तपाईं पनि अचम्म हुनुहुन्छ होला सायद! कसैलाई टिकटक पैसा कमाउने थलो बन्यो होला, कसैलाई समय बिताउने, त कसैलाई दु:ख सुख देखाउने थलो बने होला जसलाई जे लागे पनि टिकटक शब्द धेरै नै भाइरल भैसकेको छ।
सामाजिक सञ्जालमा धेरैजसो टिकटक देखिन्छन्। हुन त यो कुनै नौलो कुरा हैन ! तर मैले देखे अनुसार धेरै व्यक्ति टिकटकमै रमाइरहेका छन्। चाहे कलिलो उमेरका बालबालिका होस् या त पाका उमेरका बुवाआमा।
म पनि यसो खाली भएको समयमा टिकटक हेर्छु। कहिले साना उमेरका त कहिले वृद्धवृद्धा भएका बुवाआमा टिकटकमा रमाइरहेको देख्छु।
अझ यति मात्रै कहाँ हो र कतै राम्रो देखिन्छ त कतै लाइक कमेन्ट अनि भ्युजकै लागि नराम्रा खालका भिडिओ पनि राख्ने गर्छन्।
बालबालिकाको हातमा मोबाइल हुन्छ त्यो देखासिकी उनीहरू पनि गर्न थाल्छन्। अनि पढाइमा ध्यान कसरी पो पुगोस्!
सूचना प्रविधि क्षेत्रको समय सापेक्ष अत्यावश्यक सामग्री नै मानिन सक्छ टिकटक ! यसले सबै उमेरका व्यक्तिलाई क्रियाशील बन्ने प्रेरणा जगाउन सक्ला। तर, टिकटकमा राखिने सबै सामग्री सबै क्षेत्रका, सबैको लागि समान रूपमै उपयोगी नहुन पनि सक्छन्।
मैले धेरै बालबालिका देखेकी पनि छु। यसो कतै मोबाइल भेट्यो कि टिकटक हेर्न सुरू गरिहाल्ने! मेरो घरमा पनि बहिनीहरू टिकटकमा नै भिडेका हुन्छन्। उनीहरूलाई न त विद्यालयमा दिएको गृहकार्यको चासो हुन्छ न त कुनै कामको नै बस् टिकटक हेर्ने बनाउनेमा बढी ध्यान पुगेको देख्छु।
समाज सुधार, सद्भाव, विकृति र विसंगति विरूद्धका सामग्री, मन छुने धार्मिक प्रस्तुति, अनि हाँस्यव्यंग्यमा आधारित सामग्री सबैको निम्ति उतिकै लाभदायक हुन्छन्। टिकटक बनाउने क्रममा नै कतिपयले त ज्यान गुमाएको समाचार पनि आए तर अझै पनि भाइरल हुने नाममा सचेत हुन सकेको त्यति देखिएन।
अहिले त टिकटकबाटै पैसा कमाइन्छ भन्दै लाइभ बस्दै कहिले निद्रा मासेर कहिले भोक खटाएर बसीबसी पैसा आउँछ कति सजिलो भएको होला! साँच्चै फेरि सबैले पैसा कमाएका छन् भन्ने पनि छैन।
फलो धेरै गराउँछु भन्दा भन्दै कतिपयले त पैसा फालिरहेका हुन्छन्। यो देख्दा मलाई कता कता अचम्म पनि लाग्छ ! बल्लतल्ल दु:ख गरेर कमाएको पैसा अनावश्यक खेर फालेको देख्दा कता कता खल्लो महसुस हुन्छ।
लाइभ बसेर ल "ए" ले "ए"लाई "बी"ले "बी"लाई फलो गर्नुस् भनेको देखेर आफैं हाँसो पनि लाग्छ। सबैतिर सरकारको ध्यान जाने तर यो टिकटकमा नराम्रा प्रस्तुति देखाउनेतर्फ सरकारको ध्यान नजाने यो पनि हुन्छ होला र! आफैं सोच्छु, आफैं हाँस्छु !
सुसंस्कृत सामाजिक वातावरण, जीवनस्तर, मानवीय व्यवहार र आचरण र पारिवारिक सद्भाव र माया मोह जस्ता जीवन उपयोगी विषयवस्तुको सकारात्मक पक्षलाई समेटेर तयार पारिने टिकटक महत्वपूर्ण मानिन्छ।
टिकटक प्रस्तोताको रोल पाँच-सात वर्षकै अबोध बालबालिकालाई प्रदान गर्न अभिभावक नै अग्रसर बन्ने क्रम बढ्दै आएको छ। अझ भनौं लकडाउनको समयमा टिकटक बनाउनेको संख्या धेरै बढ्दै गयो। हामीले पनि समय बिताउन त्यसैमा भुल्यौं।
कतिपय बालबालिकाबाट हुने प्रस्तुति पनि रोमाञ्चक र आश्चर्यजनक नभएको भने होइन। तर, चार-पाँच वर्षकै बालबालिकालाई हलुका ढंगले प्रेमको सन्दर्भ के हो भन्ने कुरा नै नबुझेका अबोध बालबालिकालाई मिलन र विछोड तथा प्रेम वियोगबाट उत्पन्न हुने प्रस्तुति सिकाउने अभिभावक भने सचेत हुनसक्नुपर्छ जस्तो लाग्छ मेरो विचारमा।
कतिपय टिकटक भिडिओ आफ्ना परिवारका सबै नातेदारसँगै बसेर हेर्न नसक्ने छाडा प्रवृत्तिका हुन्छन्। अझै कलिला बालबालिकाबाट प्रदर्शित गरिने यस्तो अश्लिल प्रस्तुति बालबालिकाबाट गराउनु राम्रो पनि मानिँदैन।
टिकटकमा भाइरल बन्नकै लागि सीमा बाहिरको अशोभनीय सामग्री प्रस्तुत गर्नु अपराधलाई सरह हो भन्ने कुराप्रति सबै अभिभावकको ध्यान गएको देखिँदैन।
भाइरल बनाउने उद्देश्यमा उत्ताउलो प्रस्तुति उनै प्रस्तोता बालबालिकाकै निम्ति घातक बन्न सक्नेतर्फ न त अभिभावक नै सचेत देखिन्छन्।
समान उमेरका सबै बालबालिकामा यस्तो उत्कृष्ट कला हुँदैन। प्रस्तुतिमा अवस्था अनुसारको क्षमता, मृदुभाषी र मिठासिलोपन, निर्णायक क्षमतामा अभिवृद्धि तथा बालप्रतिभा प्रदर्शित हुन्छ। जसलाई नकारात्मक भन्न मिल्दैन। तर, टिकटकमा भाइरल बन्न शोभनीय विषयवस्तु नै महत्वपूर्ण हुन्छन् भन्ने कुरा बिर्सनुहुँदैन।
भाइरल बन्नु आफैंमा नराम्रो होइन, तर सानै उमेरबाट बालबालिकाको ध्यान पढाइतर्फ हैन उही भाइरल हुनतर्फ लाग्दा भविष्यमा चुनौती थपिन पुग्न सक्ला पनि ! जस्तै हामीहरू कुनै मिडियामा आबद्ध छौं भने हामीहरूलाई पनि अन्य क्षेत्रमा प्रवेश गर्नै मन लाग्दैन। बालबालिकाको ध्यान पनि यस्तै हुन सक्छ।
टिकटक प्रस्तुतिको विषय कुनै समस्यामूलक, कुनै उत्तेजनामूलक, कुनै उच्छृंखल कुनै प्रेम वियोग तथा कुनै नैरास्यतामा आधारित हुने भएकाले त्यस्तो प्रस्तुतिले दर्शक बालबालिकालाई नकारात्मक प्रभाव पार्न सक्छ।
त्यसैले पनि टिकटकमा बिछोडको सट्टा मिलन, मर्यादित व्यवहार, माया ममता, पारस्परिक सद्भाव र शिष्टता, बाल शिक्षामा आधारित विषयवस्तुलाई महत्व दिने हो भने त्यो ज्ञान अभिवृद्धिकै साधन बन्न सक्ला।
यो भनिरहँदा कसैले टिकटकमा पैसा कमाएको देखेर यो लेख आए होला भन्नुहोला कसैले आफैंले पनि त रमाइलो गर्दा हुन्थ्यो भन्नुहोला तर मैले भोगे अनुरूप भविष्यमा केही बालबालिकालाई त टिकटकले राम्रै फाइदा पनि पुर्याउला।
केहीमा पनि धेरैलाई भने टिकटक लतजस्तै मात्र हुन पुग्ला जसले गर्दा न पढाइ न त काम पनि हुन सक्छ। त्यसैले सबै अभिभावक समयमै सचेत हुन जरूरी हुन्छ।