विसं १९६८ जेष्ठ ९ गते नेपालमा पहिलोपटक विद्युत सेवाको सुरुआत भएको समयका हिसाबले नेपालमा विद्युत सेवा सुरु भएको करिब ११० वर्ष पुगिसकेको छ। ११० वर्षको समयमा नेपालको विद्युत उत्पादनको जडित क्षमता करिब २००० मेगावाट पुगेको छ भने पिक डिमान्ड करिब १६०० मेगावाट आसपासमा रहेको छ।
वर्षायाममा उत्पादित विद्युत खपत हुन नसकी खेर जाने अवस्था र सुख्खा याममा देशभित्र कम विद्युत उत्पादन भई भारतबाट आयात गर्नुपर्ने अवस्था विद्यमान छ। विद्युत उत्पादन, प्रसारण र वितरणको जिम्मेवारीसहित स्थापना भएको नेपाल विद्युत प्राधिकरण विद्युत सेवालाई जनताको घर-घरमा पुर्याउने एकमात्र सरकारी स्वामित्वको सार्वजनिक संस्थान हो। विद्युत प्राधिकरणले हाल देशका ७७ जिल्लामा आफ्नो संगठनात्मक संरचनामार्फत विद्युत सेवालाई जनताको घरमा पुर्याउन प्रयास गरिरहेको छ।
कहालीलाग्दो लोडसेडिङको अवस्थावाट देश मुक्त भएपश्चात विद्युत सेवाग्राहीले भरपर्दो र गुणस्तरीय विद्युत सेवाको अपेक्षा गरिरहेका छन्। सेवाग्राहीको आकांक्षा उच्च तर विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक पर्ने भौतिक र अभौतिक स्रोत साधनको लिमिटेशनले विद्युत सेवा सेवाग्राहीले चाहेजस्तो चुस्त दुरुस्त हुन नसकेको यथार्थता हामीमाझ विद्यमान छ।
सेवाग्राही अटुट विद्युत सेवा चाहने तर सेवाग्राहीले चाहेजस्तो विद्युत सेवा प्रवाह हुन नसक्नुका विविध कारणबारे यस आलेखमा चर्चा गर्न खोजिएको छ।
पुरानो तथा जीर्ण वितरण प्रणाली
देशका अधिकांश स्थानको वितरण प्रणाली अत्यन्त पुरानो र जीर्ण अवस्थामा रहेकोले हाल बढिरहेको लोड थेग्न नसक्ने अवस्थामा छ। पुरानो संरचनाको योजनावद्ध तवरले स्तरोन्नति नभएसम्म विद्युत सेवा गुणस्तरीय र भरपर्दो हुन सक्दैन। यसर्थ भरपर्दो विद्युत सेवाका लागि नेपाल सरकार र विद्युत प्राधिकरणले तत्काल वितरण प्रणाली स्तरोन्नतिको कार्यलाई प्राथमिकताका साथमा अंगाडि बढाउनुपर्ने हुन्छ।
अप्रभावकारी खरिद व्यवस्थापन
विद्युत सेवालाई अटुट राख्न अत्यावश्यक पर्ने ट्रान्सफर्मर, कन्डक्टर, इनर्जी मिटर लगायतका समान समयमै व्यवस्थापनले खरिदको निर्णय गर्न नसक्नाले यी समानको अभाव हुन गई विद्युत सेवा प्रवाह प्रभावित बनेको छ। साथै नयाँ लाइन विस्तार र अपग्रेड सम्बन्धी खरिद प्रकृया समेत विभिन्न कानुनी झमेला र नियमनकारी निकायमा पर्ने विभिन्न उजुरीका कारण प्रभावकारी बन्न सकेको छैन।
स्थानीयको अवरोध
नयाँ लाइन विस्तार र नयाँ ट्रान्सफर्मर राख्न खोज्दा स्थानीयको अवरोधले गुणस्तरीय विद्युत सेवा प्रवाह गर्न असहज परिस्थितिको सिर्जना भएको छ।
विद्युत वितरणमा एकाधिकार
विद्युत सेवा प्रवाहमा करिब-करिब एकाधिकार भएको र अरु प्रतिस्पर्धी बजारमा नभएकाले विद्युत प्राधिकरणको सेवा प्रवाह चुस्त दुरुस्त बन्न सकेको छैन। अन्य प्रतिस्पर्धी बजारमा भएको भए विद्युत सेवालाई थप प्रभावकारी बनाउन विद्युत प्राधिकरणलाई दवाव सिर्जना भई सेवा प्रवाह गुणस्तरीय बन्ने सम्भावना रहन्थ्यो।
फितलो कर्मचारी व्यवस्थापन
कुनै कार्यालयमा अत्यधिक कर्मचारी र कुनै कार्यालयमा अत्यन्तै न्यून कर्मचारीको कारण सेवा प्रवाहमा प्रतिकूल असर परेको छ। विकट जिल्लामा अत्यन्त न्यून कर्मचारीको भरमा सेवा प्रवाह गर्नुपर्ने अवस्था र सुगम जिल्लामा कर्मचारी काम नपाएर खाली बस्नुपर्ने अवस्था छ। कर्मचारी व्यवस्थापन प्रभावकारी नभएकोले सेवा प्रवाहमा प्रतिकूल असर परिरहेको छ। कर्मचारी पदपूर्तिमा भएको ढिलाइले समेत सेवा प्रवाहमा असर पारिरहेको छ।
कर्मचारी बीचको द्वन्द
विद्युत प्राधिकरणमा स्थायी, म्यादी, ज्यालादारी, सेवा करार, गोटा गन्ती लगायतका कर्मचारी कार्यरत छन्। यी विभिन्न प्रकारका कर्मचारीबीच सेवा, सुविधा, अधिकार लगायतका विविध पक्षमा विभेद रहेका कारण कर्मचारीबीच अघोषित द्वन्द विद्यमान छ, जसले प्रभावकारी विद्युत सेवा प्रवाहमा अवरोध सिर्जना गरिरहेको छ। उत्पादन, प्रसारण, वितरण तथा कर्पोरेट अफिसमा कार्यरत कर्मचारीमा समेत सेवा सुविधा र अवसरमा रहेका विभेदका कारण कर्मचारीहरूमा असन्तुष्टि देखिन्छ जसको नकारात्मक प्रभाव सेवा प्रवाहमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा परिरहेको छ।
कर्मचारीको प्रवृत्ति
कर्मचारीको काम पन्छाउने, नतिजाभन्दा प्रकृयामा रमाउने, जोखिम लिन नचाहने, ओठे सेवा, सिक्न नखोज्ने, परिवर्तनमा अवरोध सिर्जना, गर्ने ट्रेड युनियनको आडमा काम नगर्ने तर सेवा सुविधामात्र लिन खोज्ने प्रवृत्ति लगायतका विविध नकारात्मक प्रवृत्तिले विद्युत सेवालाई प्रभावकारी बनाउन अवरोध सिर्जना गरिरहेको छ।
कमजोर निर्णय निर्माण प्रणाली
तत्काल निर्णय गर्नुपर्ने विषयलाई समेत ढिला गरी निर्णय गर्ने वा निर्णय नै नगरी बस्ने र निर्णय लिने धेरै तह हुँदा निर्णय निर्माणमा अत्यन्तै लामो समय लाग्नाले सेवा प्रवाह आशातीत बन्न सकेको छैन।
कर्मचारीको क्षमता विकासमा न्यून लगानी
विद्युत उत्पादन, प्रसारण र वितरण कार्यमा खटिएका कर्मचारीको क्षमता विकासका कार्यक्रम अत्यन्तै न्यून छन्। तालिमको अभावमा कर्मचारी भुत्ते बन्दै गइरहेका छन्। उत्प्रेरणाको स्तर आशातीत नहुँदा सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन।
यी र यस्तै तमाम समस्याका बाबजुद नेपाल विद्युत प्राधिकरणले सिंहदरबारदेखि जुम्लाको विकट वस्तीसम्म विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन गरिरहेको प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन।
न्यून स्रोतसाधनका बीचमा ग्राहकको अपेक्षा पूरा गर्न नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण व्यवस्थापन, कर्मचारी, सेवाग्राही र अन्य सरोकारवाला हातेमालो गर्दै विद्युत सेवालाई थप अटुट र गुणस्तरीय बनाउन लाग्नुको विकल्प छैन।
(लेखक नेपाल विद्युत प्राधिकरणका प्रशासकीय अधिकृत हुन्।)