सन्ध्याकालीन साँझ, मधुसालाको बसाइँ। टेबलमा साना सिसाका प्यालामा निस्केर भागौला झैँ टिलपिल सोमरस। सहकर्मी साथीहरुसँग भलाकुसारी गर्नै भए पनि साप्ताहिक जमघट गरिन्छ नै परदेशमा। आज म साथीहरुलाई साविकभन्दा अलि भिन्न महसुस गरिरहेको थिएँ। तारन्तारको फोन, ओहरदोहरले बल्ल मेसो पाएँ नयाँ साथीहरु आउने कुराको।
एक/दुई पटक चियर्स गरिसकेपछि हुनुपर्छ केही साथीहरुको समूह प्रवेशद्वारबाट प्रवेश भयो। उठेरै स्वागत गर्यौं साथीहरुलाई। अलि भोकाएको भएर पनि होला छेउको प्लेटमा राखिएको मासुको फिर्को मुखमा हाल्दै परिचय भयो। नाम, थर नेपाल बसाइँपछि राजनीति परिचय पनि जोडे एक नव आगन्तुक मित्रले।
परिचय सक्न नपाउँदै हाम्रा एक साथी मासुको फिर्को समाएको हात टिसु पेपरले पुछ्दै अंकामाल गर्न पुगे, राजनीति दल एकै भएकोले। उनीहरु बीचको त्यो अंकमाल भित्रको न्यानो माया र उच्च सत्कार प्रस्टै देखिन्थ्यो। तत्पश्चात रक्सीको प्याला उठाएर एक चियर्स हानेर सबैले आ-आफ्नो राजनीति परिचय खोले, दल मिल्नेहरु उत्साहित हुँदै कोही हात मिलाए, कोही अंकमाल समेत गर्न भ्याए।
राजनीतिबाट कुनै क्षेत्र अछुत रहेन। स्वतन्त्र भनिने नेपाली समाज आज राजनीतिको कालो ओडारमा छिरिसक्यो। राजनीतिबाट मानिसको चिन्तन, चेतना मात्र होइन आफ्नो परिचय समेत बन्धक बनिसक्यो, अतिक्रमित भैसक्यो। अब ऊ कसैको सन्तान, साथीभाइ, आफन्त केही रहेन। कुनै अमुग पार्टीको परिचयले विस्थापित गरिछाड्यो।
कसैको घरमा मांगलिक कार्य होस् या कुनै घटना, सहानुभूतिका ढाडस हुन् या समानुभूतिका शब्द, या त शुभकामनाका शाब्दिक गुच्छाहरु नै हरेक अवस्थामा जन्मसिद्ध परिचय, सामाजिक परिचय, सामाजिक नाता राजनीतिबाट अपहरित बनिसकेको छ। चुनाब चिन्ह मिले चिन्तन मिल्ने, राजनीति दल मिले दिल र दलिल मिल्ने, यो कस्तो अनौठो रातानीति नाता?
नेपाल छँदा आफ्नो परिचय त बन्धक बन्यो-बन्यो तर, परदेशमा नि यो अपहरणकारी राजनीतिले छाडेनछ। समान साथीभाइबीच पनि राजनीतिक दल मिलेकै भरमा कोही एकलाई त्यो फरक सम्मान र भिन्न सत्कार केका लागि? जन्मसिद्ध परिचयको त कुरै छाडौं यहाँ (परदेशमा) त राष्ट्रिय परिचयमा समेत धावा बोलिसकेछ नेपाली राजनीतिले। म चित खाएँ।
क्षितिजको गगन मुनिको यो बिरानो धर्तीमा केका लागि राजनीति नाता खोतलिन्छ? एकापसको सुख/दुःख माझ्न राष्ट्रिय नाता काफी छैन र? घरबाट परदेश पस्दै गर्दा हामी परदेशीको छातीमा द्रव्य मोह र काँधमा पारिवारको जिम्मेवारी मात्र हुन्न, राष्ट्रको माया र इज्जत पनि हुन्छ। राष्ट्रको इज्जतको कुरा गर्ने थिइनँ होला मधुसालाको त्यो जमघटले राजनीतिक तर्क वितर्ककै कारण कोलाहल र द्वन्दको परिस्थिति नजन्माएको भए।
भुइँमा बजारिएर फुटेका रक्सीका प्यालाहरु, भर्खरै लिपेको आँगनजस्तो रक्सीले लिपिएको कार्पेट। ओल्लो-पल्लो टेबलका मानिसहरु ऊटले टाउको उठाए झैँ टाउको उठाएर हामीतिर हेर्दै थिए। यो सहरको एउटा गजबको चरित्र के छ भने यहाँ अरुको विषयमा सकेसम्म चासो दिँदैनन्। बरु प्रहरीलाई खबर गर्न भने कसैको मुख ताक्दैनन्। प्रहरीको आउने सुइँको पाएपछि हामी त्यहाँबाट कुलेलाम ठोक्यौँ।
परदेशमा गरिने यस्ता साप्ताहिक जमघट दुःख/सुख माझ्ने अनि मेहनत अनुसारको न्यूनतम सम्मान समेत नपाउँदा लत्रिएको आत्मसम्मान साथै पारिवारिक चिन्ता बिसाउने चिन्तन चौतारी बन्नुपर्छ। पीडा र आँसुसँग हाँसो साट्ने सतही केन्द्र बन्नुपर्छ, विदेशी मजदुरलाई मानवीय सभ्यताभन्दा बाहिरको ठान्ने यी रोजगार दाताहरुबाट पाएको बिनासित्तीको अति तल्लो शब्दको गाली मेटाउने डस्टर बन्नु पर्छ।
आफूले सिकेको सीपलाई आफ्नो देशमा भित्र्याएर कसरी आफूसहित अन्यलाई रोजगार दिलाई देशको समुन्नत विकासमा मद्दत पुर्याउन सकिन्छ, यसबारे चर्चा गर्नुपर्छ। राजनीतिको नाता जोड्ने र मित लगाउने थलो किमार्थ बन्नु हुन्न। राजनीति गर्ने हुन्न म भन्दिनँ, राजनीति गर्नुपर्छ तर हरेक विषय, अवस्था र सम्बन्धलाई राजनीतिकरण भने गर्नुहुन्न। परदेशमा हाम्रो एकमात्र नाता नेपाली, एकमात्र परिचय नेपाली हो।