हिजो, आज र भोलि भन्दाभन्दै दिनहरु बितेको पत्तै नहुने। हिजोका दिन जो थिए बहुत कठिन थिए। असीमित रहरहरुसँगै जोडिएका बाध्यता, बालापनसँगको चकचकेपन।
१२ वर्षको उमेरमा रजस्वला भयो। उमेरले सानी भएपनि गाउँघरका अन्य केटाकेटीको तुलनामा अलि अग्ली, मोटी देखिन्थेँ। रजस्वला भएको ११ महिना अर्थात् १३ वर्षदेखि गाउँमा विवाहको कुरा निस्कन लाग्यो। मेरो बिहेको कुरालाई लिएर गाउँमा गाइगुई हल्ला चल्न लागेछ- बाहुनकी छोरीको ब्या गर्दिने अरे।
एकदिन स्कुलबाट घर आएँ। बाटाभरिका मान्छे मलाई देखेर मुखामुख गर्दै थिए। घर पुग्दा केही मान्छे र बा-आमा कुरा गर्दै हुनुहुन्थ्यो। अन्ततः खास मेरै बिहेको कुरा चलेको रहेछ।
घर पुग्दा केही मेसो पाउनै सकिरहेको थिइनँ। मनमा अनेक कुराहरु खेलिरहेका थिए। 'छोरी टोलाउन थाली। यसरी टोलाउनु भनेको बिहेको लागि राजी हुनु हो,' एकथरी मान्छे यसो भन्थे भने अर्कोथरी, 'आ... ठुली, जहिले गरे पनि बिहे गर्नै पर्छ, नाइँ नास्ती नगरे हुन्छ भन्। केटो राम्रो छ। बाहुनको छोरो हो, खान्दान राम्रो छ।'
अर्कातिरबाट फेरि आवाज आयो, 'नाइँ नास्ति गरेर हुन्छ, छोरीको जात सधैँ माइतमै कसले राख्छन्? पहिलोपल्ट माग्न आएको केटो महादेव हुन्छ। खाली हात पठाउनु हुँदैन पाप लाग्छ बाबै। पछिको त कस्तो हुन्छ कस्तो। घर बिग्रेला है। बाउ-आमाको नाक नकाट्नू।'
धेरै प्रश्न र जवाफहरुले घेरेपछि मेरो उत्तर दिने पालो आयो, 'अहँ! म बिहे गर्दिनँ।'
आफन्तहरुको अनुहार कालो मैलो भयो। म झनै रिसाएर भनिरहेकी थिएँ, बरु मर्छु तर बिहे गर्दिनँ।
रोइ-कराई जिद्धी गर्न लागेपछि एकैछिनमा घरमा भिड हराएछ। बेलुकी खाना खाने बेला भयो। बुबा छेउमा आएर बस्नु भयो। आमा भान्सामा खै के-के पकाउँदै हुनुहुन्थ्यो।
बुबाको कुरा सुरु भयो, 'केटो राम्रै छ। तँ जति भन्छेस् पढाउँछु भनेको छ। एकदिन बिहे गर्नैपर्छ। पछि केही भयो भने दुनियाँलाई कुरा काट्ने बाटो हुन्छ।'
'बुबा, म बल्ल १३ वर्षकी त भएँ। पढाइ पनि नराम्रो छैन...' यति भन्दै थिएँ झन् डरलाग्ने स्वरमा बुबा भन्न लाग्नुभयो, 'कसले पढाउन सक्छ तँलाई? तँ मात्र छेस् पढ्ने? यत्रा ४ जना भाइ-बुइनी छैनन्? कापी-किताब, फी तैँले कमार राखिदिएकी छस्? खाना लाउन पढाउन म एकजनाले सात-सात जनालाई कसरी पाल्नु? न जागिर छ न जग्गा जमिन नै।'
बुबाको ठाउँमा उभिएर हेर्दा उहाँका प्रश्नहरु मेरा लागि ठिकै थिए। जुन प्रश्नमा समाजको रीति, गरिबी, अशिक्षा यी सबै एक ठाउँमा गठ्ठा भएका थिए। तर मेरा ठाउँमा ती प्रश्न एकदम गलत।
जिताह स्वभाव भएर होला चित्त नबुझेको कुरामा जवाफ फर्काइहाल्थेँ, 'छोराछोरी पाल्नु पर्छ, पढाउनु पर्छ भन्ने थाहा थिएन र? जन्माएर कलिलैमा सति पठाउनु नै थियो भने किन जन्माउनु पर्थ्यो?' बुबाको प्रश्नले यी उत्तर पाएपछि केहीछिनमा पढाइको कुरा निस्किन्थ्यो।
'पढेर मुख-मुखै लाग्ने भाकी, फुपूहरु खुरु-खुरु गए त दिएको ठाउँमा। आफ्नो घर गरेर खाकै छन्। दुरमुखा।'
बिहेका कुरा सुरु भएकै वर्षदेखि प्रायःलाई मेरो चासो हुन्थ्यो। छिमेकी, आफन्त सबैलाई।
'लभ परेको होला अनि कहाँ गर्छे त बिहे!'
मनमनै सोचेँ, मैले बिहे गरेर यो घरको गरिबी निवारण हुन्छ र? अहँ! बिल्कुल हुँदैन। बिहे गरेर उसले मलाई पढाउँछ होला त? मलाई धन-सम्पत्तिले के सुख दिन्छ होला? सुन-चाँदी ल्याउने नै किन चाहियो र? के मेरो बिहे गर्ने उमेर भयो र? आफैसँग यी-यस्तै प्रश्नहरुको अन्तर्वार्ता हुन्थ्यो।
कहिलेकाहीँ आफ्नै प्रश्नहरुबाट आफैलाई अचम्म लाग्थ्यो। लाखौँ ऋण काँडेर विवाह गर्ने राजी हुने परिवारलाई १० रुपैयाँको कापी र ५ रुपैयाँको कलम किनिदिन बोझ किन हुथ्यो?
'बिहे गर्दिनँ' भन्दा सबै दुखी हुन्थे, अनि 'बिहे गर्' भन्दा म दुखी। यसरी १३ वर्षदेखि १८ वर्षसम्म एउटै मंसिर दाहोरियो। यसरी मंसिर मात्र होइन, असोज, माघ, वैशाख पनि दोहोरीएकै हुन्थ्यो।
विवाहको कुरा लिएर अनेक तवरका मान्छे आउँथे। कहिले विदेशबाट भर्खर आएको टन्न पैसा छ भनेर माग्न आउँथे, कोही जग्गा जमिन छ भनेर आउँथे, कोही कोही तैँले बिहे गरिस भने काकालाई काकी खोजिदिने अर्थात् सट्टा-पट्टा गर्ने भनेर आउँथे। कोही पढाएर जागिर लाइदिन्छु भन्ने प्रलोभन देखाएर आउँथे। कोही घर खान्दान बानी व्यहोरा राम्रो छ सुख पाउँछेस भनेर आउँथे।
तर आज भोलि मंसिर आउँदैन। आए पनि मंसिर जस्तो लाग्दैन। मंसिर पहिला पो थियो तर अहिले छैन।
मैले मंसिरलाई नराम्रो भनेको होइन। मंसिरसँग मेरो कुनै दुश्मनी पनि छैन। तर कलिलो उमेरमा विशेष यही महिनासँग जोडिएका धेरै कुराहरु तिता थिए। त्यसैले मलाई पहिले र अहिलेको मंसिर फरक लाग्छ।
गाउँमा धनी तथा पैसावालाका छोराछोरीको २५ वर्ष देखि ३५ वर्षसम्म बिहे हुँदैन थियो। तर सामान्य स्तरका मान्छेलाई अघि उठ्न दिने वातावरण नै थिएन।
नेपालमा २००७ सालमा नै प्रजातन्त्र आयो। राणशासन अन्त्य भयो। राजतन्त्र अन्त्य भयो। माओवादीको आन्दोलन सकियो तर सकिएन ठूला तथा पैसावालाले आफूभन्दा सानालाई हेप्ने प्रवृत्ति, सकिएको छैन आफन्तले आफन्तलाई गिराउने प्रवृत्ति।