यो लेख पढ्दै हुनुहुन्छ भने तपाईं यस्तो उमेरमा हुनुहुन्छ जहाँ तपाईंलाई जिम्मेवारीहरू महसुस हुन थालेको छ। तपाईं उन्माद किशोर अवस्थालाई सम्भवत छलेर, आफ्नै यौवनले भरिएको उमेरका सिँढीहरू चढ्दै हुनुहुन्छ।
किशोर अवस्थाले दौडाएर ल्याएका व्यापक परिवर्तनहरू तपाईंमा टक्क समाहित भइसकेका छन् अनि तपाईं नयाँ युगमा टेकिराख्नु भएको छ। खैर! यो वाक्यहरू चलमलाउँदै म मेरो पाठकलाई सोचेर दिगभ्रमृत भइराखेको हुन पनि सक्छु। तर ठिकै छ, मलाई यो पटकलाई काल्पनिक भ्रमको चेष्टा मिठो लागिरहेको छ।
तपाईं कि त पढाइ लगभग सकेर वा पढ्दै कुनै जागिर गर्दै हुनुहुन्छ वा देश बाहिर बसेर हाड-छाला घोटिराख्नु भएको छ वा उच्च शिक्षा आर्जन गर्दै सम्भावित सुनौलो भविष्यको क्यानभासमा श्रृंगार भर्दै हुनुहुन्छ। मजस्तै तपाईं यस्तो अवस्थामा, त्यस्तो उमेरमा हुनुहुन्छ, जहाँ तपाईंका रहरहरू, कल्पनाहरू, इच्छाहरू, सपनाहरू, लालचहरू, कामसंवेगहरू, उत्सुकताहरू, भविष्यप्रतिको थोरै डर अनि थोरै कौतुहलता, ढल्किँदो उमेरसँगै चाउरी परिरहेको आफ्नै शरीर, बढ्दै गइराखेका जिम्मेवारीहरू, बाँचिरहेका खुसीहरू दिगो होलान् कि नहोला भन्ने चिन्ता हरदिन एकअर्कासँग प्रतिस्पर्धा गरिरहन्छन्। तर पनि तपाईं देख्दा रौनक, सौर्य, उर्जा र रंगहरूले भर्खर कमेरो र रातो माटोले लिपिएको ताजा पिँढीजस्तो देख्नुहुन्छ।
जति-जति उमेर बढ्दै छ, काल्पनिक गन्तव्य नजिक हुँदैछ, इच्छाहरूले छानो पाएर केही हच्किएका जस्ता छन्, बाबुआमाको उमेर पनि बढिरहेको छ।
सानोमा कसैले प्रश्न गरेको थियो- 'तेरो सबैभन्दा ठूलो इच्छा के हो बाबु?'
भर्खर दाँतहरू फेर्दै म नौलो उमेर बाँचिरहेको थिएँ। गोबर फाल्दै, भैँसि दुहुँदै नैराश्यताले भरिरहेका मेरी आमाको अलि-अलि वैराग पनि देखिरहेको थिए, विदेशको हावामा हाम्रा खुसी किन्ने बाबाका चिसा दसैँ-तिहारहरू गुजारिरहेकै थिए सायद म पनि।
मेरो उत्तर थियो- 'ड्याडि-ममीलाई सुख दिने।'
उमेरमा पो सानो थिए, बाँच्न त म पनि मेरो गरिब घरको छानोमै बाँचिरहेको थिएँ। खुम्चाउनै पर्ने इच्छाहरूबीच बढिरहेको थिएँ। तिनै इच्छाहरलाई आँकुरा लगाउन पढिरहेको थिएँ।
दुई दशक बित्यो होला त्यो प्रश्न मेरो कानमा प्रतिध्वनित भएर तुफान कुँदेको, तर मलाई त्यही प्रश्नले अहिले चोइटाइरहेछ!
'मेरा बाउआमाले कहिले सुख पाउलान्!'
म त्यस्तो परिवारको सन्तति हुँ, जहाँ, छानोका टाइलहरूमा केही लाख ऋण झुन्डिरहेको छ। एउटा मोटरसाइकल किन्ने बाउको सपना पूरा हुने होकि होइन अन्योल छ, आमाको मैले थाहा नहुनेगरी एक बिहान एक्कासी हराएको तिल्लरी फेरि फर्किन सकेको छैन। मेरी बहिनीको एउटा कम्प्युटर छुने आकांक्षा अझ हुर्किँदै छ। म मेरो परिवारको लागि केही गर्न खोज्दा खोज्दै भित्र-भित्र कुँडिएको छु। अनि तपाईं एउटा त्यस्तो मान्छे हुनुहुन्छ, जो यो पढ्दा पढ्दै रसिला आँखाहरू बोकिराख्नु भएको छ।
हाय, क्या बेजोड समयमा मैले मेरा निख्खर मन पोलाइहरू, निराकार बनाएर तपाईंका ओठहरूमा पोखिरहेका छु।
म, तपाईं, हामी २५ माथि पक्कै छौँ। कम्तीमा बाबु-आमाको उमेर ५० को ढिकढाक छ। मेरा खुसीहरूका लागि बाबुआमाका खुम्चिएका इच्छाहरू, सुकेका रहरहरू कहिले फिर्ता लिन सकूँला! म कति वर्षपछि मेरो कोमल बालइच्छाको अनुहार छुन सकूँला!
'बाबा-आमा, अब के चाहिएको छ मलाई भन्नु' भन्ने स्फटिक सामान्य प्रश्ननका जुन कुनै उत्तरहरूलाई बुजो लगाउन सक्ने दिन मबाट कति पर छ?
मानौँ मैले देखेको सपना बाँचिहालेँ, सोचेको गन्तव्य पुगिहालेँ, मेरो बाबु-आमा, मेरो परिवार मसँगै कुशलमंगल सारथी भइराख्छन्? कि समयले बाजी जित्ने अनि मैले हार्ने कुनै कुसंयोग पनि बन्न सक्छ? साना डरहरू कति भयावह हुन्छन!
देख्न त बाबुआमा लत्याएर मत्ता हात्तिजस्ता खुसी छोराछोरी देखेको छु। इच्छा बाँचेर सकेर, बाबु-आमा बिर्सिएका छोराछोरीसँग संगत नगरेको पनि होइन। तर हरेक पटक परिवार सम्झिँदा काँचै रहेका, बुढो हुँदै गएका आमाका पुराना इच्छाहरू, आफ्ना रहरहरू मलाई सम्पर्ण गरेर रित्तो रहेका मेरा बाको अनुहारले मलाई किन यति पोल्छ?
तपाईंलाई पोल्छ? तपाईंले चिनेको कसैलाई पोल्छ? कि मलाई मात्र हो?
तपाईं पनि यिनै साना डरले मजस्तै त्राही-त्राही हुनुहुन्छ कि बाउआमालाई शीरमा सजाएर राख्ने कुशल सन्तान भइसक्नु भयो? कि मजस्तै बाबु-आमाले सोच्ने कमलो विचारमा अनि खासमा यता हरदिन हैरान हुने जीव भइसक्नु भयो।
बढ्दै गएको महङ्गी, उही पुरानो तलब स्केल, राजनीतिमा लागेर एकाएक घर हालेको छिमेकीको छोरो, बाहिर गएर दुई वर्षमा कार किनेर धनी गाउँले, मेरा वरपर घुमिरहन्छन्। मेरा बाबुआमा विचरा एउटा सुनौलो दिनको लागि बाँचिराखेका होलान्। बस् अब मेरो सफलता भेट्ने, देख्ने।
उनीहरूलाई के थाहा, मेरो सफलता उनीहरूका ओठमा लाली पोत्नु हो। जति ठूलो भए पनि, एक टुक्रो बारी नजानी-नजानी उनीहरू उप्परखुट्टा लाएर अनि मैले मिलाई मिलाई जोत्नु हो। दुई-चार वटा इच्छाहरू खल्ती नछामी खरिदनु हो।
कति सामान्य छन् मेरा इच्छाहरू, कति सफा छन् मेरा गन्तव्यहरू, तपाईंका पनि छन् यस्तै अविकसित सङ्कुचित रहरहरू? जति उमेर बढे पनि नफेरिएका परिस्थितिहरू?
कोही सफल छोराछोरीले यो पढिराख्दा, के सारो प्रगति गर्न नसकेको केटा रहेछ भन्ठान्लान्। तर म दौडिरहन्छु त्यो दिन भेटाउन जुन दिन म मेरा बा-आमाका रहरहरू फेरि जगाउँछु, बहिनीका सपनाहरू मै डोर्याउँछु।
कसैलाई लाग्ला प्रेममा लिप्त हुने उमेरमा के वैरागी भएको होला? एउटा प्रेमले डोर्याई-डोर्याई अर्को प्रेम सम्झाउँछ म के गरुँ? सब काम सकेर निदरीमा अल्झिरहेको रातमा, आलैकाँचै इच्छाहरूले मलाई जगाउँछ, म के गरु?