घरको बैठक कोठाको हरियो भित्तामा एउटा ठूलो भित्ते घडी छ, निलो र रतो रङको।
१२-१३ वर्ष जति भयो होला, मैले सधैँ देख्न थालेको यो भित्तामा। ठ्याक्कै याद छैन कति भयो, त्यस्तै २०६६ को कुरा हो जस्तो लाग्छ यसो सम्झिँदा। बाबाले एकदिन अफिसबाट फर्किँदा लिएर आउनुभएको थियो।
हामी त्यतिबेला भर्खरै नयाँ बनेको हाम्रो घरमा सरेका थियौँ। नयाँ घरमा सर्नुको खुसी छुट्टै थियो। सबैजसो सामान नयाँ नै थिए घरमा। बाबालाई बैठक कोठामा मान्छे आउँछन् भनेर अलि साज-सजावट गर्न खुबै जाँगर चल्थ्यो। त्यही भएर होला त्यो भित्ते घडी पनि बैठक कोठाको भित्तामै राख्ने भनेर बुवाले हामी सबैलाई सुनाउनु भयो। हामी नि खुसी थियौँ, नयाँ अनि राम्रो कुरा देखिने ठाउँमा छ, घरमा आउने-जानेहारुले यसो देख्छन्। इज्जत हुन्छ।
त्यो बेला एकदम चलेका थिए भित्ते घडीहरु। घडी अलिक ठूलो थियो, माथि अलि डिजाइनर पारामा गोलो खाले अनि तलपट्टि चराको गुँडजस्तो। घडीले समय देखाउँदा हरेक घण्टामा चरा त्यो प्लास्टिकको गुँडबाट बहिर निस्केर कराउथ्यो। बाल्यकाल्मा खुब रमाइलो लाग्थ्यो सुन्न, जतिबेला त्यही सुन्नलाई बैठक कोठामा बास हुन्थ्यो मेरो।
बाबा बिहान ६ बजे निस्किनु हुन्थ्यो काममा अनि आउँदा रातिको ८ जस्तो हुन्थ्यो। रातिको खाना हामी सँगै खान्थ्यौँ जहिले पनि। ढिला भए पनि बाबालाई कुरेर बस्थ्यौँ। भित्ते घडी आएदेखि आमाको नयाँ बानी बसेको थियो, भित्ते घडी हेर्ने अनि बाबालाई कुर्ने। घडीमा ८ बजेको संकेत 'कु, कु' गर्दै चरा कराउथ्यो अनि आमा गेटमा आँखा गाडेर बस्नुहुन्थ्यो। अलि परबाट नै देखिन्थ्यो बाबा आउनु भएको, हतार-हतार गेट खोल्नलाई पुग्नु हुन्थ्यो।
कहिलेकाहीँ बाबा आउन ढिला हुने, आमा भित्ते घडी हेर्दै 'आज त ८ भैसक्यो, किन हो आउनु हुन्न त!' भन्नु हुन्थ्यो। मानौँ आमा त्यही भित्ते घडीलाई सुनाउँदै हुनुहुन्छ कि 'तिमीले त उहाँ आउने समय देखाइसक्यौ, खोइ त उहाँ आउनु भएन आहिलेसम्म!' सायद आमालाई लाग्थ्यो अरुबेला जेसुकै भए पनि ८ बजे भित्ते घडीको आवाजले बाबालाई घर तिर डोहोर्याउँछ।
हरेक रात यसरी नै बितिरहेको थियो। आमा भित्ते घडी हेर्ने अनि गेट तिर आँखा लगाउने। एक रातको कुरा हो, बाबा अलि ढिला आउनुभयो। ८ बजेको 'कु, कु' गरेर ९ को पनि गर्ने बेला भैसकेको थियो। बेलुका त सधैँ बाबासँगै खाना खाने गरेको। त्यो रात ढिला भैसकेकोले एकदम भोक लगेको थियो।
त्यो रात आमालाई भन्दा मलाई धेरै हतार, कहिले आउनुहुन्छ भन्दै भित्ते घडीलाई हेर्दै थिएँ। बाबा एकछिनमा आउनु भयो। केही नबोली खाना खान बस्नु यो। हामी पनि खाना खान बस्यौँ।
बाबाले अलि भारी स्वरमा भन्नुभयो, 'बच्चाहरु नि ठूला भए। यहाँ नेपालको कमाइले घरको ऋण र यिनीहरुलाई राम्रो पढाइ दिन अलि गाह्रो छ। मैले नि विदेश तिरको सोच गरेँ। केही वर्ष त्यता कमाउनु पर्ला। ऋण मात्र तिरे पनि अलि सजिलो हुन्छ।'
आमाले बाबालाई एकटकले हेर्नुभयो तर केही पनि बोल्नु भएन।
दिन बित्दै गए। बाबा जाने दिन पनि आयो। हामी एअरपोर्ट छोड्न गयौँ। मैले त्यहीबेला पहिलो पटक एअरपोर्ट देखेँ। बाबा जाँदै हुनुहुन्थ्यो। घडी हेरेँ, ६ बजेको थियो। बाबालाई बाहिरबाट देखिने बेलासम्म हेर्यौँ, अनि फर्कियौँ। सबै आ-आफ्नो कोठामा थियौँ। घर नै शून्यजस्तो भएको थियो। उता बैठक कोठाबाट ८ बजेको 'कु, कु' गर्न थाल्यो भित्ते घडी तर पनि डाइनिङ टेबल खाली थियो।
खै किन हो, त्यो रात कसैलाई भोक पो थिएन कि तर राति भोकै सुत्नु हुँदैन भनेर अलिअलि खान पस्किन थाल्नुभयो आमाले। खाना पस्किँदै गर्दा नि उहाँको नजर गेटतिर नै थियो। दाइ र म खाना खाँदै थियौँ, आमा मलिन अनुहार र गहभरि आँसु लिएर बस्नु भएको थियो। हामीलाई नराम्रो लाग्छ कि भनेर होला सायद आमाका रसाएका आँखाबाट आँसु खसेन।
बाबा ३ वर्षको लागि जानुभएको थियो। साँझ ६ बजे तिर काम सकेर फोन गर्नुहुन्थ्यो। अब आमाले ८ हैन, ६ बजेसम्म भित्ते घडी हेर्न थल्नु भयो। एकदिन त्यो घडीलाई आफ्नै कोठामा लग्दै भन्नुभयो '६ बजेको नै थाहा पाउदिनँ। यो कराउँछ अनि मात्र थाहा पाउँछु। आफैसँग राख्नुपर्यो।'
हरेक साँझ ६ बज्थ्यो, बाबाको फोन आउथ्यो। बोल्नलाई फेरि फोन लुछालुछ। फोनमा बोल्न पैसा धेरै लाग्ने। कहिले मन भरिको गफ भएन बाबासँग।
त्यसरी नै एक वर्ष बित्यो। त्योबेला कम्प्युटरमा इन्टरनेट जोड्न भर्खर-भर्खर सुरु भएको थियो। दाइले एकदम जिद्दी गरेर नेट जोडिदिनु भन्थ्यो। आमा 'पढ्दैनौ तिमीहरु त टिभी हेरेर बस्छौ, त्यहीमाथि यो, अहँ! जोड्दिनँ' भनेर नमान्ने। धेरै जिद्दी गर्यो उसले, पछि 'बाबासँग नि कुरा हुन्छ नि' भन्यो। त्यही लोभले होला, आमाले जोडिदिनु भयो तर सधैँ 'यसको जिद्दीले गर्दा मात्र हो' भन्नु हुन्थ्यो।
बाबासँग बोल्न स्काइप खोल्यौँ। तर भिडिओ कल गर्नलाई क्यामेरा पनि थिएन, न त आवाज सुन्नलाई हेडफोन नै थियो। बल्ल-तल्ल बाबासँग बोल्न पायौँ। हाम्रो भिडिओ त जाँदैन थियो, उहाँको देखिन्थ्यो। एक वर्षपछि झ्याप्प उहाँको मुख देख्दा आमाको आँखा नै रातो भयो। उताबाट बाबाको म्यासेज आयो। 'नरोऊ है, बच्चाहरु त्यही छन्।' तर अहँ! आमाको मनले मानेन, हतारिँदै अर्को कोठामा जानु भयो।
बाबाले 'अब सधैँ ९ बजे कल गर्छु है, खाना खाएर मज्जाले कुरा गर्ने' भन्नुभयो। भोलिपल्ट नै क्यामेरा र हेडफोन किनेर ल्यायौँ हामीले। त्यो दिनदेखि फेरि हेर्ने समय फेरियो भित्ते घडीको। अब ९ बजे। यसो भित्ते घडीमा हेर्यो। ९ बज्न लाग्दा कम्प्युटर खोल्यो। अब त पैसा धेरै लाग्ला भन्ने पिर नै थिएन। मज्जाले गफ गर्थ्यौं। कहिले आमाको कुरा लगाउने, कहिले दाइको, कहिले बाबाले उताको कुरा गर्नुहुन्थ्यो। आफ्नो कामको कहानीहरु सुनाउनु हुन्थ्यो।
समय बित्दै गयो। हरेक रात भित्ते घडी हेर्दै, नौ कहिले बज्ला कुर्दै दुई वर्ष बित्यो। बाबा आउने दिन पनि नजिकिँदै थियो। बाबाले फेरि 'अलि समय बसौँ कि सोच्दैछु। भर्खर घरको ऋण हलुको भयो, अब अलिकति अझै जोडे तिमीहरुलाई राम्रो पढाउन सक्थेँ होला' भन्नुहुन्थ्यो। हामी हुँदैन अब यसरी टाढा-टाढा बस्न, जे गरे पनि अब यतै मिलेर गरौँला भन्दै जिद्दी गर्ने।
एक दिन, दुई दिन गर्दै बाबा आउने दिन आयो, वर्षौंपछि। बाबाको फ्लाइट साँझ ७ बजेको थियो। हामी ६ बजे नै पुग्यौँ। तीन वर्षपछि बाबा घर आउन लागेको भएर खुसीको सीमा थिएन। आगमन तिरको हरेक व्यक्तिलाई हामी नियाल्दै थियौँ बाबा हुन् कि भनेर। ७ बज्यो फ्लाइट आयो, आधा घण्टापछि बाबा आउनु भयो। बाबाको एक झल्को देख्नासाथ आमा रुन थाल्नुभयो।
दाइ 'कति रोको के, बाबा आउनु भयो। वरिपरि हेर्नु त, मान्छेले नि के भन्लान्' भनेर आमालाई कराइरहेको थियो।
बाबा बाहिर पुग्नासाथ हामी सामूहिक अंगालोमा बेरियौँ। खुसीको माहोल थियो। ३ वर्षपछि भित्ते घडी ८ बजेको 'कु, कु' गर्द हामी फेरि त्यही डाइनिङ टेबलमा खाना खाँदै थियौँ। खाना खाएर बैठक कोठामा बसेर गफ गर्दै थियौँ। फेरि ९ बजेको 'कु, कु' गर्यो घडीले 'ए! ९ बजेछ, भिडिओ कल गर्ने समय नि भएछ' बाबाले आमालाई जिस्काउँदै भन्नुभयो।
समय बित्दै गयो। समयसँगै ठूला हुँदै गयौँ हामी। सानोमा र ठूलो हुनुमा धेरै फरक रहेछ। सानो हुँदा दिनभरि के-के गर्यौँ, बेलुका बाबालाई सुनाउन हतार हुन्थ्यो। ठूलो भएपछि बाबाले नै सोद्धा पनि लुकाउने बानी भयो। सानोमा त्यही भित्ते घडीको आवाज सुन्न नजिक बसिन्थ्यो। ठूलो भएपछि सबै शान्त राम्रो लाग्ने, त्यो आवाज आउनासाथ रिस उठ्न थल्यो। धेरै पटक आमालाई 'ह्या! यो घडी कति कराउँछ, अब त पुरानो भयो। फ्याल्दिम् नयाँ ल्याउँला' पनि भन्यौँ। तर आमाले मान्नु भएन। 'मेरो कोठामा छ, फाल्दिनँ म। गाह्रो भए कान थुन्ने' भनेर हप्काउनु हुन्थ्यो।
विदेशबाट फर्केपछि बुवा साथीहरु सित व्यापारमा लाग्नुभयो। राति ११ बजे आउनु हुन्थ्यो। आमा त्यही भित्ते घडी हेर्दै ११ कहिले बज्छ कुर्नु हुन्थ्यो। भित्ते घडीमा ११ को 'कु, कु' अनि बाबाले बजाउने घरको घन्टी। कहिले छुट्दैन थियो। सधैँ मिल्थ्यो।
समय परिवर्तनशील छ। त्यो भित्ते घडीले देखाउने फरक-फरक समय झैँ, सधैँ एकैनासको हुँदैन। सुख-दुःख, एउटा चक्र न हो। विदेशबाट फर्केदेखि नै बाबाको स्वास्थ्यमा समस्या देखिन सुरु भएको थियो। कहिले कुराहरु बिर्सिने। सानो-सानो कुरामा आत्तिने, पछि त खाने कुरामा रुची नि दिनुहुन्थ्यो। कहिलेकाहीँ यत्तिकै बेहोस पनि पर्नु हुन्थ्यो। 'हामीले चेक गराउनू, गाह्रो भएको छ' भन्दा 'केही भएको छैन, तिमीहरु चिन्ता नगर, यस्तो जाबो कुराले केही हुन्न' भन्दै कुरा टार्नु हुन्थ्यो।
एकदिन भित्ते घडीमा बिहानको १० बजेको थियो। घडी 'कु, कु' गर्दै थियो। मानौँ बाबाको खबर लिएर आयो। हुन त सधैँ बाबाको खबर उसले नै ल्याउने हो, तर आज अप्रिय र अन्तिम खबर लिएर आयो। बाबाको मृत्युको खबर। बाइक चलाउँदा-चलाउँदै बाबा बेहोस हुनु भएछ अनि बाटोमा एक्सिडेन्ट भएर बित्नु भयो रे!
जीवनमा बुवाको उपस्थितिको अभाव शब्दमा बयान हुँदैन। गर्न उचित पनि हुँदैन। यो एउटा अनुभूति हो जसले भोग्छ, उसले बुझ्छ। जसले भोगेको छैन, उसले अहिले बुझ्न जरुरी पनि छैन। नपरेको पीडाको भोगाइमा मन खिन्न नहोस् कसैको।
बाबा नभए पनि आमाको कोठामा भित्ते घडी छ। अब हरेक घण्टा 'कु, कु' गर्छ। बाबाको याद गराइदिन्छ। ती खाना खाँदाको समयका रमाइला पलहरु। एअरपोर्ट छोड्न जाँदाको आँसुहरु, स्काइपमा बोलेको उमंगहरु, बाबा फर्किंदाको अंगालोहरु। अनि बाबा नहुँदाका ती पीडाहरु...।
त्यो भित्ते घडीले मसँगै सबै कुरा देखेको छ। घर आएको पहिलो दिनदेखि आजको दिनसम्मको सबै, मलाई जति थाहा छ, उसलाई पनि त्यति थाहा छ। मैले जति भोगेको छु, उसले पनि त्यति नै भोगेको छ। सायद उसले त मभन्दा धेरै पनि देखेको छ। २४ घण्टानै हामीमाथि उसको नजर छ। सबै कुराको खबर छ। बाबा नहुँदा उहाँको फोनमा बोल्न कुरेका ती आँखाहरुको आशा देखेको छ। बाबा ढिला आउँदा मनमा उठेका अनेकौँ प्रश्नहरु सुनेको छ। बाबाको मृत्युको बेलाका लडेका ती ज्युँदो लासहरु देखेको छ।
आज बाबा हुनुहुन्न, छ त्यही भित्ते घडी। त्यही घडी जुन सुन्न कुनै दिन एकदम रमाइलो लग्थ्यो। बैठक कोठामा बास हुन्थ्यो। कुनै दिन पुरानो डिजाइनको भयो अब फाल्दिने जस्तो लग्थ्यो, अहिले आफ्नो लाग्छ। जब 'कु, कु' गर्दै कराउँछ, आँखा घडीमा जान्छ। बाबा आउने आश अझ बोक्छ मनले। एउटा अधुरो र अकल्पनीय आश।
सुरुमा घर आउँदा बैठक कोठामा बसेको थियो। पछि आमाको कोठामा सर्यो। फेरि बैठकमै फर्किएको छ। किन? किनकि बाबा भन्ने गर्नुहुन्थ्यो 'यो त बैठक कोठामा राख्ने हो, पहुनाले नि देख्छन्। राम्रो देखिन्छ।'
बाबा हुनुहुन्न। तर उहाँको शब्द छ। भावना छ। र, छ त्यो सबै कुरा देखेको, भोगेको र हामीसँग हरेक समयमा सँगै बसेको भित्ते घडी।