समाज परिवर्तन एउटा जटिल तथ्य हो। समाज परिवर्तन र विकासको पूर्वानुमान वा भविष्यवाणी कहिल्यै गर्न सकिन्न। समाज परिवर्तनको यो एउटा महत्वपूर्ण विशेषता हो। समाज परिवर्तनसँग युवाको छुट्टै नाता छ अनि युवाको परदेशसँग।
कोरोना महामारीको आगमन पूर्व ०६५ देखि ०७५ सम्म दश वर्षमा चालिस लाखको हाराहारी युवा बाहिरिएका छन्। ती मध्ये छ हजारको विदेशमै ज्यान गएको तथ्यांकले देखाउँछ। औसत दैनिक तीन जनाको बाकसमा मृत शरीर फर्कन्छ। अठार वर्ष पार गर्ने बित्तिकै युवा हरियो पासपोर्ट बनाउने सुर कस्छ र मेरो सरकार कहिले युवालाई पासपोर्ट बेचौँ झैँ गर्छ।
देश सञ्चालकलाई युवाको दश हजारको लालच कि रेमिटेन्सको? युवा खेद्ने सरकारको रहर कि बाध्यता? सरकारको रहर हो या होइन, युवाको भने परदेश भासिनु कदापि रहर होइन।
आखिर त्यस्तो कुन महोत्वकांक्षाले यतिका ठूलो जमातलाई झोला बोकायो? देशलाई चाहिने विदुषी, साहसी सृजनशील युवा जमात दिनानु किन बाहिरिँदै छन्? वास्तवमा कुनै ठूलो महत्वकांक्षा हुन्न परदेश पस्ने युवाहरुमा, न त कुनै वैभवशाली सौख न त द्रव्य पारखी नै। व्यवहारिक जीवनमा आर्थिक ग्रहण लागिपछिको अश्वेत अतीत मेटाउन वा अनिश्चित भविष्य सवार्न वर्तमानलाई उच्च जोखिमसँग कुस्ती भिडाउन बाध्य हुन्छन्।
आर्थिक स्तरलाई मध्य बनाइ गरिने सामाजिक वर्गीकरण पनि हो, युवा परदेश भासिने कारण। मानवीय सभ्यताको असमानान्तर दृष्टिकोण आर्थिक स्तर वा रोजगार ठान्ने आजको समाज पनि दोषी छ युवा विदेश खेद्नमा। हुन त आफ्नो देशमा रोजगारको सम्भावना वा आत्मसम्मान र स्वाभिमान सहितको जीविकोपार्जनको सम्भाव्यताको खोजि नगरेर हामी परदेशी पनि चुकेकै हौ। परदेश आएपछि बल्ल चेत खुल्यो।
यहाँ त आत्मसम्मान र स्वाभिमानको पोखरीमा आफ्नो अस्तित्वको खोजि गर्दै हेलिने हो भने हातलागी शून्य नै हुन्छ। मेहनत अनुसारको न त न्यूनतम सम्मान नै हुन्छ न त सीपको उचित मूल्यांकन नै। कहिलेकाहीँ त हामी विदेशी मजदुरलाई मानव सभ्यताभन्दा भिन्न नै ठान्छन् अति विपन्न शब्दको गाली गर्दै। हो, त्यतिबेला झोला बोकिहालौँ, आफ्नो देश फर्किहालौँ लाग्छ। के गर्नू, कमाउने आफू एक्लो अनि घरका बचेराहरु मुख 'आँ...' गरेर बसेको सम्झिएर पनि झोला बोक्ने झोस लत्रिन्छ। साहुको शब्द, ऋण दुवै तिर्नु पनि त छ। अर्को मनले सम्झाएपछि स्वदेश फर्कने सोच र झोला बोक्ने पाखुरी गलेर आउँछ अनि बेल्चा काँधमा हाल्ने जोश जाँगर आउँछ।
भनिन्छ, युवा नै देशको अग्रगामी विकासका मूल आधार हुन्। युवालाई उमेरको आधारमा हरेक देशले आ-आफ्नै व्याख्या गरेका छन्। भारतमा १६ देखि २९ वर्षका समूह, बंगलादेशमा १५ देखि ३०, चिनमा १८ देखि ३५ बीचको उमेर समूहलाई युवा भनिन्छ। नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० बीचका उमेर समूहलाई युवा उल्लेख गरेको छ।
हो, यही सोच्ने कुरा के छ भने वैदेशिक रोजगारमा पनि रोजगारदाताले रुचाइएको उमेर समूह १८ देखि ३९ नै पर्छन्। अझ कोरियाले त इपियस प्रणाली अन्तर्गत नेपाली कामदारको माग गर्दा समेत १८ देखि ३९ किटानी नै गरेको छ। देशका अग्रगामी विकासका मूल आधारलाई नै परदेश धपाएपछि विकासको सम्भाव्यता स्वतः ओरालो लाग्ने अकाट्य तथ्य हो।
अझ युवाहरु विदेश पलायन हुँदै गर्दा समेत सत्ताका संचालक वा सत्ता प्राप्तिको दाउ हेरेर बसेका नेताहरु आफू सत्तामा पुगे आफ्नो देशलाई अरुको देशसँग तुलना गर्दै सोही देशको हाराहारीमा विकास गर्छौं भन्न छाड्दैनन्। परदेशमा बसेर उनीहरुको फगत भाषण सुन्दैगर्दा लाग्छ तिनको मस्तिष्कमै तुहिएका प्रसव शब्दहरु, जसमा कुनै जीवन छैन,आशा छैन।
जसरी पानीको बहाबलाई छेकेर उर्जा निकालिन्छ, त्यसरी नै युवालाई आफ्नै देशमै छेकेर युवाको सोच, शक्तिलाई देशको विकासमा लगाउनुपर्छ। युवा देशका मेरुदण्ड हुन्, उत्तोलक हुन्। पहिचान गर्न विलम्ब नगरौँ।