लाखौं खर्च गरेर परदेश पलायन हुनेको संख्या दिनहुँ बढ्दै छ। हाम्रोजस्तो विकासोन्मुख देशका सक्षम युवा विकसित देशको सुख, सुविधा र देखेर हजारौं युवा उतै आकर्षित भइरहेका छन्।
शिक्षाका लागि होस् या रोजगारीका लागि उताको सुख, सुविधा र अवसर देखेपछि घर फर्कने विरलै हुन्छन्। यस्तो अवस्था देख्दा लाग्छ नेपाल खाली हुँदै गइरहेको छ। अमेरिका, अष्ट्रेलिया र क्यानडा लगायतका देशमा जानको लागि विद्यार्थीले लाखौं पैसा खर्च गर्न तयार हुन्छन्।
अभिभावकले समेत राम्रो साथ दिन्छन्। पछिल्लो समय नेपालमै केही गरेर बस्नुपर्छ भन्ने सोच भएका युवाको संख्या न्यून छ। देशको मुहार फेर्नको लागि युवा जनशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ। तर दिनहुँ पलायन हुने युवा शक्तिलाई रोक्न न त राज्यले कुनै पहल गर्छ। न त युवा स्वयंले देश बिग्रँदै गएको अवस्थाका विषयमा सोच्छन्।
युवालाई स्वदेशमा नै रोजगारी दिन नसक्नु राज्यको ठूलो कमजोरी हो। यदि राज्यले युवालाई उसको योग्यता र क्षमता अनुसारको रोजगारी दिन सक्ने हो भने दिनहुँ पलायन हुनेको सङ्ख्यालाई केही कम गर्न सकिने थियो।
पछिल्लो समय विद्यार्थीले अध्ययन भन्दा राजनीतिक पार्टी र विभिन्न संगठनमम आबद्ध हुनुलाई महत्त्व ठान्छन्। योग्य व्यक्ति विदेश पलायन हुनु र देशको नीति-निर्माण तहमा आसेपासेलाई पुर्याउनु अत्यन्तै दु:खको विषय हो।
देशको गम्भीर समस्याको रूपमा खडा भएको प्रतिभा पलायनका विषयमा कस्ले सोच्ने ? शिक्षित व्यक्ति गाउँमा बस्न नरूचाउनुको कारणबारे कसले सोच्ने ? विद्यार्थीले ? राज्यले, अथवा दुवैले।
कुनै पनि व्यक्ति गाउँमा उच्च शिक्षा पढ्ने अवस्था नभएपछि सहर जान्छ। सहरको सुख सुविधाले पनि उसलाई पुग्दैन। चाहना दिनहुँ थपिरहन्छन्। अनि विदेश जान तयार हुन्छ। विदेशको सुख सुविधाले पुनः नेपाल फर्कनेबारे सोच्नसम्म भ्याउँदैनन्।
एउटा आश्चर्यसँगै यथार्थता त यो छ।
मान्छेलाई विस्तारै आफू जन्मेको ठाउँ, खेलेको माटो, पढेको विद्यालय आफू अनुकूल लाग्न छोड्छ। आफूलाई हुर्काउने अभिभावक, पढाउने शिक्षक समेत सिधासाधा र अशिक्षित लाग्न थाल्छन्।
आफू जन्मेको थातथलो छाडेर अर्कैको संस्कारमा रमाउनु धेरैको लागि सामान्यजस्तै भइसकेको छ। अचम्म लाग्छ। प्रतिभावान व्यक्तिले नेपालमा अवसर पाउँदैनन्। यहाँ त केवल गलत काम र गलत प्रवृत्तिलाई नै सही र स्याबासी दिनेहरूको स्थान छ।
दल र नेताका नाममा विभिन्न नारा लगाउँदै व्यक्तिगत स्वार्थको लागि समाजमा भाषण ठोक्नेको दबदबा छ।
दल र नेता चुनावी भाषण र आफ्नो व्यक्ति स्वार्थबाट माथि उठ्न नसकेकै कारणले होनहार प्रतिभा पलायन भइरहेका हुन्।
हाम्रो परिवार र समाज पनि कम छैन। समाजमा कुनै व्यक्ति पढे-लेखेर विदेश गयो भने उसलाई सफल मानिन्छ। तर नेपालमा केही गर्न खोज्नेलाई असफल मानिन्छ। भनिन्छ 'फलानोको छोरा विदेश गइसक्यो। यसले केही गर्न नसक्ने भयो।'
यी त सुनिने र भनिने कुरामात्र हुन्। वास्तविकता पनि यस्तै छ। नेपालमा बसेर के गर्ने ? के चाहिँ छ यहाँ हाम्रा लागि ? कम युवा पनि छैनन्। सोच्छन् माथि उठ्नको लागि यो ठाउँ छोड्नुपर्छ विदेश जानेलाई भाग्यमानी भनेर चर्चा गरिन्छ।
नेपालमै मेहनत गर्नेलाई केही गर्न सकेन भनिन्छ। उसो त हाम्रो समाजका प्रतिभालाई पलायन हुन परिवार, समाज र राज्य सबैतिरबाट दबाब छ भन्दा पनि फरक पर्दैन। नेपाल कृषि प्रधान देश हो। अब कृषिबाट क्रान्ति गर्नुपर्छ पनि भनियो। तर के गर्नु ? पढेलेखेका मान्छेले समेत यसरी गाउँमै किन कुटो कोदालो गरिरहेको होला भन्न छाडिएन। हामी नेपालीको लागि हुन त यो नौलो विषय होइन। किनभने पढेलेखेका मानिसले आफूलाई ठूलो ठान्ने सोच परम्परादेखिकै हो।
यससँगै पढेलेखेर पनि केही प्रगति गर्न सक्दैन भन्ने सुन्नुभन्दा पनि अब विदेश नै जान्छु भन्ने पनि लाग्दो हो धेरैलाई।
एकै ठाउँमा बस्नेले खासै प्रगति गर्न सक्दैन पनि भनिन्छ। तर राम्रो विषय पढ्न विदेश गए पनि काम चाहिँ नेपालमै आएर गर्नुपर्छ भन्ने हो। हुन त एउटा शिक्षित र दक्ष व्यक्तिले विश्वको जुनसुकै कुनामा गएर पनि आफ्नो प्रतिष्ठा स्थापना गर्न सक्छ तर आफ्नो मातृभूमिको लागि केही न केही योगदान दिनुपर्छ भन्ने बिर्सनु हुँदैन।
एउटा गम्भीर विषय छ। राज्यले किन पहल गर्दैन युवा पलायन रोक्न ? किन सोचिँदैन यो गम्भीर समस्याको समाधानका विषयमा ? सबल नागरिकले देश छोडेर हिँड्ने विषय किन सामान्य लाग्छ हामीलाई ? किन सुख सुविधा र व्यक्तिगत चाहनामा मात्रै केन्द्रित छौं हामी ? परिवार, समाज र बस्तीले किन यस्ता घटनाको उत्सव मनाउँछ? गाउँमा जन्मेको नागरिकले किन गाउँमै बसेर त्यहीँ ठाउँको विकास गर्न सक्दैनन् ? हिमालबाट पहाड र पहाडबाट तराई जाने क्रम बढ्दैछ। गाउँमा बस्नेहरूको अवस्था सहरको तुलनामा पिछडिएको नै हुन्छ।
पिछडिएको क्षेत्रबाट सधैं कति भाग्ने? शिक्षित व्यक्ति गाउँ छाडेर हिँड्ने घटनाले गाउँलाई नै ठूलो असर परिरहेको छ।
गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने घटनालाई हामी किन इज्जतका साथ स्वीकार्दै आइरहेका छौं ?
ठूलो धनराशी खर्च गरेर विदेश पढ्न जानेलाई कहिले रोकिन्छ सरकार ?
विदेशमा खर्च गर्न पैसा नेपालमै खर्च गरेर चाहेको जस्तो पढ्न पाउने अवसर कहिले प्राप्त हुन्छ ?
पढेकालाई रोजगार दिनेबारे कस्ले सोच्छ? अध्ययन गरेर नेपाल आउन सक्ने अवस्था सृजना गर्न किन सकिँदैन ?
अहिले पढ्न विदेश गइरहेकाहरू अध्ययनपछि स्वदेश फर्कन तयार कहिले हुन्छन् ?
अब शिक्षाको गुणस्तर र शिक्षा नीतिमा नै परिवर्तन ल्याउन जरूरी छ। गाउँको माटो, प्रकृति र भूगोल पढाउन जरूरी छ। विकास नभएको गाउँ र पिछडिएको अवस्थाबारे मात्रै घोकाउन आवश्यक छैन।
सहर र गाउँबीचको खाडललाई पुर्न आवश्यक छ। पढेका शिक्षित भनिनेहरू सधैं सहर र देशबाहिर रहनुपर्छ भन्ने सोचको अन्त्य हुन जरूरी छ। यद्यपि पछिल्लो समय रहरभन्दा बढी देशमा व्याप्त अभावका कारण प्रदेश गइरहेका छन्।
दीगो समाधानको उपायबारे सोच्न अझै ढिला गर्ने हो भने देशको खस्कँदो स्थिति झन् कमजोर बन्ने निश्चितजस्तै देखिन्छ।