'कति पढ्यौ ?'
-ब्याचलर सकाएँ।
'कुन फिल्डमा ?'
-बि.एस्सी.
'अनि मास्टर्स ?'
- एउटामा सकिन लाग्यो, एम एस्सी चाहिँ अब गर्ने।
'अचेल के गर्दैछौ त ?'
- स्कुलमा जब छ।
'ए ! पढाउने पो ?'
- हजुर।
'हेर भाइ, तिमीजस्तो मान्छे यसरी पढाएर अल्झिनु हुन्छ ? बरू लोक सेवा तयारी गर। खरिदारमै नाम निकाले पनि भैगयो नि।'
- हैन टिचिङ नै हेरौं कि भनेर!
'बरू एब्रोड ट्राइ गर न'
-विदेश जाने रहर छैन सर।
'ल यो त बिग्रने मेसो हो भाइ। हिजो हामीलाई त बाटो देखाउने कोही नभएर अहिले यी मास्टर भएर बस्नुपर्या छ। बेलैमा सुर गर्नुपर्छ भाइ, टिचिङमा कहाँ भविष्य छ ? हेर भाइ मैले भनेको मान्छौ भने अरू जेसुकै बन तर शिक्षक होइन।'
गाउँ जाँदै गर्दा नजिकैको विद्यालयमा करिब २० वर्षदेखि पढाइरहेका एक जना सरसँग भेट भएपछि उहाँसँग भएको कुराकानीको सानो अंश हो यो।
कुराकानी एकदम सामान्य भए पनि आफैंलाई पढाएका गुरूले दिएको यस प्रकारको सुझावले मेरो मथिंगल राम्रैसँग हल्लाइदिएको थियो। बेलुका घर पुगेर सुत्नेबेलासम्म पनि फ्रेस हुन सकिइरहेको थिइनँ। त्यो रात म रातभर निदाउनै सकिनँ। मनभरि अनेक कुराहरू खेलिरहे।
एसएलसीमा राम्रै अंक ल्याएर पास गरेपछि विज्ञान विषय पढ्न भनेर सहर झरेको दिन सर्लक्क सम्झें।
बिदामा पहिलोपटक गाउँ फर्कने बेलामा उनै सर भेटिएका थिए। त्यो बेला राम्रोसँग पढ्नुपर्छ बाबु। जहाँसुकै फिट हुनसक्ने असल मान्छे बन्नुपर्छ।
गाउँको लागि केही गर्नुपर्छ भनेर उत्साह थपिदिएको पनि सम्झें। फर्कने बेलामा आफ्नो बाइकको पछाडि राखेर बससम्म पुर्याइदिएपछि 'ल भाइ राम्रो गर्नू। बा-आमाको मेहनत खेर नफाल्नू भन्दै सम्झाएको पनि सम्झें।
अनि आज दिउँसो मास्टर बनेर गल्ती गर्दैछौ भाइ भनेर हप्काएको पनि सम्झें।
हुन त यो मेरा लागि पहिलोपटक चाहिँ होइन। यस्ता घटनाबाट पटक-पटक गुज्रिएको भएकाले पनि मैले शिक्षण पेशाप्रति आममानिसको धारणा कस्तो छ भन्ने अड्कल लगाइसकेको थिएँ तर यस्तो धारणाको विकास किन भएको छ भन्ने कुराको चाहिँ छेउपनि मेसो पाएको थिइनँ।
शिक्षण आफैंमा एक सम्मानित र मर्यादित पेशा हो।
हिजो बच्चा बेलामा आफूलाई पढाएका केही गुरूलाई जिन्दगीको 'रोल मोडल' मानेर हिँडेका मजस्ता कैयौं विद्यार्थीहरू शिक्षक बन्ने सपना त देख्छन् तर आफूलाई असल शिक्षकको रूपमा स्थापित गराउनु अघि नै पलायन हुन्छन्।
शिक्षण पेशाप्रति राज्यले गरेको व्यवहारलाई मात्र कारण बनाएर सिंगो पेशाप्रति यसरी वितृष्णा फैलने गरी हल्ला फिँजाइएको छ कि यहाँ हरेक अभिभावक आफ्ना छोराछोरी पढाउने असल शिक्षकको खोजीमा त हुन्छन् तर कुनै पनि अभिभावक आफ्ना छोराछोरी असल शिक्षक होऊन् भन्ने चाहँदैनन्।
हुन त शिक्षण पेशाप्रति गौरव गर्ने, शिक्षण पेशालाई नै आफ्नो इज्जत, मान र शान सम्झने र दत्तचित्त भएर शैक्षिक सुधारमा लाग्ने कैयौं शिक्षकहरू हुनुहुन्छ तर पनि केही शिक्षकभित्रकै शिक्षकहरू जोसँग शिक्षण सीपबाहेक अरू केही छैन, जसले आफ्नो जिन्दगीमा शिक्षणबाहेक अरू केही सोचेकै छैन, उहीँ भन्दै हिँडिरहेको हुन्छ कि 'मलाई यो फिल्डमा केही रूचि छैन। म यो फिल्डमा धेरै बस्दा पनि बस्दिनँ।'
अझै कोही कोही त नाक फुलाउँदै यतिसम्म भनिदिन्छन् कि 'यो फिल्ड मेरो लागि हुँदै होइन। टिचर बनेर नि कोही बस्छ ? तैट्!'
यस्ता गैरजिम्मेवार अभिव्यक्तिले शिक्षणमा नवपुस्ताको आकर्षण घटाउँदै लगेको देख्न सकिन्छ।
आफ्नो पेशाप्रति आफैंले गौरव गर्न नसक्ने र आत्मसन्तुष्टि र जिम्मेवारीबोध नगर्नेहरू नै शिक्षकहरूलाई राज्यको माथिल्लो तहबाटै फरक दर्जमा राखियो, भेदभाव भयो भन्दै कराउँदै गरेको पाइन्छ।
हक अधिकारका लागि संघर्ष गर्नुको साटो पेशाप्रति गौरव गर्ने वातावरण धमिल्याउने संस्कारको विकास हुँदै गएको देख्न सकिन्छ। जसले गर्दा पछिल्लो पुस्तामा झन् झन् शिक्षण पेशाप्रतिको दृष्टिकोण नकारात्मक बन्दै जानु र यस पेशाप्रति वितृष्णा बढ्दै जानुले देशको शैक्षिक भविष्य अन्धकारतर्फ धकेलिने खतरा पो बढेको हो कि?यो प्रश्न चिह्न खडा भएको छ।
यसतर्फ कसले सोच्ने ? कहिले सोच्ने ?