आम मानिसका करियर दुई प्रकारका हुन्छन्- एक केही ठूलो सपना देख्ने र पछ्याउने अनि अर्को जे सकिन्छ त्यही गर्ने।
एक नम्बरको सपना देख्न सबै कुरा चाहिन्छ। धन, सम्पत्ति, गुणस्तरीय शिक्षा जस्तै: अमेरिका गएर हारवर्ड युनिभर्सिटीमा पढ्न, फिलिपिन्स गएर पाइलट बन्न, अष्ट्रेलिया गएर इन्जिनियर बन्न हिम्मत, साहस, क्षमताले मात्रै हुँदैन, दक्षिणा पनि राम्रै चाहिन्छ। घरजग्गा धितो, आयश्रोत सबै चाहिन्छ, सपनाले मात्रै हुँदैन वास्तविकतामा।
समाजले भन्छ सरकारी कोटामा एमबिबिएसमा नाम निकाल्नू, पुल्चोक इन्जिनियरिङ कलेजमा नाम निकाल्नू। उसले सक्छस तँ, किन सक्दैनस् भनेर भन्नु, हौसला दिन ऊ हो को? बिरामीको रोग पत्ता नलगाई पेन किलर र स्लिल्पिङ ट्याबलेट खुवाएर घर पठाएजस्तो हैन र? नबुझी सिकाउनु त 'अल्प ज्ञानम भयंकरणम' हुन्छ।
म जस्ट पास हुने मान्छेलाई समाजले किन नसक्ने भन्दै सपनाको भारी देखाएर वा उक्साएर बर्बाद पार्छ। हरेकको फरक-फरक मानिसक क्षमता हुन्छ। कोही केमा सफल हुन्छ, कोही केमा। कुनै कक्षामा विश्वका टप १० जना विद्यार्थी राख्यो भने सबै फष्ट होलान् त? एकजनाको भ्याकेन्सीमा क्षमता भएका सबै अटाउँछन त?
मेसीले गोल हान्न सक्छन् भने नेपालीले किन सक्दैनन्?- हाम्रो समाजको प्रश्न। तर वास्तविकतासँग लेनदेन नै छैन। चिया पसल, चोकको भट्टी पसलमा यही कुरा चल्छ। तर मेसीको समकक्षीले नि मेसीको जस्तो गति, असिस्ट गोल गर्न सक्दैनन्। तर कोही गड गिफ्टेड या तिक्ष्ण क्षमताको भने हुन्छन्।
समाजले रिजल्ट मात्रै खोज्छ, ब्याकग्राउन्ड हेर्दैन। प्रशिक्षण कस्तो छ? त्यसमा क्लबको पेइमेन्ट कति छ? भविष्य कस्तो छ? सबै कुराले असर गर्छ। सायद नेपालमा मेसी भएको भए उसलाई घरपरिवार चलाउन विदेशीनु पर्थ्यो होला।
क्षमता, अवसर र प्यासन तीन वटै कुरा चाहिन्छ सफल हुन तर हामी एउटा भयो भने पछि-पछि दगुर्छौँ। हामी डु अर डाईको पछि लाग्ने हैन कि डु बिफोर डाइको सिद्धान्त बोक्नुपर्छ? पेलेले टालाको बल खेलेर इतिहास रचे, गौतम बुद्ध पनि मानिस थिए भगवान भए, मदर टेरेसा महान् भइन्। यस्ता मान्छे एक अर्बमा एक/दुई जना हुन्छन्। सबै पेले, मदर टेरेसा बन्न खोजेर हुन्न। घरपरिवार चलाउनु पर्दैन? जीवन नबुझी आहुति दिनु हुन्न।
समाजको पछि दौडिने हैन फरक इतिहास, फरक विचारमा पनि हिँड्नु पर्छ। नत्र समाजका मानिस सबै इतिहासका पानामा हुन्थे। समाजले कुनै समय हेला-होचो गरेका मान्छे आज महान् भएका छन्। समाजले यो बुझ्नु जरुरी छ कि सबै लेजेन्ड हुँदैनन्, करोडमा एकाध युनिक हुन्छन्। सजिलै हुने भए समाजका कुरा काट्ने मान्छे, अरुलाई सिकाउने/सल्लाह दिने मान्छे आज विश्वमा प्रसिद्ध हुने थिए होला।
नेपाली समाज आफू कहाँ छ मतलब छैन, सधैं अरुको नराम्रो मात्रै देख्ने गर्छ। मान्छे सफल भए त्यो मान्छेको पहिले देखिको राम्रो मात्रै काम देख्छन्? त्यही मान्छे असफल भए पहिले देखिको नराम्रो मात्रै काम देख्छन् र फिंजाउँछन्। मतलब मान्छे सफल, ठूलो, धनी बन्न नसक्दैमा ऊ असफल, असक्षम, विचरा भनेर सहानुभूति दिनु समाजले आफ्नो दायित्व ठान्छ।
सहानुभूति दिनु उसलाई कमजोर बनाउनु हो। उदाहरण हेरौँ- ६५ वर्षमा कर्णल हरल्यान्ड सैडर्सले केएफसी खोलेर आज विश्वको सामु छाए, डोनाल्ड ७० वर्षमा राष्ट्रपति भए। हिम्मत ठूलो कि उमेर? असफल जो नि हुन्छ, सफल नहुन्जेल सबै असफल हुन्।
हामी आम मानिस दुई नम्बरमा पर्छौं। काम गर्दै जाने राम्रो अवसर आयो भने उतै जाने किनकि शिक्षाको कति भूमिका छ जीवनमा त्यो हामीले बुझ्नुपर्छ। नेताले बुर्जुवा शिक्षा काम छैना भने। बोर्डिङमा पढनु भन्या अंग्रेजको दासत्व स्विकार्नु हो भनेर सिकाए, बाल मनोविज्ञानमा त्यही पस्यो। तर अहिले विश्वका टप युनिभर्सिटी अक्सफोर्ड, क्यामब्रिज, हारवर्डहरूले ८०-९०% नम्बर ल्याएकालाई एडमिसन दिन्छन्। युके, अष्ट्रेलिया, अमेरिकाले भिसा दिन्छन्। सायद उनीहरूले मान्यता दिने शिक्षा हामी बुर्जुवा भन्दै पछि पर्यौँ। सायद बढी जान्ने भएर होला।
हाम्रा बुबाले म्यानेजमेन्टको फी तिरेर 'ठूलो डक्टर भएस्' भन्नुहुन्छ। आमालाई म क्याडेट बन्छु भन्दा 'बाबु, हवल्दार नै हुनुपर्छ। सबैले हल्दार साबकी आमा भन्छन्' भन्नुहुन्छ। म अब कसरी पाइलट, डक्टर, इन्जिनियर बन्छु त?
कक्षा ४ मा एबिसिडी पढ्या, जोड-घटाउ पनि ४ कक्षामा नै सिक्या। अब म सिए हुन्छु त? हामीले जति राम्रो काम पाउँछौँ त्यही गर्ने हो। आर्थिक क्षमता अनुसारको व्यवसाय गर्ने हो। धुर्मुसले बनाउन थालेको रंगशाला ज्वालन्त उदाहरण हो। घाँटी हेरी हाड निल्नु वा घाँटीको क्षमता बढेपछि हाडको साइज बढाउने हो।
यदि गच्छे, क्षमताअनुसार मासु, पसल, डेरी, सब्जी पसल, होटल यी व्यवसाय गरेर मैले केही प्रगति गर्न सकिनँ भने मेरो व्यवसाय भनेर पूजा मात्रै गरेर बस्नु त? टाई-सुट लगाएर काम गरे पनि स्यालरी आएको १५ दिन नकट्दै उधारो खानु परेपछि मैले यो किन नसोच्ने? उमेर हुँदा मात्रै हो खाडी युरोप, एसियाका देशले काम दिने।
हो, म मेरो देश भनेर बसेँ भने बैंकले छोराछोरीलाई पढाएको लोन, दाल-चामल किनेको लोन नतिरेकोमा घर जग्गा लिलाम हान्छ। मैले नेपालको मायाबारे चिठी बैंकलाई बुझाउँदा मान्छ त? समाजले के भन्छ हैन, आफ्नो लागि के सही हो त्यही गर्ने हो। सबैले भन्छन् गाडामा चटपटे बेच, मकै पोल, बाटोमा पसल राख। व्यवसाय भन्या यही हो? यो नगरपालिकाले दिने पीडा, ट्राफिक डिस्टर्बेन्स हुन्छ भन्ने खै ज्ञान? देशको व्यवसाय पनि दरिद्र देखिन्छ।
व्यवसाय कसरी गर्ने? सुरक्षा, कर, सम्मान, बिमा चाहिँदैन? छरछिमेक समाजले देशमै गर, सुन फल्छ भन्छन् तर लसुन फलाउन मल, बीउ, पानी नभएर किसान रुन्छन् यही। समस्या जहाँ नि हुन्छ भन्नेहरू पनि छन्। समस्याको नि मापन गर्नुस्। सुनको लगानीमा चाँदी उत्पादन हुन्छ भने के गर्ने त?
सापटी नचल्ने तर कुरा काटिहाल्ने मित्रदेखि सचेत हुनुछ। विदेश जाँदा म्यानपावर, दलालले डुबाउँछन्, फसाउँछन्, झुक्काउँछन्। नेपालमा जन्मेपछि बार-बार लडनुपर्छ। पर्नेलाई थाहा छ वा भोग्नेलाई। किन असफलको ट्याग भिराउने? किन सहानुभूति दिने? किन अरुसँग तुलना गर्ने, विचरा भन्ने? जो जहाँ छ त्यसलाई सम्मान किन नगर्ने?
असफल भएपछि मलाई पहिले नै लाग्या थियो भन्ने विश्लेषकको कमि नभएको समाज। कसैको सफलतामा खुट्टा तान्ने नि यहीँ र असफलतामा झन् विचरा यसको भाग्य, कर्म भन्दै सहानुभूति देखाएर कमजोर बनाउने नि यहीँ समाज।