स्ट्रलरमा करिब एक डेढ वर्षको बच्चा दूधको सिसी समातेर चुस्दै थियो। सँगसँगै पाँच/छ वर्षकी नानी उसलाई जिस्काउँदै थिई।
मध्य डिसेम्बरको महिना बाहिर चिसो सिरेटो चलिरहेको थियो। स्कुल छुट्ने बेला भएकोले थुप्रै गार्जियनहरू आफ्ना छोरा छोरीलाई पर्खेर स्कुलको गेटबाहिर कुरिरहेका थिए।
तिनीहरूमध्येको एउटा म पनि थिएँ। स्ट्रलरभित्र सानो बच्चा खेलिरहेको र दिदीले जिस्काइरहेको देखेर मैले सोधें, ‘डु यु लभ योर सिस्टर ?’
‘सि ह्याज नो च्वाइस’, ऊनीको टोपीले घप्लक्क निधार ढाकेको, बाक्लो ज्याकेटबाट भुँडी भ्यात्त बाहिर उछिट्टिएको, हेर्दा लगभग पचास वर्ष जतिको इरानी मूलको जस्तो देखिने व्यक्तिले भन्यो।
यसो भन्दै गर्दा मैले उनको अनुहारमा हेरें। तर उसले स्कुलको गेटतर्फ एकोहोरो हेरिरहेको थियो।
मैले उसले भन्न खोजेको कुराको अर्थ राम्रोसँग बुझिनँ अर्थात् किन उसले ‘सी ह्याज नो च्वाइस’ भन्यो भन्ने कुराको भेउ पाइनँ। यस्तो बेलामा म सधैं भन्ने गर्छु ‘कल्चरल ग्याप।’
तर ती व्यक्ति बच्चीको बाबु रहेछन् भन्ने कुरा मैले थाहा पाएँ। कुरा गर्दैगर्दा हामीहरू एकापसमा परिचय पनि गर्यौं। उसको नाम थियो- फराद।
चिसो भएकोले होला उसले वरिपरिबाट ब्ल्यांकेट तानेर छोरीको टाउको ढाकिदियो। स्ट्रलरको बाहिरबाट कभर लगाइदियो।
‘यु आर रियल्ली गुड एट टेकिंग केयर अफ् योर चाइल्ड’, मैले उसको आँखामा हेरेर भनें।
मेरो भनाइले उसमा कुनै परिवर्तन देखिएन। ऊ पहिलेजस्तै गम्भीर र भावशून्य देखियो। एकै छिनमा उसले भन्यो ‘आई ह्याभ नो च्वाइस।’
उसको यो वाक्यमा ठूलो पीडा लुकेजस्तो मैले महसुस गरें। म अलमल परेजस्तो देखर उसले आफैं मुख खोल्यो, ‘हर मदर डाइड ह्वाइल गिभिंग बर्थ अफ हर। आफ्टर, आई ह्याभ नो च्वाइस।’
उसको भनाइले म स्तब्ध भएँ। ‘आई एम सो सरी’ मैले दोहोर्याएर भनें।
त्यसपछि उसले भन्दै गयो।
‘आई ह्याभ थ्री डटर्स। द ओंल्डेस्ट इज इन ग्रेड फाइभ। दे आर अमेजिंग किड्स। दे टेक केयर इच अदर।’ उसले भन्दै गर्दा मलाइ थाहा भयो कि उसको जेठो छोरी मेरो बाबुको क्लासमेट रहेछ।
‘डु यु टेक केयर अफ देम बाई योर सेल्फ ?’ मैले पुन प्रश्न सोधें।
‘आई ह्याभ नो च्वाइस ब्रदर’, उसले फेरि पनि मेरो आँखामा नहेरिकनै सोही वाक्य दोहोर्यायो।
उसले यसो भन्दै गर्दा उसले भोगेको पीडाको महसुस भयो मलाई।
दुई जना नानीबाबुलाई हामी बुढाबूढीले समय निकालेर हेरविचार, स्कुल लाने ल्याउने गर्दा भ्याइनभ्याई छ भने एकल बुवालाई तीन-तीन वटा छोरीहरूको हेरविचार गर्ने, स्कुल पुर्याउने, ल्याउन जाने गर्दा कति गाह्रो भएको होला। उसप्रति मनमा एक खालको सहानुभूति जागृत भयो। त्यतिनै बेला ग्रेड फाइभका विद्यार्थीहरू बाहिर निस्किए।
त्यही भिडबाट दुब्लो शरीर गरेकी हेर्दा निकै चलाख देखिने नानी सरासर स्ट्रलरको छेउमा आएर उभिई।
स्ट्रलरको कभर हटाई र मुन्टोभित्र छिराएर सानी नानीलाई माया गरी। बुवाले अरबी भाषामा उसलाई खै के भन्यो कुन्नि, उसले तुरून्त टाउको बाहिर निकाली र मास्क लगाई।
त्यसपछि सबै केटाकेटीहरू आफ्नो आफ्नो बाउ आमाका हात समाउँदै घर लागे।
मैले पनि ‘सी यु टुमरो’ भन्दै बाबुनानीलाई लिएर घर फर्कें।
घर फर्किंदै गर्दा मेरो मनमा अनेकन कुराहरू खेलिरहे। उसँग कुरा गर्नु अगाडिसम्म म आफैंलाई निकै अप्ठ्यारो परिस्थितिमा फसेजस्तो लागिरहेको थियो।
घरमा दुई जनाले काम नगरी घर खर्च चलाउन पनि मुस्किल पर्ने। काम गर्यो भने उनीहरूलाई स्कुल पुर्याउने र ल्याउने, उनीहरूलाई खानादेखि खाजासम्मको व्यवस्था गर्ने मान्छे नहुने बाध्यात्मक स्थितिले टाउको थिचेजस्तो भैरहेको थियो।
जब ऊसँग कुरा गरें, मैले मेरा अप्ठ्याराहरू सर्लक्कै बिर्सें।
तीन तीन वटा छोरीहरू, तीनै जना दश वर्ष मुनिका। परदेशमा न कोही आफन्तले सघाउँछ, न कुनै दिन छिमेकीको घरमा छोडेर कतै निस्कन पाइन्छ। सोच्दै मन अमिलो भयो।
यहाँको परिवेशमा आफ्नै भन्ने आफन्तले पनि एकदिन सहयोग गर्न सक्दैन। सबै जना सधैंभरि व्यस्त हुने देश हो यो।
बिहानदेखि बेलुकासम्म दाइमा गोरू रिंगे झैं रिंग्नुपर्छ जीवन चलाउन।
धन्न सरकारले सोह्र वर्षमुनिकाहरूलाई केही मात्रामा भए पनि भत्ता दिन्छ। यसले पनि सबै खर्च थेग्ने होइन।
त्यसपछि उसको र मेरो भेट बेला बेलामा स्कुलमै भैरहन्थ्यो। समर बिदामा उसले ब्याक होम जाने कुरा गरेको थियो। सायद गयो होला। मैले सोचेको थिएँ सायद ऊ फर्किंदैन होला। तर ऊ फर्कियो। ऊ एक्लै फर्केन। साथमा करिब तीस वर्षकी सलक्क परेकी स्त्री साथी पनि सँगै लिएर आएछ। टाउकोमा हिज्जब लगाएकी ती स्त्री निकै राम्री पनि थिई।
एकदिन फराद एक्लै आएको बेला मैले सोधें ‘हु इज सी हु कम्स विद यु’? ऊ एकछिन अलमल परेझैं गर्यो।
उसको अनुहारको भावमा कुनै परिवर्तन देखिएन। धेरैबेरमा मेरो अनुहारमा नहेरिकनै उसले भन्यो ‘ सी इज दरिया, आई ह्याभ नो च्वाइस।’ उसले ती स्त्रीसँग बिहे गरेको होला भन्ने शंका त मलाई पहिलो दिन नै लागेको थियो। तर यहाँको चलन अनुसार गर्ल फ्रेन्ड मात्रै पनि हुन सक्छ , लिभिङ टुगेदर पनि हुन सक्छ , कुनै आफन्त पनि हुन सक्छ। त्यसैले मैले पुन: सोधे ‘ डिड यु म्यारी हर ?’
‘आई ह्याभ नो च्वाइस, ब्रोदर’, उसले भन्यो।
मैले पनि सोचें ठिकै गरेछ। एक त बुढेसकालमा सुन्दर युवती जीवन साथी भेटेछ। अर्को तीन तीन वटा छोरीहरूको हेरचाह मिलिजुली गर्ने भए। उसले भनेको कुरा ठिकै लाग्यो ‘आई ह्याभ नो च्वाइस।’
तर मलाई त्यो सुन्दर स्त्रीलाई देख्नासाथ एउटा शंका मनमा लागिरह्यो ‘के ती युवतीले फरादलाई वास्तवमै मन पराएर बिहे गरी होली? कि फरादसँग बिहे गरेपछि क्यानडा पुगिन्छ। त्यसपछि सोचौंला भनेर। हुनत हाम्रो दिमागले चाहिनेभन्दा नचाहिने कुराहरू धेरै उत्पादन गर्छ। सकारात्मकभन्दा धेरै नकारात्मक कुराहरू फ़ुराउँछ। बाध्यता होस् या प्रेम, अवसर होस् या उन्माद ठिकै गरे भन्ने लाग्यो।
केहीदिनसम्म दुवै जना सँगैसँगै आउथे नानीहरू छोड्न र पिकअप गर्न। दुबै जनासँगै भएको बेला म पनि खासै कुरा गर्दैनथें।
करिब एक हप्तापछि दरिया एक्लै छोरीहरू पिकअप गर्न आएकी थिई। म उसँग खासै बोल्दैनथें। तर पनि हामीहरू सँगै गेट बाहिर पर्खिरहेका हुन्थ्यौं। औपचारिक हाई हेल्लो मात्र हुन्थ्यो।
उसलाई राम्रोसँग अंग्रेजी बोल्न आउँदैनथ्यो। अर्को एक जना सिरियन केटो पनि आफ्नो नानी पिकअप गर्न आउँथ्यो। उनीहरू भने एकापसमा आफ्नो भाषामा कुरा गर्दथे।
करिब एक हप्तासम्म दरिया एक्लै आई नानीहरू छोड्न र लिनको लागि। फरादलाई लामो समय नदेख्दा उसको बारेमा सोध्न मन लाग्यो। गेटमा बाबु नानीहरूलाई पर्खिंदै गर्दा मैले सोधें, ‘ हाउ इज फराद ?’
उसले ‘नो गुद।’ भन्दै गर्दा उसको अनुहारको रंग फिका फिका देखियो। उसले दोहोरो कुराकानी गर्न नसक्ने तर सोधेको कुराको छोटो उत्तर दिने भएकोले फरादलाई के भयो भनेर डिटेलमा सोध्न पाइनँ। मनमा खरल खरल लागिरह्यो। दरियाले भनेको ‘नट गुद’ शब्द मनमा काँडा बिझेझैं बिझिरह्यो।
अर्कोदिन सरिफा स्कुल गइन। मैले बाबुलाई सोधेको थिएँ। फरादको छोरी सरिफा स्कुल आई कि नाइँ भनेर। उसले नआएको कुरा भन्यो। दुवै छोरीहरू स्कुल आएका रहेनछन् त्यो दिन।
त्यो दिन बेलुका स्कुलबाट इमेल आयो ग्रेड फाइभमा कोभिड केस देखिएकोले केही दिनको लागि स्कुल बन्द गरी अनलाइन क्लास सुरू गरेको जानकारी गराउँदै। हामी बुढाबूढी इमेलको बारेमा कुरा गर्दै गर्दा बाबुले भन्यो ‘सरिफा माइट ह्याभ इट।’ सरिफा क्लासमा नगएकोले होला बाबुले शंका गरेको भन्ने लाग्यो मलाई।
स्कुलले कोभिड कसलाई भयो भनेर जानकारी गराउँदैन। बिरामीको नजिक भएकाहरूलाई टोरन्टो पब्लिक हेल्थले फोन गरेर आइसोलेसनमा बस्न लगाउँछ। बाबुको कक्षामा भएका सबैलाई सेल्फ आइसोलेट गर्न र कोभिड टेस्ट गर्न भनी टेस्ट किट समेत दिएर पठाएको थियो स्कुलबाट।
अर्को दिन बिहान लेक ओन्टारियोको पूर्वी कोछबाट सुनौलो घामका किरणहरूले स्कार्बोरोका बगैंचाहरूमा रंगीन लाली पोत्दै थियो। म मर्निङ वाकमा निस्केको थिए। जोन म्याकरे पब्लिक स्कुलको पछाडिपट्टिको पार्कमा थुप्रै मान्छेहरू शरीर तंग्राउँदै थिए। काठका खम्बाहरूले वरिपरिबाट घेरेर कुकुरहरूको लागि पार्क बनाइएको थियो।
कुकुरहरूको पार्कमा लाब्राडोर, योर्कसायेर, पुडल, साइबेरियन हस्की जातका कुकुरहरू यता र उता कुदिरहेका थिए। ती भाग्यमानी कुकुरहरूका गार्जियनहरू एक अर्कालाई आफ्ना आफ्ना कुकुरहरूको आनीबानीको बारेमा सुनाउँदै थिए।
नजिकैको चिल्ड्रेन पार्क कोभिडले थला परेको बिरामीझैं निष्प्राण देखिन्थ्यो। न त्यहाँ कुनै गार्जियनले केटाकेटीहरू खेलाउन ल्याएका थिए। न नजिकैको टोलबाट केटाकेटीहरू एक अर्कालाई बालुवाले हान्दै पार्कमा निस्केका थिए। पार्कको तलपट्टि हिँड्नको लागि बाटो अर्थात् वकिङ ट्रेल बनाएको थियो। एक दुई जोडी बुढाबूढी यही बाटो हुँदै मक्किएको ज्यान जनतन लतारिरहेका थिए।
बाटोको पूर्वपट्टि लहरै घरहरू थिए। तिनै घरहरूको बीचबाट पार्कमा छिर्ने बाटो थियो। सोही बाटो हुँदै दुई जना केटीहरू सेतो स्कर्टमा आउँदै थिए। त्यसको पछाडि पछाडि थियो एक जना बुढो मान्छे झुस्स दाह्री पालेर फुलिसकेको। मैले उसलाई टाढैबाट चिनें। ऊ फराद थियो। उसलाई भेट्न मन आतुर भएको थियो। म अलि तन्किँदै ऊ आउँदै गरेको बाटोतर्फ अघि बढें। म जति जति अगाडि बढ्दै जान्थें उति उति उनीहरूको आकृति धुमिल देखिँदै जान्थ्यो।
जब म उनीहरू भएको ठाउँमा पुगें। त्यहाँ न ती नानीहरू थिए, न फराद नै। म एक्कासि झस्किएर ब्युँझें। नजिकै टेबलमाथि मोबाइल थियो। समय हेरें। बिहानको तीन बज्न दश मिनेट बाँकी थियो। त्यसपछि मनमा चाहिने नचाहिने कुराहरू खेल्न थाले। निन्द्रा पटक्कै लागेन।
१५ दिनपछि पुन: स्कुल खुल्यो। म बाबुनानीहरूलाई स्कुल छोड्न गएँ। फरादका नानीहरू स्कुल आएका थिएनन्। खै किन किन मेरा आँखाहरूले फरादलाई नै खोजिरहेका थिए। उसलाई नदेखेपछि मनै खिन्न भयो। अघिल्लो रात सपनामा देखेको उसको अनुहार झल्झली आँखा अगाडि नाच्न थाल्यो। मनमा अनेकथरि कुराहरू खेलाउँदै म घर फर्कें।
दिउँसो तीन बजे पुन: केटाकेटीहरू पिकअप गर्नको लागि म स्कुल पुगें। कतै फराद पो छ कि भनेर यताउति हेरें। सधैंजसो फरादसँग आउने उसको एक सिरियन साथी थियो।
उसको छोरा पनि ग्रेड फाइभ मै पढ्थ्यो। तर उनीहरूको सेक्सन फरक थियो। एकचोटिमात्र उसँग मैले कुरा गरेको थिएँ। उसको नजिकै गएर सोधे ‘डु यु नो ह्वाट ह्यापेन्ड टु फराद?’
‘असाल्लाहा! हि दाइद इन हस्पितल’, उसले आँखा भरिलो बनाएर भन्यो।
उसको कुराले मेरो सम्पूर्ण शरीर थरर काँपिरहेको थियो। उसका फूलजस्ता तीनवटी छोरीहरू आँखै अगाडि नाच्न थाले।
हँसिलो अनुहार र कसिलो ज्यान परेकी भर्भराउँदो उमेरकी दरिया आई सम्झनामा। उसले भनेको शब्द ‘नट गुद्’ कानमा गुन्जियो सानोमा ढाकाटोपीभित्र थुनेको भमराझैं।
त्यो रातभर निन्द्रा लागेन। जति कोसिस गर्दा पनि फरादको भुक्क फुलिएको अनुहार, हेर्दै चलाख र निकै राम्रा छोरीहरू दिमागमा नाँचिरहे। के दरियाले उनीहरूको केयर गर्ली ?
यदि दरियाले अर्कैसँग बिहे गरेर गई भने कसले हेरचाह गर्ला ती भर्भराउँदा नानीहरूको। कोरोनाको कारण फरादजस्तै कतिले अकालमा ज्यान गुमाउनु पर्यो होला। दरियाजस्तै कति महिलाहरू बितरा परे होलान्। कति सरिफाहरूले स्कुल छोड्नु परे होला। मन निकै रन्थनियो।
बिहानपख झुपुक्क निन्द्रा परेछ। सपनामा फराद आइपुग्यो सधैं झैं ‘सोव बे खेर’ अर्थात् गुड मर्निङ भन्दै। अनुहार पूरै दाह्रीले ढाकेको, निधारमा छाला बेरिएर डोरा बसेको, आँखा भित्रसम्म गढेको फरादलाई देख्नासाथ छातीमा ढ्यांग्रो बज्न थाल्यो। म निकै डराएको थिएँ। हतारिँदै सोधे, ‘ह्वाट ह्यापेन्ड टु यु?’
उसले सधैंझैं मेरो अनुहारमा नहेरी भन्यो, ‘आई ह्याभ नो च्वाइस, ब्रदर।’