शिक्षा यति धेरै पटक परिभाषित भइसक्यो कि आज शिक्षाको वास्तविक परिभाषा खोज्ने हो भने सायदै भेटिएला। अब केही व्यक्ति रिसाउँछन्। शिक्षाको परिभाषा जुन हामीले रट्दै, घोक्दै र पढ्दै आयौँ। के त्यो गलत हो त? नरिसाउनु न, मैले त्यसो भनिनँ।
तपाईंले जुन शिक्षाको परिभाषा रट्नु भएको छ, के त्यो परिभाषा अनुरुप तपाईं शिक्षित भइरहनु भएको छ? वा शिक्षा ग्रहण गरिरहनु भएको छ? वा अझै सरल, सटिक र सूक्ष्म बनाएर सोध्छु। के तपाईं शिक्षित हुनुभयो? यदि त्यसो हुनुभएको छैन भने किन तपाईं नै एउटा शिक्षाको आफ्नै सिद्धान्त बनाउनु हुन्न? परिभाषा बनाउनु हुन्न? यसो गर्नसके 'सो कल्ड' शिक्षाविदहरूका परिभाषामा जिन्दगीलाई घचेट्ने तनावबाट मुक्ति मिल्छ।
शिक्षाको उद्देश्य के हो?
शिक्षाको उद्देश्य भौतिक सुखसयलका वस्तुहरू परिपूर्ति गर्नु हो? कि शिक्षाको उद्देश्य बुद्धत्वको दर्शन गर्नु हो? कि शिक्षाको उद्देश्य जागिर खानु मात्र हो? होइन, शिक्षाको उद्देश्य विदेश पलायन भएर देशलाई रेमिट्यान्सको माध्यमबाट समृद्धितर्फ उन्मुख बनाउने पनि हुनसक्छ?
बुबा शिक्षक भएका घरका छोराछोरी के गरिरहेका छन्? बोर्डिङ स्कुलमा पढाइराछन्, पढिराछन्। यो कस्तो शिक्षित परिवार जहाँ छोराछोरीको पढाइ राम्रो बनाउन बोर्डिङ स्कुल भर्ना गरिन्छ? अनि तपाईं शिक्षित अर्थात् जान्ने भएको के काम भयो त? बोर्डिङ स्कुल जुन परिवारमा बाबा-आमा निरक्षर छन्, उनीहरूका लागि हुनुपर्ने होइन र?
सरकारले निःशुल्क शिक्षा दिइरहेको छ। अर्कोतिर बोर्डिङ स्कुलको फी रातारात आकाशिँदै गएको छ। खास के पढाइ हुन्छ त्यहाँ? र, सरकारी स्कुलमा के पढाइ हुँदैन? जुन घर बालबालिकाको लागि पहिलो विद्यालय होइन, उनीहरूको लागि विकल्पको रुपमा हुनुपर्छ, बोर्डिङ अर्थात् निजी विद्यालय।
निरक्षर घरमा जन्म लिएका बालबालिकाको पहिलो विद्यालय घर कसरी भयो? कि त निरक्षरतामा पनि नैतिकता हुनुपर्छ भन्नुपर्यो, यदि यसो भनियो भने विद्यालयबाट नैतिक शिक्षा हटाउनुपर्छ। यस्तै अन्य विषय पनि विवादित बन्न पुग्छन्। विचार फेरि घुमेर शिक्षाको वर्गीकरणमा आएर ठोक्कियो। औपचारिक र अनौपचारिक शिक्षा। साँच्चै, मैले कल्पनासम्म गरेको थिइनँ। शिक्षाको वर्गीकरणलाई यो आर्टिकलमा जोड्ने विषय।
शिक्षाको वर्गीकरणमा हामीले चिन्तन नै गरेनौँ। अनौपचारिक शिक्षालाई शिक्षा भनिए पनि वास्तविक शिक्षा औपचारिक शिक्षालाई नै मान्छौं। के तपाईंका नानीबाबुहरू तपाईंभन्दा व्यवहारिक छन्? कि जतिबेला पनि पढ कि पढ भन्ने तपाईंको शासकीय आदेशले झन् कमजोर र अव्यावहारिक बन्दै गएका छन्? यदि बारबार पढ भनेर तपाईं र विद्यालयमा शिक्षकले सम्झाउँदा पनि ऊ पढ्दैन् भने के उसलाई विद्यालय पठाउन जरुरी छ? कि उसको समस्या के हो भनेर जान्न बढी जरुरी हुन्छ? सोच्नुस् है।
त्यसोभए के गर्ने त? तपाईं सबैभन्दा पहिले आफ्नो नानीबाबुलाई असल र खराब बीचको भिन्नता छुट्याउन सिकाउनुस्। मान्छे चरित्रको सीमारेखाभन्दा बाहिर कहिल्यै जान सक्दैन भन्ने जानकारी दिनुस्। वास्तविक शिक्षा आफ्नो अनुभवबाट मात्र प्राप्त हुन्छ भनेर सुनाइदिनुस्। बेलाबेला भनिरहनुस्, आफ्नै पाखुरामा विश्वास र धैर्य गर्न सक्ने मानिस विश्वका जुनसुकै समस्याका समाधान खोज्नसक्छ। जुन कर्मले संगीतले झैँ आनन्द दिन्छ उक्त कर्ममा आफ्नो समय, उर्जा र सिर्जनशीलताको धेरैभन्दा धेरै प्रयोग गर्नेबारे सल्लाह दिनुस्। प्लिज, बिन्ती गर्छु। पढ नभन्नुस्।
एउटा सकुशल मान्छे रहे सम्भावनाका हजारौं ढोकाहरू खुल्छन्, रहन्छन्। मान्छे नरहे केहीँ पनि रहनेछैन र सकुशल नरहे जिउँदो लास बनेर रहनेछ। तनाव दिन र लिन बन्द गरौँ। जिन्दगी नितान्त आफ्नो हो। आफूले चाहे र कल्पना गरे जसरी बाँच्ने हो। यहीँ एउटा जिन्दगी अरुको आदेश पालना गर्दैं बाँच्ने हो भने त्यहाँ को आफ्नो जिन्दगी बाँचिरहेको हुन्छ र?
ख्याल गर्नुभएको छ?
कुनै पनि बालबालिका आमाको गर्भबाट नै क्षमता लिएर जन्मेको हुँदैन। जन्म पछिको पालनपोषण र वातावरणले उसको क्षमता निर्धारण गर्ने सम्भावना हुन्छ। आमाको गर्भभित्र बच्चालाई आफ्नो नामसम्म थाहा हुँदैन भने यो संसारमा गएर म असल हुन्छु कि खराब भनेर थाहा हुने त सवाल नै उठ्दैन। शिशु जन्मिसकेपछि आमा, बाबा भन्ने शब्द जबर्जस्ती उच्चारण गराउन बाबा, आमालाई हम्मे-हम्मे पर्छ।
सानो हुँदा नै सयौं पटक पिटाइ खान सुरु भइसकेको हुन्छ। कहिले शरीरमा सु-सु गर्यो भनेर त कहिले धेरैं चकचक गर्यो भनेर। उसको उमेर बढ्दै जाँदा उसले पौष्टिकयुक्त खाना र जीवनसँग जोडिएका नैतिक तथा दार्शनिक कुराहरू सिक्दै अगाडि बढ्नुको साटो शारीरिक र मानसिक रुपमा घर र विद्यालयमा यातना पाउँछ। जसको परिणाम स्वरुप उसको मनस्थिति कमजोर हुँदै जान्छ। र, ऊ आफूलाई कमजोर केहीँ नजान्ने सम्झन्छ। जब मनस्थिति कमजोर हुन्छ परिस्थिति जति सामान्यभन्दा सामान्य भए पनि त्यहाँ समस्या देखिन सुरु हुन्छ। एउटा भनाइ छ- ‘मनले जिते जित, मनले हारे हार।’
केही वर्ष अगाडिसम्म जसलाई आफ्नै नाम राम्ररी थाहा थिएन हरेक वर्ष उसलाई तैँले नौ वटा विषयको हरेक पाठको उत्तर किन थाहा पाइनस् भनेर सोधिँदै छ। यो कस्तो परीक्षा हो? यो कस्तो शिक्षा हो? कुनै दिन म मेरो नाम भुलिदिउँला अरे, तिमीलाई के फरक पर्छ? कसैले कसैको चिन्ता लिन जरुरी छैन। कसैले कसैको जिन्दगीको ठेक्का लिन जरुरी छैन। सबैको आ-आफ्नै जिन्दगी छ। आफूले चाहे जसरी बाँच्ने हो। र, बाँचेका पनि छन्।
तपाईंको छोराछोरी राम्ररी पढिरहेका छैनन् भने उनीहरू तपाईंलाई छोटो यस्तो निवेदन पत्र लेख्न खोजिरहेका हुनुपर्छ-
प्रिय बाबाआमा,
तपाईंहरू मेरो मानसिक रोगको कारण नभइदिनुस्। तपाईंहरूले निम्न कार्य गरेको पाए भने म मानसिक रोगी शतप्रतिशत हुनेछु।
- जतिबेला पनि पढ कि पढ भन्नुभयो भने
- अरुको छोराछोरीसँग तुलना गर्नुभयो भने
- छोराछोरीमाथि आफूले पूरा गर्न नसकेका सपना लाद्नु भयो भने
- म के चाहान्छु भन्ने बारेमा सोधखोज गर्नुभएन भने
- मेरो क्षमता पहिचान गर्नुभएन भने
- तपाईंको चेतनास्तर यतिसम्म हुनुपर्छ कि मलाई मार्गनिर्देश गर्नुस्
- घरको आर्थिक स्तर बलियो बनाइराख्नुस्।
धन्यवाद।
- उहीँ तपाईको मुटुको टुक्रा।