केही समयअघि कक्षामा पढिरहँदा के प्रसंग आयो कुन्नि, एक जना सरले मानिसले लगाएको कपडाबारेको प्रसंग निकाल्नुभयो। अनि भन्नुभयो केहीदिनअघिको एउटा कहानी छ म तपाईंहरूलाई सुनाउँछु।
म पनि उत्सुक भएँ।
सरले भन्नुभयो- केही दिनअघि म एउटा कार्यक्रममा गएको थिएँ, कार्यक्रमको आयोजक म आफैं थिएँ। अनि मैले त्यो समयमा अरू बेलाको जस्तै जिन्सको पेन्ट, सर्ट र बाहिरपट्टि ज्याकेट लगाएको थिएँ, एक जना भद्र भलाद्मीले मलाई सुरूमै कोट किन नलगाउनुभएको भनेर होच्याउने गरी प्रश्न गरे अनि मैले पनि तिनलाई यस्तो उत्तर दिए जसले गर्दा उनी बोल्न सकेनन्। त्यो होच्याईंपछि मैले पनि उनलाई दिन लागेको काम क्यान्सिल गरेर उनीसँग मेरो काम अघि बढ्न सकेन।
सरले सुनाएको उक्त प्रसंगपछि मेरो मनमा पनि थुप्रै विचार जन्मिए ? कस्तो लुगा राम्रो अनि कस्तो नराम्रो ? कस्तो लगाउने व्यक्ति ठूलो अनि कस्तो लगाउने सानो ? के लगाए फर्मल, के लगाए इनफर्मल ? अनि यी कुराबारे मन्थन नै गर्न मनलाग्यो।
कस्तो लुगा लगाउने भन्ने विषयमा मेरै पनि केही अनुभव छ। म प्रायजसो सामान्य ड्रेसमा हिँडिरहेको हुन्छु। अलिकति फरक खालको कपडा लगाउँदा म आफैंलाई पनि सहज अनुभव हुन्न अनि म फर्मल नै भए पनि नियमित लगाएको जस्तो पोशाकमा उपस्थित हुन्छु। त्यहीँ क्रममा एकदिन एउटा ठूलै कार्यक्रममा पुगें। विदेशीहरू पनि आउने अनि नेपालका पनि भिआइपीहरू आएको कार्यक्रम। म कुनै संस्थाबाट प्रतिनिधित्व गरेर त्यहाँ पुगें। जाडो महिना पनि भएकाले बाक्लो ज्याकेटसहित टन्न कपडा लगाएर पुगेको थिएँ।
त्यहाँ मैले कोट नलगाई आएको भन्दै म नजिकै बसेका केही साथीहरूले भने, ‘यति ठूलो कार्यक्रममा नि कोट नलगाई आउनुभयो? अर्कीले जोडिन्, त्यहीँ त यस्तो कार्यक्रममा ड्रेसको पनि ख्याल गर्नुपर्छ नि’, म उनीहरूको कुरा सुनेर चकित भएँ।
अनि मैले भने म्याडमहरू आधुनिक हुनुहोला, लवाइखवाइ कसरी गर्नुहुन्छ जान्नुहुन्छ होला तर, मलाई व्यक्तिगत रूपमा कसले के लगायो होइन, के बोल्यो भन्नेसँग मात्रै सरोकार छ।
अनि म कपडा भनेको कसैलाई देखाउनभन्दा पनि आफूलाई जे सहज लाग्छ त्यही लगाउँछु।
मैलो पो हुनुभएन, च्यातिएको पो हुनुभएन अरू त आफ्नो इच्छाबमोजिम लगाउने हो नि। तपाईंले १ लाखको कपडा लगाउनुभयो भनेर कसैले प्रशंसा गर्दैन, तपाईंको ज्ञान के हो बुद्धि के हो, तपाईं काममा दक्ष हुनुहुन्छ वा हुन्न त्यो मात्रै मान्छेले मूल्यांकन गर्नेछन्। त्यहीँ भएर माफ गर्नुहोला, म तपाईंहरूजस्तो बन्न सक्दिनँ।
के लाग्यो कुन्नि उनीहरूलाई चुप लागेर साइड लागें।
हुनत, पछिल्लो समयमा सर्ट, पाइन्ट, कोट र टाइलाई विश्वव्यापी औपचारिक पोशाकका रूपमा प्रयोग गरिन्छ र यही पोशाकलाई फर्मलको संज्ञा पनि दिने गरिन्छ। तर, देशैपिच्छेका राष्ट्रिय पोशाकलाई पनि औपचारिक स्थानमा राम्रो मानिन्छ। अझ नेपालजस्तो बहुजातिहरूको बासस्थान भएको मुलुकमा त जाति नै पिच्छेको फरक फरक पोशाकको प्रयोग गरिन्छ र आफ्नो संस्कृति अनुसारको कपडा लगाएर हिँड्ने चलन छ।
हरेक जातिको आफ्नै पोशाक भए पनि कार्यालय र औपचारिक स्थानमा भने महिलाको हकमा सारी, चोलो र पुरूषको हकमा दौरासुरूवालको प्रयोग हुने गर्दछ। नेपालका भिआइपीहरूले पनि विदेश जाँदा प्रायले दौरा, सुरूवाल, ढाका टोपी र कोटको प्रयोग गरेको पाइन्छ भने महिलाको हकमा सारीचोलो नै लगाउने चलन रहिआएको छ।
कस्ता लुगा लगाउँदा सभ्य भइन्छ ?
हामीले विभिन्न तालिम र सिकाइमा पढेका छौं, मानिसको व्यक्तित्व बनाउन उसले प्रयोग गर्ने पोशाक पनि एक हो। चटक्क मिलेको, सफा र आकर्षक कपडा लगाउँदा मानिसको व्यक्तित्व खुल्छ भने अलिकति सामान्य खालको कपडाको प्रयोग गर्दा कतिपयले होच्याउने र दुवर्चन बोल्ने गरेको विषयमाथि पनि उल्लेख भएको छ।
यही प्रसंगको अर्को अनुभव पनि छ।
राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेर त्यसबाट देशलाई ठूलो योगदान गरिरहेका महावीर पुन अन्तर्वार्ता दिन कुनै टिभीमा पुगेका थिए। त्यत्ति धेरै नाम चलेका सेलिब्रेटी कति धेरै स्ट्यान्डर्ड होलान्, कस्तो राम्रो गाडी होला, कति सुविधासम्पन्न होलान्, बंगला होला यस्तै यस्तै लागेको थियो मलाई।
हुनत त्यसभन्दा अघि उनको व्यक्तित्वबारे अध्ययन पनि नगरेको भएर होला। त्यसपछि उनी अन्तर्वार्ता दिन आए, उनीसँग अरू दुई जना थिए, जो सुटेट बुटेट र चिटिक्क परेर आएका थिए। मैले त सोचेँ ती होचा होचा व्यक्ति सहयोगी होलान् अनि बाँकी दुईमध्येको एक महावीर पुन। तर, जब अन्तर्वार्ता दिन उनी स्टुडियोमा पसेँ, त्यतिबेला पो म झल्याँस्स भएँ, ओहो त्यति सामान्य मान्छे पो हुन् महावीर पुन!
उनले एउटा पुरानो सर्ट, त्यहाँमाथि नर्मल स्वीटर, गोडामा चप्पल र एउटा थोत्रो ब्याग भिरेका थिए। त्यसपछिबाट भने मेरो व्यक्तिलाई हेर्ने दृष्टिकोण बदलिएको थियो र म मान्छेलाई कपडाका आधारमा नभई विचारको आधारमा सम्मान गर्नुपर्छ भन्नेमा दृढ भएको थिएँ।
हुनत त्यसअघि पनि महात्मा गान्धीको विचार सादा जीवन उच्च विचार भन्ने भनाइ सुन्दै आएको थिएँ। तर, महावीर पुनलाई प्रत्यक्ष नै देखेपछि भने उक्त विचारको प्रभाव ममा अझै बढी परेको थियो।
अब, कुरा आउँछ ती गाउँबाट भर्खर आएका सामान्य किसानजस्तो कपडा लगाएर हिँड्ने महावीर पुन के असभ्य हुन् त ? के उनले राम्रो कपडा लगाउन नसकेका हुन् त वा उनी पनि गान्धीको जस्तै आदर्शमा हिँडेका हुन् त भन्दा पक्कै पनि हो कि उनी कपडामा होइन काममा ध्यान दिन्छन्।
उनलाई कस्तो कपडा लगाए भन्दा पनि देशको लागि के काम गर्न सके भन्नेमा मात्रै ध्यान छ।
उनी कपडालाई शरीर ढाक्ने वस्तुका रूपमा मात्रै बुझ्छन् भने बाहिरी समाजले के लगायो, कसरी लगायो, कस्तो लगायो, कुन ब्रान्डको लगायो यस्तो कुरालाई प्रमुख प्राथमिकतामा राख्छ अनि सोच्दै जाँदा लाग्यो कपडा भनेको पनि व्यक्तिको दृष्टिकोण हो।
कसैले सामान्य लगाएर विचार पनि सामान्य हुने र कसैले महंगो लगाएर विचार महान हुने होइन। बरू यो त मानिसको चिन्तन, सोचाइ र मनोवृत्तिमा भरपर्ने कुरा पो रहेछ।
कस्ता कपडा लगाउने ?
पूर्वीय, पश्चिमा संस्कृति वा दर्शनहरूको अध्ययन गर्ने हो भने कहीँ पनि मानिसले महँगा कपडा लगाएमा वा अरूको भन्दा फरक लगाएमा महान् हुन्छ भनिएको पाइँदैन। पहिलाका ठूला ऋषिमुनिका कपडा हेर्ने हो भने उनीहरूको कपडा एकदमै सामान्य हुन्थ्यो, तर पनि उनीहरूले समाजमा प्रभाव पार्नेखालका ज्ञान बाँडेका थिए।
गान्धीकै कुरा गर्ने हो भने पनि उनी खाडीको कपडा लगाएरै विश्वचर्चित भएका थिए। तसर्थ, मानिसको कपडा भनेको सामान्य कुरा हो, शरीर छोप्ने र जाडो भगाउने वस्तु हुन् यसमा नै अडिएर कसैले लगाएको कपडालाई आधार बनाएर उसको ज्ञानको वा क्षमताको मूल्यांकन गर्नु भनेको तलाउमा नडुबी नै कति गहिरो छ पोखरी भनेर अन्दाज गर्नुजस्तै हो। तसर्थ, बाहिरी आवरणभन्दा पनि भित्री क्षमता हेरेर व्यक्तिको मूल्यांकन गर्नु अति नै उत्तम उपाय हो।
कपडाबारेको आधुनिक धारणा
अहिलेको समाज भौतिकवादी अझ भनौं पुँजीवादी समाज हो। कोही व्यक्तिको मूल्यांकन उसले लगाएको कपडा, ब्रान्ड उसको घर, गाडी र भौतिक सम्पत्तिको आधारमा तय हुन्छ।
अझ युवापुस्ताहरूको विशेष प्राथमिकता नै बजारमा चलेको फेसनेबल कपडामा पर्दछ। त्यो कपडा लगाए समाजमा मान्य हुने, समाजभित्र अटाइने र अलिकति सामान्य बनेर हिँड्दा 'पाखे' बनेको अनुभूति गर्ने प्रवृत्ति एकदमै मौलाएको पाइन्छ।
हुन त, नयाँ पुस्ताको सोच गलत छ वा सबै तडकभडक गर्नेमात्रै छन् भन्ने अर्थमा पनि होइन। तर पनि पछिल्लो समय सो खालको प्रवृत्ति मौलाउँदै गएको भने अवश्य पनि हो।
तसर्थ मानिसको क्षमता कपडाले होइन कामले झल्काउँछ भन्ने माथि उल्लेखित विद्धानहरूका सोच, चिन्तन र पहिरनले प्रष्ट बनाएको छ।