आदरणीय बुवा, नमस्कार!
हामी परिवारका सबै सदस्य सघन उपचार कक्षको ठिक पूर्वपट्टि माइकको आवाजमा हजुरको नाम उद्घोष भएको सुन्दै बसेको नि आज ठिक ९ दिन पूरा भएर १० दिन लागेछ।
आज तपाईंको सल्यक्रियामा संलग्न डाक्टर बासुसँग कुरा भयो। सायद बेलुकाबाट पोस्ट अपरेसन वार्डमा सिफ्ट गर्छ होला। तपाईं जब मङ्सिर १३ गते रुखबाट लड्नु भयो, ततपश्चात् आजबाट मात्र बल्ल मुखबाट प्रोटिन पाउडर खुवाइँदै छ। आशा छ तपाईंको स्वास्थमा सुधार अझ द्रुत गतिमा हुनेछ र हाम्रो परिवार तथा तपाईं स्वयमको मुहारमा खुसीयाली आउनेछ।
बुवा तपाईं घाइते भएदेखि निकै कमजोर हुनुभएको छ। तपाईंका आँखा प्रत्येक पटक मैले देख्दा रसाएको देखेको छु जुन तपाईंको व्यक्तित्वसँग संगति नमिल्ने कुरा हो। तपाईंको साहस, जाँगर, आँटसँग म निकै पारङ्गत थिएँ र छु पनि। तपाईंको जीवनका आरोह अवारोहको बक्ररेखा कोर्ने हो भनी त्यो निकै गज्याङ-मज्याङ हुन्छ।
आज पारिवारिक, सामाजिक र राजनीतिक रुपमा धरहराजस्तै अग्लो व्यक्तित्व गर्ल्याम-गुर्लुम ढल्दा, जसरी भिमसेन थापाले ठड्याएको धरहरा ढल्दा सिङ्गो देश विक्षिप्त थियो ठिक त्यसैगरी तपाईंको दुर्घटनाले परिवार, तपाईंको गाउँ विक्षिप्त भएको छ। तपाईं घाइते हुँदा परिवारको मात्र होइन, सिङ्गै गाउँका सपनाहरु घाइते भएका छन्। मलाई विश्वास छ तपाईंको सामाजिक र राजनीतिक सक्रिय जीवन अबको केही महिनापछि साबिककै ढंग र ढाँचामा हुनेछ।
म यो पत्रमार्फत तपाईंको विगतलाई केही सम्झने प्रयास गर्छु। हजुरबुबा-हजुरआमाका पाँच छोरा र चार बहिनी छोरीमध्ये तपाईंको जन्म माइलो सन्तानको रूपमा विसं २०१३ सालमा भयो। तपाईंको प्रारम्भिक शिक्षा गाउँकै प्राथमिक विद्यालयमा सम्पन्न भयो। त्यसपछि परिवारको अवस्था र परिवारका अन्य सदस्यलाई पढाउनु पर्ने, रेखदेख गर्नपर्ने जिम्मेवारी तपाईंले नभागीकन निर्वाह गर्नुभयो।
पढाइमा तपाईं कति मेधावी हुनुहुन्थ्यो रे भनी कक्षा पाँचको परीक्षा दिएपश्चात् सोही विद्यालयमा कक्षा ४ सम्म शिक्षण गराउनु भयो रे। खालि त्यो मानव संसाधको कमिले मात्र थिएन, तपाईंको मेधावीपनको उपज पनि हो भन्ने कुरा अनुमान गर्न कुनै गाह्रो हुन्न। आजको दिनमा परिवारका सदस्यले गरेको प्रगतीमा तपाईं मक्ख परेको देख्दा मलाई अचम्म पनि लाग्छ।
एउटा व्यक्ति जो शिक्षा, आर्थिक उपार्जन, व्यक्तिगत पहिचानका हिसाबले अन्य परिवारका सदस्यसँग दाँज्दा निकै होचो देखिन्छ। तर सघन उपचार कक्षमा होस आएदेखि आजसम्ममा त्यहाँका उपचारमा संलग्न प्रायः सबै स्वास्थकर्मीलाई आफ्नो भाइहरुले धारण गरेको पदको फेरहिस्त यति धेरै सुनाइसक्नु भएछ कि हिजो त एउटा बहिनीले मलाई भन्दै थिइन् 'हामीलाई नि झ्याउ लाग्न थाल्यो' भनेर। यो सब तपाईंको महानता हो जस्तो मलाई लाग्छ।
एउटा २५/ २६ वर्षको युवक जो बाबु बन्न लागेको थियो, उसले आफू र आफ्नो आउँदै गरेको सन्तानलाई सँगै राखेर कति र कस्ता-कस्ता सपना देख्यो होला भन्ने कुराको अनुमान म आज लगाउन सक्छु। किनभने म पनि बुवा भएको ४ महिना हुन लाग्यो। तर समय र परिस्थिति सधैँ हाम्रो काबु भित्र रहँदैन।
त्यो समयको उपचार पद्धति, अस्पतालमा प्रविधिको आदिको अभावले तपाईंले पहिलो श्रीमतीबाट जन्मनु पर्ने सन्तानलाई जीवितै हेर्न पाउनु भएन। विडम्बना! खालि सन्तानमात्र होइन, आफ्नो जीवन जस्तोसुकै परिस्थितिमा नि साथ दिन्छु भनेर लगनगाँठो कसेर ल्याएकी अर्धाङ्गिनीलाई नि गुमाउँदाको त्यो कहालीलाग्दो क्षण आज सम्झँदा नि मन भक्कानिँदो हो, आखा रसाउँदो हो।
तपाईं त्यो दिनको पर्खाइमा हुनुहुन्थ्यो घरमा एउटा नयाँ सन्तान आउँछ, उसले मेरो परिवारको खुसीको आयतन अझ चौडा बनाइदिने छ। मेरा थकानलाई बिसाउने चैतारी हुनेछ। दन्ते कथा सुनाउने सारथी हुनेछ। तर, परिवेश ठिक विपरीत भइदियो। सन्तानको स्वागतमा दियो बाल्नुको सट्टा घाटमा दागबत्ती सल्काउनु पर्यो।
आफ्नो छातीलाई बज्र तुल्य बनाएर दिवङ्गत श्रिमतीको कोखबाट बिलेटले चिरेर तपाईंको पहिलो छोरा निकाल्नु भयो र घाटमा दुई वटा चोला खडा गरेर आगोको मुस्लो दन्काउँदाको त्यो क्षण कति कहालीलाग्दो र कारूणिक थियो होला। आज त्यो सुनेको घटना सम्झँदा नि मेरो मुटुको धड्कन निकै बढेको छ बुवा। हो, यस्तो परिस्थितिको सामना गरेर आएको व्यक्तिको आँखामा आँसु देख्दा म आश्चर्यमा परेको छु बुवा।
यो घटनाले तपाईंको जीवनमा अर्को मोड लियो। तपाईंले अब बाँकी जीवन विवाह नगरी बिताउने प्रण गर्नुभयो जुन निकै अपरिपक्व थियो। तत्कालीन समाज र पारिवारिक संरचनामा यो असम्भव प्रायः थियो। यस दुःखद् घटनाको सायद पाँच वर्षपछि हजुरले मेरी आमासँग लगनगाँठो कस्नु भयो।
जीवन नियमित चलिरहेको थियो, फेरि विगतको झ-झल्कोले तपाईंलाई झस्याङ-झस्याङ पार्दथ्यो किनभने तपाईं दोस्रो पटक बुवा बन्न लाग्नुभएको थियो। यो क्षणमा कैतुहलता, सपनाभन्दा बढी हुटहुटी र तनाव थियो सायद तपाईंको मानसपटलमा। तर दैवले सधैँ मलाईमात्र सताइरहँदैन, मेरो नि यस धर्तीमा खुसी भएर बाच्न पाउने हक छ, म विगतलाई बिर्सेर अगाडि बढ्छुजस्ता सकारात्मक सोचले होला आमाको कोखबाट मेरी दिदीको जन्म भयो।
ऊ निकै चन्चले स्वभावकी थिइन् रे। मुहारको बनावट बाटुलो, आँखा ठूला-ठूला र गोरी थिइन् रे। निकै थाकेर कामबाट आउँदा उसको मुहारमा मात्र एक झलक हेर्दा पनि थकान मेटिन्थ्यो ।आजको परिवेशसँग तुलना गर्ने हो भनी ऊ बजारमा सजाएर राखिएका महङ्गा सुन्दर गुडियाजस्तै थिई। हो, गुडियाभन्दा सुन्दर अरु केही छ भने हो, त्यस्तै थिइन् रे मेरी दिदी।
तर बुवाको खुसीले चिरकाल लिन पाएन। दिदी ३ वर्षको हुँदा उसको हात भाच्चियो। उपचार समयमा नभएर हातमा इन्फेक्सन भइसकेछ। उपचारका लागि नजिकैको अस्पताल लगियो। उपचारमा बुवा स्वयम जानु भएन, हजुरबुवाले लानुभयो रे। डाक्टरकोमा पुर्याउँदा नपुर्याउँदै दिदीको इहलिला समाप्त भयो।
यो बज्र निकै तेजले तपाईंको छातीमा बज्रियो। मलाई हजुराबाले सुनाउनु हुन्थ्यो। तपाईं बेहोस हुनुभयो, तोडफोड गर्नुभयो, आफू सुत्ने कोठाबाट हाम फाल्न खोज्नु भयो, केही महिनासम्म बेहोसी हुनु भयो। टोलाउनु भयो। भनौँ एक हिसाबले मानसिक रुपमा विक्षिप्त नै हुनुभयो।
भगवानले तपाईंमाथि गरेको पासविक र बरबर अपराध त सहेर सम्हालिएर जीवनलाई यहाँसम्म लिएर आउनु भएको मेरो सगरमाथाजस्तो अग्लो, गङ्गा नदीजस्तो फराकिलो बुवाको आँखामा आँसु देख्दा म छक्क पर्छु।
तपाईंको सामाजिक र राजनीतिक इतिहास नि त्यतिकै चाखलाग्दो छ। काकाहरु कलेज पढ्न सहरतिर गएपछि तपाईंलाई नि वर्गीय चिन्तन र चेतका कुराहरु सुनाउन थाल्नुभयो। विस्तारै पञ्चायत विरुद्धको आन्दोलन भुसको आगो झैँ सल्किरहेको थियो जसको राप-तापले तपाईंलाई नि निकै मजाले तताएको इतिहास मैले सुनेको छु।
झापा जिल्लामा हुने मुख्य पञ्चायती विरुद्धका योजनाहरु हाम्रै घरमा बन्थे। त्यसको चाँजोपाँजो मिलाउने कर्मको जिम्मा तपाईंको थियो। विस्तारै तपाईंमा राजनैतिक चेतको बीउले गर्वधारण गरिसकेको थियो। तपाईंले गाउँका हुनेखाने साहु-महाजनको झाको झारेको, कसैले ठाडो शीर गरेर हेर्न नसक्ने साहु-महाजनसँग खुलेरै सवाल-जवाफ गर्न थालेको, हेपिएर, शोषण गरेर अझ आजको भाषामा भन्दा सामाजिक रुपमा बहिष्करणमा पारिएका भुइँमान्छेको आवाज सबैले सुन्नेगरी ठूलो-ठूलो स्वरमा सुनाउन सक्ने तपाईं भइसक्नु भएको थियो।
तपाईंको राजनीतिक जीवनको एउटा दर्दानक घटना म यस पत्रमार्फत सम्झाउन चाहन्छु। तिहारको समय थियो। पञ्च सरकारको समर्थक बमे हल्दारको टोली हाम्रो घरमा देउसी खेल्न आए। त्यो एउटा बहाना मात्र थियो। उनीहरुको योजना अर्कै थियो। दक्षिणा कम दिएको विषयमा तपाईंसँग हल्दारको सवाल-जवाफ भयो। खासमा उनीहरु तपाईंलाई गिरफ्तार गर्नकै लागि आएका थिए।
तपाईंलाई मध्यतिहारमा रक्सीको नसामा झुमिरहेका पञ्चायती पुलिसले गिरफ्तार गरी लगे। हजुरआमाले रुँदै सुनाउनु हुन्थ्यो, डन्ठाले टाउकोमा बजार्थे, बुटले छातीमा हान्थे। उनीहरुकै तालमा जबरजस्ती नाच्न लगाउथे। यातना यतिसम्म दिए कि तपाईंले पीडा सहन नसकेर रगतसहित बान्ता गर्नुभयो। उनीहरु तपाईंलाई पटक-पटक सोधिरहन्थे 'तेरो घरमा कस-कसलाई बास दिन्छस्, कस्ता-कस्ता मान्छे आउँछन्, क-कसलाई संगठित गरेका छौ? यो सब भन् तँलाई छाडिदिन्छौँ।'
तर राजनीतिक चेत निकै मजाले छाइसकेको एउटा सहासिक युवाले आफ्नो जीवनको मूल्यभन्दा आन्दोलनको मूल्य धेरै गुणा माथि छ सम्झेर संगठनको गोपनियता कति पनि चुहावट गर्नु भएन रे। यातना त यहाँसम्म कि तपाईंलाई हातखुट्टा बाँधेर लडाएर भित्तामा पिसब फेर्न लगाएर आफ्नै पिसाब नि चाट्न लगाए अरे नरपिशाचतहरुले। तर नि तपाईं, तपाईंको संगठन र आन्दोलनलाई सम्झिएर आज एक हिसाबले एउटा वडाको नेतृत्व गरिराख्नु भएको छ। यस्ता जीवनका अप्ठ्यारो बाटो हिडिँरहेको परिपक्व मान्छेको आँखामा किन पटक-पटक आँसु आउँछ बुवा?
मलाई एउटा सामाजिक घटना सम्झन मन लाग्यो. तपाईं जब हाम्रो साबिक वडा नम्बर २ को सामुदायिक वनको अध्यक्ष निर्वाचित हुनुभयो। त्यो समयमा आफ्ना भनाइ राख्ने क्रममा गाउँमा एउटा विद्यालयको स्थापना गर्ने र वृक्षारोपणको कार्यक्रम घोषणा गर्नुभयो। मेरो बाल मनस्थितिमा अब भोज भतेर हुन्छ, नाचगान हुन्छ भन्ने थियो किनभने बुवाभन्दा ठिक अगाडिको कार्यसमितिले जंगलको बीचमा रागा, सुँगुर, खसी काटेर ठूलो वनभोजको आयोजना गरेको थियो।
तर तपाईंको राजनीतिक चेतले त्यो गर्न मान्दैन थियो। जुन गर्नुभयो त्यो धेरै सही र राम्रो गर्नुभयो। आज सघन उपचार कक्षमा उपचार गरिरहँदा खालि राम्रो कुरा मात्र सम्झन मन लाग्यो। तपाईं पनि एउटा मानव भएका कारण पक्कै केही सीमा र अवगुणहरु छन्। यो सब समेटेर बाबुछोरा भलाकुसारी गर्दै एउटा किताब चाँडै लेख्न पर्छ। फेरि पनि तपाईंको शिघ्र स्वास्थ लाभको कामना गर्दै यो पत्र यही अन्त्य गर्छु।
तपाईंको प्यारो छोरा।