरुका सालिन्दा निस्कने क्याट्लग र आफ्नै किताबमा बाहेक अन्यत्र लेखकको रूपमा नाम भेटिन गाह्रो पर्छ। पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरी पाठ्यपुस्तक बजारमा आएपछि काम फत्ते भयो। पत्रपत्रिका, रेडियो र टेलिभिजन कतै पनि चर्चा परिचर्चा हुँदैन। पुस्तकीय समीक्षा त धेरै परको कुरा पर्यो। तर विद्यार्थी, शिक्षक मित्रहरू, अभिभावकहरु, पाठकगण र प्रकाशन गृहबाट नियमित जसो आउने प्रतिक्रियाले भने लेखन प्रतिको लगावलाई अझ उर्जाशील बनाउँछ।
धेरै वर्ष पहिले, विसं २०५२/५३ साल तिर एउटा राष्ट्रिय मासिकमा विद्यालयमा पढाइ हुने स्वास्थ्य शिक्षाका किताबहरु बारे एकजना चिकित्सकले बहुत मिहीन ढंगले विश्लेषण गरेका थिए। यो बाहेक विद्यालयका पाठ्यपुस्तकहरुबारे गरिएको अर्को टिकाटिप्पणी फेला पार्न सकिएको छैन।
तर यी पाठ्यपुस्तकहरुमा मुद्राराक्षसको कारणले भएको सामान्य त्रुटी भेटियो भने पनि त्यसले नब्बे सालको भुँइचालो ल्याउँछ। सोसल मिडिया र यु-ट्युबरहरुको जगजगी भएको आजको जमानामा प्रतिरक्षा गर्न नउत्रिए खैरत छैन।
किताब लेखनको अर्को आकर्षक पाटो पनि छ, त्यो हो लेखकस्व अर्थात् रोयल्टी। किताबबाट बुझिलिइने रोयल्टीले जीवन गुजार्न सहज मात्र होइन, लेखकहरुका जिजीविषाहरु पाती मल्किए झैँ मल्किँदै जान्छन्। आर्थिक हैसियत नै फेर्न योगदान पनि पुगेको देखिन्छ।
७० को दशकको अन्त्यसम्म आउँदा विद्यालय स्तरका अधिकांश पाठ्यपुस्तकहरु नेपाली लेखकहरुले नै लेखिरहेका छन्। यो सुखद् पक्ष हो। पाठ्यपुस्तकको लेखनमा डा. सुरेशराज शर्मा, स्व. गोबिन्द देव पन्त, चुडामणि गौतम, डा. ताना शर्मा आदिको समयरेखालाई तन्काउँदै-तन्काउँदै लगेको छ, आजको नयाँ पुस्ताले।