विसं २०६३ चैत्र महिनाको ३० गते वर्षको अन्तिम दिन, सन्ध्याकालीन समय। म घरबाट सूर्यचोक तिर निस्कन तर्खर गर्दै थिएँ। यो चोक भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा पर्दछ। आमाले रोक्न खोज्नु भयो। हुनेवाला आमा पनि मलाई रोक्न खोज्दै थिइन्। म रोक्किइनँ।
उहाँहरुले रोक्न खोज्नु नाजायज थिएन। देशमा दश वर्षे जनयुद्ध जारी थियो। त्यसैको बलमा देशमा लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनको आगो बलेको थियो। अर्थात देशमा विसं २०६२/६३ को लोकतान्त्रिक आन्दोलन जारी थियो।
भरतपुरको बाइपास रोडमा नेपाल परिवार नियोजन संघको भवन छ। त्यसैको पछाडि हाम्रो बसाइ थियो। हाम्रो घर अगाडिको नेपाल परिवार नियोजन संघको सोही भवन खाली गरेर राज्यले युनिफाइड कमान्डको ब्यारेक र सुरक्षा जाँच स्थल राखेको थियो। चौबीसै घण्टा एसएमजी, एलएमजी र स्ट्यान्ड गनजस्ता राइफलहरु हाम्रै घरतिर सोझाएर बुलेट प्रुफ ज्याकेट र टोपी लगाएका सुरक्षाकर्मीहरु कडा पहरा दिन्थे।
घर जाँदा पनि काँडेतार नाग्दै जानु पर्ने अवस्था मौजुद थियो। साँझ-बिहान घर भित्र-बाहिर गर्दा पनि शंकास्पद गतिविधि हुन सक्थ्यो। सुरक्षाकर्मीलाई हाँछ्यू आयो भने पनि राइफलको ट्रीगर अँठिएर गोली खानुपर्ने हो कि भन्ने त्रासमा हामीहरु बाँचिरहेका थियौँ। हाम्रा सुरक्षाकर्मीहरुलाई हाँछ्यू-काँसो केही नलागोस, हामीहरु कामना गरिरहन्थ्यौँ।
टोलको एक घरमा क्याम्पबाट कोसेली स्वरुप आएको गोलीले मानवीय क्षति नभएको अनुभव थियो, हामीसँग। केही समय पहिले बाइपास रोडको हुलाक चोकमा माओवादी छापामारहरुको आक्रमणमा परी त्यहाँ कार्यरत जवानहरु मारिएपछि हाम्रो दैनिकी अलि कठिन भएको थियो।
युनिफाइड कमान्डको ब्यारेकमा कार्यरत सेनाका एक जमदार र सशस्त्र प्रहरीका एक हवल्दार हामीप्रति अलि नरम थिए। सायद उनीहरुका परिवार हाम्रै टोलमा आश्रय लिएर बसेकोले पनि होला। अन्य सुरक्षाकर्मीहरु पनि हामीसँग त्यति उग्र थिएनन्। तैपनि हाम्रो दैनिकी कठिन थियो। जिन्दगी भारत-पाकिस्तानको सीमामा बस्ने कश्मीरीहरुको जस्तो थियो।
रातभरको कर्फ्युको बीच धर्ती हल्लाउँदै सडकमा सेनाका बख्त्तरबन्द गाडीहरु कुद्न थालेपछि सुत्न को सक्थ्यो र? बाटै पारिको क्याम्प भित्रको गतिविधि अस्वभाविक लाग्थे। हाई अलर्टमा बसेका जवानहरुले गोली र म्याग्जिन लोड गरेको आवाज घर भित्रसम्म आइपुग्थ्यो। फोन र वाक्की-टक्कीमा बोलेको घोइरो-घोइरो ध्वनि काना पर्थ्यो।
ती सुरक्षाकर्मीहरुको मुहारमा कान्ति कहिल्यै देख्न पाइएन। क्याम्प खाली गरेर ब्यारेक हिँड्दा ती फौजीहरुमा प्रकट भएको उत्साह, उमंग र फूर्ति दुर्लभ थियो। जाने बेला हात मिलाउन आइपुगेका केही जुनियर अधिकृतहरुको भावभङ्गिना त गज्जबको थियो।
भरतपुर बाइपास रोड निस्केर भित्री बाटो हुँदै म सूर्यचोक पुगेँ। साथी सन्तोष पौडेल (हाल अमेरिका) र सुरेश पौडेलसँग भेट भइयो। हामी तीन भाइ कुरो गर्दै थियौँ, मालपोत चोक तिर घन्केको नाराले आकाश र नरलोक गुन्जायमान भयो। हामी पनि ग्रीनल्यान्ड स्कुलको बाटो हुँदै पोखरीटोलको बाटो भएर हुलाक चोक पुग्यौं। साथी सुरेश बीचैमा छुटे।
मालपोत चोक तिर हिँड्दै गर्दा त्यहाँ भएका आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भयो। लाठीचार्ज गरियो र आन्दोलनकारीलाई खेद्न सुरु गरियो। भाग्दै गरेको एक समूहसँगै हामी पनि नारायणी फर्निचरको आडैको बाटो तिर भागियो। हामीलाई खेद्न प्रहरीहरु आइरहेको देख्यौँ। हामी भने बारी नै बारी कुदेर पारिजात टोलको जागृति चोक जाने बाटो तिर पुग्यौं। मालपोत चोकमा फेरि झडप भएछ। सुरक्षाकर्मीहरुले हावामा गोली हाने। अश्रुग्यास फाले। लाठीचार्ज गरे। आन्दोलनकारीहरुमाथि दमनको प्रयास गरे।
हामी पुगेको टोलका प्रायः घर, गेट, झ्याल र सटरहरु बन्द थिए। घरका आँगन र बार्दली समेत खाली थिए। मान्छेहरु झ्याल-झ्यालबाट बाहिर चियाउँदै रमिते भएका थिए। बाटोमा आन्दोलनकारीहरुको एक दस्ता थियो। त्यसैबीच करिब २०० मिटर पर रहेको जिल्ला मालपोत कार्यालय चितवनको छतमा सेन्ट्रीमा बसेका सुरक्षाकर्मीले हावामा चलाएको गोली हामीहरु उभिएको चोकैमा रहेको एक घरको पहिलो तलामा लाग्यो।
गोली आँटी (तलो) को कोखे झ्यालको काँचलाई ध्वस्त पार्दै कोठाभित्र पस्यो। गोलीको शक्तिशाली एउटा छर्रा एक महिलाको छातीमा लाग्यो र उनी भुइँमा ढलिन्। उनीसँगै उनैको घरमा डेरा गरी बस्ने लमजुङ घर भएका अरु दुइटी नानीहरु पनि घाइते हुन पुगे, छर्रा लागेर। गोली लागेर ढल्ने ती महिला हुन्- तुलसी क्षेत्री। ती नानीहरु मध्ये एउटीको पाखुरा र अर्कीको छातीमै छर्रा लागेको थियो।
गोली प्रहारपछि स्थानीय वातावरण तनावग्रस्त बन्यो। मानिसहरुले नाराबाजी गरे। घाइतेहरुलाई अस्पताल लैजाने प्रबन्ध सुरु भयो। नजिकैको एउटा घरमा सेन्ट्रो गाडी पार्किङमा थियो। गाडी धनी एवं चालकको धुइँपुत्तल लाएर खोजी भयो। फेला परेनन्। तेल सकिएको भन्ने खबर पो आयो। उत्तेजित जनमानसले विश्वास गरेन, गाडी कुच्याएरै छोड्यो।
बल्लतल्ल एउटा एम्बुलेन्स आयो। घाइते तिनै जनालाई एम्बुलेन्समा राखियो। तुलसी क्षेत्रीको अवस्था अत्यन्त नाजुक थियो। छातीबाट तीव्र रक्तश्राव भैरहेको थियो। अन्य दुई नानीहरु पनि धेरै आत्तिएका थिए। उहाँहरुलाई एम्बुलेन्समा राख्ने क्रममा मेरो हात र टिशर्ट रगतले भिजेको थियो।
भोलिपल्ट वैशाख १ गते बिहानै अस्पतालबाट दु:खद् खबर आयो- तुलसी क्षेत्रीको उपचारको क्रममा निधन। रेडियो र टेलिभिजनले फुके, अखबरहरुले छापे- चितवनकी पहिलो सहिद , लोकतान्त्रिक आन्दोलन २०६२/६३ मा साहदत प्राप्त गर्ने एक महान् महिला: तुलसी क्षेत्री।
त्यस आन्दोलनकी एकमात्र महिला सहिद। घरै बसेर यसरी सहादत प्राप्त गरेको पहिलो चोटि देखेँ। यो लोकतान्त्रिक एवम् क्रान्तिकारी आन्दोलनको क्रममा देशको विभिन्न भागमा गरी अन्य २४ जनाले देश र जनताको लागि जीवनको आहुती दिए। क्रान्ति र आन्दोलनको रणभूमिमै गोली र लाठी खाएर वीरगति प्राप्त गरे। उता घाइते दुई लमजुङे नानीहरुलाइ थप उपचारका लागि भोलिपल्टै काठमाडौँ पठाइएछ। अनि सहिद तुलसीको सम्मानमा उनको टोललाई तुलसी टोल र घर आडैको चोक र बाटो तुलसी चोक तथा तुलसी मार्ग बने।
भोलिपल्ट सहिद तुलसी क्षेत्रीको शवयात्रा निकालियो भरतपुर र नारायणगढमा। हजारौं सहभागी भए। उनका छरछिमेकी, इष्टमित्र र सबै राजनैतिक दलका नेता कार्यकर्ताहरुको उपस्थिति देखियो। भावपूर्ण अन्तिम श्रद्धाञ्जली दिइयो। अनि लोक तरङ्गित भयो, एक स्वरमा मुठ्ठी उचालेर भन्यो-
वीर सहिद तुलसी क्षेत्री!
अमर रहून्! अमर रहून्!
धर्तीमा अमर रहेकी तुलसी क्षेत्री भने कहीँ कतै जहाँ भए पनि दंग परेर मुस्काइरहेकी होलिन्।