सुरूआत ६० साल वरिपरिको एउटा प्रसंगबाट गरौं।
अघिल्लो दिन साँझ बुहारीलाई अस्पताल लिएर गएका मेरो छिमेकी काका-काकीमध्ये भोलिपल्ट काका एक्लै घर फर्किए।
यता परिवारदेखि गाउँ छिमेकका सबै जसोको आँखाले निकै उत्सुकताका साथ काकालाई एउटै प्रश्न सोधिरहेका थिए। 'बुहारी खोई? के भयो?'
काकाले हँसिलो अनुहार बनाएर भने, 'दुबै ठिक छन्। घरमा लक्ष्मी भित्रिइन्।'
तब खबर सुन्न आतुर सबैको अनुहार उज्यालियो।
काकाले नातिनीलाई लक्ष्मी भन्दै खुसी हुनका बाह्य कारणभन्दा भित्री कारण बलिया थिए।
उनका आफ्ना दिदी बहिनी थिएनन्। उता आफ्ना दाइभाइबाट छोराछोरी दुबै भए। यता आफूबाट भने लगातार चार जना छोरैछोरा मात्र जन्मिए।
दुई पुस्तासम्म चेलीविहीन घरमा छोरी जन्मिनुलाई रहरले लक्ष्मी भनेका हुँदा हुन्। तब न घरका प्रत्येक सदस्यले छोरी, भतिजी, नातिनी भन्नुको साटो 'यी त हाम्रो घरकी लक्ष्मी हुन्' भन्दै हातैहातमा काखैकाखमा मायैमायाले पुलपुलाउँदै हुर्काए।
गर्भवती श्रीमती छोडेर विदेश गएका दाइ छोरी जन्मेको दुई वर्षपछि घर फर्किए।
उनको खुसीको सीमा थिएन। बाबु हुनुको हर्ष, अनि घरमा लक्ष्मी भित्रिएकोमा दंग देखिए उनी।
अर्को वर्ष दिनमा काका र दाइ भएर भाउजूलाई उसैगरी अस्पताल दौडाए।
भोलिपल्ट काका फर्किए। उसैगरी सबैका आँखाले उस्तै सवाल गरे। यसपटक काकाको अनुहारमा उस्तै चमक देखिएन, जस्तो पहिला देखिएको थियो।
'नातिनी जन्मिई। आमा-छोरी दुबै ठिक छन्।'
खबर सुन्न उत्सुक छिमेकीहरूको अनुहार पनि काकासँगै मिल्दोजुल्दो देखियो। काकाको आशा नाति थियो होला, उनको चमक हराउनु सामान्य थियो।
सँगसँगै गाउँलेको अनुहारको चमक हराउनु भित्रको सामाजिक मनोविज्ञान त्यतिखेर मैले बुझिनँ।
म असमञ्जसमा परें। छोरा पो नजन्मेको हो त। छोरी अर्थात लक्ष्मी त जन्मेकी हुन नि। झन् काकाको खुसी दोब्बर हुनुपर्ने हो। तर उनले यसपटक लक्ष्मीको नामै लिएनन्। न लक्ष्मी भित्रिइन् भने न त लक्ष्मी थपिइन् नै भने।
जन्मेको त छोरी नै हो पहिले पनि अहिले पनि। काकाले भन्नुपर्ने नातिनी नै थियो, पहिले पनि अहिले पनि। तब म सोच्छु, 'काका पहिला गलत थिए कि अहिले....?'
अघिको प्रसंगलाई बिर्सिएर कुरा गरौं अहिलेको।
आजकल टाढाका आफन्तको मात्र होइन, नजिकका छिमेकीको खबर समेत सामाजिक सञ्जालबाट छिटो थाहा पाइन्छ।
जन्मदेखि मृत्युसम्म, बिरामी भएदेखि निको भएको सम्म। सफलता र असफलता सबै-सबै शुभ अशुभ खबर सामाजिक सञ्जालको भित्तामा पोतिन्छन्।
खबर अनुसार मित्रजनबाट बधाइ र सान्त्वना प्रदान गरिन्छ। सामाजिक सञ्जाल सुख दु:ख बाँड्ने सजिलो माध्यम भएको छ।
अहिले मेरो लेखको विषय सामाजिक सञ्जाल भने होइन, तर सामाजिक सञ्जालको भित्तामा देखापर्ने एउटा पोष्ट, जस्मा मेरो आँखा घरिघरि पुग्छ।
खुसी बाँड्न गरिने एउटा पोष्ट जसको सामाजिक मनोविज्ञान निकै रोचक लाग्छ। जसको विषय उठान सुरूआतमै गरिसकेको छु।
'हाम्रो परिवारमा लक्ष्मीको प्रवेश भएको छ।' छोरी जन्मिँदा उसको बाबुआमा लगायत आफन्तले यस्तै भावमा कुनै सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छन्। अनि बधाइ र शुभकामनाको ओइरो पहिरो यसरी चल्न थाल्छ, मानौं कि उसको घरमा यसअघि कुनै लक्ष्मी नै थिइनन्। जबकि छोरी जन्माउने आमा पनि छोरी नै थिइन्, अर्थात् लक्ष्मी। कि त विवाहपूर्व मात्र छोरीलाई लक्ष्मी मान्नुपर्यो, हैन भने जन्मिँदा लक्ष्मीको स्वरूपमा जन्मिएकी छोरी सदैव लक्ष्मी रहिरहनु पर्यो । त्यसैले छोरी जन्मिँदा लक्ष्मी भित्रिइन् मात्र भन्नु न्यायोचित नहोला। 'लक्ष्मी थपिइन्' भन्नु उपर्युक्त हुन्थ्यो होला।
हिन्दू धर्ममा लक्ष्मी भन्नाले धनकी देवी भनेर बुझिन्छ। छोरीलाई धनकी देवी लक्ष्मी नै किन भनियो ? सरस्वती किन भनिएन। दुर्गा, चण्डी, महाकाली किन भनिएन? बेलाबखत छोरीलाई शक्तिशाली देखाउन दुर्गा, चण्डी, महाकालीका स्वरूप हुन् भनेर व्याख्या त गरिन्छ।
तर पनि छोरी जन्मेको दिन मेरो घरमा दुर्गा, चण्डी, महाकाली जन्मिइन् भनेको कतै सुनिँदैन। अब बुझ्न गाह्रो नहोला लक्ष्मी नै किन भनियो।
पहिलो र बलियो सामाजिक धारणा, 'छोरी भनेका पराय धन हुन्।' जन्मायो, हुर्कायो, पालोपोसो, पढायो लेखायो अन्त्यमा दाइजो समेत दिएर पराई घर पठाउनुपर्ने परम्पराले छोरी जन्मनु खर्च हुनु हो भनेर बुझिन्छ।
अर्को धारणा यो पनि होला। धार्मिक संस्कार, सामाजिक रितिरिवाज आदि इत्यादिमा पुरूष जातिलाई बढी महत्व दिइनुले सबैको मनमा थोरै वा धेरै छोरा मोह देखिन्छ।
यही छोरा मोहमाथि विजयी पाउन, सामाजिक चेतनामा सकारात्मक बद्लाब ल्याउन, छोरीमात्र जन्मिएर निराश भएका अभिभावकहरूको मनोबल उकास्न, कसैले भनिदियो। 'छोरी भनेका लक्ष्मीका स्वरूप हुन्। घरमा छोरी हुनु भनेको लक्षिन हुनु हो। छोरी भएको घर सधैं उज्यालो हुन्छ। सबैको भाग्यमा छोरी लेखिएको हुँदैन..।'
अनि भन्न थालिएको हुनुपर्छ छोरीलाई लक्ष्मी। तर लक्ष्मी भन्दैमा वा मान्दैमा के हाम्रो सोचमा पूर्णरूपमा सकारात्मक परिवर्तन आएको हो त? के हाम्रो समाज परिवर्तन भएको हो त? के अहिलेको पुस्ता मतलब शिक्षित वर्गको मानसिकताबाट लिङ्ग विभेद हटेको हो त ? के यो आवाज अन्तरमनबाटै आएको हो त? कतै नकाव लगाएर बोलिएको त होइन?
यदि नकावविहीन भित्री मनबाटै छोरी जन्मँदा खुसी मनाएको हो भने, उस्लाई लक्ष्मीको उपमा किन दिइरहनु पर्यो। निर्धक्कसँग छोरीमात्र भने हुन्थेन र? जसरी छोरा जन्मिँदा पुत्रलाभ भनिन्छ वा छोरा मात्र भनिन्छ। उसैगरी छोरी जन्मिँदा पुत्रीलाभ वा छोरीको प्रवेश भयो भने हुन्थेन र?
खैर..मानौं कसैलाई लक्ष्मी नै भन्न मन लाग्यो रे। उसले गर्वसाथ छोरीको रूपमा लक्ष्मीको प्रवेश भयो भन्दै भर्खर जन्मेकी छोरीको तस्बिरसहित सामाजिक सञ्जालमा पोष्ट गर्छ।
यही प्रकृया दोस्रो पटक दोहोरियो अर्थात् दोस्रो सन्तान पनि छोरी जन्मिई भने उसको हर्ष स्वाभाविक रूपमा बढ्छ होला? उसले सामाजिक सञ्जालमा पोष्ट गर्न हतार गर्छ होला?
'मेरो घरमा फेरि लक्ष्मी थपिएकी छिन्। छोरीको रूपमा लक्ष्मी भित्रिनाले हामी झनै धनी भएका छौं।' तर दु:खसाथ भन्नुपर्छ मैले यस्तो भनेको कतै सुनैकै छैन, न त सामाजिक सञ्जालमै देखेको छु।
यसबाट सजिलै एउटा निष्कर्ष निकाल्न सकिन्छ। छोरी मात्र दुई अवस्थामा लक्ष्मी भएर जन्मिन्छिन्। या त पहिलो सन्तानको रूपमा या छोरापछि छोरी जन्मिँदा। अर्थात् एउटा छोरीमात्र सधैं लक्ष्मीको स्वरूप हुन्छे। एकभन्दा धेरै छोरी भए पहिला जन्मेकी छोरीलाई पनि लक्ष्मी भन्न छोडिन्छ। यो मैले निकालेको निष्कर्ष होइन, समाजले मलाई देखाएको सिकाएको वास्तविक चित्र हो।
हामी भन्न त भन्छौ।
'समाज विस्तारै सचेत बन्दैछ। शिक्षाले धेरैको आँखा खुल्दैछ। पहिलाको तुलनामा छोराछोरी बीचको विभेद साँघुरिँदै छ।'
यदि छोरा मोह हटेकै थियो भने कसले गर्दैछ लिंग पहिचानपछि भ्रुण हत्या?
जवाफ स्पष्ट छ। त्यही शिक्षित समाजबाट भैरहेको छ। हामी सचेत, सभ्य र असल भनिएका मानिसबाटै भैरहेको छ। फरक यति छ, हिजो खुलेआम व्यवहारमै, संस्कारमै, मान्यतामै विभेद थियो। आज लुकेर छिपेर झन् ठूला अपराध भैरहेका छन्।
बरू दूरदराज जहाँ प्रविधि उपलब्ध छैन, जो अझै अशिक्षित छन्। जसलाई लिंग पहिचान हुन्छ भन्नेसम्म थाहा छैन। चाहे उनीहरू छोराको आशमा दर्जन छोरी जन्माइरहून्, उनीहरू तुलनात्मक रूपमा कयौं गुना असल छन्। हामी शिक्षित भनिएका भन्दा। किन थाहा छ?
म एउटा काल्पनिक घटना सुनाउँछु।
'एउटा शिक्षित अभिभावक उनीहरूका दुई छोरी भैसके। तेस्रो सन्तान छोरी होइन छोरा पाउन चाहन्छन्। प्रविधिले दिएको सुविधा लिएर तेस्रो सन्तान छोरी भएको थाहा लाग्छ। चौथो पनि छोरी। गुपचुप दुबै छोरी धर्तीमा आउन नपाई मारिन्छन्। पाँचौं सन्तान छोरो हुन्छ। अभिभावक खुसी आफन्त खुसी। उनीहरूले पहिल्यै जन्मिसकेका छोरी र पछि जन्मेको छोरामा कुनै भेदभाव गर्दैनन्।
शिक्षा, दिक्षा आदि इत्यादिमा बरम्तरी व्यवहार गर्छन्। अब बाहिरी आवरण हेर्दा उनीहरू छोराछोरीबीच विभेद नगर्ने समाजका उदाहरणीय अभिभावकमा गनिन्छन्। अनि अनुसन्धानकर्ताको रिपोर्ट बन्छ, समाजबाट लिंग विभेद हट्यो। यथार्थमा उनीहरू छोरी भएकै कारण भ्रुण हत्या गर्ने हत्यारा आमाबाबु हुन्। अहिले देखिएको हाम्रो समाजको वास्तविक चित्र यही काल्पनिक घटनासँग मिल्दोजुल्दो छ।
सवाल केबल छोराको चाहनामा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने अभिभावकलाई मात्र होइन। सवाल आफन्त, साथीभाइ, समाज लगायत हामी सबैलाई हो।
हामी के गर्छौं, जब कसैको पहिलो सन्तान जन्मियो, छोरा होस् वा छोरी हामी खबर सुन्नसाथ सामाजिक सन्जालमा पोष्ट गर्न थाल्छौं। बधाई र शुभकामना दिन हतारिन्छौं।
तर पहिला छोरी भएर दोस्रो पनि छोरी हुँदा हामी आफैं पछि हट्छौं बधाई दिन। सम्बन्धित अभिभावकले पोष्ट गरे कमेन्टमा बधाई लेखिदिन्छौं।
अन्यथा हामी आफैं पहिला पोष्ट गर्न हिचकिचाउँछौं। हो यही हिचकिचावटले हामी भित्रको संकुचितता प्रदर्शन गर्छ।
यही सवाल छोराको हकमा बिल्कुल फरक हुन्छ। पहिलो सन्तान छोरा जन्मियो, खुसी बाँडियो। दोस्रो सन्तान पनि छोरा जन्मिँदा कोही खिस्रिक्क हुँदैनन्। उसैगरी खुसी मनाइन्छ। उसैगरी बधाईको पहिरो चल्छ। परिवारको सदस्यले सामााजिक सञ्जालमा पोष्ट नगरे पनि बाहिरको व्यक्तिमा पोष्ट गर्न कुनै हिच्किचाहट हुँदैन। यही हो हामी र हाम्रो समाजको यथार्थ चित्र हो।
हामी बाहिर बोल्न नसक्ने मात्र हौं। किनकि परिवर्तनविरूद्ध बोल्दा आलोचित हुनुपर्छ। आफूले आर्जेको साख गुम्ने डरले इमान्दार भएर बोल्ने आँट कमैमा हुन्छ।
राम्रो मिठो बोलिदिन्छौं। अनि सबै जना सबैको नजरमा असल देखिन्छन्। यसको मतलब सबै खराब छन् भन्ने होइन। विभेद नगर्ने अभिभावक पनि छन्। तर जति असल देखिएका छन् ती सबै असल छैनन्। असल देखिने ढोङमात्र गरिरहेछन्। जसले गर्दा समाजको वास्तविक चित्र लुकिराखेको छ।
मैले बारम्बार हामी भनेर सम्बोधन गरिरहेको छु, मतलब मभित्र पनि यस्तो सोच कहीँकतै लुकेर बसेको छ। सायद मभित्र यस्तो नकारात्मक सोच हाबी भएकोले अरूलाई नराम्रो देखिरहेको हुनसक्छु।
अरू सबै ठिक भए, ममात्र नराम्रो भएर मेरो कारण समाज बिग्रँदैन। म समाज बदलिएको हेर्न चाहन्छु। त्यसैले मैले समाजको जुन चित्र देखाएँ, त्यो मेरो भ्रम मात्र होस्। मेरो अध्ययन नपुगेको होस्। म गलत साबित हुँ। पहिलोचोटि म गलत साबित भएमा धेरै खुसी हुनेछु। त्यसैले मलाई गलत साबित गर्दिनु, सबै असल भएर।
अन्त्यमा,
यदि समाजमा साँच्चिकै सकारात्मक परिवर्तन आएको हो भने, छोरालाई छोरा मात्र भने जसरी छोरीलाई पनि छोरीको रूपमा स्वीकार गरौं।
लक्ष्मी मानेर स्वीकार गर्नु सम्मानको रूपमा छोरीप्रतिको अपमान हो। लक्ष्मी भन्दैमा विभेदको अन्त्य हुँदैन, व्यवहारबाट देखाऊँ। लक्ष्मी भित्रिइन् भन्ने ढोङ नगरौं। लक्ष्मीको उपमा नझुन्ड्याऊँ।