बूढानीलकण्ठबाट उत्तर पर्ने हरियाली पहाडको त्यो क्षितिजमा बिहानीको सुन्दर घाम उदाउने तरखर गर्दैछ। यता काठमाडौं भने हिजो रातभरको सिरेटोले हलचलै गर्न नसक्ने गरी कठ्याङ्ग्रिएको छ।
अहो! कति साह्रो जाडो! लाग्छ, पूरा काठमाडौंलाई नै कसैले ठूलो फ्रिजमा राख्दिएको छ र त मुटु नै कमाउने यति साह्रो जाडो छ, यहाँ।
नजिकै रहेको जुगल हिमालबाट आएको त्यो सिरेटोले पूरा काठमाडौंको वायुमण्डल ढपक्क ढाकेको छ। सडक र गल्लीहरू तिनै धुवाँ झैं उडिरहेका जुगल हिमाली तुवाँलोहरूमा हराएका छन् र त जाडोले यति हायल-कायल छ काठमाडौं।
यस्तोमा यहाँका हरेक व्यक्ति आफूलाई यो सिरेटोबाट बचाउन आफ्नै वजन बराबरका ज्याकेट र हाइनेक भित्र सक्दो लुकाउने प्रयास गरिरहेका देखिन्छन्।
चोकैमा तरकारी बेच्ने ती माइली दिदी आधा सहर नजाग्दै आफू चाहिँ जागिसक्छिन् र पुग्छिन् कालीमाटी। उही तरकारी लिन चिसो सिरेटो खाँदै।
यस्तैमा, एक दिन तरकारी किन्दै गर्दा तिनै दिदीलाई भनेको थिएँ, 'दिदी, त्यति बिहानै कालीमाटी पुग्दा हजुरलाई जाडो हुन्न ?'
उत्तरमा दिदी हाँस्दै भन्नुहुन्थो, 'भाइ, म त त्यति बिहानै कालीमाटी पुग्छु कि त्यति खेरसम्म त जाडो नै निद्राबाट उठेको हुँदैन। अनि के-को जाडो हुनु, मलाई।'
भलै! यो उहाँको ठ्ठटा भए पनि उहाँलाई आफ्नो रोजिरोटीका लागि बिहानीको त्यो सिरेटो खानु नै पर्थ्यो। अनि मलाई उहाँले ल्याएका तिनै साग-सब्जी।
त्यतिकैमा मेरै छेउबाट एक हुल विद्यार्थीको झुन्ड भोलिको सुन्दर भविष्यको खोजीका लागि आज भने यो सिरेटोबाट बच्न घाटीमा गलबन्दी र हातमा लगाएका पन्जा खेलाउँदै कलेजतर्फ लम्किरहेका देखिन्छन्।
तिनको मुखबाट इँट्टा भट्टाको चिम्नीबाट झैं तातो वाफ उडिरहेको देख्छु। जुन यो चिसो मौसममा प्रष्टैसँग छुट्टिएर उडिरहेका छन्।
यत्तिकैमा अनायासै, एउटा प्रश्न जन्मिन्छ मेरो मनमा, के ? मान्छेको शरीरमा भित्र पनि कुनै त्यस्तो हिटर हुन्छ र ?
जसले यस्तो हिउँजस्तो चिसो अक्सिजनलाई तातो कार्बनडाइअक्साइड बनाएर फालिरहेको छ ?
खैर! यो, विज्ञानको खोजीको विषय होला ? त्यतातिर नलागम्।
हुन त, आजको २१ औं शताब्दीसम्म आइपुग्दा विज्ञानले अनेक थोक बनाइसक्यो। आज हामी सगरमाथाको बेस क्याम्पमा टेन्टभित्र हिटर बाल्दै साथमा गीतार रेटेर 'सुन साहिली....सुन साहिली.....चालिस कटेसी रमाउँला' भन्दै मज्जा लिन सक्छौं।
तर पनि किनकिन आज यो काठमाडौंको जाडो खाँदै गर्दा मलाई भने उही आफ्नै गाउँघरमा आमाले बसालेको कुडोमा दाउरा धकेलेर आगो ताप्दै साथमा मकै भटमास चपाउने रहर छ।
त्यसको मज्जा छुट्टै छ। जुन यी आजका वैज्ञानिक आविष्कारले त्यसको धित मेट्टाउनै सक्दैनन्।
आज पनि, पुस-माघको जाडोमा घर वरपर पातलो कपडा लगाएर हिँड्न मन छ। ताकि आमाको उही मायाले भरिएको गाली खान पाइयोस्।
'जा, छिटो तोतो कपडा लगाएर आइज !' भन्दै गरेको उहाँकै त्यही प्रेमपूर्ण गाली यी कानले सुन्ने मन छ।
मन त यो पनि छ, तल बेसीबाट पानी घट्टले पिसेको मकैको पिठोको बोरा बोकेर गाउँको घरसम्म लैजाऊँ। त्यही उकाली उक्लिँदै गर्दा बीच बाटैमा पर्ने दुई भितेको चौतारामा केही समय सुस्ताउँदै भर्खरै केही तल मैले नै छोडेर आएको मेरै गाउँलाई मन खोलेर नियालौं।
अ ! साँच्चि, आज काठमाडौंलाई झैं मेरो गाउँ र बेंसीलाई चाहिँ कहाँको चिसो तुवाँलोले छपक्कै ढाकेको होला ? यी आँखाले त्यो पनि धित मर्ने गरी हेर्ने मन छ!
उफफफ्फ्....म त कहाँ पो हराए छु। आफ्नो छेवैमा भएको चिया सेलाएर पानी झैं भैसकेछ।
यस्तै रहेछ जीवन, ज्यान काठमाडौं अनि मन काठमाडौंभन्दा बाहिर अन्तै कतै भएपछि... !