सधैंजसो आज पनि म फेसबुकको भित्ता पल्टाउँदैछु।
विगतका दिनहरूभन्दा फेसबुकको भित्ता आजभोलि निकै फरक देख्दैछु। रातो अविर, खादा र फूलमालाले थाम्न नसक्ने गरी घाँटी भरिएका फोटोहरू निकै धेरै देखिँदैछन्।
म बस्ने ठाउँमा सुनसान छ। गाउँघरतिर पनि निकै सुनसान छ रे। तर खै किन हो यो फेसबुकको भित्तामा मात्र राजनीतिक होडबाजीको चहलपहल निकै चलिरहेको छ। मलाई लाग्छ यो चहलपहललाई नियालेर हेर्दा कतै चुनाव नजिक आउन अब धेरै दिन बाँकी छैन भन्ने संकेत त होइन!
अँ साँच्चै नि हाम्रो गाउँको नेता दाइले आजभोलि चिनेजाने जतिका मजस्ता सबै सर्वसाधारणहरूको जन्मदिन पनि फेसबुकको पानामा शुभकामना दिँदै पोष्ट्याइरहेका छन्।
यता खाडी मुलुक परदेशबाट काका छोराको लाश आउँदा पनि माननीय ज्यूले मैले पोष्ट गरेको फोटो डाउनलोड गरेर ‘स्याड इमोजी’ सहित फेसबुकमै श्रद्धाञ्जली दिएका हुन्।
गाउँमा कोही सिकिस्त बिरामी हुँदा पनि फेसबुकमा फोटो पोष्ट गरी शिघ्र स्वास्थ्य लाभको कामना भन्ने गरेकै छन्।
केही दिन अगाडि ठूलो बुवा बिरामी हुँदा त उहाँ अस्पतालमै पुग्नुभयो तर उहाँले आर्थिक सहयोग गर्न सक्नुभएन, न त हौसलाको पात्र नै बन्न सक्नुभयो तर उहाँले एउटा काम चाहिँ नछुटाएर गरेका हुन् त्यो काम थियो, बिरामी परेका ठूलो बुवाको इमर्जेन्सी कोठामा गई आइफोन झिकेर एउटा सेल्फी लिएका हुन्।
सेल्फी लिएको दुई मिनेट नबित्दै शीघ्र स्वास्थ्य लाभको कामनासहित फेसबुकको भित्तामा ठूलो बुवाको फोटो भाइरल रे! बिरामी ठूलो बुवासँग फोटो खिच्दा र फेसबुकमा फोटो पोस्ट्याएको देख्दा ठूली आमा मक्खै परिन् र भनिन् ठूला बडा नेताजस्ता मानिस भएर पनि बिरामी मान्छेसँग अस्पतालमै आई फोटो खिचेर गए कति राम्रा मान्छे अबको चुनावमा त बुढा हामीले यिनलाई नै भोट दिनुपर्छ।
यतिमात्र कहाँ हो र मंसिर महिनामा धेरैजसोको बिहे हुँदा महाधिवेशनको अस्तव्यस्ततामा पनि माननीय नेताज्यूहरूले फेसबुककै भित्तामा भए पनि दाम्पत्य जीवनको शुभकामना दिएकै हुन्।
कतिपय विकास निर्माणका कार्य नभएको ठाउँमा गएर ती भत्केका सडक, खानेपानीका धाराहरू, विद्यालय भवनहरूजस्ता विकास गर्नुपर्ने मुख्य-मुख्य सार्वजनिक स्थलमा गएर हाम प्रयास गरिरहेका छौं भनेर फेसबुकबाट फोटो पोष्ट्याई हाम्रा समस्याहरूलाई संघसम्म पुर्याउने काम गरेकै हुन् तर सम्बन्धित सरकारलाई फेसबुक चलाउने फुर्सद भएन होला! त्यसैले माननीयज्यूले फेसबुक पोष्टमा प्रस्तुत गरेका हाम्रा समस्याहरू समाधान हुन सकेनन्।
विद्यालयको उन्नति र विकासका लागि हो भनम् अथवा शैक्षिक क्षेत्रको सुधारको लागि हो विद्यालयहरूमा गएर ठूलै भोजभतेर र जमघट गरेकै हुन्।
सायद शिक्षा क्षेत्रमै सुधार गर्नको लागि होला मैले बुझ्न नसकेको कुरा चाहिँ विद्यालयमा अध्ययन गराउने कतिपय शिक्षकहरूलाई माननीयज्यूले महाधिवेशनमा पनि भोज खुवाउँदै शैक्षिक तालिम दिएका पो हुन कि ?
तल्लो घरका काकाकाकी पनि घरमा लैनो भैंसी छोडेर महाधिवेशनको शोभा बढाउन चितवनतिर जानुभएको थियो। काकी एकहाते लैनो भैंसी छोडेर किन महाधिवेशनतिर जानुभएको? भनेर प्रश्न गर्दा नानी ससुराबाको पालादेखि हामी एमालेलाई मानेर आएका अनि तिम्रो काकालाई नजाऊँ भन्दा मान्नुभएन अनि अहिले म चितवन नगएको भए त माननीय ज्यूले मेरो छोरालाईआर्मीमा भर्ना गराइदिनु हुन्न अनि भैंसीले केही दिन दूध नदिए के भो त चितवन घुम्न पाइयो।
अनि यतिमात्र कहाँ हो र कस्तो राम्रो सुविधाजनक होटेल बुक गरेर बसेका। यस्तो मौका छोड्नु हुन्न नि नानी। नेताज्यूले अब नेपाली सेनामा भर्ना खुल्ने बित्तिकै छोरालाई भर्ना गराइदिन्छु भनेका छन् अनि जेठो छोराको बढुवाका लागि पनि कुरा गर्नुछ। सँगसँगै बुहारीलाई महिला कोटाबाट अध्यक्ष जिताउन पाए त ढुक्क भइन्थ्यो रे!
गाउँका सबै कांग्रेसी दाजुभाइहरू आ-आफ्नो काम छोडेर काठमाडौंतिर लागे अघि पछि नेताहरूलाई गाली गरी फेसबुकमा पोष्ट अनि कमेन्ट गरेर नथाक्ने मान्छे अहिले उही नेताहरूको जीतमा ताली पड्काइरहेका छन्।
तिनै नेताहरूसँग मासु भातको भोजभतेरमा रमाइरहेका छन्। तपाईंहरू जान्ने बुझ्ने मान्छे भएर यसो किन गर्नुहुन्छ भन्दा हरेक महाधिवेशन तथा नेताहरूको पछाडि धाउनेहरूको जवाफ एउटै हुन्छ। अहिले आफ्नो पार्टीको नेतालाई जिताउन सहयोग गरे भने भोलि हाम्रा आफ्नाहरूलाई करार सेवामा नियुक्तिको लागि तड्पिनु परेन नि!
कुनै-कुनै मानिसको जीवनमा घटेका वास्तविक घटनाहरूलाई नियालेर हेर्दा कता- कता यो कुरा पनि साँचो हो कि जस्तो लाग्छ लिखित परीक्षामा सधैं प्रथम भएर अन्तर्वार्तामा चार चोटि असफल हुने छिमेकी दाइलाई देखेर त जीवनमा पार्टीको पुच्छर हुन पनि जरूरी छ जस्तो लाग्छ।
ती दाइका आमाबुवाले कहिल्यै पनि कुनै पनि पार्टीको झण्डा समात्दै झोले भएर हिँड्न रूचाएनन्। इमानदारिता र आफ्नो परिश्रमले मात्र जीवनलाई सार्थक बनाउनेछ भन्ने मान्यता राख्ने तिनको परिवारको सिद्धान्तले कहिले पनि कसैको अगाडि झुक्न सिकाएन। उनीहरू चाकरी र चाप्लुसीको दुनियाँबाट सधैं टाढा रहेका कारण होला त्यो परिवारका सदस्यले कहिल्यै पनि आफ्नो क्षमताअनुसारको जागिर खान पाएनन्।
कतिपय नेताज्यूहरूले फलानो विषयमा छलफल गर्दैछौं भनि होटल, सेमिनार तथा गोष्ठीका फोटोहरू पनि फेसबुकबाटै पोष्ट गरेकै हुन्। फोटो देख्दा तलतिर सारेर मैले पनि ग्रेट वर्क भनेर कमेन्ट गरेकै हो तर मलाई यो थाहा भएन कि त्यहाँ त फोटो खिची पोष्ट गरेर हाइलाइट गर्ने काम मात्र भएछ।
अनि राज्यको ढुकुटी चाहिँ होटल गोष्ठीमै सकिएछ। महान कार्य त केही पनि भएको रहेनछ। छलफलका विषय जहाँ थिए त्यही रहे। छलफल फेसबुक फोटोमै सीमित भयो। हिजोसम्म गाली गरिरहने हामीहरूले आज नेताहरूको महाधिवेशनको जीत मनाउँदै तिनै नेतालाई हाम्रा लोकप्रिय नेता हाम्रा गौरव, आशाका धरोहर दाइ फलानो पदमा नियुक्त हुनुभएकोमा धेरै धेरै बधाई छ भनेर फेसबुक भित्तामा पोष्ट्याउने काम गरेका छौं।
सफल कार्यकालको शुभकामना दिने कार्य कुनै महोत्सवभन्दा कम छैन तर विडम्बना माननीय ज्यूहरूको कार्यकाल कहिल्यै सफल हुन नसक्नुको कारण भने कहिल्यै पत्ता लगाउँन सकिएन।
माननीय ज्यूहरूले के-के काम गरेछन्, आज कुन ठाउँमा बैठक भेला भएछ भनेर मजस्ता हजारौं सर्वसाधारणले प्रत्यक्ष रूपमा देख्न अनि भोग्न नपाए पनि फेसबुकमा कमेन्ट वर्षात गराएर चाहिँ खुसी मनाएकै हो भन्दा फरक पर्दैन होला।
युवा साथीहरूले पनि कमेन्ट गरेर होस् अथवा आफैं पोष्ट्याएर होस् नेपाली राजनीतिप्रति असन्तोष विस्फोट गर्दैछन्।
कुनै पार्टीलाई समर्थन गर्ने जनताहरूले फेसबुककै माध्यमबाट आफ्नो पार्टीलाई सहयोग गर्ने पार्टीको प्रचार प्रसार गर्ने र समर्थनजस्ता कार्य गरिराखेका छन् भने आफ्नो विपक्षी पार्टीलाई नीच देखाउने र गाली गर्ने दोहोरी पनि फेसबुक कमेन्टबाट नै खेलिरहेका छन्।
रातको दश बजे मेरो सिरानतिर रहेको मोबाइलमा टिनिक्क आवाज आउँछ।
के रहेछ भनेर हेर्दा त फेसबुक लाइटमा नेता दाइको म्यासेज, आवश्यक पर्दा मैले म्यासेज गर्दा गर्दै थाकिसक्दा रिप्लाई नदिने दाइले आज किन म्यासेज गरेछन् भनेर हजुर भनेर रिप्लाई गर्दा बैनी तिम्रो मतदाता परिचयपत्र बनेको छ कि छैन। यदि बनेको छैन भने म बनाइदिन्छु। यसपालिको चुनावमा हाम्रो पार्टीलाई मतदान सहयोग गर्नुपर्छ है रे।
मैले जवाफ दिँदै भनें- फेसबुकबाट मतदान माग्नेलाई फेसबुकमै समर्थन गर्दा कस्तो होला सुन्नु न दाइ तिमी फेसबुकको राजनीति गर मेरो भोट पनि फेसबुकमै आउनेछ।
अचेल विशेषगरी राजनीति फेसबुकमा केन्द्रित छ र सबैले चाहन्छन् राजनीतिले अरूलाई प्रभाव पार्नु छ भने पनि फेसबुकको प्रयोग गरिन्छ। विपक्षी पार्टीको आलोचना गर्नुछ भने पनि फेसबुक पोष्टबाट होस् अथवा कमेन्टबाट।
आलोचना गरेर आफ्नो मन शान्त पार्ने काम फेसबुक भित्तामै हुन्छ भने आफूले समर्थन गर्ने पार्टीको प्रचार प्रसार गर्नुछ र उसले गरेका राम्रा कामहरूलाई हाइलाइटमा ल्याउनुछ भने पनि फेसबुक भित्ताकै अधिक प्रयोग भएको पाइन्छ। त्यसैले लाग्छ अबको चुनावमा मतदान पनि फेसबुकमै गर्न पाए कस्तो हुन्थ्यो!