काममै थिएँ, तर उसको म्यासेजको पर्खाइ तीव्र थियो मलाई। मनभरि कुरा हुन नपाउँदै ऊ म्यासेन्जरबाट अफ भएर हराएकी थिई।
अति व्यस्त हुँदा पनि चार्जमा घुसेको मोबाइलको स्क्रिन अन गर्दै हेरिरहें बारम्बार।
मैले हेल्लो हाई धेरै पटक गरें, अब उसको रिप्लाइको पर्खाइ थियो।
ऊ प्राय: दस बजे निदाइसक्ने केटी। म दस बजेदेखि व्यस्त हुने कामदार।
उसँगको गफमा हरेक समयको गुनासो यही हुन्छ, ‘तिमीले किन समय दिँदैनौ मलाई ? यो जाबो एक घन्टा च्याट गरेर पुग्दैन, मलाई फोनमै बोल्नु छ।’
उसँग म दैनिक एक घन्टा च्याट गर्छु, कहिलेकाहीँ घरबाट फोन। अलिकति मौका मिल्यो कि म्यासेज गरिहाल्छु, ऊ फ्री हुँदा रिप्लाई आइहाल्छ।
म काममा हुँदा फोन गर्न मिल्दैन, म घरमा पुग्दा ऊ मस्तले निदाएकी हुन्छे। अनि फेरि उठ्नेबित्तिकै मलाई उही हतारो, काममा पुग्ने।
ऊ कैयौ पटक मलाई ड्युटीको समय मिलाउन आग्रह गरिरहन्छे। बेलुकाको ड्युटी गर्ने मलाई कहिलेकाहीँ धम्कीकै भाषामा भन्छे ‘माया गर्छौ भने दिउँसो काम गर, कमसेकम मनभरी बोल्न त पाइन्छ।’
उसका यस्ता धम्कीलाई घुर्की ठानेर बेवास्ता गर्छु अनि हाँसेरै टार्छु। किनकि मलाई यही समय सजिलो लाग्छ। आवश्यक पर्दा फोन भएकै छ, बाँकी कुरा च्याटमा भैहाल्छ।
आज ऊ रिसाएर सुती। मैले गुड नाइट नभन्दासम्म निदाउन नसक्ने केटी ‘खाना खाँदैछु’ भन्ने सामान्य म्यासेज छाडेर हराई, म कुरिरहें।
खाना खाइसकेपछि उसलाई निद्रा नलागुन्जेल हामी च्याटमा गफिन्थ्यौं। उसलाई निद्राले च्यापेपछि बल्ल गफ सकिन्थे।
तर आज पहिलोपटक ऊ खाना खाइसकेर बोल्न आइन, कता हराइ कता।
अलि बढी नै व्यस्त भएता पनि मोबाइलको स्क्रिन अन गर्दै उसको म्यासेज आए/नआएको हेर्न भने छाडिएन।
खै किन हो किन! म्यासेज आयो कि भन्ने कौतुहलता मनमा चलिरह्यो।
‘सरी यार! व्यस्त भएछु, तिमी के गर्दै ?’ म्यासेन्जरको ट्वाङ घन्टीसँगै स्क्रिनमा म्यासेज देखियो।
स्क्रिन अन गरेर उसको म्यासेज पढदै थिएँ, उसले अरू थुप्रै म्यासेज लगातार लेखिरही।
रातको करिब १२ बजे उसको म्यासेज आयो। लेखाइमै पीडा झल्कने खालको।
मानौं ऊ निकै तनावमा छे। उभित्र पीडामात्र छन्।
उसो त ऊ संसारकै खुसी नारीभित्र पर्छे मेरा नजरमा।
उसले बारम्बार यही आभास दिलाउछे मलाई, भन्छे ‘म संसारकै भाग्यमानी नारी हुँ, जोसँग तिमी छौ।’
म यतिले मात्र मख्ख पर्दिनँ। उसका टिकटक एकाउन्टमा भएका हरेक भिडिओले मलाई यो आभास गराउँछ कि ऊ साँच्चै भाग्यमानी नारी हो, जो यति धेरै खुसी छे।
उसँगका सुरूआती दिनहरूमा पनि म उसलाई खुसी नै देख्थें। सामान्य च्याट गर्दा पनि उभित्र पीडा तनाव कतै देखिँदैन्थ्यो। झन् टिकटकका भिडिओ त खुसीले भरिपूर्ण।
बोल्दै गफिँदै जाँदाको पहिलो दिन थियो आज, जहाँ मैले उसलाई पीडामा भएको महसुस गरें।
प्राय: च्याटमा ऊ हाँसो ठट्टा रूचाउदिन, मैले जिस्काउन खोज्दा भन्छे ‘धेरै मत्तिने हैन, भलाद्मी बन!’
फोनमा झन् ऊ गम्भीर भएरै बोल्छे, चाहिने कुराभन्दा पर कहिले पुग्न पाइँदैन। उसँगको फोनमा लाग्छ कि ऊ मेरो अभिभावक हो, ऊ मलाई रहनसहन र बोलीवचन सिकाइरहन्छे।
‘तिमी संसारकै खुसी नारी, तर आज किन यति दुखी भएर म्यासेज गर्दैछ्यौ ?’ मैले रातको १२ बजेसम्म निदाउन नसकेकी उसलाई प्रश्न गरे।
उसले दु:ख बाँड्न चाहिन, प्रश्नको उत्तर दिँदै लेखी ‘दुखी छैन, निद्रा नलागेको मात्र हो।’
मैले पत्याइनँ। फेरि खोतल्दै सोधें ‘भन्न डराको ? कि लजाको ?’
उसले कुरा बटार्दै भनी ‘खाना खायौ ?’
मैले पनि उसको प्रश्नको उत्तर नदिएर प्रतिप्रश्न गरे ‘कल गरम ?’
उसले छोटो उत्तर दिई ‘नाइँ!’
मलाई थाहा थियो ऊ पीडामा छे। किनकि ऊ पीडामा नभएको भए कल गरम भन्ने बित्तिकै ऊ आफैं कल गर्थी। अनि मज्जाले गफिन्थी, मलाई सिकाउथी, गाली गर्थी।
तर आज ऊ तनावमा छे। त्यसैले उसलाई फोनमा बोल्न मन छैन।
मैले ‘गुडनाइट’ भनेर उसलाई सुताए। ऊ फेसबुकमा अफ त भै तर निदाउन सकिन। मलाई त्यस्तै लागिरह्यो।
मेरा मनमा अनेक कुरा खेले। आजसम्म मैले कहिल्यै यति उदास भेटेको थिइनँ उसलाई।
बिहान ऊ बिस्तरामा हुँदै कल गरें, उसले दोस्रो पटकमा फोन उठाई, कल उठाउनेबित्तिकै भनी ‘मेरो टिकटक हेर्यौ ?’
मैले उसँग बोल्दै उसको टिकटक भिडिओ हेरें। ऊ भिडिओमा खुसी देखिन्थी।
गजबको अभिनय थियो उसको। मैले टिकटक बन्द गरेर उसलाई भनें,‘पुरानो भिडिओ हो ?’
‘नाइँ !’ उसले मलिन स्वरमा थप्दै भनी, ‘हिजो राति तिम्रो गुड नाइटपछि निद्रा नै लागेन अनि यही भिडिओ बनाएर टाइमपास गरेकी हुँ!’
‘भिडिओमा हाँसेकी छ्यौ त रून्चे केटी ?’ मैले जिस्काएँ।
किनकि हिजो राति ऊ तनावमै सुतेकी थिई।
‘मेरा लागि टिकटक पीडा भुलाउने ठाउँ हो! म एक्लै रून्छु तर टिकटकमा हाँसिदिन्छु’ उसले सहजै भनी।
मेरो नजरमा ऊ सधैं खुसी रहने नारी थिई तर उसले एक्लै रून्छु भनेपछि फेरि सोधें ‘रूँनु पर्ने पीडा पनि छन् तिमीसँग?’
उसले लामो सुस्केरा हाल्दै भनी, ‘मनका पीडा अनि तनाव टिकटकमा देखाएर सहानुभूति बटुल्नु छैन मलाई, एक्लै रोएर आँसुले पीडा पखाल्छु अनि टिकटकमा हाँसिदिन्छु।’
उसको कुरा सुनेर म आफैं छक्क परें। टिकटकमा मस्तले हाँस्ने केटीका मनमा कतिधेरै पीडा।
ऊ बोल्न नचाहेको जस्तो गर्दै थिई, मैले बिदा दिएँ। रातिको काम गरेर थाकेको म, निदाउने कोसिस गरें।
अहिले सोच्दैछु, टिकटक एउटा यस्तो सामाजिक सञ्जाल रहेछ जहाँ व्यक्तिले आफ्नो वास्तविकता लुकाएर अलग्गै पहिचान बनाउन सक्दो रहेछ।
अस्तिसम्म संसारकै खुसी नारी लाग्ने ऊ हरेक समय पीडामा भएको खबर सुनाई।
टिकटकमा हाँसेर भिडिओ बनाउँदा आफूलाई पीडामा पनि हाँस्न सक्ने हिम्मती नारी भएको उसले पाउछे रे।
आफूसँग भएको प्रतिभा देखाउनेमात्र हैन, पीडा लुकाएर हाँसो देखाउने ठाउँ भएकै कारण तीन वर्षदेखि टिकटक चलाउँदै छु भन्छे ऊ।
ऊ मेरा लागि अस्तिसम्म टिकटकमा हाँस्ने केटी थिई, आजदेखि टिकटकमा हाँस्ने तर वास्तविकतामा रून्चे केटी भैसकी ऊ।
मान्छेका कति पीडा हुन्छन्, जो लुकाएर एकछिन हाँसेको अभिनय गर्दै दुनियाँ जलाउने अनि आफूलाई भुलाउने ठाउँ रहेछ टिकटक।
रून्चे केटीको टिकटक एकाउन्टले मलाई यस्तै पाठ सिकायो। पीडा लुकाउनुस्, दुनियाँलाई हाँसो देखाउनुस्।
जल्नेहरू कति भेटिन्छन् कति !