उहिले-उहिले झाडा पखलाले सिङ्गै गाउँ रित्तो भएका कथाहरू प्रशस्त सुन्न पाइन्छ। सायद त्यो हैजाको महामारी वा यस्तै केही हुन्थ्यो होला। बिफर, ठेउला र दादुराले जन्मेका मध्ये आधाभन्दा धेरै बच्चाहरू मर्ने गरेको अनुभव हामीभन्दा ठिक अघिल्लो पुस्ताको दिमागमा अझै ताजै छ।
ज्वरोले हप्तौ थलिएपछि केवल झारफुकको भरमा केही उपचार नपाइकन मान्छेहरू देह त्याग गर्दथे। सायद त्यो औँलो, कालाजार, वा टाइफाइड या यस्तै केही हुन्थ्यो होला। केही नभएको मान्छे फ्याट्टै गएका कुरा सुनिन्छ, सायद त्यो हर्ट एट्याकजस्ता प्राणघातक केही थियो होला।
कति मान्छेहरू वर्षौं वर्षसम्म थलिएर उपचार नपाइकन बिजोगले मर्थे। क्यान्सर, टिबी, कुष्ठरोग केही थियो होला, तर मान्छेहरू त्यसलाई पूर्वजन्मको श्राप वा पापको फलको रुपमा हेर्थे र घृणा गर्दथे। धन्न हामी त्यो जमानामा जन्मिएनौँ र त्यस्ता रोगहरूको शिकार भएनौँ।
हामी बाचेको युगमा खोप आयो, धेरै प्राणघातक रोगहरूबाट हामीलाई सुरक्षित बनायो। हाम्रो युगमा चिकित्सा विज्ञान धेरै नै विकास भयो, स्वास्थ्य क्षेत्रको स्वर्णीम युगमा जन्म लिएकाले हामी धेरै कुराहरूबाट सुरक्षित भयौँ। हामी भाग्यमानी हौँ, जिउँदै छौँ।
२०७६ चैत्र ११ गते पहिलो पटक कोभिड-१९ को महामारीको कारण देशभर लकडाउन भयो। सुरुको लकडाउन यति त्रासपूर्ण थियो, सबैले सम्झिनु भएकै छ। त्यो समयमा कसैलाई कोभिड-१९ भएमा टोलभर तिरस्कारको नजरले हेरिन्थ्यो, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई कोठाबाट निकाल्नेदेखि सामाजिक बहिस्कार गर्नेसम्मका घटनाहरू हामीले पटक-पटक देख्यौँ, सुन्यौँ, भोग्यौँ।
कोभिड-१९ केवल त्रास मात्र थिएन, यसको कारण मृत्युको मुखैमा पुगेर आएकाहरूलाई सोध्नु यो कति खतरनाक रोग थियो भनेर। तपाईं हाम्रै वरिपरि कति होनहार व्यक्तिहरूले जीवन गुमाए, त्यसलाई पक्कै नजरअन्दाज गर्न मिल्दैन। अक्सिजन, हस्पिटल बेड लगायतको कत्रो हाहाकार भयो भन्ने कुरा बिर्सन मिल्दैन।
त्रासै त्रासमा पहिलो लहर, दोश्रो लहर, विभिन्न भेरियन्टहरू आए, खतरा अझै टेरेको छैन। खोपको उपलब्धता पछि कोभिडको खतरा कम भएको कुरालाई नकार्न सकिँदैन। हामी धेरैलाई कोभिड पनि भयो तर भाग्य नै भनौँ, नराम्रो केही भएन। हामी भाग्यमानी हौँ, जिउँदै छौँ।
म आफै स्वास्थ्यकर्मी हुँ, सतर्कता अपनाउँदा अपनाउँदै पनि कोभिड पोजिटिभ भएँ। दुई दिन सामान्य ज्वरो बाहेक खासै केही लक्षण देखिएन। दुई वर्ष अगाडि मलाई डेंगु भयो, जसले मलाई नराम्ररी गलायो। करिब-करिब अब बाँचिँदैन होला भन्ने अवस्थाबाट गुर्जेर आएपछि लाग्यो बाँच्नु भाग्यकै कुरा रहेछ, बाँचे संसार देखिन्छ।
विसं २०७२ वैशाख १२ गते नेपालमा शक्तिशाली विनाशकारी भूकम्प गयो। राजधानी वरिपरिका पन्ध्र वटा जति जिल्लामा यसले ठूलो विनाश गर्यो। करिब नौ/दस हजार मान्छेको ज्यान गयो। धेरैको घरवार उठिबास लगायो। धेरैलाई आफ्नो परिवारजन र आफन्तजनबाट छुटायो। सबैलाई आतंकित बनायो भुइँचालोले।
केही वर्ष पहिले हाइटीमा यत्तिकै परिमाणको भूकम्प गएको थियो। त्यहाँ पनि करिब-करिब यहाँकै जति मान्छे भूकम्पको कारणले मरेका थिए। त्यहाँ भूकम्प गएको केही समयपछि हैजा महामारीको रुपमा फैलियो। हैजाको महामारीले त्यहाँ करिब दुई लाख मानिसले ज्यान गुमाएको समाचार आयो। हामी भाग्यमानी रहेछौँ। त्यत्रो भूकम्प झेलेर हामी जिउँदै छौँ।
थप चार/पाँच सेकेन्ड र थप केही रेक्टरको भूकम्प आइदिएको भए आज हामी रहन्थ्यौँ, रहन्नथ्यौँ भन्न सकिन्न। यहाँको हावापानी पनि एकदमै मैत्री छ। त्यसैले पनि यहाँ कुनै पनि महामारीहरू फैलिएनन्। त्यतिमात्र नभएर यहाँ सम्भावित महामारीलाई रोक्नुमा स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरू तथा स्वास्थ्यकर्मीहरूको भूमिकाको पनि कदर गर्नैपर्छ।
आफ्नो जीउ ज्यानको कुनै प्रवाह नगरी घाइतेको उद्दारमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति कृतज्ञता छ। एकदमै भित्री हृदयबाट स्वतस्फूर्त सेवा गरेका सबै सबैको प्रयासबाट हामी आइपर्न सक्ने थप विपत्तिबाट बच्यौँ। हामी भाग्यमानी हौँ, जिउँदै छौँ।
नेपालमा मोटर चल्न थालेको धेरै भएको छैन। तर आज नेपालमा मोटरको चाप हाम्रो सडकले धन्न धौँ-धौँ परिरहेको छ। सहरमा दिनहुँ सवारी दुर्घटनाहरू भैरहेका छन्। दिनहुँजसो कतै न कतै कसैले सडक दुर्घटनामा ज्यान गुमाएका समाचारहरू आइरहन्छन्। नेपालको सडक यात्रा सुरक्षित छैन। हवाई यात्रा पनि सुरक्षित छैन।
नेपाल पहाडी भूभाग धेरै भएको मुलुक भएकोले यहाँ हवाई यात्र र सडक यात्रा दुवै असुरक्षित छन्। पछिल्लो समयमा पहाडका डाँडाहरू भत्काएर जताततै कच्ची सडकहरू बनाइएका छन्। न ती सडकहरू कुनै ईन्जिनियरिङ मापदण्ड विचार गरेर बनाइएका छन्, न त कुनै दूर्गामी उद्देश्यले बनाइएका छन्।
पहुँच भएका मान्छेको आँगन-आँगनमा सडक घुमाइएको छ। भिर, पाखा, जङ्गल, खोला जथाभावी भत्काएर सडक कोरिएको छ। र त्यस्तै सडकमा ठूल्ठूला गाडी मोटरहरू गुडाउन थालिएको छ। दिनहुँ त्यस्ता कच्ची बाटोमा दुर्घटना भैरहन्छ। कहिलेकाहीँ कहाली लाग्दा ठूला दुर्घटनाहरू हुन्छन्। भनेको ठाँउमा भनेको जस्तो स्वास्थ्य उपचारको पहुँच पनि छैन। कयौँ मान्छेले अकालमा ज्यान गुमाइरहेका छन्। हामी भाग्यमानी हौँ, जिउँदै छौँ।
विकासले पनि विनाश निम्त्याइरहेको छ। जति औषधि विज्ञानको विकास भएको छ, त्यति नै नयाँ-नयाँ रोगहरू चुनौती दिन आइरहेका छन्। खासगरी बेलाबेलामा डर लाग्दा भाइरसहरूले महामारीको रुप धारण गर्दा विश्वमा कयौं मानिसहरू सबै सुविधा हुँदाहुँदै पनि हार खाइरहेका छन्। हाम्रो देशको हावापानीले पनि हामीलाई संरक्षण गरिरहेको छ।
अर्कोतिर मानव जातिमै पनि यति निकृष्ट मानवरुपी दानवहरू पैदा भएका छन् जसले जानाजान मानिसमा आतंक फैलाएर रमाउन चहन्छन्। ठूला-ठूला वितण्डहरू मच्चाएर सयौँ मान्छेको नरसंहार गर्ने राक्षसी मानिसहरू हाम्रो क्षेत्रमा पैदा नहुनु र यहाँ खासै विद्रोही आतंककारी संगठनहरू नहुनु पनि हाम्रो लागि वरदान हो। नत्र भन्न सकिन्नथ्यो, कतिबेला कसको के हुने हो, घरबाट निक्लेको मान्छे बेलुका घर फर्कने हो, होइन।
पहिलो र दोश्रो विश्वयुद्ध, विभिन्न क्रन्तीको नाममा हुने मानव हिंसा, जातीय द्वन्द, धार्मिक युद्ध आजसम्म हाम्रो देशमा भएको छैन। कुनै पनि बहानामा वा कुनै पनि निहुँमा कोही पनि मारिनु हुँदैन। यो संसारमा बाँच्न पाउने अधिकार सबैलाई बराबरी छ। त्यही पनि केही काण्डहरू, कोतपर्व, भण्डाराखाल पर्वमा नेपालीहरू मारिए।
चाहे त्यो पृथ्वीनारायण शाहको राज्य एकिकरण अभियान होस्, चाहे विभिन्न आन्दोलनको नाममा होस, चाहे दस वर्ष लामो माओवादी द्वन्द होस, चाहे मधेस आन्दोलनको नाममा निर्दोष मान्छेलाई सहादत, वीरगतिजस्ता शब्दावलीले उक्साएर किन नहोस्, मान्छे मार्ने काम गलत थियो, गलत हो।
म मरेर सहिद हुनुपर्छ भन्दिनँ, बाँचेर देश बनाउनुपर्छ भन्छु। यी सारा कुराहरूलाई हामीले हाम्रो वरिपरि टुलुटुलु हेर्दै बाँच्यौ। लाग्दछ, धन्न बाच्यौँ। हामी भाग्यमानी हौँ, जिउँदै छौँ।