म करिब ७ वर्ष जतिको थिएँ होला, त्योभन्दा पहिले मैले गाडी देखेको थिइनँ।
किनभने त्यो बेलासम्म हाम्रो गाउँमा गाडी पनि गएको थिएन अनि म सहर पनि पुगेको थिइनँ र आएर याद नभएको पनि हो कि त्यो भने अहिले सम्झनामा छैन। तर, मलाई एउटा क्षण भने सम्झना छ, गाडीको सहचालकले हातभरि पैसा लिएको देखेर पैसा कमाउन त गाडीको सहचालक पो बन्नुपर्ने रहेछ भन्ने लागेको। तर, मलाई त्यो बेला सहचालक भन्ने शब्द त थाहा थिएन। ‘खलासी’ भन्ने मात्रै थाहा थियो।
अनि पछि गाडीबाट झरेपछि बुवाले समाउनुभएको हात फुस्काउँदै भनेको थिएँ, ‘बुवा म पनि ठूलो भएपछि खलासी बन्छु नि है!’ बुवाको अनुहार त्यतिबेला आश्चर्य र हाँसोले भरिएको थियो।
अनि हामीसँग काठमाडौं आउनुभएको सानुबुवाले भन्नुभयो, ‘किन नि सानी छोरीलाई खलासी बन्न मन लागेको ?’
मैले भनेको थिएँ,‘खलासीसँग हातभरि पैसा हुन्छ, सबैले पैसा दिन्छन् त्यहीँ भएर क्या। टन्न पैसा भयो भने म त मन लागेको खान्छु, काठमाडौंमै बस्छु, गाउँ त जाँदिनँ त्यसपछि। यहीँ पढ्छु। अनि गाडी किनेर तपाईंलाई नि सहर घुमाउँछु’, मैले उत्साहित भएर भनेका यी शब्दहरू स्मृतिमा ताजै छन्। त्यसपछि मलाई बुवाले छोरी त्यस्तो बन्नुहुँदैन, अरू नै काम गर्नुपर्छ राम्रो ठूलो मान्छे बन्नुपर्छ। खलासीलाई त सबैले गाली गर्छन्, राम्रो भन्दैनन् नि मेरी छोरी त समाजसेवी बन्नुपर्छ भन्नुहुन्थ्यो।
मलाई अहिले पनि यो कुरा सम्झँदा अचम्म लाग्छ, त्यति सानै उमेरमा पैसा कमाउनुपर्छ भन्ने मेरो दिमागले बुझिुसकेको थियो र पैसाले नै मलाई मीठो लागेका कुरा खान, राम्रो कपडा लगाउन पाइन्छ भन्नेमा म जानकार भइसकेको थिएँ।
अहिलेका पुस्ता झन् यो विषयमा अगाडि भइसकेका छन्।
उनीहरू आधुनिक विज्ञान र प्रविधिको तीव्र वृद्धिका कारण यी विषयमा धेरै अगाडि पुगिसकेका छन्।
अनि अर्को प्रसंग पनि जोडौं, मैले एउटा कथा पढेको थिएँ कुनै विदेशी घटनाक्रमसँग जोडिएको।
एउटा पात्र हुन्छ प्याखोब नाम गरेको, जो अत्यन्तै लोभी हुन्छ, अझ भनौं नेपाली उखान धन देखेपछि महादेवको पनि तीन नेत्र खुल्छन् भनेजस्तै।
एकदिन उसलाई यस्तो अफर आयो कि उसले दिनभरि कुदेर जति पनि जमिनमा पुग्नसक्छ त्यो सबै उसको नै हुन्छ। तर, ऊ सूर्योदय भएपछि हिँड्ने अनि सूर्यास्त हुँदा जहाँ पुग्छ त्यत्तिमात्रै हुने सर्त थियो।
अनि त उसलाई के चाहियो, सानो झोलामा २ वटा रोटी राखेर ऊ जमिन ओगट्न हिँड्छ, ऊ एकछिन पनि नरोकिइ हिँडेको हिँडेकै गर्यो, यत्तिसम्म कि उसले राम्ररी पनि खाएन, थकाइ मार्ने त परकै कुरा। ऊ यति जमिनमा पुग्छु, यति ओगट्छु भन्दै थप छिटोछिटो हिँड्थ्यो, तर दुर्भाग्यवश सूर्यास्त हुनेबेला अर्थात् जब उसले जमिन आफ्नो बनाउने बेला भएको थियो, बोतलको पानी समेत पिउनै नपाई उसको मृत्यु भयो। न उसले पैसा पायो न जीवन।
एउटा आकांक्षाका लागि कुदिरहँदा मानिसले जीवनका अरू पाटा कसरी भुल्छ र ऊ त्यसमै तल्लीन रहँदै जीवनको समाप्ति हुन्छ भन्ने पनि यो कथाको सन्देश हो।
यही कथाले पनि मानिसको धनप्रतिको आंकाक्षा कति हुन्छ र यही पाउने अपेक्षामा दर्गुंदा दर्गुंदै उसको कसरी अन्त्य हुन्छ।
मानिस आफैं छैन भने उसँग कति धन सम्पत्ति छ वा छैन भन्ने कुराले केही अर्थ राख्छ र?
हामी पूर्वीय, पश्चिमाको दर्शन पढौं, जहाँ पनि यही उल्लेख गरिएको छ कि धनसम्पत्ति भनेको क्षणिक हो वास्तविक सुख भनेको शान्ति हो मनको आनन्द हो।
हाम्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले भन्नुभएको छ।
हुन पनि हो, मानिसको मन शान्त छैन भने जति नै पैसा, जति नै भौतिक सुखसुविधा भए पनि खुसी हुन सक्दैन। त्यो यर्थाथ हो, तर त्यो विषयसँगै जोडिएको अर्को यर्थाथ पनि हो पैसा नभए पनि हुँदैन। अझ, सहरमा बस्नेलाई त पाइलैपिच्छे पैसा चाहिन्छ।
बिहान उठेदेखि राति सुत्नेबेलासम्म केही न केही माध्यमले पैसा त खर्च भइरहेकै हुन्छ। अनि कमाउनका लागि मरिमेट्नु नाजायज पनि होइन। तर, आजको प्रश्न भने कमाइको अन्त्य कतिसम्म हो? कति कमाएपछि पुग्ने हो, कि मानिसको इच्छाशक्ति अपूर्ण छ? अनन्तसम्म ऊ कमाउन चाहन्छ? तर, वास्तविकता यो नै हो कि मानिस भ्रष्टाचार गरेर, लुटेर, ठगेर वा केही राम्रै काम गरेर पनि कमाउन चाहन्छ जसको सीमा यति भन्ने छैन। ऊ पाएसम्म र मिलेसम्म पैसाकै पछि दगुरिरहन्छ।
संसारमा धनी मान्छेको सूचीमा आउने बिल गेट्स, एलन मस्क, मार्क जुकरवर्ग, अलिबाबा, मुकेश अम्बानी, विनोद चौधरी लगायतका व्यक्तिहरूले अब मलाई पुग्यो कमाउँदिनँ भनेको सुन्दैनौं, जबकि उनीहरू मानिसलाई करोडौं सहयोग गर्नसक्ने अवस्थामा छन्। बरू, उनीहरू अरूभन्दा माथि कसरी जाने? उसलाई कसरी उछिन्ने भन्ने ध्यानमा मात्रै लाग्दछन्।
यसबाट के बुझिन्छ भने मानिसको आकांक्षा र प्राप्ति असीमित छ, अनन्तसम्म छ। तसर्थ, ऊ थप पाउने आशामा दगुरिरहन्छ।
आज जति पनि मानिसहरू देशमै बसेर वा विदेश गएर दौडधुप गरिरहेका छन्, त्यसको एउटै उद्देश्य हो पैसा कमाउनु, विज्ञान र प्रविधिले भित्र्याएका नयाँ भौतिक साधनको उपयोग गर्नु, राम्रो गाडी चढ्नु, छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिनु, यस्तै यस्तै त हुन्
हुनत, चाणक्य नीतिमा पनि उल्लेख गरिएको छ:
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।
अर्थात्, बाँचुन्जेल ऋण नै गरेर भए पनि घिउ खाऊ मरेपछि केही पनि छैन भन्ने अर्थमा उनले उक्त श्लोकको रचना गरेका थिए।
अब, कुरा आउँछ सधैं घिउ मीठो, मसिनो खान त पैसा नै कमाउनु पर्यो नि नभए त त्यो पनि असम्भव हुन्छ। तर, कति कमाएपछि पुग्ने भन्ने मुख्य प्रश्न हो।
हुनत, कहिलेकाहीँ हरेक मानिस आर्यघाटमा लास जलाउँदै गरेको दृश्य देखेपछि एकछिन अशान्त भएर आउँछ। पैसा पैसा भनेरै मैले जीवन किन सकें हुँला, कहिले पनि घुम्ने मीठो खाने, वा शान्तसँग बसिनँ होला? आखिर अन्तिम सत्य त आर्यघाटसम्मको न हो भन्नेखालको हरेकका मनमा आउँछ तर केहीछिनमै ऊ त्यो यर्थाथ कुरा बिर्सन्छ र पैसाको लागि दौडधुपमा लाग्छ, कतिलाई खसाल्छ, कतिलाई रोक्छ, कसरी हुन्छ आफू माथि जान्छ र पैसा कमाउँछ। यसको अर्थ के हो भने मानिस नमरून्जेलुसम्म पैसा कमाइरहन्छ र यति भए पुग्छ भन्ने नै छैन। बरू उसको मृगतृष्णा अझै बढिरहन्छ।
अझ, अहिलेको विज्ञान र प्रविधिको तीव्र विकासले त मानिसलाई यति धेरै महत्वकांक्षी बनाएको छ कि एकपछि अर्को गर्दै आवश्यकता बढ्दैछन् र तिनको प्रयोगका लागि पैसा कमाउनुको विकल्प छैन।
महान् कवि, दार्शनिक र अध्यात्मवादले पैसालाई हातको मैला वा क्षणिक खुसीको साधन भने पनि यो बिना मानिसको जीवन भने चल्न नसक्ने प्रष्ट छ।
मानिस हिँड्नुभन्दा पहिले पैसा अघि सानुपर्छ अनि मात्रै बाँकी कुरा आउँछ नभए जतिसुकै आदर्शका कुरा गरिरहे पनि आधुनिक मानव जीवन पैसाबिना सम्भव भने छैन। यति कमाए पुग्छ भन्ने सीमा पनि छैन। त्यहीँ भएर मानिसहरू भ्रष्टाचार गरेर, ठगेरै भए पनि अकुत सम्पत्ति कमाउँछन् तर, त्यसबाट वास्तविक शान्ति भने प्राप्त गर्दैनन्।
भौतिक दुनियाँमा सुखी र खुसी देखिए पनि मन भने अस्थिर नै हुन् । तसर्थ, पैसा सबैथोक हो र पैसा मात्रै सबैथोक होइन भन्ने लेखकको धारणा छ।