झन्डै वर्ष दिनमा घर पुग्दा, अचम्म मिश्रित ममीको पहिलो चासो,‘यसपालि त कपाल काटेर आइचस् तो।’
यो पहिलो पटक थिएन मेरो कपालमाथि चलेको प्रसंग, त्यसैले ममीको चासोमा मैले रूची देखाइनँ, बरू एक सर्को हाँसोमा टारिदिएँ।
यस्तो सवालको सामना गर्नेुपर्ने म एक्लो युवक होइन।
धेरै किशोरदेखि युवा केटाहरूले बारम्बार सुन्नुपर्छ, यदि कपाल पाल्ने रहर बोकेका छन् भने।
अलि सजिलो गाउँबाट सहरमा पढ्न आएका युवकहरूलाई होला। उनीहरू निस्फिक्री कपाल पाल्न पाउँछन्। त्यहाँ उनीहरूलाई कराउने कोही हुँदैनन्।
गाँउ फर्किंदा भने बढेको कपाल काटेर मात्र जान्छन्। मेरा कति साथी गाउँ फर्किंदा कपाल काट्नुपर्ने बाध्यताले चाडवाडमा पनि घर नजाने बहाना खोज्न थाल्छन्। ‘सहरमा पढ्न पठाको कि हिरो बन्न?’, ‘खुब राजेश हमाल बन्न परेको, रङ्ग न ढङ्ग।’ धेरैजसोका बाआमाले यस्तै भन्नुहुन्छ।
कसै-कसैले हिरोको ठाउँमा ‘गुन्डा बन्न’ भन्नुहुँदो हो। न कपाल पाल्दैमा हिरो भइन्थ्यो न गुन्डा नै। अनि कपाल नपाल्दैमा पढनदास भइने पनि होइन। तर यस्तै ठान्छन् हाम्रा बाआमा। हाम्रो समाज। कठै....।
मेरो एउटा फोटो छ बचपनको। दिदीहरूजस्तै मेरो कपाल पनि दुई चुल्ठी बाटेको। आजकल मेरो लामो कपाल देखेर ‘कपाल किन पालेको?’ प्रश्न गर्नेलाई म त्यही फोटो मोबाइलमा देखाउँदै भन्ने गर्छु ‘आफू त बच्चैबाट कपाल पाल्ने अरिन्थ्यो, देख्नुभो।’
सबैको फोटो नहोला, मेरो छ त्यसैले देखाउन पाएको छु।
त्यसपछि एसएलसीसम्म कहिल्यै मुठ्ठीले समाउन मिल्ने कपाल भएको जानिनँ। बाआमाले कपाल बढ्नै दिनुभएन। बढ्यो कि काटिदिने। कहाँ काटिदिने खौरिदिने।
मैले जाने अनुसार म हुर्किएको पचासको दशकमा हाम्रो गाउँमा लामो कपाल पाल्ने कोही देखिएनन्। त्यतिखेरको माहोल अलि खराब थियो। देशमा चलेको द्वन्द्वको कारण डरले पनि कपाल पाल्ने वातावरण थिएन।
यताउता हिँड्दा ठाउँ-ठाउँमा सुरक्षाकर्मीले चेकिङ गर्थे। अलिकति दाह्री कपाल पालेको केटाहरू देख्यो कि केरकार गरिन्थ्यो। सहरमा त्यति ठूलो डर थिएन सायद, जति गाउँतिर थियो। त्यसैले कहिलेकाहीँ पोखरातिर आउँदा कपाल पालेका केटाहरू देखिन्थे।
तिन्ताका गाउँमा दुईघर मात्र कपाल काट्ने कैंची थिए। त्यो पनि नलाग्ने। आँसी उधाउने ढुङ्गामा कैंची उधाएको देखेको थिएँ। हाम्रो हजुरबाले वर्षमा तीनचोटि श्राद्ध गर्दा कपाल खौरिनुहुन्थ्यो। त्यसपछि काट्न पर्दैन्थ्यो।
बाले भने मौका मिल्दा कैंचीले नत्र ब्लेडले कपाल खौरिनु हुन्थ्यो। कैंची चलाउन जान्ने गाउँमा तीन जना दाइ थिएँ। भ्याएसम्म गाउँका धेरै युवाको नि:शुल्क कपाल काटिदिन्थे।
नौ दश पढ्ने दाइहरूदेखि माथिल्लो उमेरका धेरैले कैंचीको प्रयोग गर्थे। कैंची नपाउँदा ब्लेडले कपाल खौरिएर ढाका टोपी लगाउने अप्सन त सबैसँग छँदैथियो।
एउटा उमेर हुने रैछ। त्यो बेला रहरभन्दा पनि लहड बढी चल्दो रैछ। पछि त्यही लहड आदत बन्दै जाँदो रहेछ।
मलाई कपाल पाल्ने रहर भएर हैन। एस.एल.सी पछि तीन महिना घरमै खाली। कपाल काट्न जरूरत परेन। अनि ख्यालख्यालैमा कपाल पाल्ने लहड चल्यो। त्यहीबाट मेरो कपालबारे चर्चा सुरू भएको अहिलेसम्म भैरहेकै छ।
घरमा, छिमेकमा, आफन्तकोमा अनि साथीहरूको जमातमा। मेरो कपाल क्या राम्रो भनिदिने साथीहरू मात्र छन्। राम्रो लागेर भन्छन् वा मन राखिदिन। थाहा भएन। घरमा भने ठिकविपरीत। ममीले भन्नुहुन्छ, 'कस्तो गुन्डाजस्तो।'
आफन्त र छिमेकीको नजरमा 'बिग्रिएको केटा।'
झपक्क दाह्री पाल्नु उति नराम्रो मानिँदैन, जति कपाल पाल्ने केटालाई हेर्ने नजर छ। रातो, खैरो, टाटेपाटे, बहुरङ्गले कपाल रङ्गाउनेप्रति झनै खराब नजरिया। नजरियाकै कुरा गर्दा महिला जसरी कपाल पाल्ने पुरूषको तुलनामा पुरूष जसरी कपाल काट्ने महिलाप्रति समाजले हेर्ने दृष्टिकोण धेरै डरलाग्दो छ। तर सत्य के हो भने महिलाले पुरूष जसरी कपाल काटेकै कारण ऊ कुनै सरकारी वा प्राइभेट जागिरमा अयोग्य हुनुपर्दैन। पुरूषको हकमा कपाल पालेको भए काट्न लगाइन्छ। किन यस्तो गरिन्छ, चर्चा गर्दैछु।
कपाल पाल्ने, मुन्द्रा लगाउने, ग्रन्च पाइन्ट लगाउने केटाप्रति आममानिस झट्ट विश्वास गर्न डराउँछन्। सोझो देखिने, दाह्री कपाल मिलाएको सफाचट देखिनेप्रति सजिलै विश्वास गर्ने मनोविज्ञान नेपाली समाजमा स्थापित जस्तै छ।
मानौं कि हामीसँग कसैको अनुहार हेरेरै सञ्जन र खराब छुट्याउन सक्ने कला छ। यद्यपि चिटिक्क सर्ट पाइन्ट लगाउने, दाह्रीकपाल चटक्क मिलाएको, सफाचट चकलेटी अनुहारको मान्छे सधैं असल हुन्छ भनेर न त कुनै धर्म ग्रन्धमा लेखिएको छ, न देशकै संविधानले अथ्र्याएको छ।
थोरबहुत फिल्मको प्रभाव हुनसक्छ। अलि पहिले अधिकांश गुन्डाहरू कपाल पालेका, जगल्टे देख्दै डरलाग्दा देखाइन्थे फिल्ममा। प्रायः सिनेमामा खराब चरित्रलाई देखाउन त्यही एउटै सूत्र प्रयोग गरिन्थ्यो।
सफाचट, चकलेटी अनुहार भएको मान्छे कहिल्यै खराब हुँदैन जसरी देखाइन्थ्यो।
एकाध नायक भनिने पात्रले कपाल पालेको देखिन्थ्यो। तर ऊ दशौं गुन्डाको अगाडि छायामा पथ्र्यो। त्यहीबाट सबैको मानसिकतामा गुन्डाको स्वरूप स्पष्ट छापियो कि जुन भ्रम अहिलेसम्म छ।
एउटा गज्जबको सत्य।
केहीमा भने कपाल पाल्नु नै विश्वासिलो आधार बन्दोरहेछ। जस्तो साधु, सन्त, योगी, संन्यासी, महात्माले कपाल पाल्नु स्वाभाविक मानिन्छ। झपक्क दाह्री कपाल पालेका साधु संन्यासीप्रति विश्वास बढ्छ। बरू दाह्री कपाल नपालेको कसैले “म योगी हुँ” भन्यो भने ऊप्रति शंका लाग्छ। मानौं कि साधु, संन्यासी, योगी हुन पहिला चाहिने लामो कपाल हो। यो नियम होइन। मनोविज्ञान हो। मानिसभित्र गढेर बसेको एक किसिमको नजरिया मात्र हो।
जे होस् यहाँ झपक्क दाह्री, कपालले विश्वासको काम गर्छ।
अर्को, विभिन्न विद्वान,वैज्ञानिक, दार्शनिकहरू झपक्क दाह्री कपाल पालेका तस्बिर आदर्शको रूपमा विद्यालयदेखि विभिन्न संस्थाका कार्यलय अनि धेरैको घरको भित्तामा झुन्ड्याइएका हुन्छन्।
उनीहरूलाई महान् व्यक्तित्व भनेर सबैले सम्मान गरेका छन्। उनीहरू दुनियाँमा प्रसिद्धी कमाएका छन्।
लेखक, पत्रकार, कलाकार, व्यवसायी आदिलाई कपाल पाल्न वा नपाल्न छुट हुने भैहाल्यो। उनीहरू कसैको अन्डरमा भन्दा पनि स्वतन्त्र भएर काम गर्छन्। उनीहरूमाथि कपाल पालेकोमा खास नजरिया नराम्रो पनि छैन।
एउटा चर्चित अनुहारले कपाल पाल्दा सामान्य मान्ने, अनि भर्खरको युवकलाई भने बिग्रिएको देख्ने हाम्रो नजरिया गज्जबको छ।
कपाल पाल्नु बिग्रनुसँगको कुनै तालमेल नै छैन। बिग्रनु कुनै रोग हो भनेर मान्दा, कपाल पाल्नु उक्त रोगको लक्षण हुँदै होइन।
केटा मान्छेले कपाल पाल्नै हुँदैन भनेर कुनै पेसामा किटान गरिएको छैन होला। कपाल पाल्नु अनुशासनहीन हुनु त झन् हुँदै होइन। जस्तो केटा सुरक्षाकर्मीले कपाल पाल्दा के हुन्छ ? प्राइभेट कम्पनी अनि सरकारी सेवामा रहेका छोरो मान्छेले कपाल पाल्दा के फरक पर्छ ? मन्त्री, प्रधानमन्त्री लगायत राजनीतिज्ञले कपाल पाल्दा के हुन्छ ? के लामो कपालले उनीहरूको कार्यकुशलतामा कमी ल्याउँछ र ? कि उनीहरू कलिला, काँचा, हाउडे, फटाहा वा गुन्डा लाग्छन्।
कसैलाई पाल्न मन नहोला त्यो अलग कुरा। जसलाई मन छ, उसलाई कपाल पाल्न दिँदा के हुन्छ ?
कपाल पाल्नेमाथि आम मानिसको नजरिया नराम्रो भएरै सर्वसाधारणसँग प्रत्यक्ष जोडिएर काम गर्ने निकायमा कपाल पाल्न नपाइँदो हो।
सबै नियम लेखिएरमात्र मान्नुपर्छ भन्ने कदापी होइन।
कतिपय अनुशासनका नियम हामीले सामाजिक संस्कारबाटै सिकेर पालना गरिरहेका हुन्छौं। मेरो चासो खाली, यदि कपाल पाल्ने केटा कर्मचारीप्रति समाजको नराम्रो नजरिया पर्छ भनेर उस्लाई कपाल पाल्न नदिएको हो भने, यो त सरासर पुरूषमाथिको अन्याय हो।
लामो कपालमा खराब नियत हुन्छ भनेर हामीमध्ये कतिले मान्न तयार छौं? अनि सफाचट देखिँदैमा असल नियतका हुन्छन् भनेर मान्न कति तयार छौं ? आखिर अधिकार र पदको दुरूपयोग, भ्रष्टाचारजस्ता कार्य कसले गरेको छ? कपाल पालेकाबाट भएको छ कि सफाचटबाट ? जवाफ त स्पष्ट छ।
कपाल पाल्न त त्यहाँ पाइँदैन।
अब भन्नुस् खराबी कपालमा हुँदो रैछ कि नियतमा?
एउटै पेसामा आबद्ध महिलालाई कपाल पाल्न र काट्न दुबै छुट हुने तर पुरूषले पाल्न नपाउने काट्नु पर्ने किन ? प्लस टु कै कुरा गर्दा केटालाई कपाल पाल्न नदिनुको चित्तबुझ्दो कारण के? सँगै पढ्ने केटीले कपाल पाल्न, कपाल काट्न अनि कपाल रङ्ग्याउन छुट तर केटाले मात्र कपाल काट्नुपर्ने नियम अनौठो लाग्दैन ? कसैले भन्ला “महिलाले कपाल पाल्नुपर्छ भन्ने कहाँ छ ? काटोस् कि पालोस् उस्को स्वातन्त्रता हो ।”
त्यसो भए ‘पुरूषले पनि समान पेसामा आबद्ध हुँदा कपाल पालोस् कि काटोस् उसको स्वतन्त्रताको ख्याल किन भएन ?’
केही दिनअघिसम्म वर्तमान भारतीय प्रधानमन्त्रीले दाह्री र कपाल पालिरहेको देखेको थिएँ। उनी हाम्रोजस्तै संस्कृति अंगाल्ने मुलुकका प्रधानमन्त्री हुन्। अलग धर्म संस्कृतिमा कपाल पाल्नु अनिवार्य पनि होला।
प्रधानमन्त्री जस्तो कार्यकारी पदमा भएको व्यक्तिले कपाल पाल्दा फरक पर्ने केही रहेनछ त। फरक यत्ति थियो। उनी सेताम्य थिए। सेताम्य फुलेका केसले व्यक्ति परिपक्व देखाउँछ भन्ने बुझिएला। त्यसैले उनलाई सबैले संन्यासी जस्तो मान्दा हुन्, मतलब असल। यदि त्यही केश कालो, रातो, खैरो पारेको भए उनको कार्यकुशलता, दक्षतामा केही फरक आउँथ्यो त। पक्कै आउँदैनथ्यो।
उनी चर्चित र पाको उमेरका भए त्यसकारण उनीप्रति कपालकै कारण नराम्रो धारणा नबनाउलान्।
किशोरदेखि युवा उमेको केटा मान्छेमा त्यही फेसन किन खराब। मान्छे त्यही हो, स्वभाव उस्तै छ, उसको सीप क्षमता उस्तै छ भने थोरै कपाल पाल्दैमा, अनि कपाल रङ्ग्याएकै भरमा ऊप्रति नकारात्मक किन?
अझ केही वर्षअघि बिना आधार विभिन्न शहरका युवालाई जगल्टे मुन्द्रे भन्दै प्रहरीले पक्राउ गरेको घटना साँच्चिकै हाँस्यास्पद थियो।
यो घटना पर्याप्त छ नेपाली समाज अनि प्रशासनले कपाल पाल्ने केटाहरूलाई हेर्ने नजरिया। जबकि पश्चिमा देशमा प्राकृतिक रूपमै खैरो कपाल हुने गर्छ।
मतलब खैरो रङ हुँदैमा उनीहरू अपरिपक्व, हाउडे, फटाहा लाग्दैनन् भने हामीकहाँ त्यही फेसन गर्नेलाई किन नराम्रो मान्ने? मान्छेको व्यवहारले असल खराब छुट्याऊँ।
उनीहरूले समाजलाई असर नपर्ने गरी अपनाएको जीवनशैलीले होइन। त्यसैले खराबी कपालमा होइन। हेर्ने नजरियामा हो। नजरिया बदलौं।
म किन दाह्री र कपाल एकसाथ पाल्छु? मलाई सुहाउँछ वा सुहाउँदैन त्यसको लागि होइन। अरूले मलाई कस्तो नजरले हेर्छ त्यसको मतलब मलाई हुँदैन। म आफ्नो खुसीको लागि पाल्छु।
कपाल मेरो शिरको ताज हो। कपाल पाल्दा र दाह्रीसहित म आफूलाई आत्मविश्वासी महसुस गर्छु। बाटोमा हिँड्दा जब हावाको झोकाले कपाल फुर्रफुर्र उड्दै आफ्नै काँधमा आएर टोकिन्छ, मलाई आनन्द महसुस हुन्छ।
अरूको अगाडि प्रस्तुत हुँदा बोल्दा ऊर्जावान महसुस हुन्छ। मेरो व्याक्तित्व एकाएक उकालो लागेको महसुस हुन्छ।
म आफूलाई परिपक्व महसुस गर्छु। जब सफाचट भएर हिँड्छु केही अपुरो, केही गुमाएको जस्तो। शरीरको महत्वपूर्ण अंग नभएको कमजोर भएको महसुस गर्छु। यो मेरो व्यक्तिगत सोच हो। आफ्नै नजरिया हो। त्यसैले दाह्री र कपालप्रति मोह छ मेरो। सायद अन्य केटाहरूको पनि।
थाहा छ यतिखेरै ममीले के भन्नु भो। ‘तँलाई यतिकै राम्रो देखिन्छ। अबदेखि दाह्री कपाल नपाल।’ मैले गम्भीर भएर भनें ‘म दुखी छु ममी। तपाईंको यो चाहना पूरा गर्न सक्दिनँ।’
‘बिहेको लागि केटी हेर्न जाँदा पनि कपाल नकाटी जानचस् तो ?’
फेरि उही कुरा। सफाचट हुनु नै असल हुनुको प्रमाण कहिलेसम्म ?