आजभोलि समाजमा विभिन्न किसिमका हत्या हिंसाका घटनाहरू भइरहेका हुन्छन्। छोराद्वारा बाबुको हत्या। बलात्कारपछि बालिका तथा युवतीको हत्या। अज्ञात समूहबाट कुनै युवकको हत्या। आफ्नै नातेदारबाट एकै परिवारका सात सदस्यको हत्या। पतिद्वारा पत्नीको हत्या। यस्तै-यस्तै प्रकृतिका हत्या हिंसाका घटनाहरू हामीले सुनिरहेका हुन्छौँ।
आत्महत्या पनि हाल आएर समाजमा फरक किसिमले हुने गरेको छ। कोही फेसबुकमा लाइभ आएर आत्महत्या गर्ने गरेका घटनाहरू पनि हामीले देखेका छौँ। हत्या र आत्महत्या बाहेक हाल आएर समाजको डरलाग्दो हत्या चरित्र हत्या भएको छ। पछिल्लो समयमा विश्व संचार जगतले नै साँघुरो बनाएको छ।
विश्वको जुनसुकै कुनाको समाचार पनि एक मिनेटभित्र नै थाहा पाउन सक्छौँ। सामाजिक संजाल त झनै व्यापक छ। फेसबुक, ट्विटर, युट्युब जस्ता विभिन्न माध्यमहरु प्रयोगमा आइरहेको छ। कतिले त सही सदुपयोग गरेका छन् भने कतिले दुरुपयोग गरेको भेटिन्छ।
एकजनाले केही सामाग्री फेसबुक वा अन्य केहीमा अपलोड गर्यो भने हामी त्यही समाग्रीलाई सत्य के हो बुझ्दै नबुझी खण्डन गर्दै अफवाह फैलाई धार्मिक, सांस्कृतिक एवम् साम्प्रादायिक द्वन्द्व फ्रैलाउन अग्रसर हुन्छौँ।
समाज, राष्ट्र अनि व्यक्तिको चरित्र हत्या गर्न पछि पर्दैनौँ। पछिल्लो समय सामाजिक संजालमा चरित्र हत्याका समाचारले निकै स्थान पाउने गरेको छ। को ठिक, को बेठिक? सत्य के हो, असत्य के हो? हामी त्यो बुझ्न तिर लाग्दैनौँ, त्यसको सत्यतातिर लाग्दैनौँ। बुझ्दै नबुझी अरुको लहलहीमा लाग्ने हाम्रो पूरानो नै परम्परा हो।
सत्य तथ्य के हो त्यसको बारेमा गहिरो अध्ययन गरौँ, वास्तविकतालाई बुझौँ। त्यसपछि मात्र अरूको बारेमा लेखौँ।
मानिस एउटा सामाजिक प्राणी हो, ऊ समाजमा असल मान्छे भएर बाँच्न खोजिरहेको हुन्छ तर विडम्बना के छ भने यही समाजका चेतनशील मानवले उसलाई राम्रोसँग बाँच्न दिँदैनन्। उसको चरित्रको हत्या गरेर जिउँदै सहिद बनाउनतिर लाग्छन्।
तर अरुको चरित्र हत्या यस्ता मानिसले गर्छन् जसले समाजको लागि केही योगदन दिँदैनन्। अरुको चरित्र हत्या गर्दा खुसीको महसुस गर्ने समाजमा आफूले गरेको सबै ठिक अरुले राम्रो गर्दा पनि उसको चरित्रको हत्या गर्न पछि नपर्ने वास्तविकताभन्दा अवास्तविकतामा लाग्ने आफ्नो धरातललाई बिर्सने समाजको त्यस्तो झुण्डले समाजलाई मात्र होइन, देशलाई नै पछाडि धकलेको अवस्था छ।
हो हत्या, र आत्महत्या गरिसकेपछि मानवजातिको समाजमा कुनै पनि किसिमको भौतिक अस्तित्व हुँदैन तर चरित्र हत्या गरिसकेपछि उसले समाजमा जिउँदो सहिद भएर बाँच्नु पर्ने बाध्यता हुन्छ। जिउँदो सहिद कसैलाई नबनाउनुहोस्, कसैलाई जिउँदो सहिद बनाएको खण्डमा तपाईंलाई खुसी प्राप्त होला तर तपाईंको खुसीले कसैको घरपरिवारमा विखण्डन अवश्य हुनसक्छ भन्ने कुरा बुझ्न आवश्यक छ। कसैलाई जिउँदो सहिद बनाउनुभन्दा अघि एकपल्ट सोच्ने कि?
अहिले सामाजिक संजालमा सत्य कुरा नबुझेर आफ्नो विचार व्यत्त गर्ने प्रवृत्ति भएकोले विचार व्यत्त गर्ने भए प्रमाणसहित व्यत्त गर्न सकिन्छ। सभ्य र अनुशासित समाजलाई समाजिक संजालले फोहोरी बनाएको छ। यही समाजिक संजालमार्फत कतिपय कलाकार, राजनीतिज्ञ, उधोगपति, समाजसेवी तथा समाजमा आफ्नो राम्रो पहिचान बनाएका मानिसको चरित्र हत्या भएका कारण उनीहरु आत्महत्या गर्नु परेको ज्वलन्त उदाहरण पनि हामीले देखेका छौँ।
मानिस सामाजिक प्राणी भएको कारणले उसले यही समाजमा बस्नु पर्ने हुन्छ। ऊ यो समाजबाट अलग भएर बस्न सक्दैन, समाजबाट टाढा पनि जान सक्दैन। बिनाकारण ऊमाथि भएको चरित्र हत्याले उसको के अवस्था हुन्छ, त्यो कुरा हामी मानवले समयमा बुझ्नु पर्ने हुन्छ।
यही चरित्र हत्या गरेको कारणले कतिको घरपरिवारमा नै विमति भएको छ। कतिले आत्महत्या गरेका छन्, कतिले हत्या गरेका छन्। कतिपय मानिसले आफू बस्ने समाज छोडेर त्यो समाजबाट टाढा बसोबास गर्नु परेको छ। चरित्र हत्याको कारणले जो मानिस पीडित भएको छ उसको परिवारलाई आइपर्ने मानसिक तनावको बारेमा पनि सोचिदिने होकि एकपल्ट। के दोष उसको घरपरिवारको? साथीभाइ तथा समाजबाट टाढा हुनुपर्ने यदि गलत हो भने त्यसको पनि प्रक्रिया छ। सत्य-तथ्य बुझेर मात्र कसैको बारेमा सामाजिक संजाल वा कुनै पनि संचार माध्यमा प्रकाशित गरौँ।
अर्काको चरित्र हत्या गर्ने कतिपय मानिसहरूको पेसा नै भएको छ। आफ्नो काम कर्तव्य के हो सो कुरालाई मनन गरौँ। कसैको चरित्र हत्या गर्दा आफूलाई सफलता प्राप्त भएको महसुस नगरौँ। त्यसको असर के हुन्छ भन्ने कुरामा समयमा ध्यान पुर्याउन आवश्यक छ।
अहिलेको युवा पुस्ता सामाजिक संजालमा नकरात्मक कुरातिर व्यस्त भएको देख्दा भोलिका दिनमा हाम्रो समाज, हाम्रो देश कतातिर जाने हो सो कुरालाई राज्यले ध्यान दिन आवश्यक छ। कसैको चरित्र हत्या गर्दा तपाईंलाई मिठो निद्रा लाग्ला, क्षणिक फाइदा होला, तपाईंले सोचेको पुग्ला, तपाईंको सपना पूरा होला। तर तपाईं एकपल्ट आफूलाई त्यही ठाउँमा राखेर सोचिदिनुहोस्। आफ्नो नातेदारलाई सोही ठाउँमा राखेर सोच्नुहोस्, विद्वान मित्र त्यसको फल के प्राप्ति हुन्छ?
नेपालको संविधान २०७२ को मौलिक हकमा नै गोपनियता सम्बन्धी अधिकारको व्यवस्था गरेको छ। त्यसैगरी वैयत्तिक गोपिनीयता सम्बन्धी ऐन २०७५ को पनि व्यवस्था भैसकेको छ। कानुनमा व्यवस्था भएअनुसार प्रत्येक व्यक्तिलाई निजको चरित्र वैयत्तिक आचरण र व्यवहारको गोपनियता राख्न पाउने अधिकार हुनेछ।
कसैले कुनै व्यक्तिको चरित्रमा आघात पार्ने बेइज्जती हुने वा अपमान हुने वा आत्मसम्मानमा ठेस पुग्ने वा निजको आचरण वा व्यवहार सम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन। यदि यस्तो गरेको पाइएमा तीन वर्षसम्म कैद र तिस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
नेपालमा कानुन छ, अदालत छ, प्रशासन छ, न्यायिक निकायहरू छन्। अन्याय भएकै हो भने पनि त्यहाँ जान सक्छौँ, हामी कानुनी न्याय पाउन सक्छौँ तर समाजमा चरित्र हत्या भएको क्षतिपूर्ति हामीले प्राप्त गर्न सक्दैनौँ। व्यक्ति र संस्थालाई चरित्र हत्या हुने गरी सामाजिक संजाल दुरुपयोग गर्नु कहाँसम्मको मानवीयता हो? कुनै मानिसको चरित्र हत्या गर्नु भनेको उसको हत्या गर्नु बराबर हो। ऊ एउटा जिउँदो सहिद हो।
त्यसैले एकपल्ट अवश्य सोच्नुहोस्, सत्य-तथ्य बुझ्नुहोस्, गहिराईमा गएर अध्ययन गर्नुहोस्, खोजमूलक अनुसन्धान गर्नुहोस्, खोजमूलक पत्रकारिता गर्नुहोस् तपाईंको महानता तथा पेसाको कदर हुनेछ। सत्य कुरालाई बाहिर ल्याउनुहोस्। त्यो तपाईंको पेसा हो, कर्तव्य हो, धर्म हो, दायित्व हो। बनावटी कुरा गरेर तपाईंले समाजिक संजालमा कसैको चरित्र हत्या नगर्नुहोस्, त्यो अपराध हो। मानव भएर बाँच्नुहोस र बाँच्न दिनुहोस्, कसैलाई जिउँदै नमार्नुहोस्।
आजको युवा पुस्ताको लडाइँ मानवताको लागि, सभ्यताको लागि र समृद्धको लागि आवश्यक छ, कुनै पनि किसिमको चरित्र हत्या गर्नको लागि आवश्यक छैन। कसैले पनि कसैको चरित्र हत्या गर्दा सत्य तथ्य के हो, सो कुरा बुझेर बाहिर ल्याउन आजको आवश्यकता हो। अर्काको चरित्र हत्या गर्दा मजाक लाग्ने हामी नेपालीहरू कहिले सुध्रने, कहिले देशलाई समृद्धतिर लाने!
हरेक कुराको आचार संहिता हुन्छ, त्यही आचार संहितालाई पालना गरेर आफ्नो काम कर्तव्यलाई पूरा गरौँ। अरुको पछाडि नलागौँ।
(लेखक नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन्।)