जब म घरदेखि बाहिर काम विशेष यात्रामा निस्कन्छु, घर परिवारमा मेरो बारेमा अनेक प्रकारको चिन्ता गरिरहन्छन्। जबसम्म म सजिलै घर आइपुग्दिनँ तबसम्म उहाँहरुको मनमा एक किसिमको त्रास उत्पन्न भइराखेको हुन्छ। मलाई अलिकति पनि घर आइपुग्न ढिला भयो भने 'घरबाट एक्लै निस्केकी छोरी अहिलेसम्म फर्केकी छैन' भनेर आमाले बेलाबेलामा भन्नुहुन्छ त घर नफर्किँदासम्म मन झसंग भइरहन्छ।
म यात्रामा निस्कने बेला सधैँ सडक छेउमा उभिएर सार्वजनिक यातायातको पर्खाइमा हुन्छु। मेरा आँखा हातको घडी हेर्दै गाडी आउने बाटोतिर एकटकले हेरिरहन्छन्। रोड किनारामा प्रेसर कुकरले झैँ सिठी बजाउनेहरुको जमात पनि बेसी नै हुन्छ। म सिठीको आवाज सुने पनि नसुनेजस्तो गरेर गाडी आउने बाटोतिर हेर्छु।
गाडी आउँछ, म अलि आँतुर भएर आफ्नो हात हल्लाउँछु। बस धेरै नजिक आइपुग्छ। त्यत्तिकैमा सहचालक दाइले 'बहिनी कहाँसम्म हो? आउनुस्, आउनुस् बस्नुस् सिट खाली छ' भन्नुहुन्छ। सहचालक दाइको कुरालाई विश्वास गरेर म बसभित्र छिर्छु, मैले सिट खाली छ कि छैन भनेर नयन घुमाउन नपाउँदै चालकको हातबाट बस चलायमान हुन्छ।
बसभित्र छिर्नेबितिक्कै मेरा आँखा महिला सिट भनेर तोकिएका सिटतिर ठोकिन्छन्। आजकल धेरैजसो दिदी-बहिनीहरु घरदेखि बाहिर काममा हिँड्ने भएकाले होला ती चार महिला सिट चारजना दिदी-बहिनीले भरिएको हुन्छ।
म मेरा आँखा बसभित्र चारैतिर घुमाउँछु। अगाडि पट्टिका सबै सिटहरु यात्रुले भरिभराउ हुन्छन्, पछाडि मात्र एउटा सिट खाली हुन्छ। त्यसको छेउछाउतिर पुरुष दाजुभाइहरु बसेका हुन्छन्। त्यसैले मलाई पछाडिको सिटमा गएर बस्न निकै संकोच लाग्छ। त्यत्तिकैमा सहचालक दाइले भन्नुहुन्छ, 'बहिनी पछाडि सिट खाली छ, तपाईं पछाडि गइदिनुस् न।'
मलाई पुरुष दाजुभाइहरु भएको ठाउँमा गएर थचक्क बस्न ज्यादै संकोच लाग्छ। म आफूलाई असुरक्षित महसुस गर्न बाध्य हुन्छु। म बस्दा अन्तिम सिट खाली थियो, अब सबै सिटहरु यात्रुले भरिभराउ हुन्छ। मजस्तै महिला दिदी-बहिनीहरु र पुरुष दाजुभाइहरुलाई पनि सहचालक दाइले सिट खाली छ भन्दै बस भित्र ल्याउँछन्। सिट खाली छ कि छैन भनेर हेर्न नपाउँदै चालक दाइले बस गुडाउँछन्, महिला साथीहरुका आँखा मेरोजस्तै महिला सिट भनेर तोकिएको सिटमा घुम्छ। कतै पनि सिट खाली नभएकाले तिनीहरु पुरुष साथीहरुसँगै बसभित्र बसको डन्डीको सहायताले उभिन बाध्य हुन्छन्।
उभिने ठाउँमा महिला दिदी-बहिनीहरुको भन्दा पनि पुरुषहरुको संख्या बेसी हुन्छ। त्यसैगरी पछाडि पट्टिको सिटमा पनि महिलाहरुको भन्दा पुरुषहरुको संख्या नै बेसी देखिन्छ। यात्रामा महिलाहरुलाई उभिने कष्टभन्दा पनि आफू सुरक्षित हुने होकि हैन भन्ने कुराको डर हुन्छ। उभिएर नजाउँ समयमै कार्यालय पुग्नुपर्ने बाध्यता छ।
खाल्टाखुल्टी परेको सडकमा बस गुडिरहेको हुन्छ, बस कहिले यता त कहिले उता गरेर पिङजस्तै हल्लिन्छ। उभिएका सबै यात्रुहरु एकआपसमा ठोक्किन पुग्छन्। कतिपय पुरुष दाजुभाइले बस र सडकका कारण भएको गल्तीलाई पनि आफ्नो गल्तीजस्तै लिएर 'माफ पाउँ, सरी ल' भन्छन् त कतिपयले बसको कारणले हल्लिनुभन्दा पनि बेसी आफू हल्लिएर दिदीबहिनीहरुको जीउमा टाँसिन खोज्छन्। त्यही मौकामा विभिन्न संवेदनशील अंगहरुमा छोइदिने, अभद्र शब्दहरु बेलिदिनेहरुको भिड पनि निकै बेसी देखिन्छ।
आफू मानिस भएर पनि गिद्धको जस्तो नजर लिएर हिँड्ने मानवरुपि गिद्धहरुलाई देखेर आजकल यात्रामा साह्रै डर लाग्छ, असुरक्षित महसुस हुन्छ। त्यति बेला म सोच्छु कि ३३ प्रतिशत आरक्षण हुनुभन्दा सुरक्षित वातावरण भइदिएको भए मेरो मन ढुक्क हुन्थ्यो, म स्वतन्त्र हुन्थेँ।
६० वर्षिया वृद्ध बा र गर्भवती महिलालाई उभिन बाध्य गराएर सीमित सिटमा बस्नुभन्दा उभिएरै भए पनि सुरक्षित हुन पाए स्वतन्त्र भएर हिँड्थे। अभद्र व्यवहार गर्नेहरुसँग बोल्ने आँट गर्दा पनि यो समाजले आफ्नै इज्जतमाथि औँला उठाउँछ कि भन्ने डर। त्यस्ता मानिसहरुको विपरीत कुरा गर्दा आफूसँग भएको मुख आकृतिमा एसिड आक्रमण गरी आफ्नै आकृति गुमाइदिने हुन् कि भन्ने डर, बदलामा कतै घाँटी निमोठेर झाडीतिर फालिदिने पो हुन् कि भन्ने डर। यात्रमा मात्र होइन, महिलाहरु हरेक ठाउँमा आफूलाई असुरक्षित महसुस गर्न बाध्य हुन्छन्।
विद्यालय अथवा कलेजहरुमा शिक्षकको कुदृष्टिबाट ग्रसित हुनु परेको अवस्था छ त कार्यालयहरुमा आफ्नै हाकिम तथा आफ्नै सहपाठीको कुदृष्टिबाट ग्रसित हुनुपर्ने बाध्यता छ। बाटोमा एक्लै हिँड्दा अपरिचित मानिसबाट शरीरको मासु लुछिन्छ कि भन्ने डर त घर, परिवार र छरछिमेकमा आफन्तबाटै हिंसामा परेको घटनाहरु यथार्थ छन्।
कतिपय कलिला टुँसाहरु हिंसाकै कारण घाँटी निमोठिएर संसार छोड्न बाध्य भए त कतिपय दिदी-बहिनीहरुलाई पुरुषहरुले गरेको गल्तीलाई पनि पितृसत्तात्मक सोचमा आधारित सामाजिक मूल्य-मान्यताका कारण माहिलालाई नै दोषी बनाएर समाजमा मर्नु न बाच्नुको अवस्था सिर्जना गराएको छ। यस्ता हिंसा र विभेद अन्त्यका लागि शताब्दी अगाडिदेखि नै महिलाहरुले कुनै माध्यमबाट आन्दोलन गर्दै आएका छन्, महिलाहरु विभिन्न आशाका मधुर दीपहरु सफल भएका छन् र सम्भावनाका कठिन यात्राहरु हिँड्न सफल भएका नारीहरुले अझैँ पनि सुरक्षाको महसुस गर्न पाएका छैनन्।
हरेक कुरामा परिवर्तन आयो तर महिला सुरक्षामा परिवर्तन आएन। ३३ प्रतिशत आरक्षण छुट्याउने र हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागी हुनैपर्ने बाध्यकारी व्यवस्थाका कारण महिलाहरु विभिन्न ठाउँमा सहभागी हुन पाउँछन तर सबै सहभागी भएको स्थानमा सुरक्षित भएर बस्न पाउँदैनन्। जसका कारण महिलाहरु आफूलाई हरेक ठाउँमा असुरक्षित महसुस गर्न बाध्य हुन्छन्।
नेपालको संविधानकै धारा ३८ मा बाँधिएर नेपाली महिलाहरु राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीस बन्न पुगे तर दुई/चार जना महिला सम्माननीय पदमा पुग्नासाथ महिलाहरु सुरक्षित एवम् स्वतन्त्र भएको ठान्नु भ्रम मात्र हो। उच्च ओहोदाका महिलाहरुलाई नै आफ्नो कार्यक्षेत्रमा चारित्रिक लान्छनाहरु सुनेर बस्न बाध्य छन् भने सामान्य नारीहरुले आवाज उठाउन सक्ने वातावरण सिर्जना गराउन अझैँ पनि सफल हुन सकेका छैनौँ।
महिला हिंसा हुनुको प्रमुख कारणका रुपमा महिलाहरु आत्मनिर्भर नहुनुलाई लिइन्थ्यो। तर अहिलेको समयमा धेरैजसो महिलाहरु आत्मनिर्भर हुँदाहुँदै पनि विभिन्न प्रकारका हिंसाहरु सहेर बसेका छन्। धारा ३८ पढ्दा जति आनन्द आउँछ महिलाहरुले व्यवहारिक जीवन त्यति नै कष्टपूर्ण, असुरक्षित र हिंसाजन्य रुपमा भोगिरहेका छन्। अवसरको लागि आरक्षणलाई कुर्ने यी आँखाहरुले सुरक्षाको महसुस कहिले गर्न पाएनन्।
यसरी महिलाहरु हरेक ठाउँमा असुरक्षित हुँदा र विभिन्न हिंसामा परेर ज्यान गुमाउँदा होस् अथवा विभिन्न यातनाहरु सहेर बस्दा पनि सुरक्षा दिन सकिँदैन भने ३३ प्रतिशत आरक्षणको कुनै पनि अर्थ छैन भन्दा खासै फरक पर्दैन होला। त्यसैले अब सरोकारवाला सबै महिला दिदी-बहिनीहरुले आरक्षणभन्दा पनि सुरक्षाको लागि आवाज उठाउनु जरुरी छ।