म गाडीभित्र, तिमी ठ्याक्क अगाडि मित्र! गुरुजीले तिमीलाई त्यो सडक बीचको सेतो धर्कोमा उभिएको देख्दा 'ल जानुस्' भनेर गाडी झ्याप्प रोकिदिनु पर्ने हो। तर उनका आँखा तिमीसामु रोकिए पनि गाडीका पाङ्ग्रा निरन्तर गुडिरहन्छन्, अनि तिमी रोकिनु पर्छ।
तिमी रोकिनु सही ठम्याउँछन् गाडी चलाउनेहरू, अनि गाडी नरोकिनु गलत ठहर्याउँछन् कानुन बनाउनेहरू। यो सही-गलतको किस्सा यस्तै चलिरहन्छ, न गाडी रोकिन्छ न तिमी स्वतन्त्र हिँड्न सक्छौ। अन्ततः गलत ठहरिन्छ त्यो मध्य बाटोमा बनाइएको जेब्रा क्रसिङ।
म लोकल बसको कुनै सातौं झ्यालको सिटमा बसेको थिएँ। बिहानै भएर हो सायद, गाडीमा त्यति भिड थिएन। गाडी चल्दै थियो आफ्नै गतिले, अनि समय चल्दै थियो तीव्र गतिले। मलाई आफ्नो काममा जान जति हतार भए पनि त्यो हरेक स्टेशनमा रोकिने गाडीलाई 'नरोकी जाऊँ न गुरुजी!' भन्न सक्ने अवस्था थिएन। के थाहा, उत्तर के आउने हो?
एकाबिहानै काममा हिँडेको यो शीतल मस्तिष्कमा तिनका क्रुर वचनले 'यो हाम्रो काम हो, तपाईंलाई हतार छ भने अर्कै गाडी खोज्नुस्!' भन्दिने पो हुन् कि। यो सुन्ने चाहना पटक्कै थिएन, र केही भनिनँ पनि।
उनी उनकै गतिमा गाडी हाँक्दै थिए, म त्यही गतिमा गुड्दै थिएँ। म चढेको अघिल्लो चोकमा गाडी रोकिनु कुनै नौलो कुरा थिएन, तर त्यो चोकको दस कदम अगाडि आउने जेब्रा क्रसिङमा मान्छे हिँड्न तम्तयार बसेका देख्दा पनि ती चालकमा गाडी रोकेर जानुस् भन्ने ज्ञान थिएन।
उनलाई जति हतार थियो, लाइनमा लागेका अन्य गाडीभन्दा पहिल्यै हरेक स्टेशनमा आफै पेसेन्जर चढाउने, सायद त्यो जेब्रा क्रसिङमा हिँड्ने पैदलयात्रीलाई पनि त्यति हतार हुँदो हो आफ्नो दैनिकी भ्याउने। गाडी हो, उनी त सरर गुडाइदिन्छन्, पैताला पो रोकिनुपर्छ।
सडकको बीचमा ईन्जिनियरका बौद्धिक ज्ञानले कति विज्ञान लगाएर बनाएका हुन् ती जेब्रा क्रसिङ, पैदल यात्रा गर्नेहरूका लागि। तर भाग र गुणान त गाडी हाँक्नेको आम्दानीको मात्र हुने भएछ यहाँ- ढिलो पुगे भाग, छिटो पुगे गुणान।
अनि, यात्रीको अधिकारको हिसाब खोई? उसको गुनासाको निसाप खोई? अब अन्धाधुन्द गाडी हाक्दा, सेतो धर्कोबीच मान्छे पनि सेतै देख्ने हुन् कि पत्तो छैन। जिन्दगी बनाउन हिँडेको यात्री, आफ्नो जिन्दगीले त्यही सेतो धर्कोबीच सेतो कपडा ओढ्नु पर्ने होकि, यो पनि पत्तो छैन। विचार गर्ने हो भने, त्यो बीच बाटोको सेतो धर्कोले उसलाई नाचेर हिँड्ने अनुमति पनि दिन्छ। तर उसको नाचले उसैको विनाश हुन्छ, यो अपाच्य हुँदा पनि बोल्ने कोही छैनन्।
झ्यालबाट मेरो नजर बाहिर पर्यो, एउटी झन्डै तीस वर्षकी महिला जेब्रा क्रसिङमा हिँड्दै थिइन्। उनलाई हेर्दा लाग्थ्यो समयको वेगले उनलाई पर्खिएन। आफ्नो कुन दैनिकी भ्याउन हतासिएर हिँड्दै छिन्। अचानक, एउटा गाडी उनी सामु आएर झ्याप्प रोकियो। गाडी र उनीबीच झन्डै एक अम्बलको फरक थियो।
'ए! राम्ररी, मान्छे छ अगाडि' देख्ने जति सबले भन्दै थिए तर ती चालकले चार आँखाले पनि भ्याएनछन् क्यारे। खोई, त्यो गाडी चालकलाई कुन संसार जित्नु थियो थाहा भएन। यहाँ, ती महिलालाई कानुनले दिएको अधिकारको पनि कुनै काम आएन। गुरुजी आफ्नै बहस गर्नतिर लागे, के-के भने। उनको अनुहारमा न आत्मग्लानी थियो, न बोलेका शब्दहरूमा गल्तीको आभाष।
म झ्यालबाट हेर्ने, ती महिला गाडीलाई हेर्ने, चालक पेसेन्जरलाई हेर्ने, अब यहाँ यो होडबाजी रोक्न चालकलाई गाडीबाट ओराल्ने कोही थिएन। न ती महिलाको धरापमा परेको जीवनको लेखाजोखा गर्ने कोही जोहरी। उनी सायद 'धन्न बाँचियो' भन्दै आफ्नो बाटो लागिन्, गुरुजी कसैको जीवनको हिसाब नगरी आफ्नै हिसाब मिलाउनतिर लागे। अनि, जाममा अल्झिएको मेरो गाडी जाम खुल्नासाथ आफ्नो हिसाब गर्न तिर लाग्यो, मान्छे छिचोल्दै, त्यही जेब्रा क्रसिङबाट।