घोराही बजारको सब्जिमण्डी छेउमा एउटा बिरयानी पसल थियो। नाम सायद सलमान बिरयानी कर्नर हो, अहिले बिर्सें।
घोराही बजारको प्रख्यात बिरयानी कर्नर ! कहिलेकाहीँ बस्ने ठाउँसम्म नभएर बाटैमा उभिएर खानुपर्ने बाध्यता।
त्यहाँ विप्लव सोल्टी र म दैनिक बिरयानी खान जान्थ्यौं। भातभन्दा बढी मासु हुन्थ्यो त्यहाँको बिरयानीमा। त्यसैले ग्राहकको घुइँचो।
सोल्टीले बिरयानी चम्चाले खानुहुन्थ्यो, म हातले नै दन्काउँथें। छेउमा बसेर खानेहरू मलाई हेर्थे। सोल्टी लाजले भुतुक्कै हुनुहुन्थ्यो, मलाई कसैको मतलब लाग्दैनथ्यो।
उनीहरूको हेराइ सामान्य खालको हुँदैनथ्यो। अलि फरक हुन्थ्यो, उनीहरूको हेराइले भनेको हुन्थ्यो 'छ्या ! लाज नभएको, होटलमा बसेर हातले खाइराछ।'
मलाई सुरू सुरूमा हल्का लाज लागेकै हो, तर बाध्यता !
म मासु हातले खानै सक्दिनँ, चोक्टा नलुछी खाएको मासुको के मजा! चम्चाले मासु खाने भनेकै चोक्टा चुसेर फाल्नु हो।
घरमा हातैले खाने बानी लागिसकेको मलाई बजारमा चम्चाले खाने टेस परेन। बजारमा हातले खाँदा लाज किन बाबा ?
ऊ बेला टेबल-टेनिसको बल जस्ता साना चिटिक्क परेका मःमका गोला विस्तारै लाम्चा समोसाजस्ता , सिंगडाजस्ता, चुच्चा परेका बन्न थाले।
गोला मःम खान त्यति आपत परेन मलाई। तर यी मोडेल फेरिएका लाम्चा मःम मेरा लागि निक्कै अप्ठ्यारा लाग्थे।
एकै पटक मुखमा अटाउनै मुस्किल, अटाइ हाले तातोले चपाउन मुस्किल, चपाइहाले निल्न मुस्किल।
सुरू- सुरूमा त कैयौ पटक मुखमा हालेर फेरि पिलेटमै थुकेको छु। तातो उस्तै अनि एक गाँसमा नअटाउने। पिलेटमा नथुकी सुख हुँदैनथ्यो, कि त फुकेर खानु पर्यो।
यो दु:खभन्दा आफ्नै तरिका थियो मेरो, बीचबाट च्वाँट्ट चम्चाले काटेर दुई टुक्रा पार्ने अनि खाने तर यहाँ अनि लाज उस्तै।
छेउका टेबुलमा बसेर खानेहरू मःमका डल्लाभन्दा ठूला आँखा पार्दै हेर्थे। मनमनै भन्थे होला 'छि ! कहिले खाएको थिएन क्यारे यसले मःम ?'
एकपटक यस्तै गरेर मःम खाँदै थिएँ, काँटा वाला चम्चामा मःमको बाहिरी छाला मात्र आउँथ्यो ! भित्रको गुदी पिलेटमै फुत्त खस्थ्यो।
मैले खाएको अन्य टेबुलमा बसेर खाने सबैले हेर्दैथिए, सँगै खाँदै गरेको साथीले भन्यो, 'लाज मान्दैनस् ? के बच्चालेजस्तै खाको ?'
तर उसले भन्दैमा मैले ती लाम्चा मःम कोप्ल्याक्कै मुखमा हालेर निल्न सकिनँ, उस्तै गरी टुकार्दै खान्छु आजसम्म।
होटलमा दुई थरी चम्चाले भात भोजन गर्नेहरू थुप्रै भेटिन्छन् तर म सक्दिनँ। मलाई हातले मुछेर खानै पर्छ।
राम्रै होटलमा बसेर भद्र तरिकाले भात खाने बेला अरू सबैले चम्चाले चट्ट दिइराथे, मैले हातैले मुछेर गमागम दिएँ।
मिल्ने साथीले भन्यो, 'अलिकति लाज त मान यार दीपक, यो घर हैन होटल हो।'
होटल भएर के गर्नु ? गलत काम गरेको भए पो लाज मान्नु ? होइन भने लाज किन बाबा ?
माथिका उदाहरण मेरा जीवनका दैनिकीजस्तै हुन्।
हरेक दिन खाजा खाने बेला होस् या कतै घुम्ने बेला ! साथीभाइको खप्की नखाइ मेरो पेट भरिन्न।
उनीहरू 'लाज मान' भन्दै सिकाउँछन्, म चाहिँ आफ्नो सानैदेखिको बानीमा कुनै परिवर्तन गर्न सक्दिनँ। बरू आजभोलि एउटा बोली उनीहरूलाई सुनाइदिन्छु 'लाज किन बाबा ?'
सलमानको बिरयानी खाँदा चम्चाले मासु लुछ्न नसकेर मासु चुस्दै फाल्नेभन्दा म निक्कै फाइदामा परेको हुन्छु, कमसेकम मासु त खेर जाँदैन अनि लाज किन बाबा ?
लाजले मानिसका धेरै प्रतिभा लुकाएको हुन्छ।
मैले उदाहरण दिएका गफ लाजका सामान्य घटना हुन् तर मान्छेभित्र भएका प्रतिभा लाजकै कारण बाहिर नआउँदा जीवन उसले सोचेको जीवनजस्तो भएको हुँदैन।
त्यही लाजलाई एकातिर लुकाएर आफ्नो प्रतिभा देखाउने थलो बनेको छ टिकटक।
टिकटक हुन्थेन भने लाजकै कारण कति मान्छेहरू आफ्ना दक्षता र प्रतिभा आज हाम्रोसामु देखाउन सक्थेनन्।
त्यसैले लाजलाई अलिपरै राखिदिनुस्, चाहे सानो लाज होस् ! चाहे ठूलो लाज।
लाज नाच्नु गाउनुमा मात्र सीमित हुँदैन। यो हामीले गरिने दैनिकीभित्र पर्ने हरेक क्रियाकलाप मै हुन्छ।
आफूभन्दा ठूला र आफ्नो घरभित्रको भन्दा बाहिरको मान्छेको अगाडि आफ्नो काम देखाउन नसक्नु नै लाज हो।
साना कुरामा लजाउने बानीले मान्छेलाई पछि पार्दै लान्छ। खानेकुरामा नलजाउने मेरो बानीले अरू कुरामा समेत हिम्मत बढाउन सक्छ। त्यसैले लाजसँग जोडिएका मेरा साना उदाहरण मैले यहाँ लेखेको हु।
मीठो स्वर भएकाहरू चार जनाको अघिल्तिर बोल्न लजाउँछन्, त्यही लाजले उनीहरूलाई सपनासम्म पुग्न दिँदैन। लाजका साना कुरालाई पनि बेवास्ता गर्ने र अघि बढ्ने हो भने प्रगति आफैं आइपुग्छ।
लाजलाई बेवास्ता गरेर अघि बढेकाहरूको प्रगतिका उदाहरणहरू हेरौं न एकछिन।
टिकटकमा गिफ्ट माग्न नलजाउनेहरू आज हाम्रै अघि करोडौको सान दिँदै हिँडेका छन्। टिकटकमा अनुहार देखाउनै लजाउनेहरू लाइक गर्दै बस्ने हो तर अनुहार देखाउन लाज नमान्नेहरू भिडिओ बनाउँदै लाइभ बसेर गिफ्ट माग्ने भैसके।
आफूसँग भएको प्रतिभा देखाउन नसक्ने भनेकै लाजले हो। त्यो लाज सानो उमेरबाटै आइरहन्छ। तर हरेक साना लाजलाई बेवास्ता गर्दै जाने हो भने आफ्ना सपना लाजकै कारण तुहिँदैनन्।
आजभोलि आवाजको दुनियाँमा सेलिब्रेटी साबित भएका साइग्रेस पोख्रेलले माइक्रोफोनको अघि बोल्न लजाएको भए आज नेपालमा सेलिब्रेटी बनेर घुम्न पाउँदैनथे होला।
हाम्रै माझमा कति त्यस्ता प्रतिभावान युवाहरू छन् जो समाजको अघिल्तिर उभिन लाज मानेकै कारण पछाडि छन्। पछाडि बसेर ताली बजाउने मात्र भएका छन्, अगाडि आएर ताली खाने भनेकै लाज नमानेर हिम्मत गर्नेहरूले हो।
मैले माथि उदाहरण दिएका लाज र सफल व्यक्तिहरूले बेवास्ता गरेको लाज फरक छ भन्दै अब कति साथीहरू फरक छुट्याउन आइपुग्नुहुन्छ होला। हो फरक त छ तर लाज एउटै हो, परिस्थिति फरक छ।
नकारात्मक सन्देश जाने कार्य गर्न पो लाज मान्नुपर्छ। दुई जनाको अघिल्तिर आफूलाई सहज हुने कार्य गर्न केको लाज ?
यस्तै साना- साना लाजहरूले समाजको अघि उभिन लाज लाग्ने बानी पारिदिन्छ अनि 'उडायो सपना सबै हुरीले !'
साइग्रेस पोख्रेलको जस्तै जादुमयी स्वरका सयौं युवा गाउँघरमै छन्। तर चार जनाको अघिल्तिर नाम भन्न समेत लजाउँछन्, कथा कविता पढ्नु त परैको कुरा।
हरेक कुरामा आफूलाई परिवर्तन गर्दै लगियो भने दिउँसै देखिने सपनाहरू पूरा गर्न सकिन्छ। सपना देख्ने तर आफूलाई रहर लागेको काम समेत गर्न लजाउने व्यक्ति कहिल्यै सफल हुँदैन।
त्यसैले सानो कुरामा देखिने लाजलाई बेवास्ता गर्दै अघि बढौं। अघिल्तिर बसेकोले के भन्ला भन्ने होइन, ऊ मलाई देखेर चकित परोस् भन्ने कामना गरौं।
आफूले सकारात्मक काम गर्दा लाज किन बाबा ?