बा शब्द नै आफैमा यस्तो शब्द हो, महसुस गर्दा पनि सबैथोक आफ्नै हो जस्तो लाग्ने। दु:ख होस् वा सुख, सबै बाले नै गर्छन्। जब बा साथमा हुनुहुन्छ न कसैको डर, न त्रास। निर्धक्कले अगाडि बढ्न साहस र हौसला मिल्ने मान्छे नै बा हुन्।
बालाई कहिल्यै दु:ख, गुनासो कसैसामु पोख्न आएन। कहिल्यै आफ्नो इच्छा पूरा गर्न जानेनन्। आफ्नो लागि सधैं अनपढ बने, छोराछोरीको लागि सधैँ शिक्षित र जिम्मेवारी बाबु बन्न छाडेनन्। बाको अनुहारमा कहिल्यै खुसी देख्न सकिएन तर मेरो खुसीको लागि बा ज्यानको बाजी लगाएर अगाडि बढ्न छाड्नु भएन।
सधैँ मैले सुन्ने गर्थें, समाजमा छोराछोरीलाई माया आमाले जति कसैले पनि गर्दैन। तर सत्य यति मात्र होइन रहेछ, देखाएर मात्र माया गर्छन् भन्ने कुरा गलत रहेछ। कहिले तँलाई माया गर्छु भनेर बाले भनेको सुन्नु भएको छ र?
बा जिम्मेवारीका भारी हुन्। सानो कुरामा कहिलै गुनासो गर्न जान्दैनन्। बाले आफ्नो जीवन नै मेरो लागि खेर फाल्दा त गुनासो गर्नु भएन भने मेरो लागि कति माया गर्नुहुन्छ होला?
जीवनमा जति फिल्म बनाइए, आमाका लागि बनाइए। जति गीत गाइए, त्यो पनि आमाकै लागि गाइए। जति कविता रचिए, आमाकै लागि रचिए। तर बाले कहिले गुनासो गरेनन्। बाले कमाएर घरमा चुलो बल्यो, मैले स्कुल पढ्न पाएँ, आमाले फेरी-फेरी फरिया लाउन पाइन्।
घरमा पाउन आउँदा खुसी बनाएर पठाउन सकिन्थ्यो। बाले कमाएका थिए र सबैले हाम्रो परिवारको बारेमा गुणगान गाउछन्। बाले आफ्नो लागिभन्दा अरुको लागि कमाए तर पनि बाले कहिल्यै आफ्नो लागि गुनासो गरेनन्। शनिबार र सार्वजनिक बिदा केही नभनी काम गरे तर पनि कहिल्यै आफ्नो लागि नयाँ लुगा किनेनन्।
कापी सक्यो, बा पैसा। टिफिन चाहियो, बा पैसा। घुम्न जान पर्यो, बा पैसा। बा सधैँ समस्यामा हिरो बनेर उभिए। मैले बा छट्पटाएको देखेको छु, रातभर नसुती अनिदो बसेको नि देखेको छु तर बा रोएको कहिल्यै देखेको छैन। किनकि बाले आँसु देखाउन कहिले सिकाउनु भएन।
बाले आफ्नो लगाइ-खवाई कहिले हेरेनन्। सधैँ मेरो र आमाको पिर र चिन्ता थियो। अफिस गए पनि सधैं आमाको र मेरो खबर ल्याइरहनु हुन्थ्यो। खाना नास्ताको बारेमा पनि जानकारी लिनुहुन्थ्यो। घरमा कहिलेकाहीँ अफिसको काम गरेर आउनु भयो भने आमालाई किचनको काममा सघाउनु हुन्थ्यो। मैले सोच्ने गर्थें, यिनी बुढालाई के-के काम गर्न आएको! तर मेरा बा संघर्षबाट नै यो स्थानमा आएका रहेछ्न्।
एकपटक दसैँमा बाले सबैलाई लुगा ल्याइदिनु भएको थियो। तर आफूलाई केही ल्याउनु भएको थिएन। मैले सोधेको थिएँ, 'बाबा, आफ्नो लागि चाहिँ किन केही नल्याउनु भएको?'
बाबाले हाँस्दै भन्नुभएको थियो, 'तँलाई त तेरो बाले ल्याइदिए, मेरो बा त मरे। मलाई कसले ल्याइदिने?'
यो सुन्दा मन निकै अमिलिएर आयो। यस्तो लाग्यो, मैले नयाँ लाउन पाउने त बा भएर मात्र रहेछ। बा नहुँदा त मैले नयाँ लाउन नपाउँदो रहेछु।
बा अलि कडा बोल्थे र त हामी उपद्रो नगरी बस्थ्यौँ। बाले गाली गर्थे र त हामी बा घर आउनसाथ पढ्न बस्थेउँ। बा नै नभएकोहरुको घरमा देखेको छु दुःख के हो। हाम्रा त बा छन्, बाले गरिहाल्छन्। कति सजिलो गरी भनिदिन्छौँ।
बालाई एकदिन मैले हाँस्दै सोधेँ, 'हजुरको खुसी के हो?' भनेर।
बा हाँस्दै भनुहुन्थ्यो, 'मेरो खुसी तँ र तेरो आमा हो। तिमीहरु खुसी भए म खुसी, तिमीहरु दुखी भए म पनि दुखी।'
'किन यस्तो भनुहुन्छ बा?' भन्दा बा मनिलो अनुहार बनाउँदै भन्नुहुन्छ, 'तिमीहरू मेरो जीवनका महत्त्वपूर्ण मान्छे हौ बाबु।'
बा घरको मात्र होइन, जीवनको पनि हिरो हुन्। बा परिवारको दियो र उर्जाको शक्तिका स्रोत पनि हुन्।