माफ गर सर्टिफिकेट, म डिग्री होल्डर हुँ। परदेशमा बेल्चा चलाउँदै छु। कतारको मरुभूमिमा फूल फुलाउने काम छ मेरो। मालीको काम गरिरहेको छु। कहिले साहुको बगैँचा त कहिले सडक पेटीको फूलबारी कुटो कोदालो बजारी रहेको हुन्छु। गैँती बेल्चा साथमै हुन्छन्। खन्डहर मरुभूमिमा गैँती बेल्चा हान्दै त्यही मरुभूमिलाई उर्बर जो बनाउनु छ, जो फूल फुलाउनु छ।
यहाँ यो डिग्रीको कुनै माने छैन। तिमीले कुन विषय पढेका छौ? कति प्रतिशत ल्यायौ त्यो त झन् कसलाई मतलब होला? माने छ त तिमी आफ्नु काममा कति बफादार छौ? तिम्रो पसिनाले सिँचेको मरुभूमिमा फुलेका ढकमक्क फूलले सेख कति खुसी भयो? त्यही एक धन्यवाद को आशा, महिनाको अन्तिममा पाउने तनखा। मरुभूमिको घामको रापले यो कपाल दिन प्रतिदिन फुल्दै गैरहेको छ।
पढ्ने रहर बिछट्ट नै थियो। तर क्याम्पस भर्ना हुन नसक्दा यसै छुटेका वर्षहरु गन्दा मेरो शैक्षिक क्यालेन्डर अलिक लामो नै छ। मान्छेका रहरहरु कति हुन्छन् कति। एकपछि अर्को क्रमशः आइरहन्छन् अनि बाध्यताहरु त्यत्तिकै बेरिएर आउँछन्। तर पनि हैसियत अनुसारको डिग्री लिने रहर जीवितै रहेकाले हर बन्देजहरुलाई नि पढ्ने इच्छाले तोडिदियो र डिग्रीको सर्टिफिकेटले एउटा इच्छा पूर्ती गर्यो।
तर म आज गम खाइरहेको छु। मलाई डिग्री पढ्ने भूत किन सवार भयो? जिन्दगीमा काम नलाग्ने त्यो प्रमाणपत्रको लागि किन त्यतिका मेहेनत गरेँ मैले? म किन त्यो समयलाई रुपैयाँ कमाउने तिर नखर्चिएर किताबका पाना घोक्न तिर लागेँ? किन मैले त्यतिका वर्ष आफ्नो दिमाख किताबका पाना गन्न तिर खर्चिएँ? त्यो समयलाई मैले अरबकै माटो-बालुवा सिँचित गर्न खर्चेको भए मेरो स्थिति आजको अवस्थाभन्दा अलि माथि त हुने थियो।
आखिर डिग्री लिएर नि आउने ठाउँ त यही रहेछ। गर्ने काम त उस्तै रहेछ। म डिग्री लिएको र ८ कक्षा पास दाजु हामी एउटै गैँती चलाइरहेका छौँ भने आखिर मैले किन समय खेर फालेँ? त्यो कुराले मलाई लखेटिरहेको छ।
पढ्दा-पढ्दै कमाउनु पर्ने आम निम्न वर्गीय विद्यार्थीहरुको समस्या जे थियो मेरो पनि त्यही थियो। बिहानको क्याम्पसको कक्षा अनि पढाइ नसकिँदै जागिर भ्याउने बाध्यतामा छुटेका पढाइले मेरो पढाइको मेसो बरालिएको थियो। जागिर यस्तो थियो कि समयमा नपुगे साहुले तत्कालै बिदा दिने। भोलि फेरि दस ढोका चाहरेर दस औँला जोड्दै निम्सरिनु पर्ने। कयौँ जागिर मैले यसैगरी गुमाएँ र पाएँ पनि।
काठमाडौँको बसाइ। कोठाभाडा बस्नेको अर्कै कहानी हुने। कोठा पाउनलाई यस्तो हुने कि पैसा तिरेर बसेको मान्छे नि स्वाभिमानले बस्न नपाउने। सुरुमै घरबेटीका प्रश्नमाथि प्रश्न? प्रहरी चौकीमा छौँ कि कोठा खोज्दै छौँ नै दोधार हुनेजस्ता। जागिर कहाँ? कति तलब? सफा गर्नुपर्छ, साथी ल्याउन पाइँदैन, पानी कति चलाउछौ? समयमै घर भित्रिसक्नु पर्छ नत्र गेट खुल्दैन।
अरे बाबा! कस्तो समाज हो यो? हर कुरालाई सहेर हस्, हस् भन्दा दोहोरो कुरा गर्न नपाउने। भाडा महिना मर्नेबित्तिकै १ गते चाहिन्छ नि? हस्। कति हस् कति! हसका हस्। नत्र कोठै पाइँदैन। अझ एक्लो केटा मान्छेले कोठा पाउनु त युद्ध जित्नु सरह थियो।
हर दसैँमा फेरि अर्को पीडा थपिन्थ्यो। सहर बस्ने छोरो जागिर नि खान्छ रे? उता आमा-बाका पनि केही आशा पक्कै हुन्छ। कृषि कर्मले आधा जीवन गुजारिसकेका मेरा बा-आमालाई त्यो पापी सहरले छोरामाथि गरेको अन्याय के थाहा? उहाँहरुलाई त छोराले भरोसा दिने आशामा पर्खिरहनु हुन्थ्यो। म उज्यालो चेहेरामा दसैँ बोकेर गाउँ जान्थेँ र ऋण बोकेर सहर फर्किन्थेँ।
आरोह अवारोहका बीच पढाइ सकियो। अलि राम्रो जागिर खाने सोचमा कयौँ पटक पत्रिकाका विज्ञापनका पछि दौडिएँ। फारम भर्दै मेरो कयौँ पटक खल्ती रित्तिएका छन्। हरेक ठाउँमा अनुभवका कुरा सोधिन्थ्यो। अनुभव बताउन लेख्न मिल्ने काम पढुन्जेल केही पाइएन। यस्तै लुटी ल्यायो भुटी खायो भनेजस्तो। म भन्थेँ, काम नै कसैले नदिँदा कहाँ अनुभव हुन्छ र? अनि फालिन्थेँ।
कयौँ ठाउँमा चिनाजानीले कोटा भरिसकेका हुँदा रैछन्। मेरो को न को! मैले चिनेको तिनै गैरीघरे काका सुन्धाराको होटलमा गार्ड थिए। तिनको केका पहुँच? तर पनि खल्ती खाली हुँदा काका भन्दा २०/५० हलिदिन्थे। खाजा खुवाउँथे।
लोकसेवाका जाँचहरु नि कयौँ पटक दिएँ। ऋण खोज्दै खुलेको जति भर्दै गर्दा लोकसेवाले मलाई झन् ऋण थपिदियो। लिखित पास गरेर नि मौखिकमा फालिँदा लोकसेवा नि निष्पक्ष रैनछ झैँ लाग्यो। हर ठाउँ/क्षेत्रले दिएका ठेसले पासपोर्ट बनाएँ र परदेशीएँ।
मजस्तै धेरै छोराछोरीहरु अरबका मरुभूमि सिँचित गरिरहेको भेटेँ। सायद उनीहरुका पनि मेराजस्तै आरोह-अवारोहहरु पक्कै होलान्। नत्र यो मरुभूमिको तातो हावासँगै खबुस चपाएर पसिनाले निल्नु पर्ने रहर कसलाई हुँदो हो र? शीतल खानलाई झिमिक्क समय खजुरका पोथ्रामा अडेस लाग्नु जस्तो विरक्त जीवनमा अर्को के होला र? मरुभूमिमा भेडा र ऊँट चराउनेका व्यथा त झन् कति छन् कति? भो त्यता तिर नजाम्।
आज आम डिग्रीधारीहरु अरबका गल्ली कुरिरहेका छन्, सेखका महलहरुमा खुट्टा बजार्न पुगेका छन्। कोही कोरियाका खोरियामा घोटिइरहेका छन् त कोही जापान, कोही अफ्रिका, कोही अमेरिका अस्ट्रेलिया। आखिर जहाँ भए पनि त्यो डिग्रीको कुनै महत्व छैन। छ त त्यही थ्री-डि वाला काम। डर्टी डेन्जर डिफिकल्ट।
सारा संसारले छोडेका अप्ठ्यारा फोहोरी र कठिन काममा जो भेटिन्छ त्यो नेपाली हो। किनकि हाम्रो शैक्षिक धरातल यति कमजोर छ कि प्रमाणपत्र विश्वविद्यालयको छ, प्रक्टिकल जिरो। न हामीलाई भाषा नै आउँछ न हामीलाई टेक्निकल ज्ञान नै छ? केही नभएको त्यो आडम्बरी शिक्षाका लागि हामी किन समय फालिरहेका छौँ? बारम्बार आफूले आफैलाई गर्ने प्रश्न हो यो मेरो।
मैले यहाँ पढाइ बेकार हो, मान्छेले पढ्न हुन्न, पढेर के हुन्छ भनेर पढाइ सम्बन्धी नकारात्मक कुरा गर्न खोजिरहेको हैन। मात्र के कुरामा म आउन खोजेको हो भने आखिरी देश-विदेश कही पनि नबिक्ने त्यो शिक्षा, कही पनि माने नराख्ने त्यो डिग्री लिन किन त्यतिका वर्ष युवाहरुले बिताएका छन् भन्ने कुरामा बहस छेड्न खोजेको हुँ।
आज कुनै विश्वविद्यालयमा फारम भर्न लागेको लाइन र एयरपोर्टमा जाहज चढ्न जान लागेको लाइन उस्तै-उस्तै छ। ती विश्वविद्यालयमा लागेको लाइन पनि एक न एक दिन त्यही पासपोर्ट समाएर प्लेनको लाइनमा जानै छ। अपवादमा केही रहलान्। नत्र गन्तव्य एउटै छ, मिसन एउटै छ। अनि आखिर गैँती हान्नै जानुछ भने त्यो विश्वविद्यालयको समय किन खेर फाल्ने भन्ने कुराले सधैँ मेरो मन घोच्छ।
यदि जनतालाई काम दिन नसकेर अर्काको देश बनाउन मजदुरी गर्नै पठाउने हो भने राज्यले कम्तीमा ग्लोबल भाषा 'अङ्ग्रेजी' राम्ररी पढाइदियोस्। सम्बन्धित देशका भाषा पढाइदियोस्। उसलाई अङ्ग्रेजी भाषामा परांगत गराइदियोस् र उमेर पुगेपछि अलमल नगराई पासपोर्ट थमाइदियोस् न कि विश्वविद्यालयको डिग्री।
तिम्रा विश्वविद्यालयका डिग्रीहरु अरबका औँठाछापेहरुलाई सलाम ठोकिरहेका छन्, सडक-पेटी बढारिरहेका छन्, गैँती बेल्चा हानिरहेका छन् भने किन जनताको उर्जाशील समय खराब गरिदिन्छौ ए राज्य? बन्द गर तिम्रा विश्वविद्यालय, बन्द गर स्कुल।
वैदेशिक रोजगार कार्यालय खोलेर युवा निर्यात गर्छ राज्य। रोजगारी सृजना गर्दैन। उद्योग, कलकारखाना खोल्दैन बरु बन्द गर्दछ। दाल, चामल, तरकारी, तेल, नुन सबै आयत गर्छ, उत्पादन गर्दैन। जीवनभरि युवालाई अरब लगायत देशहरुमा दास बन्न विवश गराएर रेमिट्यान्सले देश चलाउँछ। भ्रष्टाचार गर्छ, चोर्छ। यो कहिलेसम्म? कुन दिनसम्म?
अरबका एयरपोर्टभित्र मात्र के छिर्नुस् त कोट-पाइन्टमा चिटिक्क अनुहार फिलिपिन्सको मान्छे हुन्छ। ड्युटी फ्रीमा तिनै फिलिपिन्स इन्डियन। क्याफे-रेस्टुरेन्टका काउन्टरमा तिनै। अनि नेपाली चाहिँ हातमा झाडु-पोचा लिएर खैरो डाङ्रीमा ट्वाइलेट पुस्दै, गार्बेज उठाउँदै, टेबुल पुस्दै। अलि पर गयो भने फित्तावाला सर्ट लगाएको सेक्युरिटी गार्ड।
एयरपोर्टबाटै देखिन्छ नेपालीको हैसियत। के ती सबै फिलिपिन्सले डिग्री पास गरेर त्यो काम पाएको होला त? ती इन्डियनहरुले? हैन, उनीहरु फरर अङ्ग्रेजी बोल्छन्। राम्रो अङ्ग्रेजी भाषा भकोले नै त्यो काम पाइरहेका छन् उनीहरुले।
काम ठूलो-सानू भनेर हेप्न खोजेको पनि हैन। आम मानिसहरु पैसा कमाउनकै लागि विदेशिन्छ, मोज गर्नको लागि हैन। मात्र अङ्ग्रेजी भाषा जानेको भरमा अरु देशका मानिसले नेपालीहरुमाथि शासन गरिरहेका छन्। त्यही भाषा जान्ने सुपरभाइजर छ, त्यही डिग्री होल्डर भाषा विहीन सलाम हान्दै छ, भुइ पुछ्दै छ, फलाम उचाल्दै छ। त्यही भाषा जान्ने विदेशी नेपालीको भन्दा दोब्बर/तेब्बर तलब खान्छ। अब भन्नुस्, घोकन्ते डिग्री लिने कि भाषा र प्राविधिक शिक्षा लिने?
अन्त्यमा, यदि आम युवाहरुले पासपोर्ट बनाएर विदेशकै भिसा लगाउनु पर्छ र अझै कयौँ वर्ष राज्यको यही नीति हुन्छ भने विद्यालयमा सम्बन्धित देशको भाषा पढाऊ। विश्वविद्यालयमा कोरियन, जापनिज, अङ्ग्रेजी, चाइनिज भाषा पढाऊ। औपचारिक डिग्री लिने बहानामा युवाहरुको दिमाग नभुटौँ।