चाल्स डिकन्सले एउटा कैदीको बयान गर्ने क्रममा उसको स्वभावबारे लेखेका छन्- 'एकजना कैदी वर्षौंसम्म जेलको कालो कोठरीमा थुनिएको थियो। सजायको अवधि सकिएपछि ऊ त्यहाँबाट स्वतन्त्र हुन पायो। कैदी कालकोठरीबाट निस्किएर बाहिर उज्यालो संसारमा पुग्यो। चर्को घाम, खुला परिवेश ती कुनै पनि उसलाई मन परेन। बाहिरी अनेकौँ वस्तुबाट उसलाई असजिलो र बेचैनी मात्रको महसुस भयो। असजिलोलाई कसरी झेल्ने? हिम्मत भएन। कैदीले आफूलाई थुनामानै फर्काइदिन बिन्ती गर्यो। कालकोठरी, हत्केडी र अँध्यारो नै उसका परिचित आफन्त थिए। त्यही ठाउँ सहज, सुरक्षित र आराम मिल्ने खालको थियो।'
डिकेन्सले बयान गरेको स्वभावजस्तै दैनिक जीवनमा हामीले पनि कुनै न कनै रुपमा परिवर्तन विरोधीको रुपमा आफ्नो प्रवृत्तिगत व्यवहार देखाइरहेका हुन्छौँ। मानवीय स्वभाव नै यस्तो हुन्छ कि प्रायःजसो जुनसुकै परिवर्तनलाई विरोध गर्ने। भलाइकै लागि भएको परिवर्तन पनि हामीले सितिमिती स्वीकार गर्न तयार रहँदैनौँ।
तपाईं कुनै कम्पनी वा अफिसमा जागिरे हुनुहुन्छ। विगत केही वर्षदेखि निरन्तर सोही अफिसमा काम गरिरहनु भएको छ। तपाईंको निश्चित वर्षपछि सरुवा हुने समय भयो भने तपाईंलाई तत्काल सरुवा भएर अन्यत्र जान मन लाग्दैन। त्यस्तै तपाईं भाडाको घरमा बसिरहनु भएको छ। त्यहाँ अनेकन अप्ठ्यारा छन्। तपाईंले सबै सेवा सुविधा भएको राम्रो घर वा फ्ल्याट भाडामा पाउनुभयो भने पनि पुरानै कोठमा बसौँ-बसौँ लाग्छ। किनकि तपाईंले तत्कालीन तनावको कारणले परिवर्तन आत्मसात गर्न सक्नुहुन्न।
धेरैजसो मानिसहरू बजारबाट नयाँ कपडा किनेर ल्याउँछन्। तर नयाँ कपडा दराजमै थन्काएर पुरानै लगाएर हिँड्ने गर्छन्। नयाँ कपडा लगाउँदा हुनसक्ने असजिलोपनलाई मानिसले तत्कालै आत्मसात गर्न सक्दैन। चुरोट खानु हुँदैन, यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ। क्यान्सर समेत हुन सक्छ भन्ने कुरा लगभग सबैलाई थाहा नै छ। तर चुरोट खाने व्याक्तिले यी सब कुरा थाहा हुँदाहुँदै पनि चुरोटको अम्मली छाड्न सक्दैन।
जब हामी एउटै कुरामा अभ्यस्त हुन्छौँ, तब जतिसुकै सकरात्मक परिवर्तन दिने विषय भएता पनि त्यसलाई सहजै ग्रहण गर्न सक्दैनौँ। सिरक ओडेर अरुलाई अर्ति उपदेश दिन सक्ने हामीहरू अरु कसैले अर्ति उपदेश दिएको मन पराउँदैनौँ। आफूलाई जान्ने सुन्ने ठान्ने र आफूनै सबैभन्दा ठिक रहको भनि आफूलाई प्रस्तुत गर्छौं। हाम्रो समाज यही परिस्थितिबाट गुज्रँदै गएको छ।
हाम्रो दृष्टिकोण नै नकरात्मक छ। हामी सानो घेराबाट मात्रै सोच्ने गर्छौं। चन्द्रमामा हामीले उज्यालो देख्दैनौँ तर दाग भने सजिलै देख्छौँ। नेपालीमा एउटा उखान छ 'आफ्नो आङको भैंसी नदेख्ने, अरुका आङको जुम्रा पनि देख्ने।' उखानले भनेजस्तै हामी आफूलाई संसारकै श्रेष्ठ र जान्नेसुन्ने ठान्छौँ, आफूबाट कहिल्यै पनि गल्ती नुहुने भ्रममा पर्छौं तर अरुबाट थौरै गल्ती वा कमजोरी भयो भने ठूलै अपराध गरेजस्तै त्यसलाई गिजोल्ने र ट्रोल बनाउने गर्छौं।
अनावश्यक रुपमा सानो कुरालाई पनि उचाल्ने र पछार्ने गर्छौं। कुनै बेला हामी आफूले आफैलाई समेत चिन्न सकिरहेका हुँदैनौँ। परस्पर दोहोरो चरित्र बोकेर हिँडिरहेका हुन्छौँ। आफै अहमता र घमण्ड बोकेर हिँड्ने हामी अरुलाई मात्रै अहम् र घमण्डी देख्छौँ।
हामी कहिलेकाहीँ आफूलाई सुधार्न पनि कोसिस गरिरहेका हुन्छौँ। सपना पनि बनाउँछौँ। तर सपनालाई कार्यान्वयन गर्ने प्रयत्न भने कदापि गर्दैनौँ। गरिहाले पनि दिगो रुपमा गर्दैनौँ। हामीहरू मध्ये कतिपयले अघिल्लो साँझ सुत्ने बेला भोलिको सुन्दर योजना बनाउछौँ- बिहानै उठ्छु, योग वा मर्निङवाक गर्छु, अध्ययन गर्छु वा यस्तै अनेक काम गर्छु तर बिहान उठ्दा भने हामी निकै तनावको अवस्था भोग्ने गर्छौं।
उठौँ उठ्न मन छैन, सुतौँ अघिल्लो साँझ बुनेका सबै योजनाहरू चकनाचुर हुन्छन्। अन्त्यमा भोलिलाई साँचेर आज सुत्छु र भोलिबाट सुरु गर्छु भन्नेतिर लाग्छौँ। भूपि शेरचनले भनेजस्तै अब त्यो भोलि कहिल्यै आउँदैन। हामी भोलिवादको चक्रव्यूमा फसिरहन्छौँ। जसबाट हाम्रो जीवन निकै तनावपूर्ण र अस्तव्यस्त रुपमा बित्ने गर्छ।
केही समय पहिला टेलिभिजनमा एटटा कमर्सियल बैंकको विज्ञापन बज्ने गर्थ्यो। त्यसमा बच्चाले आमालाई भन्छ- 'मम्मी, फोहोरवाला आयो।' अनि आमाले बच्चालाई सम्झाउँदै भन्ने गर्छिन्- 'फोहोरवाला त हामी हो छोरा, उहाँ त सफाईवाला हो।' विज्ञापनले सोच बदल्ने कुरा गर्छ। वास्तममा हामीलाई हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्ने बानी परिरहेको छ।
बच्चालाई पनि हामी सानैदेखि नकरात्मक बन्न सिकाइरहेका छौँ। चिया पसलदेखि स्कुल कलेजसम्म, अफिसदेखि खेतबारीसम्म जताततै हामीहरू भन्ने गर्छौं- यो देश बर्बाद भयो, सतीले सरापेको यो देश कहिले उभो नलाग्ने भयो, नेताले देश खाए। यी लगायतका गुनासोहरू गर्छौं।
पक्कै पनि देश बनाउने र विकास गर्ने मूल दायित्व राज्य वा सरकार र यसका संयन्त्रको हो तर हामी प्रत्येक नागरिकको पनि देश विकासमा उत्तिकै भूमिका रहन्छ। आफूले ढलेको सिन्को ठाडो नपार्ने तर देश बनेन वा नेताले देश बिगारे भनेर चिया गफ गरेर समय खेर फाल्ने हाम्रो प्रवृत्तिले पनि हामी विकासमा पछाडि परेका छौँ।
आफ्नै घरबाट निस्केको फोहोर आफ्नै घर अगाडिको सडकमा लगेर फाल्छौँ र भन्छौँ- सरकारले फोहोर उठाउन पनि सकेन, कस्तो नालायक सरकार? यो त लाजमर्दो कुरा हो। हामी आफैले घरमै पनि सजिलै आफ्नो घरको फोहोर व्यवस्थापन गर्न सक्छौँ। तर हामी यतिसम्म परनिर्भर भइसकेका छौँ कि सबै काम सरकारले गरिदिओस् र आफूले कुनै काम गर्न नपरोस्। विकास सरकारले गर्ने हो, हामीले त विकासको उपभोग मात्र गर्ने हो भन्ने भाव हामी सबैमा व्याप्त छ।
जर्ज अरवेलले एनिमल फार्म नामक पुस्तकमा बडो रोचक ढंगले जनावरहरूको कथाको माध्यमबाट हामी कसरी यथास्थितमै रमाउन र आफ्नो स्वार्थ पूरा भएपछि सबै कुरा भुल्छौँ भन्ने विषय उल्लेख गरेका छन्। एकदिन मेनर नामक फार्मका सबै जनावरहरू बुढो मेजर (एउटा बुद्धिमान सुंगुर) को घरमा जम्मा हुन्छन्। उसले फार्ममा रहेका सबै जनावरहरूलाई जनावरहरूको स्वतन्त्रता र उनीहरूको राज्यसत्ताको बारेमा एउटा सुन्दर सपना देखाउँछ।
उसले जनावरहरूलाई मान्छेको नियन्त्रणमा रहेको आफ्नो फार्मलाई जनावरद्वारा कब्जा गर्न उत्साहित गर्छ। र, आफ्नो नियन्त्रणमा आएपछि फार्ममा समान वितरण हुने र सबै जनावरलाई समान मान्दै फार्म चलाउनेबारे सपना देखाउँछ। बेन्जामिन नामक गधा बाहेक फार्मका सबै जनावरहरू विद्रोहको पक्षमा उभिन्छन्। अपसोच आफ्नो सपना साकार नहुँदै बुढो मेजरको मृत्यु हुन्छ। यही बुढो मेजरले देखाएको सपनामा विश्वास गरेर एकदिन उक्त फार्ममा विद्रोह हुन्छ। जनावरहरूले विद्रोह गरेर त्यहाँको मालिक जोनलाई (जो मानिस हो) लखेट्छन् र फार्मलाई आफ्नो नियन्त्रणमा लिन्छन्।
विद्रोहपछि फार्मको सबैभन्दा स्मार्ट र बुद्धिमान जनावरले नेतृत्व लिन्छन्। त्यस फार्ममा बौद्धिक जनावर सुँगुरहरू हुन्छन्। सुँगुरहरूमा पनि कसले नेतृत्व लिने भन्ने विषयलाई लिएर द्वन्द्व हुन्छ। नेपोलियन र स्नोबल दुवैले नेतृत्वको दाबी गर्छन्। नेपोलियनले सबैलाई समान अधिकार दिएर राज्य सञ्चालन गर्ने नारा दिन्छ भने स्नोबलले सबैलाई प्रशिक्षित गर्दै हवाईचक्की बनाउने बनाउने घोषणा गर्छ। स्नोबलको हवाईचक्कीको विचार सबैलाई मन पर्छ र अन्त्यमा उसैले जित्छ।
स्नोबलले जितेको विषय नेपोलियनलाई मन पर्दैन। उसले फार्ममा खतरनाक कुकुरहरूको आर्मी तयार गर्छ र आफ्ना आर्मी लगाएर स्नोबललाई फार्मबाट लखेट्छ। अरु सबै सुँगुरहरूले सबै दोष स्नोबललाई लगाउँछन्। विस्तारै बुढो मेजरले प्रतिपादन गरेको जनावरको समानता सम्बन्धी न्याय उक्त फार्मबाट हराउँछ र नेपोलियन र उसका फलोअर सुँगुरहरूको सर्वसत्तावाद लागु हुन्छ। मेजरको वास्तविक सपनाबाट फार्म च्यूत हुन्छ।
सुँगरको दयनीय व्यवस्थापनको कारण फार्मको हालत नराम्रोसँग बिग्रँदै जान्छ। दुई खुट्टे शत्रु र चार खुट्टे मित्र (दुई खुट्टा भएको मानिस शत्रु र चारखुट्टे पशुहरू सबै मित्र) भन्ने लगायतका फार्ममा लागु गरिएका सात नियमहरू त्यागेर सुँगुरहरू फार्मका मान्छेसँग मिलेर व्यवसाय सुरु गर्छन्। जनावरहरूले रक्सी नखाने, पलङमा नसुत्ने लगायतका सिद्धान्त केही पनि लागु हुँदैन।
सुंगुरहरूले फार्ममा सबैलाई दबाएर राख्छन्। आफै मात्रै उपभोग गर्छन्। गाईको दूध चोर्छन्। स्याउ जम्मा पारेर एक्लै उपभोग गर्छन्। रक्सी खान्छन्। मंहगो पलङमा सुत्छन्। निकै आधुनिक र भव्य जीवनशैली अपनाउछन्, फार्मका आफ्नै साथी बुढो घोडा (बक्सर) लाई कठोर काम गर्न मानिसको फार्ममा बेचिदिन्छन्। अन्य जनावरहरूको अवस्था भने दयनीय हुँदै जान्छ।
वास्तवमा जर्ज अरवेललले लेखेको यो कथालाई हाम्रो समाजसँग तुलना गर्न सकिन्छ। हाम्रो दैनिक जीवनसँग तुलना गर्न सकिन्छ। वा कुनै राजनीतिक नेतृत्वसँग तुलना गर्न सकिन्छ। जोसँग तुलना गरे पनि हामी सबै उक्त फार्मका सुँगरजस्तै हौँ। हामीले दैनिक जीवनमा अनगिन्ती सपनाहरू बनाउँछौँ, राजनीतिक नेतृत्वले पनि जनतासामु निकै राम्रा सपनाहरू देखाउँछ तर अन्त्यमा आफ्नो स्वार्थ पूर्ति भएपछि आफूले बाँडेको सपनाबाट च्यूत हुन्छौँ र यथास्थितिमै रमाउन चाहन्छौँ। हामी बदलिन खोज्छौँ तर बदलिन सक्दैनौँ।
हामीलाई थाहा छ समाज रुपान्तरणको लागि हरेक विषय रुपान्तरण हुनुपर्छ। हामीलाई तत्कालै रुपान्तरण चाहिएको छ तर रुपान्तरण हुन गरिने परिवर्तन भने चाहिएको छैन। हामी देशलाई जापान, कोरिया वा सिंगापुर बनाउन चाहान्छौँ तर त्यो हुनको लागि आफू परिवर्तन हुन भने चाहँदैनौँ।
आफ्नो जिम्मेवारी र कर्तव्यप्रति ध्यान नदिने, आफ्नो दायित्व निभाउन नखोज्ने तर सबै कुरा अरुले मात्र गरोस्, अरु मात्रै बदलियोस् र सबै कुरा छुमन्तर हुन्छ वा हुनुपर्छ भन्ने 'सोचाइको पक्षघात'बाट हामी सधैँ ग्रसित छौँ। त्यसकारण हामी बदलिँदैनौँ।