कुनै जमाना थियो, ब्राजिल र अर्जेन्टिनाभन्दा पहिला पेले र म्यारोडोना चिनिन्थे। अफ्रिकाको आइभरीकोष्ट भन्ने मुलुक युरोपको फुटबलमा डिडियर ड्रोग्बाले तहल्का मच्चाएपछि धेरैले चिने।
भोकमरी र अनिकालको पहिचान बनेको इथियोपियाको इज्जतलाई लामो दूरीका धावक हेले गेब्रेसेलासीले छोपेका थिए। मुलुकको नाम र मान बढाएबापत उनीहरूले राम्रै सम्मान पाएका छन्।
तर बिडम्बना! मुलुकको पहिचान, शान र मानका लागि रगत पसिना बगाउने नेपाली खेलाडी आफ्ना हक हितमा बोलेवापत सजाय भोग्नुपरिरहेको छ।
भर्खरैको कुरा हो, खेलाडी वर्गीकरणको विषयमा मिडियामा असन्तुष्टि पोखेको भन्दै नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको छ।
साथै ज्ञानेन्द्र र दीपेन्द्रसहित अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई सन् २०२२ को पहिलो ६ महिना वर्गीकरणबाट पाउने रकम नदिने निर्णयसमेत क्यानले गरेको छ।
यसरी खेलाडीले आफ्नो हकहितका विषयमा सामान्य गुनासा राख्दैमा कारवाही गर्नुलाई नेपाल क्रिकेट संघको लाजमर्दो परिस्थिति रूपमा बुझ्न सकिन्छ।
खेलकुद र खेलाडीको अनुभव नबोकेका राजनीतिक नियुक्ति र भरथेगमा चुनिएका क्यानका केही पदाधिकारीको हठात निर्णयले नेपाली क्रिकेटलाई एक पटक फेरि विवादमा ल्याएको छ।
संघ र खेलाडीबीचको सम्बन्ध र सहजतालाई नबुझ्ने पदाधिकारी इगो र राजनीतिकै भरमा चल्ने हो भने खेलाडीले कसरी मुलुकका लागि खेल्नसक्छन्?
क्यानको पछिल्लो निर्णयले खेलाडीका हक हित र खेल संयोजन गर्ने संघको मुख्य जिम्मेवारीबाट पछि हटेर शक्ति र इगो प्रदर्शन गर्न पल्किएका राजनीतिकर्मीको खेलुकदप्रतिको बुझाई स्पष्ट पारिदिएको छ।
संसारका विकसित मुलुकमा संघका पदाधिकारी स्वंयसेवक र नीति निर्माता मात्र हुन्छन्। यसको नित्यकर्म मनोनित व्यवसायिक पदाधिकारीले गर्ने प्रचलन चलेको उहिल्यै हो। तर नेपाल क्रिकेट संघमा ‘हामीलाई नटेर्ने र भनेको नमान्ने, ठूलो बन्ने’ जस्ता गलत सोच बोकेर बस्ने अहमतावादी सोचले पछिल्लो कारबाही ग्रसित देखिन्छ।
कुनै जमाना थियो, नेपालमा क्रिकेट राजा महाराजाको पोल्टामा थियो। तर त्यसबाट आम नागरिकमा आइपुगेको दुई दशक पुग्दै गर्दा हाम्रो क्रिकेट साच्चै भन्ने हो भने खेलाडीको मिहेनतलेनै टिकिरहेको छ।
अस्ट्रेलियाको मेलवर्नमा रहेका पूर्व नेपाली अन्तर्राराष्ट्रिय खेलाडी यशवन्त सुवेदी खेलाडीमाथिको कारबाहीलाई पदाधिकारीको मनोमानी भन्न रूचाउँछन्।
‘राम्रो खेलेर होइन, पदाधिकारीबीच राम्रो भएर देखाउनुपर्ने चलनले खेलाडीलाई पिरोलेको छ’, नेपालको राष्ट्रिय टिमबाट तीन पटक यु १९ विश्वकप खेलेका यशवन्त भन्छन्, ‘सुविधा र अधिकारको बारेमा बोल्ने छुट सबैलाई छ। तर हाम्रो देशमा यसरी बोले कारबाही हुन्छ। त्यो विडम्बना हो।’
सम्बन्धित निकायकै यस्ता गलत निर्णयले खेलाडीमा मनोबल घट्नुका साथै त्यसको प्रभाव प्रतियोगितामा देखिने र प्रतिभा पलालयन हुने यशवन्तले भने।
‘अच्चम छ राम्रा राम्रा खेलाडीलाई कारबाही गर्ने अनि क्रिकेटचाँही पदाधिकारीले खेल्छन त?’, उनले प्रश्न गरे।
नेपाली राष्ट्रिय यु १९ टोलीबाट तीन पटक विश्वकप खेलेका क्यानबेरा निवासी प्रेम चौधरी क्यानको मनोमानीले नेपाली क्रिकेटलाई धेरै हदसम्म पिरोलिरहेको बताउँछन्।
‘एउटा कप्तान र उप कप्तानले आफ्ना खेलाडीको बारेमा नबोलेर कसले बोल्छन् त , अच्चम छ बा नेपालमा’, प्रेमले प्रतिप्रश्न गरे।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी अमृत भट्टराईले खेलाडीलाई कारवाही गरेर क्रिकेट संघ नसुध्रने बताए।
‘क्यानमा भएको विकृति र विसंगतीहरू खेलाडीलाई कारबाही गर्दैमा सुध्रदैन। वर्गिकरणको विषयमा निष्पक्ष र स्वच्छ भएर क्यानले निर्णय लिन सक्नुपर्छ’, अमृतले भने ।
यद्यपी उनले नेपाली क्रिकेटमा खेलाडीबीच तानातान गर्ने प्रवृत्तिले क्यानलाई फाइदा पुगेको बताए।
यसैबीच पूर्व क्रिकेटरको संस्थाले पनि संघको यो निर्णयको विरोध जनाइसकेको छ। खेलाडीमाथि गरिएको कारबाहीमा प्रधानमन्त्री शेरबहादुर देउवा, खेलकुदमन्त्री महेश्वरजंग गहतराज, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्मले चासो देखाएका छन् भने सामाजिक सञ्जालमा पनि निर्णय पुनर्विचार हुनुपर्ने आशयका अभिव्यक्ति आइरहेका छन् ।
सम्वन्धित खेलको विकास गर्न आएका पदाधिकारी स-साना विषयलाई अजंगको बनाएर खेलाडीमाथि कारबाही गर्न नसुहाउने खेल पण्डितहरू बताउँछन्।
यसलाई बेलैमा सच्चाएर अगाडि बढनुनै क्यानका लागि अहिलेको बुद्धिमता हुनेछ।
आफ्नो अहंमता र हठलाई छेउ लगाएर दुवै पक्ष बसेर वार्ता गर्नुपर्छ। खेलाडीको मुद्दा क्यानले सकारात्मक हिसाबमा सम्बोधन गर्नुपर्छ। सर्वोच्च निकाय भएकाले खेलाडीले संस्थालाई उचित सम्मान दिनुपर्छ। क्यानले मन फुकाएर खेलाडीको मुद्दा र माग सुन्नुपर्छ ।
नेपाली क्रिकेट यति बेला महत्त्वपूर्ण अन्तर्राष्ट्रिय शृंखलाहरूको मुखमा छ । सबैको ध्यान त्यसतर्फै केन्द्रित हुनुपर्छ । अहिलेको विवादलाई शिक्षाका रूपमा लिएर सम्बन्धित सबैले भविष्यमा यस्तो प्रकरण दोहोरिन नदिने प्रण गर्नुपर्छ ।
अनुशासनको नाममा खेलाडीलाई कारबाही गरेर त्रासदीपूर्ण वातावरणमा खेलको विकास हुन्छ भन्ने सोच पाल्नु मुर्खता सिवाय केही होइन। यस्तो प्रवृत्तिको अन्त्य गरेर दोषि पदाधिकारीमाथि राष्ट्रिय खेलकुद परिषदले कारबाहीको डण्डा चलाउनुपर्छ।