पिताजी ९१ वर्ष लाग्नुभयो। यो उमेरमा पनि शारीरिक तवरमा सरदर स्वस्थ हुनुहुन्छ, हामी सन्तानको लागि योभन्दा सुखद् सौभाग्य अर्को के हुनसक्छ! बेलाबेलामा वयोवृद्ध पिताजीका नङ काटिदिन्छु। केश खौरिदिन्छु। दारी बनाइदिन्छु, नुहाइदिन्छु, कपडा धोइदिन्छु। पिताजीलाई पाँच/सात वर्षदेखि नित्य सेवा गरिआएको छु।
एकजना गाउँले बजै आएर कारुणिक लयमा सहानुभूति बर्साउछिन्-
'बाउले नानीलाई धेरै सताए। तिमीले धेरै दुःख गर्यौ कान्छा बाबुको लागि। बरा! अझै कति सास्ती व्यहोर्नु पर्ने हो! अझै दिसा-पिसाबमा त डुब्नै बाँकी छ...।'
बजैका कुराले मेरो रगत भित्रभित्रै भकभक उम्लिन्छ। रननन पारो तातेर आउँछ। बुबालाई दलिदिँदै गरेको साबुनको डल्लोले उनलाई झटारो हानिदिऊँ कि, यस्तो आक्रोश पनि नआएको होइन। तर, विचरा बजैले मप्रति करुणा देखाएकी हुन्। मप्रति टिठ देखाएकी हुन्। मलाई सहानुभूति राखेकी छन्।
मैले मुखमा औँलो टाँसेर भनेँ- 'भयो, भयो बजै! तपाईं बढी बोल्नु भयो, जानुस् घर। मेरा पिताजीले मलाई कुनै दुःख दिनुभएको छैन। बरु उहाँले मलाई भारी सुख खन्याइरहनु भएको छ। त्यो तपाईंका आँखाले देख्न सक्दैन...।'
मेरो आवाजमा आक्रोश घोलिएको थियो। एक आवेग छल्किएको थियो। एक अस्वीकृति पोखिएको थियो।
'कुरा त मैले ठिकै गरेकी हुँ, तर कान्छा रिसायौ पो क्यार!' यति भनेर उनी मेरो सामुबाट ओझेल परिन्।
९१ वर्षका पिताजीलाई नुहाइदिनुको अपार सुख संगालिरहेको बखत केहीबेर भए पनि बजैले मेरो माथा खराब गरिदिइन्। वृद्ध बाउको पालनपोषणमा गौरवबोध गरिरहेको बखतमा बाउबाट तिमीलाई साह्रै दुःख भो, तकलिफ भो भनेर सहानुभूति बर्साउन आउने उपर म के भनूँ? मैले पिताजीको राम्रो सेवासुश्रुषा नगरेको भए पनि यिनीहरुले मप्रति नै आक्रमण बोल्थे, त्यो मलाई राम्ररी थाहा छ। मेरो निन्दा र भत्सर्नामा नाभीदेखिको बल झिकेर मेरो बद्ख्याइँ गर्थे।
अचेल पिताजीको कुरासित जोडेर मलाई सहानुभूति टकार्न आउने उपर एउटै वाक्य बोल्न थालेको छु, 'उहाँ मेरो आफ्नै बुवा हो नि, अर्को मान्छे होइन त।'
यो कथन बोल्न मलाई एउटी सात वर्षकी बच्चीको कथाले उकासेको छ। एकदिन त्यो बच्ची आफ्नो पिठ्यूँमा तीन वर्षको भाइलाई बोकेर कुनै पहाडी उकालो चढिरहेकी थिई। एउटा जोगी पनि खलखली पसिना काढेर काँधमा आफ्नो ओढ्ने ओछ्याउने कपडाको गुन्टा बोकेर त्यही उकालो चढिरहेको थियो।
सानी भुन्टी केटीले भाइलाई पिठ्यूँमा बोकेर असिनपसिन हुँदै उकालो हिँडेको देखेर जोगीको मनमा करुणा पलायो र बोल्यो- 'तिमीलाई गाह्रो भयो नि नानी!'
बच्चीले भनी- 'अरे! कस्तो कुरा गर्नुभएको बाबा! यो त मेरो आफ्नै भाइ हो।'
मेरो आफ्नै भाइ हो, एउटै सरल वाक्यमा जोगीलाई हजार अर्थ खुल्ने जवाफ दिएको छ। बच्चीको जवाफ साह्रै घतलाग्दो थियो। यो कथा पढेपछि बेलाबेलामा म उपर सहानुभूति राख्नेलाई यही वाक्य पैँचो लिएर भन्छु- उहाँ मेरो आफ्नै बुबा हो नि।
आफ्नो मान्छेको सेवा गर्नुमा दुःख होइन, सुख मिल्दछ। आफ्नो मान्छेको उपकार गर्नुमा पीडा होइन, आनन्द मिल्दछ र आफन्ती परिजनको दुःख निप्टारा गर्नु मानव जातिको पुनित कर्तव्य पनि हो। यसबाट कोही पनि कदापि च्यूत बन्नु हुन्न। कर्तव्यबाट च्यूत बन्नेहरु अक्सर यस्ता सुकर्महरुलाई दुःख ठान्छन्। तकलिफ मान्छन् र यसबाट पन्छिनुमा अहोभाग्य ठान्छन्।
कसैले कोहीप्रति सही रुपको सहानुभूति राख्नु निश्चय नै नराम्रो कुरा होइन। सहानुभूति गलत पनि हुन्छ र? तपाईं प्रश्न गर्नुहोला। मेरो विचारमा गलत सहानुभूति पनि हुन्छ। माथि कै घटनामा म उपर बजैले राखेको सहानुभूति गलत सहानुभूति थियो। त्यसलाई सही सहानुभूति म किमार्थ मान्न सक्दिनँ।
सही सहानुभूतिले अरुको दुःखमा, पीडामा सहोदर अनुभूति गर्न सक्दछ। दुःखको समान अनुभूतिमा संवेदित हुन सक्दछ। त्यसमा बनावटीपनको कुनै ढोङ हुन्न। अरुको दुःख र वेदनामा पनि रुन सक्ने आँखा हुन्छन्। त्यसरी नै भक्कानिन सक्ने हृदय हुन्छ।
फेरि सुखमा सहानुभूति हुन्न। दुःखमा मात्रै सहानुभूति हुन्छ। सहानुभूतिको लागि आफ्नो सहोदर चिनारु आफन्त या विरन्तरी जो होस्, ऊ दुःखपूर्ण अवस्थाबाट गुज्रेकै हुनुपर्छ। ऊ अप्ठयारो अवस्थामा फसेकै हुनुपर्छ। अनि त निस्किन्छ सहानुभूति। अनि त पोखिन्छ करुणा भाव।
कोही आफ्नो आत्मीय व्यक्तिको सेवा-चाकरमा गदगद खुसी छ। त्यस्तो सेवामा आफैँ भित्रबाट आनन्दित छ। उसलाई कुनै दुःख भए पनि त्यसप्रति कुनै खेद खिन्नता छैन। कुनै मानसिक दुःखको अनुभूति छैन भने त्यस अवस्थामा बाहिरबाट कसैले फोस्रो सहानुभूति बर्साउनु कति उचित होला? ऊ आपतमा छ कि आनन्दमा छ, ऊ कष्टमा छ कि आल्हादकारी स्थितिमा छ, त्यसको कुनै लेखाजोखा नगरी सहानुभूति टक्र्याउनु आफैमा बेकार कुरा हो। सही ठाउँमा पोखेको सहानुभूति सही सहानुभूति हो। गलत ठाउँमा पोखेको सहानुभूति गलत सहानुभूति हो।
अहिले त फेरि ढोङी खालको सहानुभूतिले बजार पिट्दै छ। सहानुभूति हृदयको केन्द्रबाट होइन, पाखण्डी मनबाट प्रकट हुन थालेको छ। मानौं सहानुभूति पनि एक व्यापार बन्न लागेको छ। कतै पढेको छु, विकसित युरोपेली देशहरु त्यसमा पनि खासगरी बेलायतको लण्डनमा व्यवसायिक रुने कराउने, आलापविलाप गर्ने र आँसु झार्ने मान्छे भाडामा लिन सकिन्छ अरे।
काहीँ मरु परेको छ, त्यहाँ त्यस मृतक मान्छेको नाममा रुनु-कराउनु, आलापविलाप गर्नुपर्यो भने तिनै भाडाका मानिस लगेर रोदन प्रक्रिया पूरा गराइन्छ। व्यवसायिक मान्छेबाट अश्रुपात गराइन्छ। दुनियाँ यहाँसम्म आइपुग्यो। मान्छे यस्तोसम्म भैसक्यो। सभ्यता र विकसित मनुष्यको यो गति कति दयनीय छ।
सभ्य बन्ने नाममा मान्छे ग्लिसिरिन दलेर रुने अवस्थामा पुगिसक्यो। आफ्ना मातापिता आफन्तजनको मृत्युमा भाडाका मान्छे किनेर शोकाकूल दृश्य सिर्जना गर्ने अवस्थामा पुगिसक्यो। यसबाट के अन्दाजा लगाउन सकिन्छ? ठोकुवा गरी भन्न सकिन्छ मान्छेले हृदयबाट सहज संवेदना गुमाइसक्यो। सहज करुणाभाव भुलिसक्यो। सहज सहानुभूति बिर्सिसक्यो। मान्छे दिन परदिन हृदयहीन बन्दो छ। जड र संवेगहीन दिशातिर ओरालो झर्दोछ।
कलाकारहरुले नाटक र मुभी मञ्चन गर्दा वियोग र वेदना देखाउन आँसु झार्नु परेमा आँखाबाट प्राकृत आँसु नफुट्ता आँसु झार्ने रसायन दल्छन् भन्ने सुनेको हुँ। यो त अभिनयको संसारमा पूरा गरिने रीत हो। तर, यथार्थमै मान्छेका आँखाबाट आँसुको कुण्ड सुक्तै गएको यथार्थलाई कसैले पनि नकार्न सक्दैन। मान्छे विस्तारै यथार्थको मानव गणबाट नाटक-चटकको नटनटीमा परिणत हुँदो छ। उसका क्रियाकलाप सहज संवेदनाबाट भन्दा पनि ढोङ र अभिनयबाट परिचालित बन्दैछन्।
सहानुभूतिको भोक चढेका एकाथरि मनुष्य गणका तृषित नजरले मलाई पनि घोच्ने गर्छन्। एकथरि मान्छेको स्वभाव नै यस्तो हुन्छ, जो अरुबाट हरबखत सहानुभूति लुट्न आतुर रहन्छन्। आफ्नो दुःखपूर्ण अवस्था अरुसामु उदाङ्गो पार्न मरिहत्ते गर्छन्। अरुको सहानुभूति बटुल्नुमा उसलाई मिठो रस मिल्दछ। अरुका कठैबरा! शब्द ध्वनिमा तिनका जीवनको नाद बज्दछ।
हुन त सहानुभूति पाउने भोक बाल-वयमै जाग्छ क्यारे! कहिलेकाहीँ बच्चाहरुको विचित्र लिला हेर्ने गर्छु। कुनै बच्चा खुर्र दौडिँदा दौडिँदै भुक्लुक्क लड्छ। त्यसलाई आसपासका मान्छेहरुले ध्यान दिएर हेरिदिएन भने जतिसुकै साह्रो लडेको भए पनि यताउता पल्याकपुलुक हेर्छ। अनि जुरुक्क उठेर कुद्छ। रुनुको नाममा चुँ पनि गर्दैन। तर, ऊ लडेको दृश्य कसैले देख्यो।
'आम्मै नि! नानी त लडिहालेछ नि ज्या है!' भनिदियो भने लम्पसार परेर चित्कार निकाल्न सुरु गर्छ। अरुले गएर नउठाएसम्म आफैँ उठ्ने कोसिस पनि गर्दैन। बच्चा स्वभावैले माया र सहानुभूतिको भोको हुन्छ। आवश्यकताभन्दा बढी सहानुभूतिले बच्चालाई काँतर पनि बनाउँछ। रुन्चे पनि बनाउँछ। त्यही काँतरपन उसको अन्तरमा यसरी गढेर बस्छ, वयस्क बन्दा पनि ऊ अस्वभाविक सहानुभूतिको भोको रहन्छ।
फेरि मानव-चरीको मनोविज्ञान यस्तो छ, अरुलाई सहानभूति बर्साउनुमा भारी रस मिल्दछ। अरुको सुखमा, सफलतामा हाई-हाई गर्न बरु हिच्किचाउँछ। तर, अप्ठ्यारो समयमा, अक्करमा अड्किरहेको बेलामा फोस्रो सहानुभूति दर्साउन कुदेर पुग्छ। जीवनको अँध्यारो गुफामा उकुसमुकुस हुने गरी छट्पटिएको समयमा सहानुभूतिमा गुलदस्ता टक्र्याउनेहरुको कमी हुँदैन।
चाहिएको थियो त सहाराको सानो सूत्री चाहिएको थियो। चाहिएको थियो त उसलाई सहयोग र भरथेगको हात चाहिएको थियो। तर, आफ्नो हात लुकाएर पुग्छ मान्छे त्यहाँ। खाली खोक्रो शब्दावलीको सहानुभूति सिवाय केही दिँदैन।
असहाय अवस्थामा तड्पिएको मान्छेलाई निख्लो आवाजमा ओकलेको सहानुभूतिले के लाउँछ र? अन्न खोजिरहेको पेट खोक्रो शब्दावलीले भरिँदैन। अस्कोट मागिरहेको आङ निस्तो बोलीले कदापि ढाकिँदैन। बोक्रे सहानुभूति पनि कहिल्यै मन परेन।
आफ्नो दुःख अरुलाई फिजाँएर वेफ्वाँकमा सहानुभूति बटुल्ने कर्मप्रति पनि कहिल्यै रस जागेन। सँच्चा सहानुभूति र कच्चा सहानुभूतिलाई रजहाँसले दूध र पानी छुट्याए जस्तो छुट्याउन सक्ने विवेकको वकालत गरिरहेको छु म। मानिसको परीक्षा अतिशय कठिन क्षणमै हुनेगर्छ। सजिलो समयमा त जसले पनि शब्दका बाती जलाउन सक्छ। अप्ठ्यारो समयमा दुःख र विपत्तिको आँधीहुरी सन्सनाइरहेको बखतमा सहयोगको दियो जलाउने मानिस मेरो लागि आदरणीय बन्दछ।
असहज अवस्थामा पिठ्यूँ फर्काएरु हिँड्ने तर सहज अवस्था आएपछि के-कस्तो छ, सहयोग के चाहिन्छ भनी सोधनी गर्ने मान्छे पनि देखेको छु, चिनेको छु। तर, मलाई आफ्नै पैतलाप्रति अथाह भरोसा छ। आफ्नै पसिनाप्रति विश्वास मात्र होइन, हृदयको श्रद्धाभाव छ। कसैका रंगिन बैसाखी टेक्नु नपरोस् भन्छ मनले।
सध्य मान्छेलाई अपाङ्ग बनाएर वैशाखी बाँड्ने ढोङी समाजसेवी पनि देखेको छु। साथै आफ्नासँग गिड्गिडाइरहेका दुःखी मनुवाको पनि खाँचो छैन यहाँ। यी दुवै मानव प्रवृत्ति गलत छन्। घातक छन् र विनाशकारी छन्। यसबाट मुक्त नभै हाम्रो चेतनाले ऊधोतलमा खुट्टा राख्न सक्दैन।
साँच्चै मेरा दुःखमा रुने आँखा पनि छन्। मेरो पीडा र वेदनामा शब्दकै सही दिलैबाट मलमपट्टी लाउने ओठहरु पनि छन्। तर मेरो आग्रह, मलाई तपाईंले सहानुभूति दिइरहँदा म तपाईंको दयाको पात्र बन्न इन्कार गर्छु। म तपाईंको प्रेमको पात्र बन्न चाहन्छु र तपाईंलाई पनि दया होइन, हृदयको सँच्चा प्रेम अर्पण गर्न चाहन्छु।