मेरा सहकर्मी, सहपाठी र बालसखाहरुबाट धेरै पटक अझ भनौं पटक-पटक सुनिएको शब्द हो प्रेम। माध्यामिक तहमा अध्यापन गर्दा नै कोही साथीहरुले प्रेममा परेका कथा सुनाउँथे, कोही प्रेमको लक्ष्य बोकेका गाथा सुनाउँथे, कोही प्रेम टुटेको व्यथा सुनाउँथे। सायद, यस्तै सुन्ने र सुनाउनेको भीडमा कतै-कतै आफूलाई पनि पालो राखेको थिएँ।
सबैले प्रेमको बारेमा आ-आफ्नो कथा बोल्थे, व्यथा सुनाउँथे। तर, कोही साथीहरु यस्ता पनि थिए जो प्रेममा पर्दा प्रेमको गाथा सुनाउँथे र प्रेम टुट्टा व्यथा लुकाउँथे। जे होस् सयम समयमा साथीहरुबीच कथा सुन्ने र सुनाउने क्रम चलि नै रहन्थ्यो। वयस्क उमेरको ग्राफ बढ्दै गर्दा लाग्थ्यो मनपरेको मान्छेलाई आफ्नो बनाउनु नै प्रेम हुनु हो।
प्रेमको स्पष्ट परिभाषा आजसम्म पनि टुंगो लागिसकेको छैन। प्रेम के हो भन्ने प्रश्नले जो कसैलाई सर्तक बनाएकै छ, बनाएकै थियो र बनाइरहन्छ। प्रेम कसरी हुन्छ? यसको मापदण्ड के-के हो? प्रेम हुनका लागि के हुनुपर्छ? यसलाई परिभाषित गर्न कठिन छ। प्रेमको परिभाषा व्यक्तिपिच्छे फरक-फरक पाउने गरिन्छ।
कसैले प्रेम मानव जीवको भावनात्मक सम्बन्ध हो भन्ने गरेका छन्। कसैले प्रेम अस्थायी वा स्थायी लत हो भनेका छन्। कसैले प्रेमलाई एउटा अनुभूति हो भनेका छन्। कसैले प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको मनोभाव हो भनेका छन्। कसैले प्रेमलाई कुनै वस्तु प्रतिको मोह पनि भनेका छन्। सबैले आ-आफ्नो तरिकाले प्रेमको परिभाषालाई तयार गरेका छन्।
जे होस् केही वा कोही आफ्नो भैदियोस् भन्ने मनोभावना नै प्रेम हो। कुनै वस्तु वा मान्छेप्रति आफ्नो मोह जाग्दछ, ऊ प्रतिको लगाव बढ्छ भने त्यहाँ प्रेमको आभास हुन्छ।
प्रायः प्रेमलाई प्रेमी र प्रेमीका बीचका प्रसंगहरुसँग जोडेर चर्चा गर्ने गरिएको पाइन्छ। यसैको आधारमा प्रेमको तुलना गरिन्छ। तर, निसर्त प्रेमको आभास जो कसैसँग पनि हुनसक्छ। प्रेममा आ-आफ्नै उदेश्य र स्वार्थ जोडिएका हुन्छन्। आमा र बच्चाबीचको प्रेम भिन्न हुन्छ। साथी-साथीबीच हुने प्रेम भिन्न हुन्छ। तरिका पनि फरक हुन्छ। प्रेम व्यक्त गर्ने शैली पनि फरक हुन्छ।
प्रेमको अनेक रुपहरु हुन्छन्। कतै सजीवहरुप्रति प्रेम हुन्छ। कतै निर्जीव वस्तुहरुप्रतिको प्रेम हुन्छ। सबैभन्दा बढी प्रेमको चर्चा पलाउने भनेको मानव जीवनमा नै हो। जहाँ बालक, युवादेखि बृद्ध अवस्थासम्ममा प्रेमको विभिन्न चर्चा परिचर्चा हुने गर्दछ। यी तीनै अवस्थाका प्रेममा भने निकै फरकपन भेटिन्छ। बालक हुँदा स्नेहको प्रेम, युवा हुँदा यौवनको प्रेम र बुढेसकालमा सहानुभूतिको प्रेम।
प्रेम प्राकृतिक प्रक्रिया हो जुन निरन्तर चलिरहन्छ। प्रेमको कुनै दायरा हुँदैन। प्रेमको कुनै सीमा हुँदैन। प्रेमको आयु हुँदैन। नत प्रेमलाई तौलिन सकिन्छ, नत यसको मापन गर्न नै। अनायसै जहाँ जतिवेला जोसुकैसँग पनि प्रेम हुनसक्छ।
आफूले मन पराएको मान्छेसँगै बाच्नु पनि प्रेम हो। साथै, आफूलाई मनपरेको मानिसका लागि बाँच्नु पनि प्रेम हो। प्रेम एक महान् सत्य हो। जीवनको मिठो भोगाइ हो। प्रेम एकअर्काप्रतिको विश्वास पनि हो। सम्मान हो। हेरचाहा हो। प्रेम जसले बाँच्न सिकाउँछ, जिउन सिकाउँछ।
प्रेम एकतर्फी पनि हुन्छ। कोही कसैलाई मनपराउनु, माया गर्नु पनि प्रेम हो। कोही कसैप्रति मोहित हुनु, आफ्नो बनोस् भन्ने भावना पैदा हुनु ऊ प्रतिको प्रेम हो। आफूले प्रेम गरेको मानिस आफूसँग नहुँदा वा आफ्नो बन्न इन्कार गर्दा ऊप्रति मोहित हुनु पनि प्रेम हो। तर, त्यो एकतर्फी प्रेम हो। यो प्रेम निकै खतरनाक र चुनौतिपूर्ण हुन्छ। यसको खासै अर्थ पनि हुँदैन।
तपाईं यदि कसैलाई धेरै प्रेम गर्नुहुन्छ, तर उनले कुनै वास्ता गर्दैनन् भने त्यो एकतर्फी प्रेम हो। तपाईंले जतिसुकै प्रयास गरे पनि उनले त्यसमा साथ दिँदैन, तपाईंप्रति भावनात्मक रुपमा जोडिँदैन वा रहँदैन भने, त्यस्तो प्रेमको अर्थ पनि हुँदैन। एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर मायाको गम्भीरता बुझेको हुँदैन। मायाको महसुस गरेको हुँदैन। त्यहाँ चाहना मात्रै हुन्छ। मायावी सम्बन्ध हुँदैन। सम्बन्धको प्रगाढपन हुँदैन। प्रेमिल मिलन हुँदैन।
प्रेम कहिल्यै स्वार्थी हुँदैन। प्रेम कहिल्यै लोभी हुँदैन। प्रेमले कहिल्यै विश्वासघात गर्दैन। जहाँ प्रेमको नाममा स्वार्थीपन लुकेको हुन्छ, घमण्डको चाप उक्लँदो हुन्छ, अविश्वासका चाङहरु बढ्दै जान्छन् त्यहाँ प्रेम हुँदैन। प्रेमको दायराभित्र त्यस्ता क्रियाहरु कदापि पर्दैनन्। एकतर्फी प्रेममा अर्को पक्षलाई हानी पुर्याउनु प्रेम हुनै सक्दैन। पीडा दिनु, दुःख दिनु, सताउनु त्यो कदापि प्रेमको परिधिभित्र पर्दैन।
प्रेमको कुनै मूल्य हुँदैन। तर, निःशुल्क पाइन्छ। प्रेम कहिले, कहाँ र कति बेला हुन्छ त्यसलाई कसैले नजरअन्दाज गर्न सक्दैन। प्रेम न त बेच्न सकिन्छ न किन्न। प्रेम एक सर्वशक्तिशाली अनुभूति हो। प्रेम बाध्यात्मक हुनै सक्दैन।
तर, आजकाल प्रेमको नाममा विकृति बढेको छ। स्वार्थ बढेको छ। जालझेल बढेको छ। कसैलाई गुलाफको फूल दिदैँमा, चिल्ला मिठा कुरा भन्दैमा, विभिन्न आश्वासन र प्रलोभनमा पार्दैमा त्यो कसरी प्रेम हुनसक्छ? आजभोलि गल्ली-गल्तीमा प्रेम भेटिन्छ, रिसोर्ट तथा होटलमा प्रेम भेटिन्छ, डिस्को र रात्रि क्लबमा भेटिन्छ तर वास्तवमा त्यो प्रेम होइन, आकर्षण मात्र हो।
अहिले आर्कषणलाई प्रेम मान्ने गरिन्छ। आर्कषण प्रेम होइन, फगत केही क्षणको आनन्द हो। यो एउटा आवेग मात्रै हो। विस्तारै आर्कषण कम हुँदै जाँदा प्रेममा ह्रास आउँदै जान्छ, केही समयपछि त्यो विलीन हुन्छ।
प्रेमको लागि हरेक कुरा जायज हुन्छ। आफ्नो प्रेम प्राप्तिको लागि मान्छे हरेक कुरा त्याग्न तयार हुन्छ, सारा विश्वसँग लड्न तत्पर रहन्छ। प्रेमले मान्छेलाई शक्ति दिन्छ, खुसी दिन्छ। त्यसैले संसार प्रेममै अडिएको छ। वास्तवमा यो प्रेम भनेको कुनै भावना वा आवेग मात्र होइन, यो हाम्रो मस्तिष्कमा हुने रसायनिक प्रतिक्रियाहरुको परिणाम हो। प्रेम दुई आत्माको मिलन हो। आत्मादेखि आत्मा बीचको कनेक्सन हो।
प्रेम बुझेर गर्नुहोस्। सोचेर गर्नुहोस्। निःस्वार्थ गर्नुहोस्। तब मात्र प्रेम दीर्घकालीन रुपमा रहिरहन्छ। क्षणिक आर्कषणलाई प्रेम मानेर त्यसको गोलार्धभित्र नफस्नुहोस्। यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ। निःस्वार्थ प्रेम गर्नुहोस्, यस्तो प्रेम सधैं सफल र अमर हुन्छ, रहिरहन्छ।