प्लस टु सकेर भर्खर ब्याचलर भर्ना भएकी थिएँ, सपनाहरू छरपस्ट थिए।
हिँउदको निखारले टड्कारो बनाइराखेको काठमाडौंका घना बस्तीहरू वसन्तसँग जम्काभेट गर्न क्रमश: निलो हुँदै गहिरहेका थिए। क्षितिजमा एक धर्सो बसिसकेको पातलो तुवाँलोबीच सधैं घाम उदाउँथ्यो।
बिहीबारको दिन। म अफिस सकेर घर फर्कंदै थिएँ, मेरो ब्यागमा भएको मोबाइल बज्यो, मोबाइल ब्यागबाट निकालें, नयाँ नम्बरबाट फोन आएको रहेछ।
नयाँ नम्बर देखेर उठाइनँ। फेरि दोहोर्याएर फोन आयो, लाग्यो कोही चिनजान को होला, फोन उठाएँ।
'हेल्लो' भन्न नपाउँदै उतैबाट आवाज आयो, 'म शिशिर, चिन्यौ।'
दिउँसो मेरो अफिसमा आएका थिए। उनले कोसँग मेरो नम्बर लिएछन् मलाई पत्तै भएन। अनि मैले उनलाई सोधिनँ पनि।
अफिसमा एक जना सरले 'मैले नाटक लेख्छु, थिएटरमा इन्ट्रेस छ उसलाई' भन्नु भएको रहेछ। त्यही भएर फोन गरेका रहेछन्।
'भोलि हाम्रो नाटक प्रदर्शन हुँदैछ मन्डला थिएटरमा तिमी पनि आऊ है' भन्न फोन गरेका रहेछन्।
मैले सवाल नै नगरी 'हवस्' भने, फोन टुंगियो।
भोलिपल्ट दिउँसो ४ बजेको लागि बोलाएका थिए। म टाइमलाई निकै ख्याल गर्छु। अफिसमा तीन बजेसम्म काम गरेर म शिशिरले बोलाएको टाइममै म पुगिसकेकी थिएँ।
शिशिर हतारमा देखिन्थे, सायद उनीहरूको नाटक भएर होला म पुग्दा टिकट त सकिसकेछ। कहाँबाट शिशिरले मिलाए मलाई थाहा भएन। कहिलेकाहीँ सिनेमा हलसम्म गएकी थिएँ तर नाटक मेरो लागि नयाँ थियो।
हलतिर लागियो, अरू सबै चिनजानका मानिसहरू रहेछन्। एक आपसमा कुरा गर्दै थिए, तर म त्यहाँ शिशिरलाई बाहेक कसैलाई चिन्दिन्थें।
छुवाछूतको बारेमा निकै बेजोड प्रस्तुती थियो।
नाटकमा शिशिरले एउटा दलित गरिब परिवारको छोराको भूमिका निभाएका थिए, त्यो देख्दा मैले आँसु नै थाम्न सकिनँ।
नाटक सकियो म हल बाहिर शिशिरलाई कुर्दै थिएँ। उनी सबैसँग निकै छिटो घुलमिल हुँदा रहेछन्। त्यसैले होला मसँग पनि पहिले नै चिनजान भएजसरी कुरा गरे। सबैसँग बिदा भएर उनी म भएतिर आए।
म उनले चालेको पाइला हेर्दै थिएँ। म आफ्नो नियन्त्रणमै थिइनँ। स्थिति छुट्टाउन सक्ने सामार्थ्य ममा थिएन। म कामिरहेको थिएँ। आवेशमा आएर मैले अंगालोको अनुभव गर्नै नपाई मलाई मोहले छोड्यो। डरलाग्दो सपनाबाट बिउँझैं जस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ। मुटु कामिरहेको थियो।
त्यतिकैमा उसले सोध्यो, 'कस्तो लाग्यो नाटक तिमीलाई?' मैले मुस्कुराउँदै भने, 'यो नाटकजस्तै थिएन शिशिर! म त्यसमा हराएको थिएँ।'
घडीले साँझको ६ बजाइसकेको थियो।
शिशिरले तिमीलाई ढिला भयो होला जाम घर भने। तर उनी साथमा भएको भएर होला मलाई ढिला महसुस नै भएन।
उनी कोटेश्वर बस्ने रहेछन्, म स्वयम्भू।
रात हुन लागिसकेको भएर उनले मलाई घरसम्म पुर्यादिन्छु भने। मुखले त अस्वीकार गरें तर मनदेखि मसँगै गए हुने भैरहेको थियो। हामी स्वयम्भूको बसमा चढ्यौं। साँझको बस भएर होला गोडा टेक्ने ठाउँ थिएन।
शिशिरको बोलीमा साँच्चिकै जादू थियो। म बोलीमै हराउन थालिसकेको थिएँ।
उनले म र मेरोबारे सोध्दै गए। म आफ्नोबारे सुनाउँदै गए। म यति उत्सुक भएकी थिएँ कि, सुनाउनलाई मैले गल्ती गरिसकेछु।
शिशिरको बारेमा मैले केही सोधिनँ।
हामी मेरो घर नजिक पुग्यौं। मैले छुटिन आग्रह गरें। उनले पनि मेरो अनुरोधलाई सहजै स्वीकार गरे।
'शिशिर आज म निकै खुसी छु। धेरै धेरै धन्यवाद!'
उनले मुस्कुराउँदै भने, 'ल के गरेर र त्यस्तो मैले?'
'आजसम्म कहिल्यै नभएको आभास भएको छ मलाई, शिशिर घर पुगेपछि कल गर्नु है, म गए' भन्दै म घरतिर लागें।
मेरो मुहारमा चमक थियो। भोक, तिर्खा सबै भुलिसकेको थिएँ, यो मेरो प्रेम थियो या चन्चलता।
मम्मीलाई खाना नखाने, भोक छैन भनेर आफ्नो कोठामा लागें।
बेडमा पल्टिँदै उनको फेसबुकमा राखेको फोटो हेर्न थालें।
तर प्रोफाइल र कभरभन्दा अरू प्राइभेट गरेका रहेछन्। त्यतिकैमा शिशिरको म्यासेज आयो, 'म पुगें है।'
म अल्मलमा परें कति छोटो म्यासेज!
म भने उसको प्रेममा परिसकेको छु, मलाई जुन आभास भएको छ, त्यो आभास शिशिरलाई किन भएको छैन?, म यति छिटो किन उसलाई प्रेम गर्दैछु ?, को हो ऊ मेरो?, उसले किन बोलायो मलाई?, घरसम्म किन पुर्याउन आयो?, सात बजेसम्म त म सधैं हिँडिरहन्छु। मभित्र यस्ता अनेकौं प्रश्न उठे। म निदाउनै सकिनँ।
शनिबारको दिन नुहाइधुवाइका हप्ताभरिको काम गर्नु थियो। बिहान सबेरै उठेर सबै काम सकेँ।
अरू दिन ८ बजेसम्म सुत्ने म आज उठेर काम गरेको देख्दा मम्मी पनि अचम्ममा पर्नु भएको थियो।
खाना खाएर घाममा बसिरहेको थिएँ। शिशिरको फोन आयो। मलाई उठाउन मन लागेन।
'घुम्न जाम आज कतै हुन्छ?' म्यासेज आयो।
अब भने मनले रोक्न सकेन। घरमा अफिसमा काम पर्यो जानुपर्ने भयो भनेर निस्किएँ।
दिन चिसो चिसो नै थियो तर शिशिरसँग भेट्ने बहावले होला, मलाई गर्मी महसुस भइरहेको थियो।
रातो कुर्ता, कालो सुरूवाल अनि सेतो सल कानमा सानो झुम्का लगाएर सजिएकी थिएँ। शिशिरको ध्यान ममा होस् भनेर।
घरबाट निस्किएपछि शिशिरलाई फोन गरेँ।
उनले माछापोखरीमा भेट्ने भने।
म पुग्नुअघि उनी पुगेर मलाई कुरिरहेका रहेछन्। अस्तव्यस्त राजधानीको भिड त्यहाँ छर्लंग थियो। म शिशिरलाई खोज्दै थिएँ।
सेतो टिसर्ट बाहिर कालो कोट, कालो पाइन्ट, जुत्ता लगाएर शिशिरमै भएतिर आउँदै थिए।
उनी मेरो आँखा अगाडि आएर टक्क उभिए। म लाजले उनलाई हेर्न सकेकी थिइनँ।
शिशिर मलाई बोलाउँदै थिए। म जवाफ फर्काउन सकिरहेकी थिइनँ।
शिशिरले 'ककनी जाने ल' भन्दै थिए।
मैले टाउको हल्लाएर 'हवस्' को संकेत दिएँ।
पहिलोचोटि ककनीको यात्रा त्यो पनि शिशिरसँग, बसमा मान्छेको भिडले राम्रोसँग दुइटा गोडा टेक्न पनि मिलेको थिएन। ककनीभन्दा रमाइलो त्यो बसभित्रको यात्रा भएको थियो मलाई।
बसमा उभिने मान्छेको भिडले दुईतिर फर्किएर उभिएका थियौं, हामी। शिशिरले मेरो हात दह्रो गरी समाए। मभित्र मायाको हलचल मच्चिसकेको थियो।
ड्राइभरले ब्रेक कति बेला मार्लान्, अनि म र शिशिर एक आपसमा ठोकिन्छौं भनी हामी दुबै जना मनमनै सोच्दै ककनी पुगियो। निकै रमाइलो रहेछ ककनी। काठमाडौंको कोलाहलबाट केहीबेरको लागि भए पनि मुक्त भइयो।
घरबाट ढिला निस्केकोले ककनी पुग्दा घडीले दुई बजाइसकेको थियो। शिशिर फोटो खिच्न मन पराउँदा रहेछन्। म पनि फोटो भनेपछि हुरूक्कै हुने, उनी मेरो फोटो खिच्न थाले, म पोज दिन थालें। भोक लागेकोले एउटा रेस्टुरेन्टमा खाजा खान गयौं।
ट्राउट माछा, त्यहाँको निकै लोकप्रिय रहेछ। ट्राउट माछा, सादेको चाउचाउ, शिशिरको साथ। म खुसीले भित्रभित्रै मख्ख थिएँ। मुहारमा अहिलेसम्म नभएको चमक थियो। समय पनि कति छिटो बितेको जस्तो लाग्यो।
घडीले चार बजाइसकेछ। म चाहन्थें, शिशिरले मलाई अंगालो हालोस्, मसँग माया प्रेमको कुरा गरोस् तर उसले माया, प्रेमको कुनै भाव देखाएन। मैले मात्रै एकोहोरो गरेकी थिएँ।
हामी घर फर्कन लाग्यौं तर ककनीबाट काठमाडौं लाग्ने बस छुटिसकेछ। एकातिर मनमनै खुसी भएँ शिशिरसँग बस्न पाउने भएँ भनेर। अर्कोतिर घरमा के भन्नुहुन्छ भन्ने डर पनि। मेरोभन्दा शिशिरको मुहार मलिनो देखिन्थ्यो। तर मैले सोधिनँ के भयो भनेर, किनकी उसले मलाई सोध्ने अधिकार दिएको थिएन।
एउटा ट्याक्सी आयो त्यो टयाक्सीमा शिशिरले कुरा गरे। अगाडि एक जना केटी रहिछन् पछाडि शिशिर र म।
शिशिरले मेरो हात समाए, केही बोलेनन्। मेरो मनमा शिशिरको लागि धेरै प्रश्न उठेका थिएँ, उनको मप्रतिको व्यवहार देखेर।
यदि मसँग प्रेम गर्दैनौ भने, मसँग किन हिँडिरहेका छौ?, प्रेम गर्छौ भने किन भन्न सकेका छैनौ ?, हिजो चिनेको तिमी र म यति छिटो किन नजिक भयौं ? तर शिशिरलाई सोध्न सकिनँ।
शिशिरको मोबाइल बज्यो कोटको खल्तीबाट मोबाइल निकाले। मैले देखे, नदेखेजस्तो गरी उनको मोबाइलमा नजर डुलाएँ।
लभको सिम्बोल देखें फोनमा। मभित्र जलनको आगो बल्दै थियो शिशिरले मलाई धोका दिइरहेको जस्तो लाग्यो।
उसले फोनमा के बोल्यो समेत याद पाइनँ। म आफैंभित्र पिल्सिन थालें। बोल्न सकिनँ। शिशिर मलाई हेर्दै थियो, अघिसम्म उसले हेरेको मन परेको थियो। अहिले मन पर्न छोड्यो। उसले छोएका आफ्ना हातदेखि रिस उठ्न थाल्यो। शिशिर ट्याक्सीको झ्याल बाहिर भित्र हेर्दै मोबाइल चलाउँदै थिए।
मैले सोधें, 'शिशिर हाम्रो सम्बन्ध कस्तो खालको हो?'
उसले मुस्कुराउँदै भन्यो- तिमीले जस्तो बनाउन चाहन्छौ त्यस्तै।
मैले सोधें, 'के त्यसो भए यो सम्बन्ध हामी बिहेसम्म पुर्याउन सक्छौं ?'
शिशिरले मतिर हेर्दै जवाफ दिए, 'म विवाहित पुरूष हुँ, तिमी बिहे गर्छौं मसँग ?'
म छाँगाबाट खसेझैं भएँ। तर गल्ती मेरो आफ्नो थियो, मैले उसको बारेमा केही नजानी नबुझी प्रेम गरें। म र शिशिर मौन थियौं। मेरो घरदेखि अनि शिशिरको पनि पटकपटक फोन आएको थियो। शिशिरसँग सवाल गर्न मन लाग्यो, शिशिर आज के सोचेर मलाई घुमाउन ल्याउनुभयो?
'तिमी बच्चाजस्तै हरेक कुरामा जिज्ञासा राख्छौ, तिमीसँग हुँदा मलाई मेरो बच्चाको साथी भेटेजस्तै लाग्छ।' उनले भने।
शिशिरको जवाफले मलाई झन् पीडा दियो। उनीहरूको विवाह भएकै दुई वर्ष पुगिसकेको रहेछ। त्यो पनि लभ म्यारिज। मलाई घरसम्म छोड्न आएका थिए मैले पनि नाइँ भनिन् किनकि अब हामीबीच कुनै प्रेम थिएन र शिशिरसँगको मेरो यो अन्तिम भेट बन्नेछ।
मेरो घर नजिकसम्म पुर्याएर उनी फर्किए।
मैले उनको नम्बर ब्लक लिस्टमा राखिदिएँ। फेसबुकमा हामी साथी नै बनेका थिएनौं। मनमा अनेकौं प्रश्न उठे जुन प्रश्नको उत्तर पनि म आफैं दिँदै थिएँ।
जीवनमा कसैलाई छिट्टै विश्वास गरें, माया गरें, ऊ नै आफ्नो थिएन। मेरो सत्य प्रेमको आवेगको कुनै अस्तित्व छैन। हामी एक अर्काको हुन सकेनौं र कहिल्यै सक्दैनौं पनि। यस जीवनको पछि एउटा महाशून्य छ अब केही पनि चिताउन्न सब निरर्थक छन्।
सधैं म आफूलाई अव्यक्त अवस्थामा टोलाएर हिँडिरहेको छु। कति भावनाहरू प्रेरणाहरू कति विन्तीहरू म आफैंमा उदाउने अस्ताउने गर्छन् तर मलाई प्रेम उही विवाहित पुरूष (शिशिर)सँग भएको छ।
शिशिर र म नबोलेको, न भेटेको पनि आज तीन वर्ष पुगेछ तर शिशिरसँगको मेरो प्रेम कहिल्यै कमी भएको छैन। बिर्सन खोज्छु, कोही रोज्न खोज्छु, तर डर लाग्छ, कतै शिशिरजस्तै पो हुन्छन् कि भनेर। कस्तो अनौठो संसार!
हाम्रो नियमबद्ध जीवनमा जुन मोड आएको थियो त्यो आफैंलाई पनि अनौठो लाग्ने भयो। म उनलाई भुलेर भाग्न खोजेँ तर भाग्न सकिनँ। भागेर गएँ भने पनि यसभन्दा माथिल्लो तहको जीवन बिताउनसक्छु भन्ने कुरामा मेरो विश्वास मरिसकेको थियो। म तयार थिएँ यसलाई एउटा परिवर्तन मान्न। यस्तो परिवर्तन जसको कुनै विशेषता छैन र जसमा कुनै पनि मज्जा छैन।
ऐना अगाडि गएर उभिन्छु। दुइटा गहिरा काला आँखाहरू देख्छु। आफ्नो हालत देखेर आफैं विरक्तीन्छु।मेरा हातहरू त्यसै काप्न थाल्छन्। उसको कुनै अस्तित्व छैन र सम्झन्छु यहाँ प्रेमको पनि कुनै अस्तित्व छैन। एउटा निस्सार संसारभित्र म बाँचिरहेको छु र सधैं स्वीकार गर्छु म एउटा महाशून्यभित्र बाँचिरहेको छु।