नेपालबाट फर्किएको करिब २०-२५ दिनपछि अधिवक्ता बासु फुलाराले भेट्न बोलाउनुभयो।
पेशाले वकिल फुलारा सोच र विचारले मजस्ता कयौं नेपालीका अभिभावक हुन्।
उहाँले बडो आत्मीयताका साथ भन्नुभयो, ‘दिवाकर मैले आज तिमीलाई मनको कुरा भन्न बोलाएको।’
उहाँले धेरै भूमिका नबाँधी भन्नुभयो, ‘दिवाकर, मैले नेपाली कांग्रेस महाधिवेशनको सवालमा तिम्रो सक्रियता देखिरहेको छु। यो राम्रो कुरा हो राजनीतिमा युवाको सक्रियता लोकतन्त्रका लागि सुखद हो। बुझ्नुपर्ने कुरा के छ भने राजनीतिलाई हामीले पेशा बनाएका छौं, ब्यापार बनाएका छौं। जब राजनीति पेशा र ब्यापार हुन्छ तब कुर्सी प्राप्ति त्यसको अन्तिम उद्धेश्य हुन्छ। अनि समाज र देश होईन कुर्सी ठूलो हुन्छ। कुर्सी ठूलो भएको देशमा राजनीति गर्न पैसा, ताकत, शक्ति नै चाहिन्छ। तिमीले गरिरहेको कुराले न कांग्रेस सुधिन्छ, न देश नै। मेरो कुरा ठन्डा दिमागले सोच्नू, भाइ कांग्रेसी बन्नुअघि डेमोक्र्याट बन। तिमी हामी जस्ता थुप्रै युवा सुध्रिए मात्र कांग्रेस सुध्रिन्छ।’
उहाँले जाँदा जाँदै भन्नुभयो, ‘कसरी सुधार गर्ने भनेर आफैंलाई प्रश्न गर्नू जवाफ पाउनेछौं। तिमी नेता हौ भाइ, कलम चलाउने नेता।’
बासु फुलारा जानुभयो। तर म आफू बसेको ठाउँबाट उठ्न सकिनँ। मलाई मेरो अनुहार देखाएर जानुभयो। म कुन धरातलमा छु भनेर उहाँले प्रष्ट पारिदिनुभयो।
मैले बिपी सम्झिएँ। उहाँले भन्नुभएको थियो- नेपाली कांग्रेसको आफ्नै परम्परा छ। यसका दुई आधार छन्। एउटा सैद्धान्तिक र अर्को ब्यवहारिक। जुन नेपाली कांग्रेसले छोडेको छैन। आदर्शलाई छोडेर ब्यवहारिकताको कुरा मात्र गर्यौं भने ब्यवहारिक नाममा पन्च होइन्छ। यदि आदर्शलाई मात्र समातेर ब्यवहारिकताको कुरा गर्यौं भने कोरा नारा दिने उग्र बामपन्थीजस्ता भएर जान्छौं। कांग्रेसले आदर्श र ब्यवहारिकता दुबैलाईसँगै लिएर गएको छ।
मैले आफूलाई केही प्रश्न सोध्नैपर्ने भयो र सोधेँ:
- म डेमोक्र्याट हुँ कि, होईन?
- म दाजुवादमा विश्वास गर्छु कि, गर्दिँन?
- मेरो एउटै उद्धेश्य पद र सत्ता प्राप्ति गर्नु, पैसा कमाउनु, परिवार भाइ भतिजा र चम्चा पाल्नु हो कि, होईन?
- ठेक्कापट्टाको आफ्नो धन्दा चलाउन, जागीर या कुनै सुविधा पाउन कांग्रेसी भएको हु कि, होईन?
- म सामाजिक न्यायको सिद्धान्तलाई आफ्नो जीवनमा लागू गर्छु कि, गर्दिनँ?
यी प्रश्न निर्मम थिए। मैले अरूलाई ठग्न सक्थेँ। तर आफ्नै आत्मालाई छल्न सक्तिनँ थिएँ। मैले यी सबै प्रश्नको जवाफ आफूभित्र खोज्नु जरूरी थियो। र मैले खोजेँ।
लोकतन्त्र त एक शालिन र यथार्थपरक अवधारणा हो। यो कुनै निश्चित संस्कृति विचारधारा वा धार्मिक कुरामा मात्र आधारित हुन्छ भनेर मैले कहिल्यै आत्मसाथ गर्न सकिनँ। अर्काको अस्तिव र फरक विचारलाई स्वीकार्न नसक्ने म लोकतान्त्रिक ब्यक्ति थिइनँ।
म दाजुभन्दा भन्दै यति अभ्यस्त भइसकेको थिएँ कि, मलाई दाजु कहलिने ठूलो भोक जागेको थियो। म दास बन्दै गइरहेको थिएँ।
आफ्ना पछाडि हजारौं दास पाल्ने मनोरोगले म ग्रस्त हुँदै गएँ। म मानसिक दासताको एउटा कुरूप अनुहार थिएँ। मैले दाजु जस्तो प्रिय र आत्मीय सम्बन्धलाई सस्तो बनाएँ।
म झुटो बोल्दिनँ। गाउँ, घर जाँदा जताततै मैले साना-ठूला सबै नेताको जीवन देखेको छु। ‘कुनै हालतमा पद प्राप्त गर, घर बनाउँ, गाडी चढ, छोराछोरीलाई विदेश पठाउ। यसैलाई विकास भनिदेऊ। समाजले यसो गरेबापत तपाईँलाई सफल र ठूलो मान्छे ठान्छ।’ आफू बने देश बनिहाल्छ भन्ने मसँग पनि यहीँ उत्कठ अभिलाशा छ। त्यसैले म युवा हुँ, म देशको भविश्य हुँ।
ठेकापट्टा, जागीर, आफ्ना अपराधको संरक्षणका लागि कांग्रस बनेकाहरू मैले थुप्रै देखेको छु, हरेक टोल छिमेकमा तीनको बोलबाला हुन्छ। र म जस्ता थुप्रै तीनै नेतालाई दैनिक ‘जय नेपाल’ भन्ने गर्छौं।
सामाजिक न्याय मेरा लागि क्रान्तिकारी र उग्र कुरा हो। म लोकतन्त्र र कांग्रेस पर्याय ठान्छु। तर महिलाले सधै पुरूषहको निगाहमा बाँच्नुपर्छ भने सोच राख्छु। दलितलाई बालिघरे नै ठान्छु। दलितका लागि गरेका फुट्कर कामलाई सामाजिक न्यायको सवालमा ठूलो फड्को मारेको ठान्छु।
त्यसैले म भन्छु- म युवा भए पनि कांग्रेसी बन्न लायक छैन। म डेमोक्रयाट पनि हुन सक्तिनँ। किनकि, न मसँग सैद्धान्तिक आधार छ। न मेरो ब्यवहारनै ठिक छ। सैद्धान्तिक धरातल र ब्यवहार दुबै ठिक नभएका म जस्ता कांग्रेसीले कांग्रेस सुधार्ने कुरा घिनलाग्दो मजाक हुन्छ।
नेपाली कांग्रेसलाई सुधार्न यो त के कुनै महाधिवेशनले सक्दैन। जबसम्म हरेक कांग्रेसी पहिले आफू सुध्रदैनन्। जय नेपाल।