घामको 'इन्ट्री' निकै फितलो थियो। मंसिरले साथ छाड्न थालेको समय अक्सर घामलाई इन्ट्री गर्न हम्मे हम्मे पर्छ।
घाम र चिया पसलको बीचमा ठ्याक्कै ‘रेसिप्रोकल’ सम्बन्ध छ।
एउटाको शान र रवाफ उकालो चढ्दै गर्दा अर्काको भिरैभिर ओरालो झरिरहेको हुन्छ।
एउटाको घट्दा अर्काको त्यसै-त्यसै बढेको हुन्छ। चिया पसल केबल पसल मात्रै होइन समग्र देशको बिम्ब त्यहाँ भेट्न सकिन्छ। देश कसले बनायो अनि कसले बिगार्यो अनेक खालका तर्कना (?) गरेर बिहानी समय नै बिगार्नेहरू चिया पसलमा अक्सर भेटिने गर्छन्।
जुकरवर्गले चिया पसलको भिड त कम गरेका छैनन् तर गफ भने निकै घटाएका छन्। चिया पसलमा मान्छे छन्, बोल्नका लागि मुख छन् तर आवाज छैन। थोत्रो स्पिकर जस्तो बेलाबेलामा च्यारच्यार मात्रै गर्छन्। त्यसो त आजभोलि केभिन मायर (टिकटक प्रमुख) ले पनि जुकरवर्गको समय केही चोरेका छन्।
‘हेर तेरोमा मैले कमेन्ट गरेको छु’ एउटा साथीले चियाको चुस्की तान्दै अर्कोलाई भन्दै थियो। साथै हुँदा पनि फेसबुकमा कमेन्ट गरेर विचार राख्नुपर्ने यो राम्रो हो या होइन ? आजको हाम्रो बहस यो होइन।
अचानक फेसबुकमा एउटा फोटो देखेपछि मेरो अनुहारको उज्यालो (माफ गर्नुहोला कालो मान्छेको अनुहार शब्दले बोकेको भाव जत्तिको उज्यालो हुँदैन कि! ) कता हो कता गायब भयो।
खासै पहिरो जाने कुरा भने थिएन। मेरो नजिकको एक साथीले गाडी किनेको रहेछ। टिसर्ट किन्दा पनि सल्लाह लिने साथीले गाडी किनेको कुरा फेसबुकबाट थाहा पाउँदा मन दुख्नु स्वाभाविक पनि मानिएला। खान त चिया खाँदै थिए। तर स्वाद भने फेसबुकको फोटोले अपहरण गरेर कहाँ हो कहाँ लगेर गयो।
‘के भयो तँलाई भर्खरै मज्जाले बोल्दै थिइस् त किन सिरियस भइस् ?’ साथीको प्रश्नलाई कृत्रिम जवाफ दिएर टारें ‘भुपू हाँसेको फोटो देखें यार फेसबुकमा’।
गाडी किन्दा साथीले नसम्झनु उसको कुरा हो। तर मन दुखेको छ मेरो। उसको त्रुटी हो। तनाव बढेको छ मेरो। उसको असमझदारी हो। अनुहार बिग्रेको छ मेरो। गल्ती एउटाले गर्ने अनि सजाय एउटाले पाउने किन यस्तो हुन्छ ? कानुनले पनि त गल्ती जसले गर्छ उसैलाई कारबाही गर्छ। तर कानुन र मनको दूरी कोसौं टाढा हुँदो रहेछ।
खुसी भोगाइ होइन, सोचाइ हो।
एउटै कुरालाई हामीले मन थम्थम्याएर सोच्यौं भने मन खुसी हुन्छ। मनलाई उत्ताउलो हुन दिएर सोच्यौं भने दुखी हुन्छ। साथीलाई ब्लक नै गरौं भन्ने सोचमा पुगेको मैले उल्टै कमेन्ट गरिदिए ‘बधाई छ, यो गाडीमात्रै होइन, मैले मेरो साथीका लागि देखेको सपना पनि हो।’
यो कमेन्ट पछिका घटना अब उल्लेख नगरौं। यो पनि आज मैले भन्न खोजेको विषय होइन।
फेसबुकमा फोटो देखेर मनमा गहिरो पहिरो गएको घटना यो एकमात्रै होइन मेरो जीवनका लागि।
केही समय अगाडि सधैं सँगै घुम्ने साथी एक्लै घुम्न गएको तस्वीर राख्दा पनि मनमा आक्रोशको हुचिल दौडिएको थियो। तर मन थामें। घरमा पनि मलाई भन्नुहुन्छ, ‘यो त सानो सानो कुरामा पनि केटीजस्तै रून्छ’।
बालाई कहिल्यै रोएको नदेखेकी मेरी आमालाई आफैंलाई कमजोर सावित गरेर जवाफ दिएको थाहा पनि हुँदैनथ्यो।
मलाई लैंगिक समानताका ठेली पल्टाएर आमालाई पढाउन पनि मन लाग्दैन। जतिसुकै नमिलेको होस् आमाले पढाएकोजस्तो स्वाद विश्वविद्यालयले कहाँ दिन सक्छ र?
मन दुख्नका लागि साँच्चै मनजस्तै कमलो भुवादार कुरा भए पनि पुग्दो रहेछ।
हामीले निकै नजिक सोचेको मान्छेले हामीलाई पनि उत्तिकै नजिक सोचेको हुन्छ भन्ने हामीमा भ्रम हुन्छ। फेरि हाम्रो नजिक भएकै आधारमा हरेक कुरामा हामीलाई हिस्सा दिनुपर्दछ भन्ने पनि छैन।
तपाईंलाई थाहा नदिएर तपाईंको साथीले वर्थ डे मनाउँछ भने त्यो उसको कमजोरी हो, तपाईंको होइन।
अनि हामी अर्काको कमजोरीमा किन दुखी हुने ? कसले बोलायो, अनि किन बोलाएन ? यसलाई किन हामीले रापिलो बहस बनाउने ? हरेक मान्छेलाई आफ्नो तरिकाले जीवन बाँच्ने स्वतन्त्रता छ अनि किन यसको स्वतन्त्रतामा हामीले अनावश्यक हस्तक्षेप गरेर मन दुखाउने ? अचेल सम्बन्ध फेसबुकका फोटोले टुटिरहेका छन्।
साँच्चै एउटा फोटोले टुटाउने कस्तो कमजोर सम्बन्ध हो हाम्रो ?
हामी आफ्नो कारणभन्दा पनि अरूका कारणले बढी दुखी हुने गरेका छौं। कसैले किन सम्झेन ? किन बोलाएन ? किन फोन गरेन ? म्यासेन्जरमा पहिलोपटक किन म्यासेज लेखेन ? यावत अनावश्यक कुराहरूलाई लिएर कतिपय मानिस तनावमा समेत आउने गर्दछन्। सम्बन्ध भन्ने कुरा लुगाजस्तै हो।
कुनै धेरै समय टिक्छ कुनै क्षणभरमै खुइँलिएर जान्छ। कुनै लगाइराखूँजस्तो लाग्छ अनि कुनै किनेको वर्षाैं हुँदा पनि फिटिक्कै लगाउन मन जाँदैन। अनि किन मन नलाग्ने लुगा लगाएर मनलाई अमिलो बनाउने ?
जति गहिराइ बढ्दै जान्छ उति-उति मनबाट खुसी हराउँदै जान्छ।
‘आफ्नाले यस्तो गरेकाले मन दुखेको हो, नत्र किन रूनुपर्थ्यो र ?’ केही मन दुखाउनेहरूका यस्ता अनेक कुराहरू सुनिँदै आएको छ।
साँच्चै आफ्नो र नजिकको सोच्नेले किन गलत व्यवहार गर्थ्यो होला र ? हामी यस्तो पाराले कहिल्यै पनि सोच्ने सामर्थ्य राख्दैनौं।
सम्बन्धमा जब भावनाको मिश्रण हुन्छ त्यसले दु:ख र निराशा नै उत्पादन गर्दछ।
हामी कहाँ सम्बन्धको गहिराइको निश्चित सीमा हुँदैन। सम्बन्धको सम्बन्ध सीमासँग पनि हुन्छ। हामीले सीमा नाघेर धेरै सम्बन्धलाई नजिक ठानेका हुन्छौं। दार्शनिकहरू भन्छन्, ‘संसारमा आफ्नो शरीर नै आफ्नो होइन भने अरू कुरामा अपनत्व खोज्नु व्यर्थ छ।’
मनको सीमा नाघेर हामीले बाँच्न खोज्दा कतै हाम्रो बाँच्ने शैलीमा आँसुले भिजाएको त छैन ?
जीवन एकबारको हो। फेरि यसलाई रि गरेर बाँच्ने अवसर संसारको कुनै प्राणीलाई पनि छैन। टिपेक्स लगाएर अक्षर मेटेजस्तो जिन्दगीका पल मेट्न सजिलो छैन। हावाको झोकाजस्तै थाहै नदिएर आउने अनि थाहै नदिएर जाने जिन्दगीका पललाई अरूका बानी र व्यवहारका कारण किन दुखाउने ? किन रूवाउने ? किन बोझिलो बनाउने ? मनलाई आफैंले आकार दिऊँ अनि हेरौं त कसरी दुख्छ मन ?