क्यामिन झर्न ठुलढुंगाबाट ओरालो झर्दै थियौं। एकजना वृद्ध महिलाले बोरामा भारी बोकेर ओरालो झर्दै गरेको भेटियो। साँझ पर्न थालिसकेको समयमा गरुङ्गो भारी बोकेर आराम गर्नुपर्ने उमेरकी एक्ली महिला भेटिएपछि केही कुराकानी गर्ने मन भयो।
'आमा के लिएर हिँड्नु भयो?'
'भैँसी र भाख्रालाई कुँडो बनाउन मिलबाट मकै पिँधेर ल्याएकी हुँ।'
'किन यति ढिला गर्नुभयो त?'
'दिनभर लाइन आएन, भर्खर लाइन आएर पिसाउँदा ढिला भयो।'
'घरमा को-को हुनुहुन्छ र?'
'बुढा र ममात्र हो।'
'छोराछोरी छैनन् र?'
'छन्, उनीहरु बाहिर-बाहिर छन्।'
'कता छन्? के गर्दैछन्?'
'दुई छोरा साउदी र मलेसिया छन्। छोरीहरु विवाह गरेर घर गए।'
'छोराहरुको बिहे गरिदिनु भएको छैन?'
'दुवैको बिहे गरेको छ, नातिनातिना पनि छन्।'
'बुहारीहरु, नाती-नातिना आएनन् त मकै पिध्न?'
'जहिले छोराहरुको भिसा लागेर विदेश उडे, बुहारीहरु नातिनातिना लिएर बोर्डिङ पढाउन भनेर सहर झरे।'
'बुहारीहरुले के गर्छन्?'
'स्कुल पढ्नेलाई खाना पकाउने खुवाउने अनि बस्ने हो अरु के काम हुनु।'
'बाको उमेर कति भयो?'
'७५ वर्षका भए बुढा।'
'अनि तपाईं नि?'
'अझै एक वर्ष छ वृद्धभत्ता पाउन।'
अहिले गाउँ घरमा प्रायः यस्तै देखिन्छ। ८/९ मा पढ्ने विद्यार्थीले समेत १८ वर्ष भए पछि नागरिकता र पासपोर्ट बन्दछ,पासपोर्ट बनेपछि विदेश जाने हो, किन पढाइमा मेहनत गर्नु पर्यो भनेको सुनिन्छ। युवाहरु विगतदेखि बाबुबाजेले गर्दै आएको खेतीपाती तथा उत्पादन हुने काम छाडेर साउदी, कुवेत, कतार, मलेसिया पुगे।
हुर्कंदै गरेका युवाहरु पनि पैसा कमाउन र रमाइलो गर्न उतै जाने सोच बनाउँदैछन्। धेरै जाँगर हुने, श्रम गर्न सक्ने उमेरका युवायुवतीहरु सहरमा पुगेर टिकटक चलाएर, गफ गरेर दिन बिताइरहेका छन्। यसै कारणले परिवार बिखण्डन हुने मात्र होइन सामाजिक विकृति समेत भित्रिएका छन्।
भन्न त विदेश गएका युवाले सोचाइ फराकिलो पार्छन्, सीप सिकेर आउँछन् अनि देशमा फर्केर उत्पादन हुने काममा लाग्छन् भनेको पनि सुनिन्छ। एकाद विदेशबाट फर्केका युवाले आफ्नो ठाउँमा गरेका उत्पादनमूलक राम्रा कार्यलाई उदाहरण समेत दिने गरिन्छ। विदेश गएका युवाले केही कमाएर त ल्याएका छन्, घरखर्च पनि चालाएका छन्, छोराछोरीलाई पढाउनु पर्दछ अन्यथा जीवन सञ्चालन गर्न कठिन हुन्छ भन्ने सोच विकास गरेका छन्।
उत्पादनको सीमित कार्यमा, चौकिदारमा तथा फ्याक्ट्रीको तोकिएको काममा यान्त्रवत काम गरेर उमेर ढल्केसँगै फर्केका युवाले गाउँघरमा उद्यम गर्न, सिर्जनात्मक कार्य गर्न, उत्पादनमुखी कार्यलाई रोजगार बनाउन, खेतबारीमा श्रम गरेर परम्परागत व्यवसायलाई परिस्कृत गर्न सक्लान् भन्ने कुरा विश्वास गर्न सकिने कुरा हैन।
हरेक कुरा सहर बजार केन्द्रित भएर सोचिन्छ। विदेशी पुस्तक र अध्ययन प्रतिवेदनमा लेखिएका विकासका मोडलहरुलाई महत्व दिइन्छ। विदेशी विश्वविद्यालयमा उच्च शिक्षा लिन सफल व्यक्तिहरुको योजना बनाउने कार्यमा बाहुल्यता रहेको छ। हरेक गाउँ, डाँडापाखा र समथर भागको धरातलीय स्वरुप फरक छ। हरेक समुदायको आफ्नै विशेषता छन्।
गर्दै आएका परम्परागत पेसाहरु फरक छन्। पेसा व्यवसाय, रोजगारी र आर्थिक उत्पादनको सम्भावना फरक-फरक छन्। नजिकैको उत्तर फर्केको पाखोमा सुन्तला राम्रो उत्पादन हुन्छ भने दक्षिण फर्केको पाखोमा अदुवा, गोलभेडा, भुइँकटहरजस्ता नगदेबाली राम्रो हुने सम्भवाना हुन्छ।
केही उदाधरण हेरौँ। तनहुँको शुक्लागण्डकी नगरपालिकाको ११ नम्वर वडा तथा साविकको राइपुरको वाडा नम्बर २ पाल्पालीछाप नाम्सीकोट गाउँमा झण्डै ६० परिवार बस्दछन्। त्यहाँको उत्तर फर्केको पाखोमा उत्पादन भएको सुन्तलाले गाउँलेहरुको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। जमिन बाँझो राखेर रोजगारीको लागि सहर पसेकाहरु पुनः गाउँमा फर्केर सुन्तला खेतीमा लागेका छन्।
गाउँमा सबैभन्दा बढी सुन्तलाका बोट हुने परिवारको दुई हजार र कम हुनेको पनि एक/डेड सय बोट रहेका छन्। विगतमा तिनै बारीहरुमा कोदो, मकैजस्ता अन्नबाली मात्र हुन्थ्यो। ती बालीले आफैलाई खान ठिक्क हुने, कसैको छ महिना पनि खान नपुग्ने अवस्था थियो। बारी नहुनेको कमाइ हुने कुरै भएन। गाउँमा ज्यालादारी पाउन समेत मुस्किल थियो। सुन्तला किसान भिमबहादुर महतको भनाइअनुसार सुन्तला खेतीले सबैभन्दा बढी कमाउने परिवारले वार्षिक ६० लाख कमाएका छन् भने पाँच/सात लाख कमाउने पन्ध्र/बीस परिवार र दुई/चार लाख कमाउने झण्डै आधा-आधी घरधुरी रहेका छन्।
जमिन हुने सबै गाउँले किसानहरु हुर्केका सुन्तलाका बोटबाट आम्दानी लिने मात्र होइन, नयाँ बिरुवा रोप्ने क्रममा पनि छन्। भिमबहादुरले रोपेका दुई हजार बोट मध्ये पाँच/सात सयले मात्र उत्पादन दिन सुरु गरेका छन् र अन्य बोटहरु हुर्कने क्रममा छन्। नयाँ बोटले फल दिन अझै दुई/तीन वर्ष लाग्छ। कलमी गरेर उत्पादन गरेका बोट लगाएकै वर्ष पनि फल्छन् तर फल धान्न नसक्ने र बोट बढ्न नपाउने हुनाले किसानले पहिलो/दोस्रो वर्ष बिरुवामा फल बढ्न दिँदैनन्। गाउँमा सुन्तलाका बिरुवाहरु हुर्कंदै छन्। लटरम्म फलेका सुन्तलाले गाउँ सुन्दर देखिन्छ।
सुन्तला खेतीले गर्दा गाउँमा जमिन नहुने तथा बिरुवा नरोपेकाले पनि गाउँमै काम पाएका छन्। तीन महिना नियमित काम हुन्छ। बोट, बिरुवामा मल हाल्ने, गोडमेल गर्ने, काँटछाँट गर्ने, फल टिप्ने कामहरु गर्न श्रमिक चाहिन्छ। श्रमिकले दिनको पाँच सयका दरले ज्याला पाउँछन्। आफ्नो जमिन नभएका परिवारको वयस्क व्यक्तिले तीस चालिस हजारसम्म कमाउन सक्दछ। यो रकमले पनि सामान्य नुनतेल, परिवारलाई एकसरो कपडा र बालबालिकालाई कपि-कलम किन्न पुग्छ।
गाउँ, डाँडापाखामा काम गर्दै सिकेका, गाउँघरमा काम गर्न रमाउने केही विज्ञहरुको सहयोग, सामान्य तालिम, बिरुवा किन्न, सिँचाइ, आवश्यक सामन्य उपकरणमा दिइएको थोरै अनुदाले गर्दा किसानहरु सरकारसँग पनि खुसी देखिन्छन्। बजारमा स्वादिष्ट मानिने स्तरीय सुन्तला किसानले प्रति केजी पुस महिनामा ५० रुपैयाँ र फागुन लागेपछि ७० रुपायाँ प्राप्त गर्दछन् भने बजारमा उपभोक्ताले प्रति केजी एक सय २० देखि एक सय ५० सम्म तिर्नुपर्ने हुन्छ।
उत्पादक र उपभोक्ताको मूल्यमा हुने यति ठूलो भिन्नतालाई कम गर्न सरकारले आवश्यक सहयोग गर्ने हो भने बीचमा रहने व्यापारीले मेहनत नगरी पाउने सुन्तलाको मूल्य किसानलाई नै राहत हुने थियो।
यस्तै तनहुँकै अर्को गाउँ निकै कम उत्पादन हुने कोदो, मकैजस्ता परम्परागत बालीले वर्षदिन हातमुख जोर्न र एकांग लगाउन मुस्किल पर्ने नामुङ्ग गाउँका किसानले परम्परागत रुपमा पालिँदै आएका बाख्राको संख्या बढाउँदा र व्यवसायिक रुप दिँदा प्राप्त गरेको उपलब्धि पनि उदाहरणीय छ।
मगर समुदाय मात्र रहेको यस गाउँका चित्रबहादुर थापाले विगतमा आठ/दश वटा मात्र बाख्रा पाल्ने गरेकोमा सुरुमा खोर बढाएर तीस चालिस पुर्याए। चरनको समस्या थिएन। प्रयाप्त पाखाहरु छँदै थिए। बजारको समस्या पनि भएन, गाउँमै बाख्रा खोज्ने मान्छे आउने, जिपमा पोखरा पुर्याउन सके उत्तिखेरै र सजिलै बाख्रा बिक्री हुने हुनाले आम्दानी राम्रो भयो।
त्यो देखेर अन्य परिवारले पनि खोरको आकार बढाइ बाख्राको संख्या बढाए। अहिले चित्र बहादुरले ५०/६० बाख्रा अटाउने खोरको अलवा दुई सय बाख्रा पाल्न मिल्ने नयाँ खोर बनाउँदै छन् भने अन्य गाउँलेले पनि बख्रा संख्या बढाउँदै छन्। बाख्राले गर्दा अहिले बढी कमाउने परिवारले चार लाख कमाउँछन् भने कम कमाउनेले पनि डेड/दुई लाख त सजिलै कमाउन सक्दछन्।
बाख्रा बिक्री गरेर दसैँको बेलामा गाउँमा राम्रो रकम साथै खुसी भित्रिन्छ। चित्रबहादुर र गाउँले मिलेर बोयर जातको बोका पनि ल्याए। उनका अनुसार बोयरबाट जन्मेका बोका-पाठाहरु निकै लाटा हुने, पटक-पटक पखला लाग्ने हुन्छ। स्थानीय जातलाई रोगले त्यस्तो समस्या छैन। गाउँलेहरुलाई हातमुख जोर्ने समस्या टरेको मात्र होइन लत्ता-कपडा, बालबालिकालई स्कुल र क्याम्पस पढाउन समेत समस्या छैन।
साउदी, कुवेत, कतारमा न्यूनतम मासिक पारिश्रमिक १२०० रियाल हो। कम्पनीले सम्झौता गर्दा १२०० मा गरे पनि कति युवाले बाध्यताले अनौपचारिक सम्झौता गरेर मासिक १००० रियालमा पनि काम गरेका छन्। १२०० रियालको नेपाली रुपयाँ तीस, बत्तीस हजार हो। साउदी, कुवेत तथा कतार जानको लागि गरेको लगानी र त्यसको ब्याज त छँदै छ।
यदि युवाहरुलाई गाउँमै बस्ने र परम्परागत व्यवसाय उद्यमलाई व्यवसायिक रुपमा अपनाउने वातावरण मिलाउने, उत्प्रेरित गर्ने र सीप सिकाउने हो भने अरबको खाडीमा पुगेर कमाउनेभन्दा धेरै कमाउन सक्ने मात्र होइन, उद्यमशीलता र आत्मविश्वास समेत विकास गर्न सम्भव हुन्छ।
हाम्रो विद्यालय तहको मात्र होइन, विश्वविद्यालयको शिक्षाले श्रम गर्न र आफ्ना गाउँ-ठाउँमा भएका सम्भावनाको खोजी गर्ने कार्य सिकाउन सकेको छैन। बरु परम्परागत उत्पादनमुखी पेसा, रोजगारी तथा कामबाट बाहिर निकालिदिएको छ। विद्यालय तहको शिक्षाले आफ्ना ठाउँका परम्परागत पेसा-व्यवसाय, सीप सिकाउँदैन।
परम्परागत पेसा व्यवसायमा भएका सकारात्मक पक्ष के हुन्? त्यलाई कसरी थप उत्पादनमुखी र व्यवसायिक बनाउन सकिन्छ? हाम्रो समुदाय कस्तो अवस्थामा छ? के गर्दा वास्तविक सशक्तिकरण हुन्छ? खोजी, अध्ययन अनुसन्धन हुँदैन। खोजिन्छ केवल विदेशीले लेखिदिएका पुस्तकमा के छ? उनीहरुको अध्ययनले के भन्छ? विदेशीले के गरे? विदेशमा के गरिन्छ आदि।
रटाइन्छ जीवनभर दैनिक व्यवहार, व्यवसायमा प्रायेग नहुने, उत्पादनमा सहयोग नगर्ने सूत्र र समिकरणहरु। साक्षरताका सीप बाहेक विद्यालयमा पढेका कुरा व्यवहारमा लागु हुँदैन। बरु विद्यार्थीले सहर बजारमा सुकिलो-मुकिलो लागाएको, चिया पसलमा गफ गरेको र रेस्टुराहरुमा रमाइलो गरेको देख्दछ। आफ्लाई कमजोर ठान्दछ।
विद्यालय शिक्षाले बालबालिकामा बाबुआमाबाट प्राप्त गरेका पेसागत सीपलाई बिर्साउँछ, बाबुआमाको पेसाप्रति हिनताबोध गराउँछ। अनि सजिलै पैसा कमाउन विदेशमा सकिन्छ होला भनेर ठानेर साउदी, कुवेत र मलेसिया हानिन्छ। विदेशमा श्रम गर्न जाने युवाहरुलाई पनि ती देशहरुमा के सीप बेच्न सक्दछन्? कस्तो काम पाउन सके कम जोखिमपूर्ण हुन्छ? के-कस्ता कामबाट पारिश्रमिक बढी पाइन्छ? विदेश जाँदा के-के कुरामा सचेत हुनु पर्दछ भनेर पनि सिक्ने मौका पाउँदैनन्। अनि कसरी हुन्छ विकास?
साँच्चै विकास गर्ने हो भने गाउँ-ठाउँ, पाखापखेराहरुमा उत्पादनका सम्भावना खोजिनु पर्दछ, समाजको अवस्थाको अध्ययन अनुसन्धन गरिनु पर्दछ। परम्परागत पेसाका सवल पक्षहरुलाई थप मजबुत पार्न, व्यवसायिक रुप दिन र कमाजोर पक्ष हटाउन प्रयत्न गरिनु पर्दछ। विकास गफले हैन, साना-साना कामबाट थालनी गरिनु पर्दछ।