आज पनि हिजोजस्तै नहुनेको हातमा केही छैन, हुनेका अनेकौं हात भरिभराउ छ। अर्थ्याएर सही देखाउन सक्नेका लागि सही नै छ, बोल्न नजान्नेका लागि अझै गलत। गल्ती गरेर ढाक्न सक्नेका हकमा सधैँ न्याय, गल्ती नगरी फस्नेका हकमा त्यो कानुनी तराजु अझै भारी।
म एक छोरी, नारी, महिला, के नाम दिन्छौ दुनियाँ, म तिम्रो लागि त्यही। मेरो भोगाइले सही ठम्याएको सही हो भन्ने छैन, मैले गरेको गल्ती पनि सबै दण्डयोग्य हैन। तर, मेरो सही ठीक नलाग्ने, मेरो गल्तीमा दया नजाग्ने, मैले मजस्तै नारी रुप भेटेको छु। हुन त म हाँस्दा उनी हाँसून्, यो इच्छा पनि होइन मेरो तर संसारको सृष्टिले उस्तै बनाएको हामी दुईमा किन यो विभेदको दृष्टि उब्जियो होला! यो अनौठो लाग्छ मलाई।
मैले आफ्नै लडाइँ लडेँ, उनले आफ्नै लडिन्। न उनको भागका मेरा लागि थिए, न उनको हकको मैले खोसेर लिएँ। तर व्यवहारमा छाएको क्रुरता देख्दा भन्नलाई मुखभरि जवाफ छन्, तर चुपचाप नियाल्दै हेर्न मन लाग्छ उनको मूर्खता।
नारीको दुस्मन नारी नै हुन्, यो भन्ने सायद थुप्रो भेटिन्छन् अचेल। तिनले नारीको नारा लाउँदा, असल चित्र कोरिदिन मन लाग्छ सबको मगजमा। तर, म एकले सोचेको अर्कोको लागि सही हुँदैन, ती मध्ये आधाभन्दा बढी मजस्तै हुन्छन्।
मैले पाएको सफलता उनलाई अपच हुन्छ। म लड्दा बत्तिस दाँत देखाएर हाँसोको लर्को तान्ने उनी हुन्छिन्। म रुँदा आँसु पुछिदिए झैँ गरी पछाडि नाटकको धर्को तान्ने पनि उनी हुन्छिन्। मैले नआएर सोधेका प्रश्नको जानेर उत्तर नदिने उनी हुन्छिन्। म भुलेर बिर्सिन्छु अनि सम्झिएर पनि भुलिदिने उनी हुन्छिन्।
तर, मेरो कल्पनामा उनी राम्री छिन्। उनको मन सफा छ। उनी गएको बाटोमा सबलाई खुसी देख्छु। हामी एउटै जातले पाएको भात उनलाई बढी लागेछ, मात बढी उनलाई चढेछ। हिँडेको ठाउँमा सबै साथी मात्रै भेटिन्नन् रे, मैले जानेको यति।
साथ दिने साथी अनि मनवता बुझ्ने मानव रे। तर मानव रुपमा साथी भेटिन कति गाह्रो यहाँ। सजिलै हाँस्न सकिने ओठको मुस्कानमा किन त्यति निर्दयी वचन जोडियो, यो प्रश्न उनीमाथि! किन मेरो सरलताको हिसाब अनेकौ निसापमा लगायौ? किन म नारी भन्दै उठ्ने हातले, मेरो अनि मजस्तै, तिमीजस्तै, अन्यका हकमा ताली बजाउन जानेनन्?
को लड्छ यहाँ कसको लागि?
हिँड्नु त एक्लै छ सबैलाई
तिम्रो मुहरमा यो खिन्नता किन?
म हाँस्दा नहाँस्ने नयनलाई-
भोलि तिम्रो खुसीमा म हँसाउँला सबैलाई।
म चित्र कोर्न चाहन्छु, असल चरित्रको चित्र। एक नारीले बचाएको अर्को नारीको चित्र, यो दुनियाँको हिफाजत कोठा भित्र, चित्र दुई मित्रको, जहाँ हाँसोको खित्काले कोठाभित्र अझै नयाँ आगन्तुक भित्रिऊन्। हृदय सबको सफा होस्, एउटा रुँदा चकमन्न जगत होस्, हाँस्दा बेजोड गीत घन्कियोस्, नाच्दा जगत रन्कियोस्। म अनि तिमी- दुई नारी, एक-अर्कोको केवल असल साथी बन्न सकूँ।