हो, आजकै दिन तिम्रो र हाम्रो भेट भयो जिन्दगीभरिको लागि।
तिमीलाई भेटाउने क्रममा हामीले धेरै अनुभव बटुल्यौं। हाम्रो कल्पनामा त हामीले तिमीलाई तिमी आउनुभन्दा धेरै पहिलेबाट प्रेम गर्दथ्यौं तर जब तिमी गर्भमा आयौ नि त्यसपछि त्यो प्रेम केवल कल्पनामा मात्र नभएर बिपनामा साकार बनाउने खुसीमा हामी यति खुसी भयौ कि जसको कुनै सीमा छैन जुन कुरा म शब्दमा व्यक्त गर्नै सक्दिनँ।
विवाह भएको ६ वर्षपछि तिमी मेरो कोखमा आयौ र मेरो कोख भरिदियौ हामीले सानैमा बिहे गर्यौ त्यसैले बच्चाको लागि त्यति हतारिएनौं किनकि हामीले अझै पढ्नु थियो। काम गर्नु थियो। अलिकति भए पनि बचत गर्नुथियो। केही रमाइला अनुभव एक अर्कासँग साट्नु थियो, संगाल्नु थियो त्यसैले।
बिहे भएको ६ वर्षसम्म हामीले हाम्रो इच्छाले बच्चा नजन्माएका हौं तर यति बीचमा हामीले कयौं प्रश्नहरू खेप्नुपर्यो किन बच्चा नजन्माएको? कि नभाको हो? फलानाले पोहोर साल बिहे गरेकी कति राम्रो यसैपाला छोरो पाई सुरसार गर्ने होइन अब ?आदि।
यस्ता प्रश्न गर्नेहरू केही हामीलाई प्रेम गर्ने थिए त केही आरिस।हामीलाई भन्दा बढी चिन्ता उहाँहरूलाई देख्दा अचम्म लाग्थ्यो तर यस्ता प्रश्नले हामी कति पनि चिन्तित थिएनौं किनकि हामीले राम्रोसँग बुझेका थियौं कि हाम्रो समाज आफ्नोभन्दा अरूको कुरामा अलिक बढी नै चासो राख्छ।
जब शारीरिक मात्र नभई मानसिक र आर्थिक रूपमा हामी तयार भयौं। त्यसपछि बल्ल हामीले सन्तानको इच्छा राख्यौं। भगवानको कृपा भन्नुपर्छ हामीले चाहने बित्तिकै तिमी आयौ।
तिमीलाई यस धर्तीमा ल्याउने क्रममा हामीले धेरै अनुभव बटुल्यौ कति मीठा अनुभव बटुल्यौ, कति तीता अनुभव बटुल्यौं। मीठा अनुभवबाट सन्तुष्ट भयौं। तीता अनुभवबाट पाठ सिक्यौं।
जब तिमी मेरो गर्भमा आएको कुरा प्रेग्नेन्सी किटबाट थाहा पायौं, त्यो समयमा हाम्रो खुसी कस्तो थियो त्यसको त कुनै मापन गर्ने सक्दिनँ म।
त्यो बेलामा तिम्रो बाबाले मलाई गरिसेको 'हग' सायद मेरो जीवनकै सबभन्दा मिठो हग थियो किनकि त्यो हगमा हामीमात्र होइन तिमी पनि सामेल थियौ।
हामीले थाहा पाउनेबित्तिकै यो खबर तिम्रो हजुरामाहरू (बाबाको मामु र मामुको मामु) लाई सुनायौं। उहाँहरूबाहेक मैले मेरो आफ्नो अर्को १ जनालाई आफ्नो खुसी साटें जो मेरो आफन्त हुनुहुन्थ्यो। स्वास्थकर्मी भएकोले मैले कति कुरा सोधे के गर्ने, कसो गर्ने? के खाने, के नखाने ?आदि।
मलाई आशा थियो उहाँले मलाई यस्तो बेलामा धेरै कियर गर्नुहुन्छ तर म गलत भएँ। यसपटक ९ महिनाको अवधिमा उहाँले मलाई एकपटक पनि सोध्नुभएन कि कस्तो छ भनेर। कताकता दु:ख त लाग्यो मैले उहाँबाट आशभन्दा बढी पाठ सिके कि कसैसँग नि चाहिनेभन्दा बढी अपेक्षा राख्न नहुने रहेछ।
भर्खरभर्खर कोभिड नेपालमा भित्रिएको थियो। त्यसैले म हस्पिटल जान पनि सकिनँ। एक अर्थमा भन्नुपर्दा मलाई आँट आएन। जो बाँच्ने रहर थियो आफू बाँच्नुभन्दा पनि अब त तिमीलाई सुरक्षित तरिकाले यस धर्तीमा ल्याउने जिम्मेवारी हामीमाथि थियो। मैले हरेक कुरा गुगलमा खोज्दथें।
कोभिडले महामारी निम्त्याएको बेला सिन्धुपाल्चोकको महिला टिचिङ हस्पिटलमा नर्मल डेलिभरी गराएर गएको ९ दिनमा गइन अरे। गर्भवती र सुत्केरी महिलालाई सबभन्दा डर छ भन्ने समाचारले म लगायत पूरै परिवारलाई चिन्तित बनाएको थियो।
हामी बेलाबेला निकै डराउँथ्यौ तर डराएर घरभित्र बसेर मात्र हुनेवाला थिएन यसपटक हामी हस्पिटल जाने निधो गर्यौं। ३ महिना पूरा भइसकेको थियो घरदेखि नजिक भएकोले टिचिङ गयौं तर त्यहाँ गएपछि त्यहाँको भिड देखेर हामी डरायौं सामाजिक दूरी कायम भएको थिएन उसमाथि कोभिडको बिरामी राखिएको कुरा सुनेपछि हामी त्यहाँ अडिन सकेनौं। एम्बुलेन्समा सिभिल सर्भिस बानेश्वर हानियौं। त्यसताका सबैतिर लकडाउन थियो त्यसैले ट्याक्सी, बाइक चल्दैन थियो रोड पूरै चकमन्न कहिले नदेखिएको काठमाडौं देखियो त्यसबेला।
रोडको दायाँबायाँ जकरन्दा फूल यसरी फुलेका थिए घरभित्र मात्र गुम्सिएर बसेका हामीलाई एकपटक अर्कै दुनियाँमा पुगेको महसुस भयो।
हस्पिटल पुगेपछि सामान्य चेक भयो सबै कुरा नर्मल देखियो केही औषधि लेखिदिनुभयो र अरू धेरै प्रेसक्रिप्सन दिनुभयो जसले मलाई धेरै सपोर्ट गर्यो।
२ महिना पूरा भएपछि ५ महिनाको सुरू सुरूसम्म मलाई एकदमै गाह्रो भयो लगातार बान्ता, मुड स्विङ भयो खाना खाने भनेसी डर लाग्ने हुन लाग्यो केही नअडिने त्यसबेला जबरजस्ती खाएर होला मलाई अहिले पनि काजु बदाम र अनार चाहिँ हेर्ने इच्छा लाग्दैन।
मेरो स्वाद फेरियो केही नरूचेपछि अब के खाने त बच्चाको लागि पनि खानु त पर्यो। यसभन्दा अगाडि कहिलेकाहीँ ममीले एकादशीमा ढिडाे पकाउँदा नि रिसाउने, कहिले ढिडाे नखाने म ढिडाे खाने भए अलिकति अडिएको महसुस भयो विस्तारै महिना बित्दै गए ५ महिनाबाट बल्ल मैले इन्जोए गर्न लागे मेरो प्रेगनेन्सीमा पहिलोपटक पेटमा तिमी चलमलाउँदाको त्यो आनन्द, त्यो खुसी साँच्चैमा अवर्णनित छ हाम्रो लागि।
विस्तार खाना रूच्न लाग्यो। अब त अलि अलि पेट पनि देखिन थाल्यो विस्तारविस्तार वरिपरिका छिमेकीहरूले पनि थाहा पाउनुभयो। मैले धेरैको आशीर्वाद पाएँ। मैले त बुझेकै रहेनछु आमा बन्नु त निकै ठूलो कुरा पो रहेछ।
म प्रेगनेन्ट भएको कुराले हो कि मलाई मान्छेहरूले पहिलेभन्दा निकै माया गरेको महसुस गरें। मेरा आफ्ना भन्नेहरू मात्र नभएर मैले सधैंभरि तरकारी किन्ने पसलको दिदी, मेरो छिमेकी आन्टीहरू, मेरो अफिसको सहकर्मी सबैले गरेको कियरिङले मलाई एकदमै आत्मविश्वास बढ्थ्यो तर अफसोच सबैको माया पाउँदापाउँदै मैले आफ्नो ठानेको एक दुईले गरेको व्यवहारले म चकित भएको छु।
म प्रेगनेन्ट भएको खबर मेरै मुखले मैले आफ्नो ठानेर सुनाउँदा पनि पूरै बेवास्ता गर्ने आफ्ना पनि भेटें। म यति उत्साही थिएँ यो खबरले त उहाँहरू एकदमै खुसी हुनुहुन्छ तर म गलत भएँ उहाँहरूले गरेको बेवास्ताले।
मैले आफ्ना ठानेका कति आफ्ना त मेरा आफ्ना होइनन् रहेछन्। मैले पराई ठानेको कति पराई मेरो आफ्नै रहेछन्, मैले धेरै पाठ सिकें यो यात्रामा।
मेरो पेट देखेर कतिले मलाई माया गर्थे। बस्नुस् न आफैं बसेको ठाउँ छोडेर ती अपरिचितहरूले मलाई बस्न आग्रह गर्दा भित्र लाग्थ्यो केटा मान्छे पनि कति बुझकी फेरि अर्को किसिमका केटा मान्छे पनि देखें जो प्रष्ट मैले बुझ्नेगरी मेरो पेटको खिल्ली उडाइरहेका थिए।
हुन त संसारमा धेरै किसिमका मान्छे हुन्छन्। सबै एकै खालका किन हुन्थे। त्यसैले त भनिन्छ कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि।
बिस्तारै मेरो डेलिभरीको समय नजिकियो। यो बीचमा मेरो हरेक पटक सबैकुरा नर्मल हुँदै गयो। हामी केही खुसी र केही डरमा थियौं। जति-जति दिन नजिकियो उति-उति हामी नर्भस भइरहेका थियौं। कसरी यो सब ह्यान्डल गर्ने भनेर।
डाक्टरले दिएको समय नाघिसकेकोले हामी हस्पिटल गयौं। सबैकुरा चेक भयो। डाक्टरले रिस्क नलिऊ आजै भर्ना हुनुपर्छ प्याकअप गरेर साँझ आउनुस् भनेपछि म एकदम डराएछु डाक्टरलाई अनुरोध गरें- सिजरिङको लागि, कराउनु भयो किन डराको हामी केही हुन दिन्नौं। सबै कुरा एकदम ठिक छ। फेरि केहीबेर पीडा खप्न सक्यौं भने त जिन्दगीभरिलाई सुख भो नि!
म न्याउलो भएर हस् भने घर आयौं। नुहाईधुवाई ब्याग प्याक गर्यौं। काम नभएको नि धेरै भइसकेको थियो अलिकति सेभिङ थियो। त्यसले हामीलाई धेरै सपोर्ट गर्यो यो बेला पैसा झिक्यौं र साँझ हस्पिटल गयौं।
उता बानेश्वर नै बस्ने भएकोले मेरो बहिनी ज्वाइँ आइसेको थियो। भर्ना भयौ। मलाई एकदमै डर लागिरहेको थियो। सँगसँगै दु:ख पनि। सबै भएर नि कोही नभएजस्तो लाग्यो। हुन त हामी सबै कुराले दह्रो भएर बसेको थियौं। यद्यपि यस्तो बेलामा अभिभावकत्व मात्र निभाउने पनि कोही भएन सबै उरनठ्उला।
बर्षौंदेखि आफ्नो ठानेकोहरूले कसरी म्यानेज गरेका छौं। केही पर्यो भने भन है हामी छौं भन्नुको साटाे झ्यालझ्यालबाट लुकेर हाम्रो रमिता हेरेको दृश्यले हामी केही विचलित भयौं। सारै चित्त दुखाइस्यो उहाँले। गुनको बदला गुन भन्दथे तर मैले त सक्दो गुन गरेको थिएँ, आज मलाई यस्तो पर्दा खोई त हामी छौं है भन्नुको साटाे बाउ बन्न त्यति सजिलो कहाँ छ भन्ने शब्दले एकफेरि झस्कायो।
अघिल्लो दिन हस्पिटल बस्नुमात्र भो केही भएन। भोलिपल्ट मेरो सासू ममी आइस्यो हस्पिटलl
मलाई जस्ताको तस्तै देखेर छक्क परिस्यो अब नेचुरल पेन नआएपछि औषधी प्रयोग गरियो। एउटा, दुइटाले पेन सुरू हुन्थ्यो रे अरूलाई। मलाई छोएन ४ वटा खाएपछि बल्ल दुखाइ सुरू भयो।
बेलुकाको ८ बजेबाट मलाई एकदमै गाह्रो हुन थाल्यो। मलाई जतिजति गाह्रो हुन्थ्यो उतिउति उहाँको अनुहारमा मडारिएको बादल म महसुस गरिरहेको थिएँ।
जतिजति रात बित्दै गयो उतिउति गाह्रो हुँदै गयो। चकमन्न हुँदै गयो बेलाबेला डाक्टर /नर्स आउनुहुन्थ्यो। मलाई उहाँहरू मेरो सबैभन्दा आफ्नो नजिकको मान्छे महसुस भयो। किनकि बिना स्वार्थ उहाँहरू मलाई यो अवस्थाबाट पार लगाउँदै हुनुहुन्थ्यो।
साढे छ घन्टाको कठिन परिस्थितिपछि मेरो काखमा तिमी आयौ अर्थात् मेरो नर्मल डेलिभरी भयो।
डाक्टर अरूण कुमार जोशी र उहाँको सम्पूर्ण टिमप्रति हामी सधैं नतमस्तक रहनेछौं जसले हाम्रो यो यात्रामा धेरै साथ दिनुभयो।
मैले सुनेको थिए डाक्टर , नर्स एकदमै रिसाहा हुन्छन् तर मेरो केसमा यो कुरा पटक्कै मिलेन। डाक्टर अरूणको कन्फिडेन्स र मिठो व्यवहारले मेरो कन्फिडेन्स अझै बढेको महसुस गरें।
डाक्टर लगायतका टिमले बधाई दिनुभयो साथमा बर्थ सर्टिफिकेट। आमा बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो भएकोले हामी उहीँ दिन डिस्चार्ज भयौं।
९ महिनाको कठिन यात्रापछि मैले तिमीलाई पाएको थिएँ र तिमीले हामीलाई।
कोखदेखि काखसम्मको यो यात्रामा मलाई जो जतिले पनि साथ दिनुभयो उहाँहरू सम्पूर्णप्रति म नतमस्तक छु।
मैले धेरैबाट साथ पाएँ। केहीबाट पाठ। जे होस् तिमीलाई पाएदेखि मैले आफूमा पूर्णता पाएको छु। सायद मेरो जीवनकै सर्वोत्कृष्ट उपहार मैले तिमीलाई मान्दछु।
एउटा नारीलाई संसारको सबैभन्दा खुसी आमा हुँदा मिल्दो रहेछ। जो मैले तिमीलाई पाएपछि महसुस गरें र म चाहन्छु यस धर्तीका सबै नारीलाई ईश्वरले आमा हुने शक्ति प्रदान गरून्।
जन्मदिनको धेरै धेरै शुभकामना छोरी।