विसं २०६५ साल मंसिर महिनाको १८ गते शुक्रबारको दिन थियो। चितवनको भरतपुर स्थित हिलबर्ड आवासिय माविको स्टाफ रूममा हामीहरु मिटिङको तयारीमा थियौँ। घडीले दिनको २ बजाइसकेको थियो। मिटिङको एकमात्र एजेन्डा थियो- पिकनिक (वनभोज खाने)।
प्राचार्य लेखनाथ खनालले एउटा किस्सा सुनाउँदै मिटिङ सुरु गर्नुभयो। मेरो एकजना साथीले सधैँ तरकारी फेरी-फेरी खान्छन्- आलु र केराउ अनि केराउ र आलु। उहाँले त्यतिबेलाका चल्तीका पिकनिक स्थलहरु सहिद स्मारक पार्क हेटौंडा र नवलपरासीको मार्कोपोलो रिजोर्टलाई इंगित गर्न खोज्नुभएको थियो। धेरै छलफल भयो सहमति जुटेन। विकल्पको रुपमा तनहुँको पुरानो मुकाम बन्दिपुर आयो। अप्ठ्यारो र पहाडी बाटोको कारण यो स्थानमा मत मिलेन।
त्यसो भए ब्रिटिश क्याम्प गैँडाकोट (नवलपरासी) जाने कुरो आयो। तर साथीहरू राजी हुनु भएन। रोशन बानियाँ सरले भन्नुभयो 'स्टुडेन्ट एक्सपेक्ट ट्राभल एण्ड पिकनिक!' अर्को छेउमा बस्नु भएको बिपिन बराल सरले सही थाप्नुभयो। नयाँ ठाँउ खोजी गर्दा बुटवल फूलबारीमा सहमति गरी मिटिङ सकियो। शुक्रबारीय यही बैठक नै इतिहासकै भयानक र त्रासदीपूर्ण दुर्घटनाको प्रस्थान बिन्दु हुनगयो।
आइतबार विद्यार्थी र अभिभावकहरुमा जानकारी पठाइयो। पिकनिक त्यो पनि बुटवल फूलबारी जाने भन्दा विद्यार्थी भाइबहिनीहरुको खुसी र उत्तेजनाले कक्षा कोठाहरु जुरुक्क उचलिएका थिए एसेम्बली पछिको प्रथम कक्षामा। आदरणीय अभिभावकहरुबाट पिकनिक स्थानको बारेमा कुनै किसिमको बिमती आएन। यसले हामीलाई थप बल मिल्यो।
मंसिर २६ गतेको दिन मिर्मिरेदेखि नै भरतपुरमा कुहिरोले राज गरेको थियो। म, मेरी श्रीमती र हाम्रो बाबु मिर्मिरेमा घरबाट बाटोभरि झरेका शीतका थोपाहरुलाई पछ्याउँदै मनभरि पिकनिकको रमाइलो अनुभूतिलाई कल्पिँदै स्कुल पुग्यौं। बिहानीको कुहिरो र चिसोमा पनि रंगिचंगी आउट ड्रेसमा उफ्रिरहेका बाबुनानीहरु र हामीलाई बिदाइ गर्न आउनु भएका अभिभावकहरुलाई देखेर स्वर्गीय आनन्द आएको थियो।
ठिक ७ बजे विद्यार्थी, शिक्षक साथीहरू र भान्से सहितको ८० जनाको टोली लिएर दुइटा बसहरु सूर्यचोकको बाटो हुँदै महेन्द्र हाइवे निस्किएर बुटवल तिर लागे। हाम्रा बसहरु गैंडाकोट पुगेपछि बिपिन बराल सर ४ वर्षीय छोरा बोकेर म्यामहरुको बसमा चढ्नुभयो।
बस गतिशील थियो। सडकको दायाँ-बायाँ देख्न गाह्रो थियो। मौसम चिसो अनि हुस्सु र कुहिरोले छपक्कै ढाकेको थियो। तर बस भित्रको वातावरण भने नेपथ्यको 'छेक्यो छेक्यो देउराली डाँडा...' ले बेसरी तातेको थियो। विद्यार्थी भाइबहिनीहरु पूरै स्वतन्त्र थिए र पो रमाएका थिए नै।
थुम्सी, रजहर, कावसोती, अरुण खोला हुँदै दाउन्नेको उकालो काटियो। समय सायद ९ बजेको हुँदो हो। बसको ढोका नजिकैको सिटमा म बसेको थिएँ। दाउन्नेको डाँडा कटेपछि मेरो दाहिने काँध विस्तारै दुख्न थाल्यो। दाउन्ने पुग्दा दुखाइ बढेर असह्य भैसकेको थियो। दाउन्नेबाट सुस्तै-सुस्तै ओराली झर्दै गर्दा आकाश खुलेर घामको किरणले हामीलाई स्पर्श गर्यो। न्यानो अनुभूति भयो।
बर्दघाट, सुनवल, खैरेनी हुँदै बुटवलको बजारै बजार तिनाउ खोला तरेर मणिमुकुन्दसेन पार्क अर्थात् बुटवल फूलबारी पुगियो ११ बजे तिर। पार्क प्रवेश गरेपछि त धर्तीको स्वर्ग (साङ्ग्रीला) आएजस्तै लाग्यो। पार्क भित्रका मनोरम दृश्यहरुसँग क्रिडा गरिरहेका बाबुनानीहरुलाई बटुलेर हामी हाम्रो पिकनिक स्पट तिर अगाडि बढ्यौँ। नास्ता गर्ने कार्यक्रम समापन भएपछि प्रायः सबै फुर्सदमा भयौँ।
मध्यान्हको समय थियो होला सायद, म, मेरी उनी र हाम्रो ३ वर्षको बाबु घुम्नलाई निस्कियौँ। टाढैबाट देखेर पनि सुदिक्षा न्यौपाने, दीपा सुबेदी, सोनिका भट्टराई, निकिता देवकोटा, कञ्चन अधिकारी, सरिता अधिकारी लगायतका नानीहरु मेरो बाबुलाई बोलाउन आइपुगे। काखमा राखेर र बोकेर सुम्सुमाउन थाले। त्यो देखेर रमाइलो लाग्यो। पार्कभित्र सबै भाइबहिनीहरु आ-आफ्नो समूहमा थिए। कोही फोटो सेसनमा, कोही खानमा, कोही घुम्नमा, कोही खेल्नमा अनि कोही गफमा मस्त।
घुम्दै गर्दा हाल राजा मणिमुकुन्द सेनको शालिक नजिक बोतल ब्रसको बगैँचामा बिपिन बराल सर आफ्नो बाबुसँग मज्जाले खेल्दै गरेको देखेँ। हामीलाई देखेपछि सरले फोटो खिच्न भन्नुभयो। छोरालाई हावामा उराल्दै खेल्दै गरेका थुप्रै फोटोहरु क्लिक गरेँ। त्यसपछि दुई बाबुहरुलाई सँगै राखेर फोटो खिच्नु भयो। आइसक्रिम खुआउनु भयो। 'यो फोटो पछि सम्झना हुन्छ यिनीहरुलाई' फोटो खिचेपछिको उहाँका शब्दहरु। यही भेट र शब्द नै अन्तिम बन्यो मेरा लागि।
घुम्दै गर्दा थकाइ मार्न बसियो। सोनीका भट्टराई नानी आइपुगिन् र २/४ वटा फोटो खिचिन् अनि गइन्। गेटतिर जाँदै गर्दा बाटोमा सरिता अधिकारी, सुनिल अधिकारी, कञ्चन अधिकारी, आयुशी न्यौपाने, दुर्गा पौडेल लगायतका नानीबाबुहरुलाई भेटेँ। सबैको अनुहारमा आनन्द, खुसी, उत्साह र उमंगको भाव प्रष्ट झल्किन्थ्यो।
गेट बाहिर निस्केको एक हुल केटाकेटीहरु देखेँ। प्रबिना सुबेदी, रोजिना रानामगर, आकृति पाठक, आराधना ढुंगाना, रचना दाहाल, दिव्या फुयाल, रबिना थापा, पूजा खनाल आदि बटौली बजार हेर्दै रमाइरहेका थिए। पार्क नजिकै एउटा पुरानो मन्दिर रहेछ। प्रबिनाले भनिन् 'सर! मन्दिर जाम् न।' मैले हुन्छ भनेँ। सबैजना हिंड्न् लागेका थियौँ, एउटा ठेलावालाले भने 'मन्दिर आजकल बन्द छ।' किन हो कुन्नी थाहा भएन। अफशोच! ती बच्चीहरुको इच्छा अधुरो रह्यो।
बुटवल बजार हेर्दै गर्दा अनायासै गगन तिर मेरा नजर पुगे। सूर्य त्यही, आकाश त्यही, परको क्षितिज पनि उही, अनर्थको कुनै गुन्जायस छैन। हुनु पनि किन? त्यही बीचमा एकजना भाइ आइपुगे र भने 'सर! पुलाउ पाक्यो अब जाउँ।' हामी सबै पार्क छिर्यौ। हिँड्दै गर्दा बाटोमा तास खेल्दै हाँसो र ठट्टामा रमाएका गुरुजीहरुलाई भेटियो। 'आउनुस् है' भन्दै हिँडियो।
वनभोज स्थल पुग्दा खानपिन सुरु भैसकेको रहेछ। हामीले पनि खानपिन गर्यौं। घाम ढल्केसँगै मेरो काँधको दुखाइ पनि अति नै हुन थाल्यो। अनि बुटवल (बर्मेली टोल) फुपूकोमा नै बस्ने विचार गरी लेखनाथ खनाल सर (प्राचार्य) लाई भेट्न् गएँ। यस्तो कार्यक्रममा फर्किन्नँ भन्दा सधैँ नाई-नास्ती गर्ने लेखनाथ सरले त्यो दिन के सोचेर हो कुन्नी हुन्छ भनिहाल्नु भयो। एकछिन त म आफै पनि अचम्ममा परेँ। त्यसपछि सबै सर, म्याडम, विद्यार्थी भाइबहिनीहरु र गुरुजीहरुसँग बिदाइ भइयो। रमाइला अनुभूतिहरुको कुटुरो बोकेर ठिक ४ बजे फूलबारी पार्क छाडी हामी फूपुको घर तिर लाग्यौँ।
फुपूको घर पुग्दा साँझको ६ बज्यो। सरसफाई गरेर एकछिन कुराकानी गरेपछि सुत्ने तर्खर गर्दै थियौँ हामी। सायद सवा ८ बजेको थियो होला। मोबाइल फोन बज्यो। फोन साथी नवराज ढकालको थियो।
'तिमी कहाँ छौ? तिम्रो स्कुलको गाडी त एक्सिडेन्ट परेछ नि। एम्बुलेन्सहरु दौडेको दौड्यै छन्।'
उनको कुरो सुनेर खङ्ग्रंग भइयो। एकछिन त बरबराउन पुगेँ। सम्हालिँदै सोधेँ, 'कहाँ? कति बेला नि?'
उनले 'भर्खरै गैंडाकोटको थुम्सी (नवलपरासी) भन्ने ठाउँमा' भने।
अनि घरमा बाबा-आमालाई फोन गरेँ। बाबाले पनि त्यही अप्रिय खबर सुनाउनु भयो। विश्वास गर्नै कठिन तर पनि गर्नै पर्ने! पछि लेखनाथ सर, चेतन सेढाई सर (उप-प्राचार्य), रोशन सर, भबिलाल निउरे सर सबैलाई फोन गरेँ। कहीँ कतै फोन लागेन। प्रहरीलाई पनि फोन गरेँ लागेन। असाध्यै छटपटी र बेचैन भो। जिन्दगीमा यति बिघ्न छटपटी र बेचैनी कहिल्यै भएन। नहोस् पनि।
समय र परिस्थिति यति कठोर भयो कि दुर्घटनामा परेर छटपटिएका साथीहरूको बारेमा सही खबर पनि पाउन सकिएन। म बसेको ठाउँमा तीन दिन भएको रहेछ बिजुली नआएको। न टिभी न रेडियो। यही उकुसमुकुसका बीच राति १२:३० बजे तिर साथी निर्मल अर्यालले फोन गरे।
उनीसँग चितवन पोस्ट दैनिकका लागि लगभग दुई घण्टा कुरा गरियो। सही र तथ्यपूर्ण जानकारीहरु प्रदान गरेँ। मैले पनि दिनभरको सम्पूर्ण वस्तुस्थिति जानकारी गराएँ। सत्य-तथ्य जानकारीहरु खोज्न चितवन पोस्ट दैनिकले गरेको यो परिपक्व प्रयासको सधैं तारिफ गर्न मन लाग्छ।
भोलिपल्ट बिहान ५ बजेतिर कुसुम गिरि सरलाई फोन गरेँ। सरसँग छोटो कुराकानी भयो। त्यो दिन बुटवल बन्दको हल्ला थियो। गाडी पाउन गाह्रो भयो। दिउँसो ३ बजेतिर बस पाइयो र नारायणगढको लागि हिँडियो। बाटोभरि मनमा अनेकौं कुरा खेलिरहे। बसमा यात्रीहरुले नानाथरी कुरा गर्थे। मसँग एकोहोरो सुन्नु बाहेक अरु विकल्प केही थिएन।
बेलाबेला आमाबुवासँग कुरा हुन्थ्यो तर उहाँहरु पनि प्रष्ट सूचना र जानकारीहरु दिन सक्ने अवस्थामा हुनुहुन्न थियो। कति घाइते? कति मृत? सही जानकारी पाउनै गाह्रो। एफएम रेडियोहरुको राज भएको त्यो बेलामा मृतकहरुको संख्या ४० काट्यो। हावादारी किस्साहरुलाई जोडेर समाचार प्रशारण गरियो। ब्रेकिङ न्युज दिइयो।
अहिले कल्पना गर्छु, त्यो बेला अहिलेको जस्तै बेलगाम युट्युबरहरु भएको भए घटनाक्रमले कस्तो मोड लिने थियो होला? यस्तै-यस्तै उदास र उराठलाग्दा बातहरु सुन्दै गर्दा बसमा यात्रा गरिरहनु भएका एक यात्रीको हातमा काठमाडौँबाट प्रकाशित हुने एक प्रतिष्ठित समाचारपत्र देखेँ। मागेर हेरेँ, उप-प्राचार्य चेतन सरको फोटोसहित मृतक भनेर छापिएको रहेछ।
समाचार प्रकाशनमा भएको यस्तो गम्भीर त्रुटि देखेर साह्रै दु:ख अनि अचम्म लाग्यो। यस्तो गम्भीर त्रुटिप्रति पनि सो समाचारपत्रले पछि खेद प्रकट गरेन। चेतन सर गम्भीर घाइते भए पनि खतरामुक्त भन्ने जानकारी साथी निर्मलबाट पाइसकेको थिएँ।
बस दाउन्नेको ओरालो झरेर दुम्किबास हुँदै दुम्कौली आइपुग्यो। हाम्रोभन्दा पल्लो सिटमा बसेकाहरु गफ गर्दै थिए, 'एकजना पापी मास्टरले ड्राइभरले जाँड खाएको थाहा पाएपछि आफ्नो बुढी र छोरालाई लिएर यहीँ झरेको रे। त्यसलाई मुर्दार, आफ्नो मात्रै माया!'
कसलाई इङ्गित गर्न खोजिएको हो बुझ्न गाह्रो थिएन मलाई। साँझ झमक्क परिसकेको थियो। भेडाबारी हुँदै बस थुम्सी आइपुग्यो। मन भरङ्ग भयो, अतालियो, भक्कानिएर आयो। झ्यालबाट बाहिर हेरेँ, निष्पट निशा मात्रै। बसको उज्यालोमा दुर्घटनाको कारक मानिएको ट्रयाक्टर त्यही देखियो। त्यो बाहेक अरु केही देख्न सकिएन।
साँझ सात बजे तिर घर आइपुग्यौँ। नारायणगढको पुल्चोकमा पाइलो राखेदेखि नै नारायणगढ बजार साँझको भिडभाड र भागदौडबीच पनि सुनसान र शोकमग्न लाग्यो। घर आएपछि बुवा-आमासँग एकछिन त बोल्नै सकिएन। आमाले मलिन स्वरमा 'बाबु!' भनेपछि बल्ल वाक्य खुल्यो। छरछिमेकीहरु पनि आउनुभयो। मन फुकाएर बोल्नै सकेनौँ। एकछिनको बसाइपछि बाबा-आमाले खाना खाऊ भन्नु भयो। खाना खान मन लागेन। त्यत्तिकै बसेँ।
भबिलाल सरलाई फोन गरेँ। सबै यथार्थ बुझेँ। सरले भोलि बिहान ६ बजे स्कुलमा भेटौँ भन्नुभयो। थुम्सीको त्यो दुर्घटनाले १८ जना प्राणप्रिय विद्यार्थी भाइबहिनीहरु, एकजना सहयोगी र चारजना सहकर्मी साथीहरुलाई हामीबाट सदाको लागि खोसेर लग्यो। प्राकृतिक नियम र विनियम पनि मानवीय जीवनको लागि यति विघ्न क्रूर हुँदोरहेछ!
दुर्घटनामा गम्भीर घाइते चेतन सरले आफ्नी जीवन सङ्गिनी उषा म्याम, छोरा उचित, गम्भीर घाइते हुनु भएकी कमला सुवेदी म्यामले प्रिय बाबुनानी प्रबेग र प्रबिना, शंकर बराल सरले जीवन सङ्गिनी अफ्सरा म्याम र छोरी सृजना गुमाउन विवश हुनु भएको थियो।
भोलिपल्ट बिहानै स्कुल पुगेँ। केही सरहरु, उपेन्द्र ढुंगाना दाइ (अभिभाक), सूर्यकान्त घिमिरे (अभिभाक) लगायत अन्य केही अभिभावकहरु आउनु भएको थियो। स्कुल उजाडिएर खण्डहर भएजस्तै लाग्यो। जता हेर्यो उतै ती नानीबाबुहरुको तस्बिर देखिन्छ। भित्ता-भित्ताले पनि नाम काडेर बुलाउने हुन् कि जस्तो भान पर्यो। लुकामारी खेल्दै सर भन्दै च्याप्प हात समाउन आउँछन् कि जस्तो लाग्ने! नयनहरु रसाउँछन्। भावुक भएर मात्रै नहुने, शोकको घडीमा सम्हालिएर अघि बढ्नै पर्ने।
सामान्य छलफलपछि हस्पिटल गइयो। पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स) मा उपचार गराइरहनु भएकी निर्मला खनाल म्याम, कमला म्याम, रोशन सर, सबिता कार्की मिस लगायत अन्य घाइते विद्यार्थी भाइबहिनीहरुसँग भेटघाट गरियो। चेतन सर, रचना दाहाल र रबिना थापाको अवस्था गम्भीर भएकोले काठमाडौं पठाइएको रहेछ।
अवस्था यति क्रुर, भयानक र विषम् थियो कि ढाड डढेर अस्पतालको ओछ्यानमा लड्नु भएकी निर्मला म्यामले न श्रीमान् (लेखनाथ खनाल) को मुख हेर्न सक्ने अवस्था थियो न सरले म्यामको। श्रीमान-श्रीमतीको त के कुरा, उहाँहरु एकअर्कामा सामान्य मानवीय भाव प्रदर्शन गर्न सक्ने अवस्था पनि रहेन। निर्मला म्यामको मुहारमा असाध्यै पीडा, बेचैन, उदास, विरक्त र चरम निराशा थियो।
'हामीलाई मात्र दैबले किन यस्तो गर्छ सर?' अमिलो मनको साथ म्यामको यो प्रश्न टुंगिन नपाउँदै पूरा वार्डभरि सन्नाटा छायो। कसैका नि वाक्य नै फुटेन।
दुर्घटना भएपछि स्कुलमा केही अप्रिय घटनाहरु भए। सहकर्मी साथीहरूले असुरक्षित महसुस गर्नुभयो। हामी सुरक्षाकर्मीहरुको अप्रत्यक्ष निगरानीमा बसेर केही समय काम गर्यौँ। त्यही दिन बिहान १० बजे तिर हामी दुःखमा रहनु भएका अभिभावकहरुलाई भेट्न निस्कियौँ। भेटघाटको क्रम अत्यन्त कारुणिक र हृदयविदारक थियो। शब्दमा व्यक्त गर्न नसकिने। हामीप्रति अभिभावकज्यूहरुको चरम आक्रोश, तीव्र घृणा र असन्तुष्टि थियो। उहाँहरुको नजरमा हामीहरु शिक्षक नभएर क्रूर हत्यारा, दैत्य र निर्दयी आतंककारी तालिवान थियौँ।
प्राचार्यको कठालो समातेर मुड्कीले छातीमा हान्दै आफ्नो आक्रोश पोख्नु हुन्थ्यो। छाती पिटी-पिटी रुँदै भन्नुहुन्थ्यो- 'अड्कलेर पाएको मेरो छोरो/छोरी किन मार्दिस्?'
चुपचाप हेर्नु र सुन्नु बाहेक अरु केही गर्न र भन्न सक्ने अवस्था थिएन। हामी विद्यालय परिवार निरीह थियौँ। उहाँहरुको आक्रोश स्वभाविक पनि हो। हामीसँग नपोखे कोसँग पोख्ने? उहाँहरुको अलापविलापले वातावरण नै गम्भीर हुन्थ्यो। मान्छेलाई आफ्नै मृत्युवरण गर्न सजिलो तर आफ्ना बच्चाबच्चीहरुको मृत्युको पीडा सहन असाध्यै गाह्रो हुने रहेछ। बच्चाबच्चीहरुको मृत्यु बहुत भयानक र असह्य हुँदो रहेछ। सम्हाल्न र सम्हालिन साह्रै कठिन।
तत्कालीन अति सम्वेदनशील र जटिल परिस्थितिमा प्रेम रिमाल (प्राचार्य, डेजि आमावि), उपेन्द्र ढुंगाना, अभिभावक र सूर्यकान्त घिमिरे (अध्यक्ष, अभिभावक संघ) को सुझबुझपूर्ण निर्णय र अभिभाकत्व अहम रह्यो।
दुर्घटनाको सातौं दिन हुनुपर्छ सायद, तत्कालीन जिल्ला शिक्षा कार्यलय चितवनको सभा कक्षमा एउटा भेला आयोजना हुँदै थियो। जिल्लाका राजनैतिक र प्राशासनिक नेतृत्व, प्रबुद्ध वर्गदेखि लिएर सरोकारवालाहरु सबैको बाक्लो उपस्थिति थियो, त्यहाँ। प्रारम्भमै उद्घोषण गरियो- बालबालिकाहरुको संहार!
हामी शिक्षक साथीहरू पूरै स्तब्ध भयौँ। वक्ताहरुको मन्तव्यमा पनि झल्किन्थ्यो सुनियोजित घटना। केहीले त प्रष्ट भन्दिनु भयो, प्राचार्य र शिक्षकहरुले २३ जनालाई लगेर थुम्सीको खोल्सोमा फाल्दिनु भयो। तर कसैलाई हेक्का भएन ती २३ जनामा आम नरसंहारकारी शिक्षकहरुका श्रीमती र छोराछोरी तथा स्वयम शिक्षकहरु पनि परेका छन्।
छलफल अगाडि बढ्दै गर्दा हिलबर्डलाई स्मृति प्रतिष्ठान बनाउने प्रस्ताव आयो। त्यसको मोडेल पनि प्रस्तुत गरियो। प्रेम रिमाल सरले बोल्दै गर्दा पञ्चायतको रजत स्तम्भहरु पञ्चायत नरहेसँगै मासिएको उदाहरण दिएपछि परस्थितिले अर्कै मोड लियो र स्कुल संचालन गर्ने वातावरण सृजना गर्न छलफल केन्द्रित भयो।
त्यही साँझ स्याउलीबजार, हाकिमचोक स्थित भरतपुर इङलिस स्कुल सोसाइटीको कार्यलयमा प्रेम रिमाल, मोहन लामा (प्राचार्य, प्रेणा आमावि), सूर्यकान्त घिमिरे, लेखनाथ सर लगायत केही शिक्षकहरुबीच छलफल गरी विद्यालय संचालन र कक्षा व्यवस्थापनको योजना तयार पारी हामी निस्कियौँ।
भोलिपल्ट ९:४५ मा स्कुल पुगियो। एसेम्ब्ली गरिएन। स्टाफ रुम मन नलागी-नलागी बाध्य भएर छिरियो। शून्य छ। अँध्यारो छ। क्लासरुममा पनि चरम शून्यता छ। जहाँ गए पनि जता गए पनि तिनै केटीकेटाहरू झलझल्ती आँखामा आउन थाले। ठिक एक बजे छुट्टी गरियो। कुनै घण्टी बजाइएन। एक बजाउन अति-अति कठिन भयो।
१० बजेदेखि १ बजेको ३ घन्टाको समय ३० औँ वर्ष जति लग्यो। बेला बखत मनमा गाँठो परेर आयो, फुकाउन साह्रै कठिन। बराल सर लिबेरो (बाइक) चढेर स्कुल आउँथे। बाइकबाट झरेपछि कपाल र चस्मा मिलाउँदै आउने। देखेपछि बोलाइहाल्थे 'बरुवाल जि!' उनको त्यही झंकारले बारबार मेरा आँखाहरु बाटैतिर लोलाइरहे।
यो भवितव्य नै पर्न आएको हो। मृत्युलाई असाध्यै समीपमा बसेर हेर्नु पर्यो। त्यसमा पनि मुटुको टुक्राजस्ता बच्चाहरुको। मृत्युको कुरा गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्दमा स्वर सम्राट नारायण गोपालको एउटा गीतको एक अन्तराले मन छुन्छ:
'आज र राति के देखेँ सपना मैले
.......................
.......................
जन्म दिएर संसारमा ईश्वर
बैंसमा नमार बैंसमा नमार
.....................
.....................'
ईश्वर होलान् नहोलान्, मर्म चाहिँ काफी छ।
अन्त्यमा सो दुर्घटनामा परी जीवन गुमाएका प्यारा विद्यार्थी भाइबहिनीहरु र सहकर्मी साथीहरुप्रति हार्दिक श्रद्धासुमन।