नेपालको उत्तर पूर्वी भौगोलिक रूपले ठिकठाकै राजधानीदेखि ५०-५५ किलोमिटर टाढाको मेरो गाउँ।
काभ्रे जिल्लाको पलान्चोक डाँडाको सेरोफेरो। मध्य-पहाडीमा पर्ने भूगोल। मात्रै एक बाली हुने केही रोपनी जमिन। बर्खाभरि मरिहत्ते गरेर काम गर्दा ६ महिना खाना नपुग्ने उब्जनी हुन्थ्यो अन्न।
अन्नमा हुने विशेष मकै। बाँकी अलि-अलि कोदो फापर आदि-इत्यादि। सिजन अनुसार निस्कने सीमित तरकारी।
चलेकै थियो जिन्दगी जसोतसो। खासै ठूलो महत्वाकांक्ष थिएन। सिधा ठिटो गाउँको। मेलापात, अर्मपर्म गर्नु नै थियो जिन्दगी।
बारीको पाटाहरूमा कोर्दै हुन्थ्यो नदेखिने जिन्दगीको कथाहरू कलमरूपी चिलौनेको चिटिक्क परेको हलोले जोतेर।
खुसी साथ चलाउँदै थियो जिन्दगी। सानो परिवारसँग सानै सपनामा डुबेर।
०४६ सालको राजनीतिक परिवर्तनको साथ झुल्केको वैदेशिक रोजगारको हावाले मेरो गाउँ पनि अछुतो रहने कुरै भएन। नेताहरूले के-के गरे। के-के गरेनन्।
हामी भुइँमान्छेले बुझ्ने ती कुराहरू टाढाका थिए। मीठो कुराहरू गर्थे। चुनावी माहोलमा त मजस्तो किसानको पटपट फुटेको खुट्टामा ढोकुलाझैं गर्थे। विचित्रको थियो अभिनय बहुदलीय व्यवस्थासँगै जन्मेका प्रिय नेताहरूको।
सन्धी र सम्झौताको नाममा खोई के-के गर्यो भन्छन्। नदी-नालादेखि नेपाली स्वाभिमानमा खैर बुझ्दिनँ सब ती कुराहरू। खुला अर्थतन्त्रको नाममा के-के उद्योगहरूलाई बन्दै गरेको भन्छ। बुझे मरी जाऊँ। बुझ्नु पनि कसरी भुइँ मान्छेले ठालुहरूको ठूलो कुरा।
देशमा बहुदलीय व्यवस्था आउनुपूर्व केही हजार नेपालीमात्रै वैदेशिक रोजगारको लागि विदेशिएको भन्ने कुरा सुनिएको थियो।
बहुदल आएपछि क्रमशः वैदेशिक रोजगारको निम्ति परदेश जाने लहर चैत्रमासमा जंगलमा सल्केको डढेलोसरी सल्केको थियो पूरै देशमा।
सीमित साधन स्रोतले मज्जाले चलेको मेरो परिवारमा अथवा ममा समेत जागेर आयो थोरै महत्वाकांक्षा। थुप्रै रुपैयाँ कमाउने।
आधुनिक जिन्दगीको अनुशरण गर्दै। भौतिक सुविधाजनक जीवन बाँच्ने रहरको ऐंजेरू पलायो मन नामको विशाल वृक्षको डाली-डालीमा।
फलस्वरूप वैदेशिक रोजगारीको लागि परदेश जाने गरें निधो। लागियो सदरमुकाम बनाइयो हरियो पासपोर्ट। अनि हान्नियो सहर।
मीठो सेवा-सुविधाको सपना बाँडेर मान्छेको निर्यात गर्ने प्राइभेट कम्पनीको चरणमा सुम्पियो हरियो पासपोर्ट साथै उनको माग बमोजिमको रुपैयाँ।
श्रम मन्त्रालयले गरिदियो श्रम स्वीकृत। त्रिभुवन हवाई अड्डामा पुगियो। उभिएँ अध्यागमनको बाहिर जाँदा कागजात चेकजाँच गर्ने लाइनमा।
रूखो स्वरले बोल्ने नेपाल सरकारको अध्यागमनमा कार्यरत कर्मचारीको मञ्जुरी पाएर उडियो।
टाढाको अपरिचित देशमा। मसँग मजस्तै थुप्रै थिए युवाहरू।
घरको मझेरी हुँदै निस्कँदाको बाटोहरू फरक-फरक भए पनि अन्तमा हामी सबैको बाटो अनि गन्तव्य एउटै थियो।
फरक/फरक परिवेश, फरक/फरक जाति र धर्मको भए पनि रातो रगत र अटल आशा बोकेको सिंगो नेपालको नेपाली बनेर केही वर्षको लागि अरूको ठाउँलाई कर्म भूमि बनाउन तल्लीन थियौं हामी।
प्रवासको अपरिचित भिडमा अनिश्चित भविष्यको खातिर थुप्रै बगाउनुपर्थ्यो पसिना।
पसिनाको नदीमा पौडदै आएको मुद्रा (पैसा ) बिछोडको पीडा भुलाउने माध्यम भएको थियो म अनि मेरो परिवारलाई।
बिस्तारै-बिस्तारै परिवारमा हिजोको अर्गानिक निष्कपट साधारण खुसीमा कताकता महत्वाकांक्षाको बाछिटाहरू परेको भान हुँदै थियो। रेमिट्यान्सबाट प्राप्त गरेको पैसाको नशाले सहरमुखी बन्न मन गरेको आभास पाइरहेको थिएँ परिवारको बोलीबाट।
आफ्ना मान्छेहरूको खुसीको लागि स्वयंको इच्छा र आकांक्षालाई मनलोकमास्थित बाध्यता बैंकको मुद्दती खातामा धरौटी राखेर निरन्तर खटिरहे मेसिन सरी मेसिनजस्तै बनेर।
मसँग मजस्तै मेहनतको खोलामा पौडिन निपुण केही साथीहरू। सुखदुःखले भरेको जीवन कथामा अभिनय गर्दै।
परिबन्दको पासोमा अल्झनुको विकल्प थिएन टाढाको बिरानो गल्लीहरूमा।
दिन महिना वर्ष गरेर प्राप्त गरेको उपलब्धिहरूलाई अर्पण गरिरहे परिवारलाई।
परिवारको मप्रतिको आत्मीयता मसँगको प्रेम बिस्तारै बिस्तारै मैले हासिल गरेको उपलब्धि ग्रहण गर्ने बेलामा निक्कै प्रगाढ रहन्थ्यो। मजस्तै मसँगै कार्यरत एक जना साथीको त जीवनभर साथ दिम्ला भनेर अग्निलाई साक्षी राखेर गाँसेको सम्बन्धबीच बाटोमै भर्खर भर्खर पलाउँदै गरेको मायाको मुनालाई बिचल्ली पारेर एक खोलाको दुई किनारा भएको हृदय विदारक कथाले मुटुमा चसक्क दुख्छ।
नहोला यस्तै सबैको मेरोजस्तै। मेरो साथीको जस्तै। तर यस्तो र यस्तै कथाहरू खोज्दै जाने हो भने भेटिन्छ थुप्रै।
कतै यो कुरा कोहीसँग मेल हुन पुगे एउटा संयोग सम्झनुहोला।
हो आफ्नो ठाउँको आफ्नाहरू छोडेर आएको वर्षहरूले थुप्रै भोटो फटाइसक्यो। भौगोलिक दूरीले टाढा हुँदै गर्दा बेमेल समयको पर्दासँगै पाल्नुभएको अविश्वास नामको वस्तुहरूले जन्माएको अतिरंजित क्रिया-प्रतिक्रियाले सम्बन्धहरूको धरातलमा दरार ल्याएर अधुरो बनाउने कोसिस गर्दो रहेछ देखेको सपनाहरूलाई। लेखेको कथाहरूलाई।
सायद स्रोत साधनले भरिपूर्ण मेरो देशको गतिलो नेताले स्वदेशमा स्वरोजगारको बेलैमा व्यवस्था गरेर लाखौं हरियो पासपोर्टधारी युवाहरूलाई आफ्नै देशमा फर्काए टुट्दैन थियो होला थुप्रै सम्बन्धहरू हरियो पासपोर्टसँगै...