संगिताले कोठा अगाडि मैले चप्पल खोल्ने बित्तिकै हातले उठाउन खोजी।
मैले रोक्दै भनेँ, 'ओई पख्। के गरेकी यो?'
'चप्पल भित्र राख्न ला'को', उसले छोटो जवाफ दिई।
'किन र?', मैले फेरि सोधेँ।
'ह्या छिटो हिँड भित्र, पछि भनौंला,' उसले यति भनेपछि मेरो चप्पल आफैं उठाएँ।
ढोका लगाएपछि ढोकाको एक कुनामा पत्रिका ओछ्याएर भनी, 'ल चप्पल यहाँ राख्।'
मलाई असहज लागिरहेको थियो। हिलो चप्पल। त्यो पनि कोठाभित्रै राख्न लगाउँदा मनमा केही उत्सुकता पनि जाग्न थाल्यो।
'यस्ता हिला चप्पलभित्र ल्याएर के गरेको तैंले?'
हल्का डर अनि हल्का रिस मिसिएको भावमा उसले भनी, 'बिस्तारै बोल् क्या। यहा कोही मान्छे आ'को थाहा पायो भने घरबेटीले गाली गर्छन्। बेकारमा गाली सुन्नुपर्छ। त्यही भ'र नि।'
'त्यस्तो थियो भने के आइज भनेकी त?', म झर्किएँ।
'यत्तिकै। तेरो डेरा (लैनचौर) तिर जान नि यहाँबाट गाडि लाग्दैन। कति बाहिर भेट्नू। स्कुटी भा मान्छे, फेरि मेरो कोठा पनि देख्या थिइनस् नि,' उसले बिस्तारै भनि।
'म आको देखेनन् त तेरो घरबेटीले?,' फेरि सोधेँ।
'अहिले त बुढी मात्रै छिन्, खाना खाएर सुत्ने बानी छ दिउँसो। जाने बेला त कसको कोठाबाट गाको हो के था त नि?' हामी दुवै एकै साथ हाँस्यौं।
भुइँतलामा उसको डेरा थियो। एउटा सिंगल बेड, किचन र्याक, स्टिलको दराज, पानीका केही भाडा थिए। त्यती समान राख्दा पनि कोठा साँघुरो थियो। अध्याँरो कोठा चिसो भुइँ। त्यो माथि घरबेटीको कचकच सन्नुपर्ने। फेरि सोधेँ- भाडा कति हो नि?
६ हजार।
बाफरे ६ हजार पो!
उम् क्यार्नु त नि बस्नैपर्यो।
त्यो पनि कोही मान्छे आयो कि आएन भनेर सधैं चियो हुन्छ।
मैले फेरि थपेँ, 'अनि मान्छे भा ठाउँमा मान्छे नआएर को आउँछ त?'
मलिन भावमा उसले भनी, 'कोठा भेटे सि त छोड्ने हो। फ्रिमा बसे जस्तो गर्नी। यतिकै नि गाली सुन्नुपर्छ बाबै। गाउँले पाखेहरू आफ्नै घर फर्किनु नि भन्छन्। कति सहनू? अहिले त गाली सहने बानी परिसक्यो।'
'मैले पनि अलिअलि सुनेको त थिएँ, तर यसरी चप्पल नै फाल्छन् भन्ने था थिएन,' मैले थपेँ।
उसले फेरि भनी, 'एकपटक त मेरै नयाँ चप्पल फाल्दिएछन् भन्या। आमा बिरामी भ'र काठमाडौं आउनुभा'को। होटलमा राख्नुपर्यो। अरू त कुरै छोड् न। एक जना पाहुना ल्याउनुहुन्न यहाँ।'
उसको कुराले गहभरी आँसु आयो।
'यसका मन फेरि कति कोमल हो क्या,' उसले भनी।
फेरि कुरालाई अन्तै मौड्यौं, एकैछिन। पढाइ, जागिर, घरपरिवार, जीवनका भोगाइ लगायतका विषयमा केहीबेर कुरा गर्यौं। मलाई उसको कोठामा धेरै बेर बस्न मन लागेन। कतै म आएको उसका घरबेटीले थाहा पाए भने उसले गाली खानुपर्छ। त्यसैले मेरो अरू काम पनि छ म निस्कन्छु है भनेँ।
उसले पनि मलाई रोक्न खोजिनँ।
'अँ त नि के भनौं? बस् भन्न पनि सकिनँ। तलाईं था छ। लौ त।'
म निस्किन तयार भएँ।
'पख घरबेटी छन् कि छैनन् हेर्छु।'
छिमेकीको थाँक्रामा झुण्डिएको काँक्रो चोर्न साँझ छिप्पिएपछि लम्किएझैं ऊ घरबेटीको चियो गर्न निस्की।
'जाऽ जा चप्पल नबजाइ। कोही छैन,' हतारिएको अनुहार लिएर हस्याङफस्याङ गर्दै आएर साउती मारी।
एक मनले त ड्यामड्याम खुट्टा बजारेर हिँडू अनि घरबेटीले देखून्, त्यस बेला मुखभरीको जवाफ दिऊँला भन्ने लागेको थियो। तर, त्यो घरमा म होइन, मेरी साथी बस्थी। उसकै लागि भए पनि मैले घरबेटीको डर मान्नै पर्यो। भदालो (दूध तताउने भाँडा) को दूध खाएर टाप कस्न लागेको बिरालोझैं मैले पनि बिस्तारै आफूलाई निरंकुश गेटबाट बाहिर निकालेँ।
पहिल्यै अलि परै स्कुटी पार्किङ गर्न उसैले अह्राएकी थिई।
त्यो दिन मेरो अफिस छुट्टी थियो। बिदाको दिन साथीसँग कुरा गरेर बिताउन मन लाग्छ। तर त्यो दिन संगितासँगको भेट त्यति उत्साहजनक भएन। कोठामा फर्किएँ।
मेरो मनमा दिनभरीका कुराहरू खेलिरहे। बाहिर बरन्डामा निस्किएँ। साँझ पर्न लागेको थियो। कालो निलो भएर आकाश गर्जिरहेको थियो। के साच्ची घरबेटीहरू यस्तै हुन्छन्। डेरावाल मान्छे होइनन् र? एकैछिनमा झमझम पानी पर्यो। अगाडि ठूलो ओखरको बोटका पातहरू हल्लिरहेका थिए निरन्तर।
यही मान्छेको मानसिकता हो, जो पुर्खाले देवता ठानेर पुज्ने चन्द्रमामा लात्ती बजार्न पुगिसके। यही मान्छेको एउटा जमात कंक्रिटको जंगलमा एउटा झुपडीको मालिक हुन पाएकोमा जीवनको सर्वश्व सफलता ठान्छ र सिमित जत्थामा निरंकुश हुकुम चलाउन खोज्छ।
झमझम बर्सिरहेको पानीसँगै मेरो मानसिकताले काठमाडौंका केही घरबेटीले देखाउने लज्जास्पद हर्कतबारे कुरा खेलाइरह्यो।
समाधान निकाल्न सकिने कुरामा घोत्लिनु जाती हुन्छ। तर घरबेटीबारे म जे सोचिरहेकी थिएँ, त्यो आजको भोलि समाधान गर्न सकिने समस्या थिएन।
दिमागलाई अन्यत्रै मोड्ने प्रयत्न गर्न खोज्दाखोज्दै दिदीकी छोरी युनिस्कालाई सम्झिएँ। दुई वर्ष अगाडि पाँच वर्षकी छोरीसँग म बिदा बिताउने गर्थेँ। एकदिन छोरीलाई स्कुलबाट घर लिएर जाँदा घर पुग्ने बेला उसले भनेकी थिई, 'आन्ती धोका बिस्तारै खोल्नु ल? घरबेटी आमाले कराउनुहुन्छ।'
मैले हस् भनेँ। तर गेटको चुक्कुल खोल्दा बज्यो।
छोरीले अत्तालिँदै भनी, 'ला बज्यो। बिस्तारै गर्नु भनेको होइन?'
बिचरा उसको बाल मस्तिष्कमा कति धेरै डरै डरले डेरा जमाइसकेछ।
घरभित्र पुगेपछि दिदी कल्पनाले फेरि सम्झाइन्, 'तिमीहरूलाई जति भने नि नलाग्ने है। माथि सुने भने अहिले गाली खानुपर्छ।'
फेरि छोरीले गालामा कलिला हातहरूले सुम्सुमाउँदै भनेकी थिई, 'आन्ती अब कहिल्यै ढ्याङ्ग नगर्नु ल?'
दिमागलाई अन्यत्रै मोड्न खोजेकै थिएँ, तर घुमिफिरी रूम्जाटार भनेझैं मेरो मनमा जो पात्र आइपुग्थे, घरबेटी नै खलपात्र बन्नेगरी वास्तविक कथा पल्टिन्थ्यो।
अर्को दिन दिदीको डेराबाट निस्कन लागेकी थिएँ। स्कुटी स्टार्ट मात्र के गरेकी थिएँ, एक्कासि आवाज आयो।
'के हो? यहीँ स्टार्ट गर्नुपर्छ? आवाज आउँछ। डोहोर्याएर रोडमा लाने अनि उतै स्टार्ट गर्ने,' दिदीकै घरबेटीले भनिन्। मैले पनि सुनेको नसुन्यै गरेर स्टार्ट गरेको स्कुटी बन्द गरिनँ। चलाएरै बाहिर निकालेँ।
सोचेँ- आज कतै दिदीले गाली त खाइनन्!
अहिले दिदीको परिवार अमेरिकामा छ। छोरीलाई 'कस्तो छ अमेरिका नानी'? भनेर प्रश्न गर्दा उसले भन्छे, 'रमाइलो छ नि। अमेरिकामा त कपुरधाराको जस्तो घरबेटी आमालेझैं गाली कसैले गर्दैन। जति बोल्न पाइन्छ। कराएर खेल्दा नि कसैले केही भन्दैन।'
युनिस्का जस्तै कति डेरावाल बालबालिकाको बोल्न र खेल्न पाउने स्वतन्त्रता घरबेटीहरूबाट खोसिएका होलान् है?
यसभन्दा अघि बसेको घरको छतमा जान पाइन्न थियो। भुइँ तलामा दुइटा कोठा लिएर हामी बसेका थियौं। जाडोको समयमा धेरै समस्या हुन्थ्यो। एउटा कोठामा घाम आउँथ्यो।
एकदिन हामी ३ दिदीबहिनी घाम तापेर गफिँदै थियौं। हात खुट्टाका औंला सुनिन्थे। पर्दा पन्छाउँदै मैले भनेँ, 'आज त घाम नि क्या मधुरो छ है।'
बिनिता (कान्छी बहिनी) ले भनि, 'छताँ जान पाए पो। यस्तो औंला शून्या छ। छताँ जान पाउने ठाउँमा डेरा सरौं न अब त।'
ज्योती (माइली बहिनी) ले थपी, 'काँ खोज्ने हो र, भन्नेबित्तिकै पाए पो?'
मैले ठट्यौली पाराले भनेँ, 'छतमा बसेर घाम ताप्ने रहर भएको भए, यहीँ घर भाको केटासँग बिहे गर न कान्छु, हुन्न?'
ज्योतीले भनी, 'पालो त पहिला दिदीकै त हो क्यारे!'
कान्छी जिस्किँदै थप्छे, 'ए....ए..स्। बरू हाम्लाई चैं छतमा आएर घाम ताप्न दिनु है, अरू नदिए पनि।'
हाम्रो डेरा नजिकै ढुंगेधारा थियो। काठमाडौंमा पानीको समस्या झेलेर बस्ने मध्ये हामी पनि एक थियौं। बिहान ढुंगेधारामा पानी लिन आउनेको लाइन हुन्थ्यो। त्यहाँका रैथाने आमाहरू पूजा गर्न आउनुहुन्थ्यो। कहिले नुहाउनुहुन्थ्यो। हामी जति अगाडिदेखि लाइन बसे पनि उहाँहरूलाई धारो छोडिदिन्थ्यौं। नत्र फेरि गाली खानुपर्थ्यो।
धारामा जप गर्नुहुन्थ्यो। हामीलाई अछुतझैं टाढा बस्न लगाउनुहुन्थ्यो। कोही कोही त २० मिनेटसम्म जप गर्न लगाइदिन्थे। अञ्जुलीबाट ढुंगाका देउता अनि सूर्यलाई पानी चढाउँथे।
एकदिन पानी भर्न आएकी दिदीले भनिन्, 'भगवानलाई मात्रै पानी दिएर धर्म हुँदैन, बच्चा स्कुल पठाउनुछ छिटो गर्नुस् न। मान्छेलाई पानी थाप्न दिए झन् ठूलो धर्म हुन्छ नि आमा।'
'के रे? बालाँ बस्ने भर ठूला कुरा गर्ने?' ती आमाले ठूला ठूला आँखा तरेर नमिठो जवाफ फर्काइन्।
त्यो शब्दले मन चसक्क घोच्यो। सबै चुपचाप हेरिरह्यौं।
आफ्नै भोगाइलाई स्मरण गर्दै थिएँ।
'दिदी किन बाहिर बसेको? के भयो?' बहिनीको आवाजले झस्किएँ।
मैले भने, 'यत्तिकै पानी आ'र रमाइलो लाग्यो। अनि बाहिरै बसेको। ल हिँड भित्र।'
भोलि फेरि त्यही कुरा मनमा खेल्न थाले। सहकर्मी साथीलाई सोधेँ, 'तपाईंलाई काठमाडौंमा डेरा गरेर बस्दा जीवनमा केही अप्ठ्याराहरू पनि आए र?'
उनले भने, 'ओहो किन नआउनु त्यस्तो त कति आए कति नि?'
एकपटक डेरा खोज्दै जाँदा नेपाल सरकारको उप–सचिवको घरमा पुगे रे। तपाईं के जातको? भनेर सोधेका थिए। उनले म बाहुन हो भनेपछि प्रमाणका लागि जनै मागेछन्। उनले जनै त छैन भनेपछि कोठा पनि छैन रे!
मलाई आश्चर्य लाग्यो अहिलेको समयमा पनि जातपात हेर्दा रहेछन्।
उनले भने, 'गाह्रो काठमाडौंमा डेरा लिएर बस्न। सुविधा बिना महँगो भाडा तिर्नुपर्छ। अझ गाली पनि खानुपर्छ।'
अनि अरू, मलाई जिज्ञासा लाग्यो।
'कोठामा पाहुना ल्यायो भने उनीहरूकै अगाडि गाली गर्ने घरमा पनि बसियो। झन् त्यहाँको घरबेटीले त चप्पलै फाल्दिने भन्या,' उनले अगाडि भने।
पैसा तिरेर बस्दा पनि डेरावाललाई घरबेटीले मान्छे नगनेको सुन्दा दिक्क लाग्यो।
फेरि उनैले भने, 'तर केही घरबेटीहरू साह्रै मजाका हुन्छन्। आफ्नै परिवारको सदस्य झै ठान्छन् नि।'
केही राहत भयो।
केही दिनसम्म यस्तै कुराहरू मनभित्र खेलिरहे।
संगितालाई नयाँ डेरा खोज्दिनुपर्ला भनेर एक जना सहकर्मी उतै (कीर्तिपुर) तिरै बस्ने भएकाले सहयोगसमेत मागेँ।
उनले भने ,'कसको लागि?'
'साथीको लागि हो। उसको घरबेटी लास्टै किचकिचे भएर कस्तो गाह्रो भएर बसिरहेको छे। कोठा पायो भने सर्ने रे त्यही भएर,' मैले भनेँ।
'कोही घरबेटी त लास्टै किच्चकिचे हुन्छन् भन्या। एकदिन कीर्तिपुरमा एउटा दाइकोमा खाना खान गाएको। घरबेटीले था पाएर किन बोलाको? भनेर थर्काइ खाइयो बेकारमा। पाहुना आउने एक साताअघि नै जानकारी उनलाई दिनुपर्ने रे। नत्र पाहुना आएर बस्यो भने डबल भाडा। अचम्म लाग्यो,' उनले सुनाए।
उनको कुराले झन् आश्चर्य लाग्यो। अनि कहालीलाग्दो लाग्यो हामी डेरावालको पीडा।
सोचेँ- हामी रेष्टुरेन्ट जान्छौं। खाजा/नास्ता खान्छौं। पैसा तिर्छौं। सम्मान पनि पाउँछौं। अन्य कुनै सेवाका लागि पैसा तिर्छौं। सेवा पनि पाउँछौं। राम्रो व्यवहारसहित। तर डेरामा बसे बाफत पैसा तिर्दा पनि अपमान किन? किन लिनुपर्छ डेरावालहरूले अनावश्यक तनाव? गल्ती बिना डेरावाललाई गाली गर्छन्, किन?
गाउँघरमा अझै पनि ठूलो घर हुने, धेरै जग्गा जमिन हुनेप्रति दिनदुखीको दृष्टिकोण फरक नै छ। धनीमानी पल्टिनेहरूसामू दिनदुखीले झुकेरै कुरा गर्ने समाज विद्यमान छ।
ठूला घरवालाहरूले सानो घरकासामू कुरा गर्दा संसारकै मालिक आफूलाई ठान्ने गरेको पाइन्छ।
नेपालको सहरी क्षेत्र, अझ काठमाडौंका केही घरबेटी पनि पुरातनवादी मानसिकताबाट मुक्त हुन सकेका छैनन्। आफूलाई 'शासक' को रूपमा लिने कमजोर मानसिकताबाट समाज अझै उकालो लागेको छैन।
सबैलाई थाहा छ, मृत्यु सत्य हो। हामी जीवनको नाटकीय रंगमञ्चमा उभिएका एउटा नाटककार मात्रै हौं। नाटकको समय सकिएपछि यमराजले सिठ्ठी लगाइदिन्छन्।
अनि जीवनरूपी नाटकीय रंगमञ्चको अन्तिम पर्दा लाग्छ। एक दिन यो धर्ति छाडेर जानुछ, मुठ्ठी कसेर, रित्तै भन्ने थाहा हुँदा हुँदै महान् बन्न किन चुक्छन् अधिकांश घरबेटीहरू?
सम्पति बढेसँगै मनभित्रको नैतिक धरातल पातलिँदै जान्छ भने के मानिसका लागि सम्पत्ति बरदान हो या अभिसाप?
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७५ साउन १७ गते प्रकाशित थियो)